आदेभ अर्थात् आनन्ददेव भट्ट !
हँसिलो मुहार, सादगीपूर्ण व्यक्तित्वका धनी, मिलनसार व्यवहार, सँधै एकनासको दुब्लो ज्यान, आफ्नो जिन्दगानीको ठूलो र लामो हिस्सा सामाजिक, आर्थिक र राजनीतिक विभेदको उन्मूलनका लागि खर्च गर्दै कहिले सक्रिय त कहिले सुषुप्त तथा उत्तरार्धमा पूनःवौरिएरै पनि लाग्नुभयो । र, अन्ततोगत्वा २०७८ भदौ १४ सोमबारका दिन ८५ वर्षे वयमा हिँडदाहिँडदै पार्थिवी बिदा हुनुभयो । आफूले बोकेको विचार अनुसारको आफ्नो सांस्कृतिक रुपान्तरणमा उहाँले केकति चाँजोपाँजो मिलाउनु भयो सोबारे म त अनभिज्ञ छु नै तर हाम्रो यथार्थ के हो भने यस मामिलामा हाम्रो पंक्ति निकै कमजोर नै छ । र, उहाँको अन्तिम संस्कार पनि त्यस मामिलामा अपवाद किन हँुदो हो र ! उहाँको अवसानले प्रगतिशील आन्दोलनले आफ्नो पहिलो पुस्तालाई अब लगभग बिदा गरिसकेको छ जस्तो लाग्दछ ।
आदेभ, यो संक्षेपीकरण उहाँ आफैँले प्रयोग गर्ने गर्नु भएको थियो, सँगको मेरो चिनजान तीसकै दशकमा भयो कि जस्तो लाग्छ । विभिन्न साहित्यिक गोष्ठीेभेलामा सामान्य भेटघाट भइरहन्थ्यो, तर बाक्लो भेटघाट र सरसंगत चाहिँ उत्साह साहित्यिक पत्रिकाले गरायो ।
उत्साहको सम्पादनः
२०४२ मार्ग १५का दिन चाबहिलमा उत्साह पत्रिकाका संचालकहरुद्वारा आयोजित साहित्यिक भेलाले सो पत्रिकालाई सामूहिक सम्पादन, व्यवस्थापन अनुसार चलाउने सहमति गरे पश्चात सम्पादक र व्यवस्थापक मण्डलको चयन गरेको थियो । उहाँ उत्साहको सम्पादक मण्डलको एकजना सदस्य हुनुहुन्थ्यो र अरु सदस्यहरु रमेश विकल, पारिजात, खगेन्द्र संग्रौला र मोहन दुवाल हुनुहुन्थ्यो । विधाहरु बाँडिएको थियो । रमेश विकलले नाटक हेर्नुहुन्थ्यो, पारिजातले कविता, आदेभले समालोचना समीक्षा, खगेन्द्र संग्रौलाले कथा, र मोहन दुवालले लेखनिबन्ध हेर्नुहुन्थ्यो ।
म कार्यकारी सम्पादक थिएँ भने देविका तिमिल्सिना र शार्दुल भट्टराई सहकार्यकारी सम्पादक हुनुहुन्थ्यो । उत्साहको सामूहिक सम्पादनको पहिलो कार्यकाल हाम्रो जिम्मामा थियो । मासिक रुपमा निकाल्थ्यौँ उत्साह । हामीले अंक २३ देखि ३४सम्म १२ अंक सम्पादन प्रकाशन ग¥यौँ । वर्षदिनपछि फेरि पहिलेको जस्तै साधारण भेला गरेर हामीले त्यो जिम्मेवारी अर्को टोलीलाई सुम्प्यौँ । त्यो टोलीमा आदेभ, रमेश विकल र पारिजात दोहोरिनु भयो, मञ्जुल र गंगा उप्रेती थपिनु भयो । हरिगोविन्द लुइँटेल तथा लिखत पाण्डे र अनिल पौडेल कार्यकारी समूहमा पर्नुभयो । (यो विवरण उत्साह–३४मा उपलब्ध छ ।)
