पात्रहरू : एसेम, खाम्बे, डोमा, फुर्बा ।
[दृश्य विवरण – साधारण कोठाभित्र एसेम व्यस्त भएर फोनमा बात मारेको आवाज बाहिरसम्म सुनिन्छ]
एसेम – हँ । किन नचिन्नु ? यो एसेमले शालीज्यूलाई नचिन्नु भनेको नै पहिलेका कान्छीलहरहरूले छोड़ेका कान्छी स्वास्नी भएकै बराबर हो नि । (नारी स्वर खितिति हाँसेकी आवाज सुनिन्छ ) ।
फुर्बा – (छक्क् पर्दै) कान्छीलहर ! के हो कान्छीलहरू भनेको चैं बाठ्ठे भेनाज्यू ।
एसेम त्यति पनि थाहा छैन पोक्चीलाई । पहिलेका काउन्सिलरहरूमाझ कान्छे राख्नेलहर चलेको थियो । यसैले काउन्सिलरबाट कान्छीलहर…..
फुर्बा – (भुतुक्क हाँस्दै) आय्यु….यो एसेम भेनाले पनि हँसाउँनुहुन्छ । ढँटुवा भेना ।
एसेम – शालीले नै ढाँटेकी कुरो पत्याएपछि अनि म के गरूँ ?
फुर्बा – (सामान्य रिसिएर) अम्मुइ छेउमा भो यो भनेको ओँठ निचारेर उहिले खाको दूध जति जम्मै निकालिदिन्थेँ ।
एसेम – इम्पोसिबल फुर्बा बालिके इम्पोसिबल । माक्सले ग्वाम्मै छोपेको ओँठ निचोर्नु सक्छ्यौ ? जीटीएजस्तो यो ओँठ निचोरेर उहिले खाएको दूध ता को’नि सेप्टिय्टाङ्कभित्रको रस मात्रै निस्केला । ले नै ढाँटेकी कुरा पत्यापछि !
फुर्बा – (वाकवाक गर्दै) छि । सेप्टिट्याङ्क !
एसेम – तिम्रो लागि सेप्टिट्याङ्क घिनलाग्दो भए पनि कतिको सेप्टियाङ्कमा लक्ष्मीवास भएको कुरा थाहा छ के ? पगला झोड़ालाई लक्ष्मीझोड़ा भनेजस्तै सेप्टिट्याङ्कलाई मैले लक्ष्मीट्याङ्क भन्न थालेको छु ।
फुर्बा – अम्मुइ ! कतै नभाका बाहुन बाजे ।
एसेम – लकडाउन खुलोस् न बजारबाट सेप्टिट्याङ्कमा सिन्केधूप सधैँ नहल्लाई छोड़दिनँ अन्त ।
फुर्बा – (हाँसेर भुतुक्क हुँदै) एसेम भेनाको गिदी फुस्कियो भनेर हल्ला होला नि ।
एसेम – गिदी फुस्कियो भनोस् कि एसेमको लिदी खुस्कियो भनोस् यो एसेमलाई न लुतो न कनाइ । पहिला मलाई भनन यहाँ के चाहिँ फुस्केको छैन ? यता हेऱ्यो भ्वाङ्ङै उता हेऱ्यो भ्वाङ्ङै । स्वेटरको धागो फुस्केजस्तो सबै ता ह्वारह्वार्ती फुस्किसकेको छ ।
फुर्बा – वाह ! एसेम भेनाजी वाह ! यस्तो डायलग हान्ने मान्छे ता नेता हुनुपर्थ्यो नि ।
एसेम – नेता भएर के गर्नु शालीजी ? सिम्टेक्स र सेप्टिट्याङ्कभित्र लक्ष्मीवास भए पो । (हरेस खाँदै) बड़े बड़े नेताहरूको गिदी घोप्टेर ता केई हुन सकेको छैन भने नाथे यो मिस्त्रीको गिदी फुस्किँदा के हुन्छ र ! (एसेमकी श्रीमती डोमाको प्रवेश) ।
डोमा – यो मान्छे घरै उचालेर बोल्देछा हेरा । कोसाँगो बोल्दैछा ?
