नेपाली साहित्यमा नयाँ पहिचानसहित जन्मिएको नेपाली साहित्य घर डटकम आजदेखि छ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा प्रिय पाठक, आफ्ना रचनासिर्जना दिएर सहयोग गर्नुहुने आदरणीय कविसाहित्यकार, समाचार पठाउनु हुने साथीहरू र सम्पूर्ण शुभेच्छुक मित्रहरूमा धन्यवादसहित आभार व्यक्त गदछौँ ।
आजभन्दा छ वर्ष अगाडि २०७२ साल मंसिर ६ गते चारजना कविका कविता पोष्ट गरेर जन्मिएको थियो नेपाली साहित्य घर । त्यसयता नेपाली कलासाहित्यको विकास र प्रवर्द्धनमा यो पत्रिका निरन्तर क्रियाशील छ । हाम्रो उद्देश्य विश्वभर छरिएर रहनुभएका नेपाली साहित्यकारका रचना प्रकाशित गर्ने मात्र नभएर उहाँहरूलाई नेपाली साहित्य घर हाम्रो गन्तव्यको साझा विसौनी हुनसक्छ भन्ने विश्वास दिलाउनु पनि हो ।
नेपाली साहित्य घर आर्थिक लाभका लागि नभएर नेपाली कलासाहित्यको विकास र प्रवर्द्धनका लागि खोलिएको अनलाइन पत्रिका हो । अहिलेको उपभोक्तावादी समाजमा यस्तो कुरा कोरा आदर्शजस्तो लागे पनि हामी यो उद्देश्यमा प्रतिबद्ध छौँ । हामीले यस पत्रिकामार्फत् लेखक साहित्यकारका रचनाहरू आम पाठकसामु पुर्याउने, ओझेलमा परेका कविलेखकको खोजी गर्ने र नवप्रतिभालाई प्रोत्साहन गर्ने कामलाई निरन्तरता दिने छौँ ।
पुँजीवादले बजार अनुकूल माल उत्पादन गर्ने र नाफाका लागि मात्र सेवा प्रवाह गर्ने गर्छ । जुन वस्तुमा नाफा हुन्छ त्यही वस्तुको उत्पादन र वितरण गर्छ । अहिलेको बजार र उपभोक्तावादी चिन्तनद्वारा कलासाहित्य पनि ग्रसित छ । हामी साहित्य विशुद्ध नाफाका लागिभन्दा पनि महान् आदर्श र सपनाका लागि लेखिनुपर्छ भन्ने मान्यता राख्छौँ । यही आदर्शबमोजिम साहित्यिक पत्रकारितालाई सिर्जनशील र उत्पादनशील बनाउन प्रयत्नशील छौँ ।
साहित्यिक पत्रिका हुनुको नाताले यसमा विगतको मूल्याङ्कन, साहित्यकारको व्यक्तित्व र कृतित्वमाथि चर्चा तथा समकालीन विषय र मुद्दामाथि बहस हुन्छ नै । हामी यस्ता बहस, चर्चा र समालोचनाहरू तथ्य र तर्कका आधारमा हुनुपर्छ भन्ने मान्यता राख्छौँ । पुरातन, आदर्शवादी र विशृङ्खलित विचारका आधारमा गरिने मूल्याङ्कन वैज्ञानिक र वस्तुवादी हुन सक्दैन । नेपाली साहित्य र साहित्यकारहरूको मूल्याङ्कनका आधार के हुन सक्छन् ? कुन आधार र दृष्टिकोणमा उभिएर इतिहासको मूल्याङ्कन गर्ने ? साहित्यकार र साहित्यिक पत्रिकाहरू यस्ता विषयमा स्पष्ट हुनैपर्छ । साहित्यलाई आर्थिक लाभ, मानसम्मान र पदप्रतिष्ठा प्राप्त गर्ने भर्याङ बनाउनेहरू पनि छन् । रुढिवादी र पुरातन मूल्यहरूलाई छोड्न नसक्नेहरू पनि छन् । हामी कलासाहित्य विचार निर्माण र सामाजिक परिवर्तनको महत्वपूर्ण साधन हो भन्नेमा विश्वास गर्छौं । यसर्थ पश्चगमन र यथास्थितिलाई भरथेग गर्ने खालको लेखनी र लेखकहरू हाम्रा आदर्श हुन सक्दैनन् ।
हामी साहित्यमा जीवन र जगतको प्रतिबिम्बन हुन्छ र हुनुपर्छ भन्ने मान्यता राख्छौँ तर जीवनलाई अझ सुन्दर र अझ आदर्शमय कसरी बनाउन सकिन्छ भन्ने कुरालाई प्राथमिकता दिन्छौँ । जीवनमा खुसी, विजय र सुख मात्र हुन्न निराशा, दुःख र पराजय पनि हुन्छ । माया–प्रेम र सामाजिक सम्बन्धले जीवनलाई गतिशील बनाएको हुन्छ । तर माया–प्रेमका नाममा गतिछाडा यौनप्रेम र सामाजिक सम्बन्धको नाममा जीवनविरोधी सिर्जनालाई हामीले प्रोत्साहन गर्न सक्दैनौँ ।
जे लेखे र जस्तो लेखेपनि साहित्य हुन्छ भन्ने मान्यतालाई हामी खारेज गर्छौं । कलाबिनाको कलासाहित्य कला हुन सक्दैन । हामी साहित्यमा कला र विचारलाई उत्तिकै महत्व दिन्छौँ । हामी साहित्यको नाममा व्यक्तिगत कुण्ठा र राजनीतिक नारालाई प्रोत्साहन गर्न सक्दैनौँ । पुरातन शैली, विषय र विचारले अहिलेको समयलाई नेतृत्व गर्न सक्दैन । मौलिकता र परम्पराको नाममा विज्ञानविरोधी चिन्तन, शैली र संस्कारसंस्कृतिलाई हामी स्वीकार गर्न सक्दैनौँ ।
नेपाली साहित्य घर डटकम अहिलेसम्म कुनै संघसंस्था, व्यापारी प्रतिष्ठान र व्यक्तिविशेषको सहायोग, अनुदान र विज्ञापन नलिई सञ्चालन हुँदै आएको छ । यस पत्रिकामा हामीले जति समय दिएका छौँ स्वयंसेवकको रूपमा दिएका छौँ र जतिपनि लेखकसाहित्यकारका रचनासिर्जना प्राप्त गरेका छौँ सहयोग स्वरूप निःशुल्क प्राप्त गरेका छौँ । यो प्रक्रिया अझ केही समय यसरी नै चल्ने छ । लेखकका रचनासिर्जना पारिश्रमिकविना प्रकाशित गर्नु हुन्न भन्ने मान्यता राख्दाराख्दै पनि पारिश्रमिक दिन असमर्थ रहेकोमा हामी क्षमाप्रार्थी छौँ ।
अन्त्यमा, निस्वार्थ र विनापारिश्रमिक हामीलाई सहयोग गर्नुहुने आदरणीय कविलेखक, समाचार पठाउनु हुने महानुभावहरू र घोषितअघोषित रूपमा टिममा रहेर निरन्तर सहयोग गर्नुहुने साथीहरूमा फेरि पनि आभार व्यक्त गर्छौं । हामीलाई विश्वास छ, यो सहयोग आगामी दिनमा पनि निरन्तर कायम रहने छ ।
सम्पादक/अध्यक्ष
विष्णु भण्डारी