उत्साहको सामूहिक सम्पादन हुन्थ्यो । लेखरचनाहरु सम्बद्ध सम्पादकले छानेपछि सम्पादकीय र गतिविधि खण्ड बैठकले चक्रीय क्रममा ताेिकदिएको व्यक्तिले लेखेपछि सामूहिक सहमति बनेर नै छाप्ने गरिन्थ्यो । त्यसकालका केही कुराहरु, जसमा आदेभ पनि जोडिनु भएको थियो, उल्लेख गर्नु मनासिब नै होला भन्ने मलाई लागेको छ ।
तिनताका उत्साहमा एउटा सम्पादकीय छापियो–वैचारिक प्रतिवद्धता र लेखकीय स्वतन्त्रता । (यही शीर्षक थियो जस्तोलाग्छ) । त्यो सम्पादकीय आदेभले नै लेख्नु भएको थियो । त्यसबारे सबैतिरबाट निकै टीकाटीप्पणी भयो, पछिसम्मै पनि भइरह्यो । हुन त यो विषय सँधै बहसमा रहिरहने पनि भयो । पार्टी पंक्तिमा आबद्ध हुनेहरुले एउटा धारणामा पक्षधरता देखाउने भए भने पार्टीइतरहरुको धारणा भिन्न हुने भयो । लेखकीय प्रतिवद्धताको कुरो उठदा पार्टी प्रतिवद्धता र वैचारिक प्रतिवद्धताका कुराहरु उठने गर्दछ, उठिरहेकै छ । यसमा मतैक्य हुन गाह्रो हुनेगरेको पाइन्छ । वैचारिक प्रतिवद्धता आधारभूत कुरो हो र पार्टी प्रतिवद्धता सहायक कुरो हो भनेर बुझियो भने यसले विवादलाई एउटा स्वस्थ दिशा दिँदो हो । हुन त लेनिनले पार्टीमा आवद्ध लेखकहरु पार्टी लेखक हुनै पर्दछ भनेका छन् । र, प्रगतिवादी आन्दोलनमा त्यो ब्रह्मवाक्यजस्तो बन्न पुगेको छ नै तर कतिपय जानिफकारहरु लेनिनले आफ्नो त्यो भनाइलाई वैचारिक प्रतिवद्धता भनी व्याख्या गरे भन्ने कथन पनि कतै पढेको जस्तो लागेको छ ।
हम्रो सम्पादनको २०४३ आषाढको उत्साहको २८औँ अंक कथा विशेषका रुपमा प्रकाशित भयो ।
त्यस अंकमा १२ कथाकारका कथाहरु प्रकाशित भए, तर तीमध्ये रमेश विकलको कथा सबैले बिर्सिदिएको अनुहारमा तत्कालीन अंचलाधीश कार्यालयले आपत्ति जनायो । तिनताका काठमाडौँ उपत्यकामा अंचलाधीश कार्यालयले पत्रपत्रिका सेन्सर गर्ने गर्दथ्यो । प्रेसमा छापिनासाथ पाँच प्रति पत्रिका अंचलाधीश कार्यालयमा पु¥याउनु पथ्र्यो । र, त्यहाँबाट स्वीकृति पाएपछि मात्र पत्रिका बजारमा लान पाइन्थ्यो । अन्यथा भएमा प्रेस मालिक, सम्पादक प्रकाशक कारवाहीमा पर्थे । पत्रिका त्यहाँ पु¥याउने काम प्रेसको प्रोप्राइटरले नै गर्ने गर्दथे तर त्यसपटक उनले भने, ‘सम्पादकलाई नै पठाइदिनु भन्नु भएको छ ।’ त्यसपछि हाम्रो सम्पादक मण्डलको सल्लाहले विभिन्न कारणले आदेभलाई नै पठाउने ठहर ग¥यो र उहाँ पत्रिका बोकेर त्यहाँ जानुभयो । तिनताका मुलुकमा सुधारिएको निर्दलीय पंचायती शासन व्यवस्था थियो । र, उत्साह कम्युनिष्टहरुको पत्रिका हो भन्ने कुरो काठमाडौँको साहित्यिक जमातमा चर्चाको विषय बनेको थियो । त्यसैले अंचलाधीश कार्यालय पनि यसबारे सुविज्ञ नै थियो होला र त्यसले काम देखायो । त्यस कथामा प्रयुक्त केहीे शब्दहरुमा आपत्ति जनायो र ती शब्दमा कालो पोतेर मात्र प्रकाशन अनुमति दियो । त्यसपछिका केही अंकहरुमा पत्रिकामा त्यस कार्यालयको वक्रदृष्टि परिनै रह्यो ।
