मामालाई एयरपोर्टमा भेट्न नपाएपछि हिमेशको मुख अँध्यारो भयो । एयरपोर्टबाट घर फर्कंदा बाटोमा पनि ऊ बुबासँग बोल्दै बोलेन । अचानक मामा आउने कुराले ऊ अत्यन्त खुसी थियो । १० वर्षीय हिमेश कक्षा ५ मा पढ्थे ।
चीनको बुहानमा कोरोना महामारी देखिएपछि त्यहाँ पढ्न बसेका नेपाली विद्यार्थी स्वदेश फर्कन हतारिएका थिए । लामो दबाबपछि नेपालबाट गएको विमानले उनीहरूलाई स्वदेश फर्काएको थियो । तर क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले हिमेशले मामा शिशिरलाई विमानस्थलमा भेट्न पाएन । ऊ मात्र होइन, अरू सबैका नातेदार र आफन्तले पनि आफ्ना मान्छे भेट्न पाएनन् । भेट्न जानेहरू सबैका अनुहार उदास देखिन्थे । फर्केका सबै विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न छुट्टै बसमा लगियो । नातेदार टाढैबाट फर्किए ।
“तिमी किन उदास ? मामालाई देखेनौँ ?” घर फर्केपछि आमाले छोरालाई सोधिन् ।
“टाढाबाट मात्र देखेँ । मामाले हात हल्लाउनुभयो । मैले पनि हल्लाएँ”, हिमेशले भन्यो, “तर भेट्न पाइएन ।”
“के भो त ? १४ दिनपछि क्वारेन्टाइनबाट फर्कनुहुन्छ, अनि भेटौँला, कुरा गरौँला, हुन्न ?”
“हुन त हुन्छ नि, तर मलाई मामालाई भेट्न कस्तो मन लागेको थियो,” हिमेशले सुस्तरी सोध्यो, “आमा, किनयति धेरै दिन मामालाई छुट्टै राख्न लगेको ? क्वारेन्टाइन भनेको के हो नि ?”
“अहिले विभिन्न देशमा कोरोना भाइरसले मानिस बिरामी परेका छन् । यो चाँडै सर्ने भएकोले विदेशबाट आउनेलाई छुट्टै राखिएको हो । त्यहाँ उनीहरूको स्वास्थ्य जाँचिन्छ र १४ दिनभित्र पनि रोगको भाइरस नदेखिएमा घर जान दिइन्छ । यसरी रोगको लक्षण देखिन्छ कि भनेर राखिने ठाउँलाई क्वारेन्टाइन भनिन्छ,” आमाले बताइन् ।
केही दिनसम्म त स्कुलजाँदा–फर्कदा हिमेशको समय बित्यो तर जब कोरोनाको सङ्क्रमण बढ्ला भन्ने डरले स्कुल बन्द भयो हिमेशलाई समय बिताउन गाह्रो हुँदै आयो । स्कुल बन्द भएकै दिनदेखि लकडाउन भएकाले बाहिर जान पनि नसकिने स्थिति भयो । दुई चार दिन त त्यसै बितिहाल्यो तर त्यसपछि हिमेशले दिक्क दिन थाल्यो । कहिले के, कहिले के के भनेर आमाबुवा दुवैलाई झिँजो दिन थालेपछि भने आमाबाबुलाई आपत् नै प¥यो । बेलाबेलामा हिमेश आमासँग कोरोना र मामाबारे सोधिरहन्थ्यो ।
“मलाई मात्र कति सोधिरहेको ? टिभीमा कोरोनाबारे आएको आयै छ, तिमी हेर्देनौँ । समाचार हेर, सुन । थाहा पाइहाल्छौँ नि !” आमाले सम्झाइन् ।
आमाको कुरामा बुबाले थप्नुभयो, “अब त तिमी पनि ठुलो भयौ नि ! धेरै कुरा सुनेर, हेरेर बुझिन्छ । स्कुलमा पढेको कुरा घरमा बसेर दोहो¥याउँदा पछि सजिलो हुन्छ । आऊ, टिभीमा कोरोनाबारे बताउँदै छ, सुन्न आऊ ।”
टिभीमा समाचार आउँदैथ्योः कोरोनाबाट सङ्क्रमितको सङ्ख्या बढ्दो । मृत्यु हुनेहरू पनि बढे । समाचारसँगै विभिन्न देशमा बिरामीको उपचार भइरहेको सहित विभिन्न दृश्यहरू देखाइँदै थियो । हिमेश पक्क परेर हेरिरहेको थियो ।
“ओहो, कस्तो डरलाग्दो यो कोरोना भाइरस त । त्यसको जिउमा त काँडैकाँडापो हुँदोरै’छ, हगि बुवा ।” हिमेशले सुस्तरी भन्यो, “यो हाम्रो शरीरभित्र पसेपछि त कति घोच्छ होला?”
छोराको कुरा सुनेर रमेश मुसुक्क हाँसे मात्र । “अघि समाचारपछि टिभीमा कोरोना भाइरसबाट बच्ने उपाय पनि दिएको थियो नि, सुनेनौँ ?”
“सुन्न त सुनेँ तर याद भएन बुबा!”
