श्रावस्ती नगरको छिमेकी गाउँमा दिनदिनै केटाकेटीहरु हराउन थाले । गाउँमा त्रास फैलियो । नजिकैको जङ्गलबाट एउटी दुष्ट यक्षणी आएर गाउँका बच्चा लैजाने गरेको गाउँलेहरुले थाहा पाए । यक्षणीबाट मुक्ति पाउन गाउँलेहरु बुद्धको शरणमा गए ।
त्यसबेला गौतम बुद्ध वर्षाकालीन आवासका लागि श्रावस्ती नगरको जितवन महाविहारमा बसेका थिए । गाउँलेहरु विहारमा पुग्दा बुद्ध ध्यानमा मग्न थिए । आँखा खोल्दा उनले आना अगाडि मान्छेको निरास भीड देखे । उनलाई अचम्म लाग्यो । उनले गाउँलेहरुसँग सोधे, “के भयो तपाईंहरुलाई ? किन मकहाँ आउनु भएको ?”
गाउँलेहरुमध्ये एक जनाले दुःखी स्वरमा गाउँलेहरुको समस्या सुनाउँदै भने, “यक्षणीले हाम्रा बच्चा अपहरण गरेर खाइदिएर हैरान पारी । त्यसलाई ठेगान लगाइदिनु प¥यो ।”
गाउँलेहरुको समस्या र पीडा बुझेर बुद्ध सोचमग्न भए । धेरै बेर सोचे अनि लामो सास फेर्दै उनले सोधे, “त्यो यक्षणीका बालबच्चा छन् कि छैनन् ?”
“त्यसका त धेरै केटाकेटी छन् । सय जनाभन्दा धेरै होलान् ।” एक जना गाउँलेले भने ।
“त्यसो हो भने उसको सबभन्दा कान्छो सन्तानलाई कुनै उपाय लगाएर मकहाँ ल्याउन सक्नुहुन्छ ?” बुद्धले सोधे ।
बुद्धको प्रश्न सुनेर एक छिन गाउँलेहरु अलमल्ल परे । आपसमा एक अर्कालाई हेरे । अनि एक जना तन्नेरी गाउँलेले भने, “भन्ते, हामी कोसिस गर्छौं ।”
“हुन्छ । त्यसको सन्तानलाई कत्ति पनि हानि नपु¥याइकन मकहाँ ल्याउनु होला,” बुद्धले भने ।
धेरै प्रयास र मेहनतपछि गाउँलेहरुले यक्षणीको कान्छी छोरीलाई अपहरण गरेर बुद्धकहाँ लगे । बुद्धले त्यो बालिकालाई विहारमा राम्रोसँग स्याहार सुसार गरेर राख्ने व्यवस्था गरे ।
यक्षणी आनो कान्छी छोरी हराएपछि पागलजस्तै भई । ऊ छोरीलाई खोज्दै गाउँ र बस्तीका गल्लीगल्लीमा भौ“तारिन थाली । जति खोज्दा पनि नभेट्टाएपछि ऊ चिन्तैचिन्ताले बिरामी परी ।
“यसरी चिन्तामा डुब्नुभन्दा जाऊ गएर बुद्धलाई बच्चा हराएको कुरा भन । कुनै उपाय निकालिदिनु हुन्छ कि ?” यक्षणीलाई उसको आफन्तले सुझाव दियो ।
ऊसँग अरु उपाय बाँकी थिएन । यसैले ऊ श्रावस्ती नगरमा गई । बुद्धलाई खोज्दै ऊ जितवन विहारमा पुगी र बुद्धको अगाडि अलापविलाप गर्न थाली ।
“के भयो तिमीलाई ? किन यसरी शोक मनाएको ?” बुद्धले सोधे ।
“मेरो प्राणभन्दा प्यारी छोरी हरायो ।” उसले भक्कानिँदै भनी ।
“कति छन् तिम्रा बालबच्चा ?” बुद्धले फेरि सोधे ।
“सय जना छन् हजुर ।” उसले हात जोड्दै भनी ।
“सय जनामा एकजना हराउँदा के भयो त ?” बुद्धले भने ।
“त्यो मेरी कान्छी छोरी हो । मलाई उसको जति कसैको माया लाग्दैन । ऊ भएन भने त म तड्पिएरै मर्छु,” उसले फेरि अलापविलाप गर्न थाली ।
“तिमीले सयमा एउटा बच्चा हराउँदा तड्पेर मर्छु भन्यौ । तर जसका एक दुई बच्चा छन्, तिनका बच्चा हराउँदा तिनको मन कस्तो भयो होला सोचेकी छौ ?” बुद्धले अलि रुखो स्वरमा भने ।
बुद्धको कुरा सुनेर यक्षणी स्तब्ध भई । ऊ एक छिन बोल्न सकिन । उसका आँखाबाट आँसु बगे । केही बेरपछि उसले आँसु पुछ्दै भनी, “भन्ते, हजुरको कुरा मैले बुझेँ । अब म यस्तो अपराधको काम गर्दिन । मलाई क्षमा गर्नुहोस् ।”
बुद्धले मन्द मुस्कुराउँदै भने, “तिम्री प्यारी छोरी विहारमा सुरक्षित छ । ऊ साथीहरुसँग खेलिरहेकी छ ।”
आनो प्यारी छोरी सुरक्षित भएर खेलिरहेको सुन्दा यक्षणी खुसी भएर बच्चालाई भेट्न छटपटाइन् ।
बुद्धले भने, “हतार नगर । अबदेखि अरुका बच्चालाई पनि आनै बच्चालाई जस्तो माया गर ।”
अनि यक्षणी अलि गम्भीर भई । उसले हात जोडेर बुद्धलाई ढोग्दै भनी, “भन्ते, हजुरको आज्ञा हुन्छ भने अबदेखि म बच्चाको संरक्षक बन्छु ।”
बुद्धले उसको कुरा स्वीकारे । तर पूरै विश्वास गर्न भने सकेनन् । बुद्धले विहारको अगाडि यक्षणीका लागि बस्ने व्यवस्था मिलाइदिए । ऊ त्यहीँ बसेर गाउँ र बस्तीका केटाकेटीको रेखदेख र सुरक्षा गर्न थाली ।
कालान्तरमा उसलाई मानिसहरुले बालबालिकाकी संरक्षिका हारती माता भनेर बोलाउन थाले । त्यस बेलादेखि नै विहार र चैत्यको अगाडि हारती माताको मन्दिर बनाउने चलन चल्यो । काठमाडौ“ स्वयम्भूमा हारती माताको प्रसिद्ध मन्दिर छ । उपत्यकामा हारती मातालाई हारती माजु, अजिमा द्यः, मयजुदेव, हारती बज्रयोगिनी, शीतला माजु, स्वयम्भू संरक्षिका, धर्मपाली, धाक्वसिक्व मचाप्यास आदि नामले चिनिन्छ ।
(दाङबाङ, प्युठान)