अर्को एउटा प्रसंग पनि उत्साहसँगै सम्बन्धित रहेको छ । उत्साहको नाटक विशेष अंकमा रमेश विकलको नाटक ‘माथिबाट’प्रकाशित भयो । त्यस नाटकमा प्रहरी प्रशासनमा राम्रा मान्छे पनि छन्, ती राम्राराम्रा काम गर्न चाहन्छन् तर माथिकाले तिनलाई राम्रो काम गर्न दिँदैनन भन्ने आशयको सन्देश प्रवाहित भएको थियो । यसमा हामीले अर्थात् कार्यकारी सम्पादक, सहसम्पादकहरुले प्रहरी सँधै जनतालाई दुःखदिने, ठूलाठालुको पक्षपोषण गर्ने देखिएको तर नाटकले प्रहरी समुदायको छवि माथि उकास्ने गरी नाटकमा तिनको चित्रण गरिएकोमा आपत्ति जनायौँ र सम्पादकीयमा उल्लेख ग¥यौँ । हाम्रो टिप्पणी स्पष्ट भएन कि के हो, उहाँले यो कुरो त बुझिएन भनी स्पष्टीकरण माग गर्नुभयो । त्यसो भनेपछि उहाँ विपक्षमा उभिनुहोला भन्ने हामीलाई शंका लाग्यो तर हामीले कुरो प्रष्ट पारेपछि कुनै सहमतिविमति बिना नै उहाँले उक्त खण्ड परिमार्जन गर्न सहयोग गर्नु भयो । यो संभवतः युवापुस्ताको भावनाको कदर गर्ने चेतले उहाँलाई निर्देशित गरेको होला भन्ठान्यौँ हामीले ।
साहित्यसदनको निर्माणः
उत्साहकै सम्पादनकालको कुरो हो । एक पटक उत्साहकै आयोजनमा हृदयचन्द्रको ७१औँ स्मृति दिवस मनाउने कार्यक्रम बन्यो । गोष्ठीका लागि सभाकक्षको व्यवस्थापनको जिम्मेवारी मेरो भागमा प¥यो । तिनताका म पुतलीसडकको शिक्षा क्याम्पस विस्तारकेन्द्रको विद्यार्थी थिएँ । र, स्वतन्त्र विद्यार्थी संगठनको सचिव पनि थिएँ । पद्मोदय माध्यमिक विद्यालयको भवनमा साँझपख कक्षा संचालन हुने गर्दथ्यो । त्यसको माथिल्लो तलामा सभाकक्ष थियो । त्यही सभाकक्षको बन्दोबस्त मिलाउने काम मेरो भागमा परेको थियो । क्याम्पस प्रशासनसँग उक्त दिनका लागि सभाकक्षमा हाम्रो कार्यक्रम हुने जानकारी पनि दिइयो । तरकार्यक्रम गर्न जाँदा त प्रहरीले हामीलाई बाहिरी गेटमा नै रोक्यो, भित्र छिर्न नै दिएन । त्यो कक्षमा समेत लोकसेवाको जाँच रहेछ । समस्या प¥यो । आदेभले त्यहीँ कतै पसलबाट फोन गर्नु भयो बाल्मिकी क्याम्पसको क्याम्पस प्रमुखलाई । तिनताका अचेलको जस्तो मोबाइल फोनको चलन थिएन । )त्यो त पछि शायद २०६४–६५तिर आयो होला ।) र, त्यहीँको सभाकक्षमा हाम्रो कार्यक्रम सम्पन्न हुन सक्यो ।