एसेम – (फोन डोमाको हातमा सुम्पिँदै) फुर्बा….फुर्वा । एकक्षण बात मार्दै गर ल (कानमा) पिशाब गरेर आउँछु) हिसाब ? (कान्छी औँली उज्याउँदै एसेम वाशरुमतिर प्रस्थान) हेलो ! फुर्बा ! म आङी बोल्देछा….मर्निङ…मर्निङ । किन फोन गारिस् मेरो फुरालाई ?
फुर्बा – हेर्नु न आङी सुङ्गुरको खोर भत्केर भेनालाई ठोकठाक गर्नु बोलाको खै आउने भएको छैन ।
डोमा – आन्ता तोलाई थाहा छेना लकडाउन भादोदेखि तलका मिस्त्रीहरू सपे आ-आफ्ना घार गोएकाले आइले यहाँका लोकल मिस्त्रीहरूलाई फुर्सदै छैन । (एसेमको प्रवेश । मोबाइल हातमा लिन्छ) लु बात मार् तेरो भेनासित । (डोमा प्रस्थान)
एसेम – अँ तिम्रो पलङ पो भाँचेछ भनेको ता सुङ्गुरको खोर पो भत्केको ?
फुर्बा – पलङ ता के भनेर भाँच्छ नि ।
एसेम – लकडाउनको समयमा पलङ भाँचिनु ठूलो कुरो होइन । पलङ भाँचिहाल्यो भने शालीको निम्ति भेना छँदैछ नि ! डण्ट वरी बट नो मनपरी ।
फुर्बा – अम्मुई बाठ्ठे । भेना छिटो खोर बनाइदिनू न हौ । बिजोग भइसक्यो विचाराहरूको ।
एसेम – एक हप्तासम्म तम्बू टांगेर राखन ।
फुर्बा – छ्या…कस्तो पापी हौ ।लो कुरो होइन ।
एसेम – के को पापी ? हाम्रो यता सीआरपीएफहरू आउँदा गुहे झोड़ातिर पनि परैहरू तम्बू टाँगेर बस्छन् । त्यसैको गन्धले मातिएर ता अन्धाधुन्ध गोली चलाएर हाम्राहरूलाई शहीद बनाएका बिर्सियौ ?
फुर्बा – मेरो सुङ्गुर सीआरपीएफ होइन क्या ! भन्नू न भेनाज्यू कहिले आउनुहुने ? भेनालाई ढोग मात्र गर्नु सकेकी छैन ।
एसेम – लकडाउनमा पनि ढोग गऱ्यौ भने ता कोरोनाको भोग मात्रै हुन्छ । यसो गर्नू म आउँदा टाढ़ैबाट निहुरिनू अनि म मेरो छाताको टुप्पोले तिम्रो टाउको टच गरेर भाग्यमानी भनिदिउँला । (हाँसेर भुतुक्कै हुन्छे) तर शाली भेनालाई ता लकडाउन एक्सक्यूज हुनुपर्ने हो’कि ! (प्रसङ्ग बद्लिँदै) एक हप्ताको टाइम देऊ । (एसेमको सहयोगी खाम्बे औजार लिएर प्रवेश ) राखेँ ल । म आउँछु । नसुर्ताऊ । (फोन राखी खाम्बेतिर हेर्दै) आइपुगिस् खाम्बे ? औजारहरू सबैमा धार लाइस् होइन ? (खाम्बेले स्वीकारात्मक मुण्टो हल्लाउँछ । नेपथ्यतिर हेर्दै) डोमा खाम्बे आइपुग्यो है । चिया लेऊ है ।
डोमा – (नेपथ्यबाट) लस्…लस्…
खाम्बे – उस्ताद आज माथिको काम सकिन्छ हई । (डोमा चिया लिएर प्रवेश । खाम्बेले अभिवादन गर्छ) ।
डोमा – ला चिया खा लो । लाकडाउन ता लोकल मिस्त्री पार्टीहरूलाई बहुत फायदा गारेको छ होइना ?
