“सानी ! अझै खाइसकेकी छैनौं ?” आमा भान्साबाटै कराउनु भयो । सानी दूधको गिलास त्यतिकै हातमा लिएर बसिरहेकी थिइन् । फेरी आमाले बोलाउनु भयो– “सानी, खै गिलास ल्याएको ।”
“अ–हुन्छ मामु ।” सानी सुस्तरी बोलिन् । आमालाई सानीको बानी थाहा थियो । उनले लकपकाएर बोलेको प्रस्टै चिन्नु भयो ।
“सानी, अझै गिलास हातमै छ कि टेबलमा ? तिमीसँग त म नसक्ने भएँ ।”
आमा र छोरीको खाने कुराकै निम्ति झगडा पथ्र्यो । आमाले थरिथरिका खानेकुरा दिएपनि सानी जहिल्यै खाने बेलामा
नाक्क–निक्क गरिहाल्थिन् । बल्ल सानीले गिलास भान्सामा ल्याइन् । बाँकी रहेको दूध आमाले नदेख्ने गरी घोप्ट्याइन् पनि । आमा पछाडि फर्केर तरकारी केलाइ रहनुभएको थियो ।
“पक्कै यो केटीले बदमासी गरेकी हुनु पर्छ …. । नत्र विरालोको चालमा किन आउथी … ।” आमाले थाहापाइहाल्नु भयो ।
सानी सुटुक्क कोठामा फर्केर पढेझैँ गरिन् । कतै आमाले थाहापाउनु भयो कि भन्ने उनलाई डर थियो ।
“यो केटीले त हैरान पार्ने भई जे पनि नफ्याकी नहुने ।” आमाले मनमनै सोच्नु भयो, “दूध पनि खाइन अब अण्डा बनाइदिन्छु ।” आमाले अम्लेट बनाएर दिनु भयो ।
“ल यो खाऊ । दूध त फ्याक्यौ, फ्याक्यौ ।” सानीले नाक खुम्च्याइन् । “तिम्रो मुखै गनाउने जे ल्याए पनि नहुने । अब चैं नसक्ने भएँ ।” आमा फतफताउनु भयो । “के खान्छ्यौ त ? रोटी ? कि विस्कुट ?” आमाले मुख विगार्दै सानीलाई सोध्नु भयो ।
“केही पर्दैन, कति खाइरहनु पर्ने ? खान मन नभै नभै पनि ।” सानीले जवाफ नदिदै आमा भान्सातिर फर्किसक्नु भएको थियो । उनलाई छिनछिनमा खानेकुराहरु ल्याएर दिएको मनै पर्देन थियो ।
“अब फेरी एकैछिनमा खाना खाने बेला भो भन्ने होला । कति खाइरहनु पर्ने ।” सानी गन्गनाइन् ।
आमा पनि सानीको नखाने बानीमै हैरान हुनुहुन्थ्यो । मैले छोरीकै लागि भनेर कति मिठो गरी पकाउँछु । किन होला खान नमानेकी ? आमा कल्पनु हुन्थ्यो ।
आज शनिवारको दिन परेकोले अलि ढिलो गरी आमाले खाना तयार पार्नु भयो । घरमा सानीआमा पनि उनीहरुलाई भेट्न आउनु भएको थियो । सबै एकै ठाउँ बसेर खाना खाए । सानीले खाना गिजोली रहेकी थिइन् । बाबाले यो देखेर गाली गर्नु भयो ।
“यो सानीलाई खानेवेला बाहिर निकाल्दिनु नि बरु । कस्तो खान मन नलागेको हो कुन्नि … । कस्ति खत्तम भुरी छे यो त जहिल्यै खाने बेला यस्तै … ।”
सानीले नखाएको देखेर सानीमाले अड्कल लगाइन् । “केही त भएको छ … नत्र किन खानेकुरामा केटाकेटीले यस्तो गर्छन् र … ?” सानी भान्छाबाट उठेर गएपछि सानीमा र आमाले खासखुस गर्नुभयो ।
काम सकेर आमा र सानीमाले सानीलाई घुम्न लैजानु भयो । उनीहरु भृकुटीमण्डपको मेला हेर्दै असन, इन्द्रचोक हुँदै न्यूरोड पुगे । तीन, चार घण्टा समय व्यतित भइसकेकोले सानीलाई तिर्खा र भोक लागिसकेको थियो । सानीमाले न्यूरोडको टिपटप समोसा गल्लीमा खाजा खान लैजानु भयो । त्यहाँ अरु मानिसहरु पनि उभिई उभिई मिठाई, समोसा खाइरहेका थिए । खाँदै गर्दा सानीले अलिपर डस्टविन राखिएको ठाउँनिर दुई तीन जना केटाकेटीले त्यहाँ फ्याकिएको खाजा टिप्दै खाँदै गरेको देखिन् । उनलाई बाँकी रहेको समोसा मुखमा हाल्न पनि गा¥हो लाग्यो । पेटनै हुडले जस्तो भयो । “छ्या कस्तो घिन नलागेको !” मनमनै कल्पिन् ।
घर फर्किएपछि पनि उनलाई तिनै केटाकेटीको झझल्को आइरह्यो । “तिनीहरुका बा आमा को होलान् ? किन त्यसरी अर्काले छाडेको खानु परेको होला ?” सोची रहिन् । कता कता मन दुःखे दुःखेजस्तो भयो ।
बेलुकीको खाना खानबस्ता पनि केही नबोली “आमा मलाई अलिकति कम हाल्दिनु है ।” भनेर दिएजति खाना सबै खाइन् ।
आमाले उनको कृयाकलाप हेरिरहनु भएको थियो । छोरीको न्याउरो मुख देखेर सोध्नु भयो– “सानी ! के भो तिमीलाई ? किन टोलाएझंै भएकी खाने बेला पनि नाइनास्ती गर्दिनौ त ?”
विस्तारै अकमकाउँदै सानीले उत्तर दिइन् “मामु, म अब तपाईलाई दुःख दिन्न । बरु मलाई बढी हुने खाना ती केटाकेटीलाई लगेर दिऊँ न । उनीहरुलाई कस्ले दिन्छ र ? उनीहरुका बा, आमा कहाँ छन् आमा … ?” बोल्दाबोल्दै सानीको गला अबरुद्ध भयो ।
“ए, कुरा त्यस्तो पो … ! ल, ल हुन्छ सानी । म पनि तिमीलाई अब देखि कोचेर खुवाउँदिन ल ! त्यस्ता केटाकेटीहरुलाई खानेकुरा मात्र हैन तिम्रा कलम, कापी, लुगाफाटा पनि साँचौला । अनि बिदाको दिन पारेर बाड्न जाउँला है ।”
आमाका यस्ता कुरा सुनेर सानीको मुख उज्यालियो ।
(काठमाडौं)