हृदयचन्द्रको यही स्मृति कार्यक्रममा बैकुण्ठ लाकौलले जनस्तरमा यस्तो कार्यक्रमहरु गर्नका लागि ठाउँको अभाव भयो, यस्तो ठाउँको जोहो हुन सके भवन निर्माणका लागि एक लाख रुपियाँ सहयोग गर्ने वचन मन्तव्यका क्रममा मंचबाटै सार्वजनिक गर्नु भयो । वचन त दिनुभयो । तर ठाउँको व्यवस्था हाम्रा लागि समस्या बन्यो । कृष्णचन्द्र प्रधानले आदेभसँग भन्नुभएछ, ‘लाकौलजीबाट त्यो लाख रुपियाँ लिइहाल्नुस, ठाउँको जोहो हँुदै गर्ला, भवन बन्ला तर समय घर्किसकेपछि उहाँले त्यो सहयोग राशि नदिन सक्नुहुन्छ ।’
आदेभले त्यो सन्देश उत्साहको हाम्रो सम्पादक मण्डलको बैठकमा सुनाउनुभयो । र, हामीले आदेभलाई त्यसोभए सो रकम हात पारौँ र अन्य कामका लागि खर्च नगर्ने गरी कोशमा राखौँ भन्ने सल्लाह भयो । र, उहाँले सोही अनुसारको पहल गर्नु भयो तर लाकौलजीले त्यसरी दिन मान्नुभएन । भन्नुभयो, ‘ठाउँ खोज्नुस, भवनको नक्सा बनाउन लगाउनुस, भवन निर्माणको सुरसार गर्नुस, अनि म दिइहाल्छु नि ।’ तर जग्गा पाउने काम जटील थियो । उत्साहको आर्थिक व्यवस्थापन कमिटिमा अमीरजी पनि हुनुहुन्थ्यो । उहाँ शायद वडासदस्य पनि हुनुहुन्थ्यो । उहाँले रामहिटी क्षेत्रमा जग्गाको बन्दोवस्त हुनसक्ने वचन दिनुभयो । तर लाकौलजी त्यसमा पनि राजी हुनु भएन । उहाँको बिचार जग्गा शहरतिरै भए हुन्थ्यो भन्ने थियो ।
कुरो त राम्रो हो तर शहरतिर जग्गाको बन्दोबस्त मिल्न सकेन । र, पछि बल्लतल्ल उहाँ रामहिटीको जग्गामा भवन निर्माणार्थ कबुलेको रकम दिन तयार हुनु भयो । भर्खरै दिल्लीबाट पढाइ सकेर फर्कनु भएको हिसिला यमीले भवनको नक्सा डिजाइन गरिदिनु भयो । भवनको शिलान्यास भयो । अमीरजीकै संयोजकत्वमा भवन निर्माण समिति बन्यो र साहित्य सदनको जग हालियो । साहित्य सदनको अहिलेको संरचना बन्न त्यसपछि पनि धेरै समय लाग्यो । त्यसमा बीजरुपमा लाकौलको रकम र आदेभको पहल मुख्यरुपमा थियो भने त्यसलाई साकार पार्ने कार्य रमेश विकल र अमीरमान लगायत स्थानीय साथीहरुले सम्पन्न गर्नु भएको थियो । यसरी अहिलेको साहित्यसदन बन्यो ।
सक्षम सरकारबाट गिरफ्तारीः