एसेम – अब मधेशका मिस्त्रीहरू लकडाउनको डरले टाप लाएपछि लोकल मिस्त्रीहरूलाई गोहार नमागी भोर र !
खाम्बे – तिनीहरू यहाँ हुँदा हामीलाई कसैले टेँढ़पूच्छर लाउँदैन थियो । घरको कुरा सागै बराबर ठान्थ्यो अऩि ।
डोमा – हाम्राहरू नि कम्तिर फुर्के हुँदैन नि । आलिकाति काम बिग्रियो भन्दियो भने हाम्राहरूलाई कमिलालाई मूतको पैह्रो भने झैं हुन्छ । काँ…झनक्क रिसाइ पो हाल्छो ता । तिमेरको कामतिमेरू नै गर् भनी धाम्की दिएर फुइँकिँदै काम छोरेरा गोइहाल्छो ।
एसेम – काम पनि गरिदिनु उनीहरूको धम्क्याइँ पनि खानु ?
खाम्बे – फेरि कोई चैं बिच्चैमा आएर कम्ति ता ख्याङ्ख्याह् गर्दैन । रन्दाले नाकै ताछिदिनु झोंक चल्छ ।
डोमा – तोलका मिस्त्रहीहरूले विरोधगरेको कोइले देखेना मेले ता । परैहरू सियो भाएर पोस्छान् फाली भोएर निस्किन्छान् ।
एसेम – हामी ता बन्दुक भएर पस्ने तोप भएर निस्किने ।
डोमा – तोप ? ओसिएको तोप पड़कान्छस् तोँ । त्याबारो आपे तोर्सेरा फारसतिर पोस्छा । आबो तोप होइना हाजूर बुद्धि पाड़्काउना सिक् । तिमारको यस्तै बेउराले यहाँको लोकल मिस्त्रीलाई काम नादिएर तोलाकोलाई दिन्छान् ।
खाम्बे – अब देवोस् न ।
एसेम – अब ता भा’पो देवोस् । र ता सात सयको ठाउँमा डेढ़ हजार अनि हेल्परलाई चार सयको ठाउँमा हजार लिन्छु ता ।
डोमा – (छक्क पर्दै) आप्….पे !
एसेम – के को आप् पे न साप् पे ?
खाम्बे – नेताहरूको लक (माथितिर हेर्दै) अप हुँदा मोराहरूले रजाइँ गरेर राँटो लाएका होइऩन् ?
एसेम – त्यतिबेला चुइँसम्म कोई बोल्न सक्यो ? लकडाउन भए पनि अहिले हाम्रो ‘लक’ अपमा छ । अब हाम्रो पालो ।
खाम्बे – कति दिनसम्म घरको कुखुरा सागै बराबर भएर बस्नु । हामी घरको साग पनि कहिलेकाहीँ कुखुरा भइदिउँ न । साधारण खटिखाने मिस्त्रीले लकडाउनमा धेर लिँदा कुन ठूलो पहाड़ ढल्छ हौ हन ?
एसेम – अरुहरूले सिङ्गै पहाड़ नै क्वाप्ल्वाक्कै पार्न खोज्दा पनि चलिङ ।
डोमा – केरा पायो भन्दोइमा बोक्रैसिता खानुभोएना नि । तिमेरको मुखाइ ठिकी छेना..मिस्त्रीले मुख सोफा राख्नुपोर्छा नात्रा मुखमा इस्त्रीले डाम्नुपोर्छा ।
खाम्बे – मुख सफा गर्नु सर्फ खानु आजिला ?
एसेम – हामी मिस्त्रीको मुख तिमेरको बक्खुजस्तो हो कि क्या हो….
डोमा – बाक्खु होइना तिमेरको मुख छारा छ छारा । यस्तै बेहोरा गारयो भोने नि केही दिनपाछि सबे तोलबाटा आउनेले यहाँ राज गोर्छा । लोकलहरू ता हेरेको हेरेकै । (नेपथ्यबाट “एसम सर ! एसेम सर !” भनेको आवाज सुनेर एसेम नेपथ्यतिर प्रस्थान) ।
मञ्च अँध्यारो हुन्छ ।
(सिलिगुड़ी, भारत)