“अनि राम्ररी सुन्नुपर्छ नि । सुनेर मात्र पनि हुँदैन छोरा, त्यसअनुसार हामीले गर्नु पनि पर्छ । ल म भन्छु, सुन है त ?” यसो भनेर रमेशले मुखमा मास्क लगाउने, बाहिरबाट फर्केपछि सेनेटाइजरले हात धुने, त्यो नभए साबुन पानीले मिचीमिची हात धुने र बाहिरतिर जानै परे दूरी राखेर हिँड्नुपर्ने कुरा विस्तारपूर्वक बताए ।
बुबाले त्यति भनेपछि हिमेशलाई पनि आँट आयो । उनले भने, “पख्नोस् है बुबा, मलार्ई थाहा भएको पनि भनुँ ?”
“त्यो त झन् राम्रो । ल तिमीले थाहा पाएजति भनन त ।”
“हैन, हाम्रो छोराले भन्ने हो ?” भान्छाबाट आउँदै गरेकी आमाले बीचैमा प्वाक्क भनेपछि हिमेश लजाए ।
“हो नि, मैले अघि छोरालाई ठुलो भयौँ त्यसै भनेको हो त ? ल भन त छोरा !”
“यो भाइरस शरीरमा पसेपछि मानिसलाई रुघा लाग्ने, सुक्खा खोकी आउने, ज्वरो पनि आउन सक्ने, नाकबाट सिँगान बग्ने, जिउ दुख्ने हुन्छ रे, अघि टिभीमा त्यसै भनेको सुनेको थिएँ । होइन त बुबा ?”
“हो, छोरा तिमीले राम्ररी सुनेका रहेछौँ । त्यसैले हाच्छ्यूँ आउँदा र खोक्दा यसका कीटाणु अरूबाट हाम्रो शरीरमा पस्नसक्ने हुँदा मास्क लगाउनु भनेको हो । बुझ्यौ ? अनि कीटाणु विभिन्न माध्यमबाट हाम्रो हातमा आउने र हातबाट मुख, नाक र आँखा भएर शरीरभित्र पस्ने हुँदा हातमा सेनिटाइजर लगाइरहनू वा साबुनपानीले हात मिचीमिची धुनभ नेको हो नि !”
“कति कोरोनाको कुरा गरिरहेको । खाजा खाऔँ,” आमाले बाबुछोराका अगाडि खाजा राखिदिइन् र आफू पनि खान बसिन् ।
खाजा खाँदै गर्दा हिमेशलाई मामाको सम्झना आयो । “मामाले के खाजा खानु भयो होला हगि ?” उसको मुखबाट झट्ट निस्कियो ।
छोराको कुरा सुनेर उर्मिलाको गह आँसुले भरियो । विदेशबाट आएको भाइलाई यति दिन भइसक्दा पनि भेट्न नपाउँदा उनको मन त्यसै पनि रोइरहेको थियो । अहिले छोराले सम्झाउँदा उनले खाजा निल्नै सकिनन् ।
“बुबा, मामासँग कुरा गरौँ न, हुन्न । मलाई मामासँग कुरा गर्न मन लागेको छ ।”
छोरा र श्रीमती दुवैको मनोभाव बुझेपछि रमेशले शिशिरको मोबाइलमा फोन गरेँ । एक–दुई पटक रिङ गरेपछि बल्लबल्ल उताबाट आवाज आयो, “भिनाजु, दर्शन ।”
“कस्तो छ तिमीलाई शिशिर ? स्वास्थ्य कस्तो छ ?”
“भिनाजु, अहिलेसम्म ठीक छ । अहिलेसम्म गरिएको परीक्षणमा मलाई कोरोना पोजिटिभ देखिएको छैन । आज १२ दिन भयो । अब दुई दिन मात्र हो । पर्सि त म तपाईंकहाँ पुगिहाल्छु नि ।”
शिशिरको स्वर सुन्नबित्तिकै उर्मिलाले रमेशको हातबाट फोन लिइन् । उनी बोल्न खोजिरहेकी थिइन् तर आवाज निस्किरहेको थिएन । “आमा बोल्नु न,” हिमेशले भनेपछि उनले यति मात्र भन्न सकिन्, “बाबु, तिमीलाई त ठीक छ नि ?”
“अँ दिदी, मलाई ठीक छ । आत्तिनु पर्दैन । घरमा फोन गरेर बुबाआमालाई पनि भनिदिनु होला । यहाँबाट निस्केपछि म सिधै हजुरकहाँ आउँछु । भाञ्जालाई विमानस्थलमा देखेँ मात्र । भाञ्जा के गर्दै छन् ?”
“यहीँ छेउमा बसेर हाम्रो कुरा सुनिराको छ, ल भाञ्जासँग पनि कुरा गर है बाबु ।”
“हुन्छ दिनोस् दिदी !”
”मामा…!“ हिमेशले भन्नासाथ मामाले उताबाट फोनमै चुम्बन गर्नुभयो र भन्नुभयो, “मेरो प्यारो भाञ्जा ? के गर्दै छौँ ?”
“मामालाई सम्झिरहेको छु र कहिले आइपुग्नु हुन्छ भनेर पर्खिरहेको छु !”
“त्यसो भए पर्सि पक्का आउँछु, अनि कुरा गरौँला है भाञ्जा !”
“हुन्छ मामा, तर आउँदा मास्क लगाउन नबिर्सिनु होला है ।”
भाञ्जाको कुरा सुनेर शिशिर हाँसेको आवाज यतासम्म सुनियो । शिशिरको हाँसो सुनेर रमेश र उर्मिला पनि हाँसे ।
हिमेश पर्सि आउने दिन पर्खेर बसिरहेको छ ।