२०६२ साल माघ महिनाको कुरो हो । मुलुकमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको बेला थियो । सम्पूर्ण स्थानीय निकायहरु जनप्रतिनिधिविहिन थिए । नगरपालिकाको चुनाव गराउने भनेर सरकारी सुचना प्रकाशित भयो । त्यसको विरोधमा नेपाल प्राध्यापक संघको आह्वानमा पेशागत संगठनहरुसमेतको सहभागितामा विरोध प्रदर्शनको आयोजना गरिएको थियो । त्यसमा ऐक्यबद्धता जनाउन प्रलेसको अध्यक्षको हैसियतले आदेभ पनि सो विरोध जुलुसमा हुनुहुन्थ्यो । पहिले हामी त्रिपुरेश्वरमा जम्मा हुने भयौँ । तर त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण जम्मा हुन पुगेका र चिनिएकालाई धमाधम गिरफ्तार गर्दै लगे र हामी पूनः थापाथली क्याम्पसमा जम्मा भयौँ र त्यहाँबाट नाराजुलुस गर्दै वानेश्वरतिर लाग्यौँ । र, थापाथली, अहिलेको मण्डलामा आइपुग्दा हामी सबैलाई गिरफ्तार ग¥यो र भ्यानमा हालेर जनसेवा नयाँसडकमा पु¥यायो । यसमा ऐक्यबद्धता जनाउन मेरो छोरो विप्लव पनि जुलुसमा सामेल भएको थियो र ऊ पनि गिरफ्तारमिा प¥यो । यो गिरफ्तारीमा आदेभ पनि पर्नुभयो ।
गिरफ्तार हुनेमा सबैजसो प्राध्यापक शिक्षकहरु नै थियौँ । पत्रकार संघका अध्यक्ष बिष्णु निष्ठुरीलाई जनसेवाबाट नै रिहा गरिदिए । हामी भने निवारक नजरबन्दमा प¥यौँ । हामीलाई जाउलाखेलको महिला प्रशिक्षण केन्द्रमा लगेर राखे । त्यहाँ हामीभन्दा पहिले देखिनै विभिन्न स्थानबाट गिरफ्तार गरेर ल्याइएका विद्यार्थी, राजनीतिक कर्मी, बुद्धिजीवीहरु, मानवाधिकारकर्मी आदिहरु थिए ।
हाम्रो समूहमा पनि ख्यातनाम प्राध्यापक, शिक्षक, लेखकहरु थिए । यिनमा आदेभ नै उमेरले पनि अग्रज हुनुहुन्थ्यो । त्यसैले साथीहरुले उहाँ र एकजना पूर्व उपकुलपतिको बसाइलाई सहज पार्न दुईजनाको बेगल कोठाको बन्दोबस्त गराउन सकेका थिए । यो बसाइमा हरेक रात हामी छलफल कार्यक्रमको आयोजन गथ्र्यौ र त्यस कार्यक्रमको सभापतित्व आदेभले गर्नुहुन्थ्यो । अन्त्यमा सभामा प्रकट मन्तव्यहरुको सारसंक्षेपसँगै आफ्नो मन्तव्यसहित सभा बिसर्जन गर्नुहुन्थ्यो । उहाँको मन्तव्यलाई त्यहाँ उपस्थित सबै पक्षका साथीहरुले परोक्षमा पनि सराहना गरेको सुनिन्थ्यो ।
यहीँको बसाइको क्रममा एकदिन त्यस केन्द्रको गेटबाहिरको रुखमुनिको चौतारोमा एकजना कविज्यूलाई देखेँ, शायद प्रलेसकै सदस्य । हातमा फलफूलको झोलो बोकेर उहाँ त्यहाँ शायद कोही बन्दीलाई नै पर्खिरहनु भएको थियो । उहाँमाथि मेरो नजर परेपछि मैले सहयोग गर्ने बिचारले उहाँलाई कसलाई भेटन आउनुभएको हो भनी सोधेँ पनि । जवाफमा उहाँले तपाईँलाई होइन, आदेभलाई भन्नु भयो । हुन्छ म बोलाइदिन्छु भन्दा मैले खबर पठाइसकेको छु भन्नु भयो र पछि आदेभलाई भेटेर ती कवि फर्कनु भयो । त्यसबेलामा त्यसरी थुनिएका बन्दीलाई भेटन जान पनि एक किसिमको जोखिम मोल्नु पथ्र्यो । पहिलो कुरो त त्यसरी भेटनजाने मान्छे प्रशासनको कालो सुचिमा पथ्र्यो, दोश्रो कुरो अघोषित बन्द थियो, आवागमन असहज थियो । तर पनि आदेभप्रति, जो स्वयं इतरसत्ता थिए जसका पछि लागेर केही शुभलाभ हुन सक्दैनथ्यो, कविलेखक र स्वजनहरुको जुन आस्थाश्रद्धा थियो त्यसले तिनलाई डो¥याएर त्यहाँ ल्याइपु¥याउने गर्दथ्यो । त्यसरी नै डोरिएर ती कवि पनि त्यहाँ आइपुगेका थिए ।
