एउटा फराकिलो सडक होस् गाउँको सानो सानो कुइनेटोहरू , अथवा गोरेटोहरू ऊ मौन हुन्छ जहिले पनि तर ऊ कसैको समाधि होइन बस् ...ऊ कहिले प्रश्न गर्दैन ऊ कहिले गुनासो गर्दैन । ऊ जहिले पनि एउटा गन्तव्य बनिदिएको हुन्छ एउटा नयाँ सोचको एउटा सफलताको एउटा चेतावनीको एउटा सपनाको एउटा विश्वासको एउटा इतिहासको एउटा धर्मको । तर...! ऊ जहिले मौन नै त बस्छ ऊ साक्षी बनेको हुन्छ सुकर्म कुकर्मको हरेक साँझ बिहान उसलाई थाहा हुन्छ परिवर्तनका मागहरू समयका कोलाहलहरू । उसलाई थाहा हुन्छ कालो धनका आगमनहरू उसलाई थाहा हुन्छ निर्मम हत्याहरूका दृश्यहरू उसलाई थाहा हुन्छ नारी पुरूषका बलत्कारका दृश्यहरू अनि उसलाई थाहा हुन्छ बाटो नपाएका आत्माहरूका चित्कारहरू । हो उसलाई पक्कै थाहा छ पेटमा कस्सेर पटुकी बाँधेर फोहोरको ढ्वाङ्गसँग परिचय साटेर उसको छात्तीमा न्यानोपन खोज्दै उसलाई सुमसुम्याउँदै एक पहरको मिठो निद्रामा शीतको आक्रमणले मृत्युलाई अंगालेको । उसले सहेको छ एउटा मत्यु मान्छेको गनगन, गुनासो, परिबन्धका कथाहरू । ऊ त्यो बतासे बालकको साक्षी नबनेको पनि कहाँ हो र उसलाई फ्याँकिएको ऊ हुर्केको उसले पाएको संस्कार संस्कृति सभ्यताको सबै सबैको हो उ साक्षी हो तर ऊ कालो कोटको परिबन्धबाट मुक्त छ । उसलाई यो पनि थाहा हुन्छ उसको आँखा जहिले नि तैनात छ उसलाई जासुसी गर्न वल्लो घर, पल्लो घर त्यो गाउँ र यो गाउँ घुम्न जानु छैन उसले खुसुक्क कसैको कान पनि भर्नु छैन । तर ऊ जहिले पनि द्वन्दको अकारण कारण बन्नु उसको दुर्भाग्य हो । बरू म भन्छु तिमी कुनै मन्दिरको शिलाजस्तो नबन्नु तिमी कुनै विशेष व्याक्तिको सालिक नबन्नु खोलिदेऊ बरू ती अन्धकारका अदृश्य पन्नाहरू । केही बोलिदेऊ केही हाँसिदेऊ केही रोइदेऊ बस् तिमी ...तिम्रो अस्तित्वको आफै घोषणा गरिदेऊ । (दार्जिलिङ)