प्रतिभा पुरस्कारको स्थापनाः
शायद आन्दोलनपछिको समयमा होला, २०६४ सालको कुरो हो, उहाँलाई शिक्षासंस्कृति मन्त्रालयबाट दिइने गरिएको प्रतिभा पुरस्कार प्रदान गरियो । उहाँले रु एक लाखको त्यो पुरस्कारको राशि प्रलेसलाई जिम्मा लगाएर प्रलेस प्रतिभा पुरस्कारको स्थापना गर्नुभयो तर त्यसमा आफ्नो नाम भने गाँस्नु भएन । त्यसबाट पनि उहाँको चोखो भावना बुझ्न सकिन्छ । त्यही रकमको अक्षयकोशबाट प्रलेस प्रतिभा पुरस्कार वर्षेनी दिइने गरिएको छ ।
विश्वविद्यालयबाट राजिनामाः
नीजी लाभको कुरोमा उहाँको आसक्ति नरहेको कुराको अर्को एउटा घटना पनि उल्लेख गरिनु मनासिब होला । २०४६–४७ को जन आन्दोलनपछि विश्वविद्यालयमा आन्दोलन पक्षधर पदाधिकारीहरुको नियुक्ति भयो । पहिलेको सत्ता इतरपक्ष भनी विभेदमा पार्नेगरेकोे कतिपय योग्यहरु पनि स्थायी नियुक्ति, बढुवाआदिबाट वञ्चनामा परेका थिए । त्यसैले त्यो टीमले विश्वविद्यालयमा एक पटकका लागि तोकिएको अवधि पुगेकालाई स्वतः स्थायी र बढुवाको अवसर प्रदान ग¥यो तर आदेभले विश्वविद्यालयको यस निर्णयमा विमति जनाउनु भयो र मुखैमा परिसकेको बढुवा हुनु अगावै सहप्राध्यापक पदबाट राजिनामा दिनुभयो र, शायद चुनावमा हेलिनु भयो ।
०००
आदेभको जीवनवृत्त आरोह–अवरोह–आरोहमय देखिन्छ । १९९३ सालमा जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा जन्मनु भएका बैतडी महाकालीका आदेभ अङ्ग्रेजी विषयका मास्टर तहको पढाइपछि २०१६ सालदेखि प्राध्यापन सेवामा लाग्नु भएको थियो । तर २०१५ सालमै उहाँले ‘०९७ साल’ खण्डकाव्यमार्फत् नेपाली साहित्यसगरमा झुल्किसक्नु भएको थियो । २०२० सम्मको ६ वर्षको अवधिमा उहाँले ९ काव्यकृतिहरु, १ समालोचना कृति र १ नाटकको अनुवाद प्रकाशित गरिसक्नु भएको थियो । त्यसपछि २०४६ सम्म साहित्यिक कृति प्रकाशनका हिसाबले उहाँ सुषुप्तावस्थामा रहेको देखिनु हुन्छ । हुन त २०४२ देखि उहाँ उत्साह को सम्पादक मण्डलमा रहनु भयो । जागिरको हिसाबले उहाँ लामो समय, १५–१६वर्ष त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशक भएर रहनु भयो । २००९ सालमा नेकपाको सदस्यता ग्रहणसँगै उकालो चढदै गएको उहाँको राजनीतिक वैचारिक यात्रा त्यहाँ गएर बिसाएको जस्तो भान हुन्छ । आरोहपछिको अवरोहको चरणमा उहाँ वैचारिक रुपले विवादमा पर्ने लेखरचना पनि लेख्नु भयो भनिन्छ । भनिन्छ, तिनताक शायद रुपरेखा साहित्यिक पत्रिकामा छापिएको स्वर्गमय नेपाल वा त्यस्तै शिर्षकको लेखमा र, पछि त्रिभुवन विश्वविद्यालय विद्यार्थी संगठनको मुखपत्र द्यौरालीमा पनि उहाँले तत्कालीन राजा महेन्द्र, भूमिसुधार कार्यक्रम आदिको सराहना गर्नपनि भ्याउनु भयो । यो उहाँको संघर्षशील जीवनको एउटा टाटोजस्तो देखिन खोज्यो ।
संघर्षशील जीवनको यात्रा लम्बिँदै जाँदा र अग्रगामी जनपक्षीय आन्दोलन कमजोर हँुदाको प्रतिगामी माहोलमा यस्तो जोखिम बलशाली बन्दछ । यस्तो जोखिमबाट आफूलाई जोगाउन सदैव सचेत रहनु अपेक्षित छ । (यस्ता कुरामा राजनीतिक दलहरुको जागरुकता पनि अपेक्षित छ)। शायद यही कारणले पनि हुनसक्छ २०४८ सालको नेपाल प्राध्यापक संघको अध्यक्षको पदमा चुनाव लडनु भएको उहाँलगायत उहाँको प्यानलले सफलता प्राप्त गर्न सकेन । त्यसपछि २०५० चैतदेखि उहाँ स्वैच्छिक अवकाश लिई तत्कालीन नेकपा एमालेको राजनीतिमा लाग्नुभयो र आफ्नो गृहजिल्ला बैतडीको जिल्ला सचिवका रुपमा काम गर्न थाल्नु भयो ।
२०५१ र २०५६ मा त्यहीँबाट सांसदमा उम्मेदवारी पनि दिनु भयो, तर पराजय नै बेहोर्नप¥यो । २०१६ मा प्रलेसको सहसचिव रहनु भएको उहाँ २०५८ मा प्रलेसको अध्यक्षमा विद्रोही प्यानल खगेन्द्र संग्रौला र महिला प्यानल सुधा त्रिपाठीसँग प्रतिस्पर्धा गर्दै एमाले उम्मेदवारका रुपमा निर्वाचित हुनुभयो । हुन त यस अगावै २०५० मा नेपाल बुद्धिजीवी परिषदको उपाध्यक्ष पनि रहनु भएको हो ।
मुलुकमा गणतन्त्रको स्थापनापछि र पहिले पनि नेकपा एमालेले पूर्ण र आंशिक गरी पटकपटक सत्तामा रहँदाको अवस्थामा आदेभलाई उक्त पार्टीले राम्रोराम्रो जिम्मेवारी दिन सक्थ्यो तर त्यसो गरेन, बुद्धिजीवी परिषद, प्रलेस, प्राध्यापक संगठन आदि यस्तैयस्तैमा अलमल्याएर राखेको बोध मानिसले गरिराखेको पाइन्छ । जीवनको उत्तरार्धमा शारीरिक रुपले उहाँ गल्नु पनि भयो । अल्जाइमर्स रोगले उहाँलाई माया गर्न थाल्यो । र, रोगसँग उहाँ लड्दै हुनुहुन्थ्यो र पनि २०७८ भदौ १४ सोमबारका दिन उहाँ पार्थिव रुपले हामीबाट बिदा हुनुभयो । उहाँका केही कमीकमजोरीलाई बिर्सिदिने हो भने समग्रमा उहाँले प्रगतिवादी आन्दोलनलाई सक्दो टेवा नै पु¥याउनु भयो र यही सदकार्यका लागि आन्दोलनले उहँलाई सदैव आलोचनात्मक रुपले स्मरण गरिरहने छ ।
०००