निनु चापागाईसँग मेरो पहिलो भेट आजभन्दा साढे तीन दशक पहिले भएको थियो । तिथिमिति ठ्याक्कै याद नभए पनि त्यो भेट सम्झनायोग्य भेट थियो । सम्झनायोग्य यस अर्थमा कि त्यहाँ चिनियाँ सांस्कृतिक क्रान्तिमाथि बहस भएको थियो । र, उनले सांस्कृतिक क्रान्तिमाथिको मेरो अल्पज्ञान र अतिशय मोहलाई हल्लाइदिएका थिए ।
त्यसपछिका दिनमा उनीसँग निरन्तर भेट हुँदै आएको छ । कैयौँपल्ट सँगसँगै काम गरेको छु, यात्रामा सँगै हिँडेको छु र उनका विचारोत्तेजक मन्तव्य र लेखनबाट प्रभावित पनि भएको छु ।
उनी समकालीन नेपाली मार्क्सवादी सौन्दर्यचिन्तनका अगुवा व्यक्तित्व हुन् । नेपालको प्रगतिशील आन्दोलन, प्रगतिवादी साहित्य र मार्क्सवादी सौन्दर्यचिन्तनको अध्ययन उनका कृतिबेगर अधुरो रहन्छ । चालिसको दशकदेखि समाजवादी यथार्थवादी कलासाहित्यको उन्नयनमा निरन्तर क्रियाशील उनी जीवनको उत्तरार्धमा पनि उत्तिकै सक्रिय छन् ।
त्यसो त उनी साहित्यकार मात्र हैनन्, राजनीतिक व्यक्तित्व पनि हुन् । राजनीति त सबैले गरेका छन्, तर उनको जस्तो निष्ठाको राजनीति कमैले गरेका छन् । लेख्न त धेरैले लेखेका छन्, तर उनले जस्तो शब्द र कर्मबिचको तादाम्यता कमैले बनाउन सकेका छन् । उनी जे बोल्छन् त्यही गर्छन् र जे गर्छन् त्यही बोल्छन् । हुन त उनी झट्ट हेर्दा अल्पभाषी जस्ता देखिन्छन् । कम बोल्छन् । तर कम बोले पनि कुरा चपाउँदैनन् । अरूका कुरा काट्ने र खुट्टा तान्ने गुटीय प्रतिस्पर्धामा देखिन्नन् । मान, सम्मान र चर्चापरिचर्चाबाट टाढै बस्न रुचाउने उनी समकालीन नेपाली साहित्यका अगुवा साधक हुन् ।
तर यस्ता शालीन र आदर्श व्यक्तिमाथि अहिलेसम्म खासै लेखिएको छैन । खोज, अध्ययन र चर्चापरिचर्चा पनि भएको छैन । साहित्यिक अनलाइनमा काम गर्ने सदस्यको नाताले यस्ता व्यक्तित्वको खोजी मेरो पनि काम हो । उनको बारेमा मैले लेखेको भए पनि त हुन्थ्यो । तर चाहँदाचाहँदै पनि म आफैले त्यो आँट गर्न सकिनँ । कैयौँ साथीलाई उनको व्यक्तिचित्र लेख्न अनुरोध नगरेको हैन । तर लेख्ने आँट नभएर हो वा समय नमिलेर हो सबैले मेरो अनुरोधलाई अनुरोधमै सीमित बनाए । मलाई अचम्म लाग्यो, किन लेख्न नखोजेका होलान् साथीहरूले उनको व्यक्तिचित्र ? त्यसो त नेपाली मिडियामा साधकहरूमाथि खासै लेखिदैन । लेखे पनि एकाङ्की र एकध्रुवीय हुन्छ । सायद उनीमाथि पनि यही भयो ।
अन्तिममा समकालीन नेपाली मार्क्सवादी सौन्दर्यचिन्तनका विराट व्यक्तित्वलाई केही हजार शब्दमा व्यक्त गर्ने दुस्साहस गरेँ मैले । मनभित्र डर थियो, कतै म कहिल्यै काम नगरेको विधामा हात हाल्दा असफल त हुने हैन ? कतै मैले उनको व्यक्तित्वलाई पहिल्याउन नसक्ने त हैन ? यिनै प्रश्नहरू बोकेर म उनको निवासतिर लागेको थिएँ ?
°°°
निनु चापागाईलाई बुझ्न आजभन्दा छ दशक पछाडि पुग्नुपर्ने हुन्छ, जतिखेर उनी भर्खर भर्खर साहित्यकासमा बामे सर्दै थिए । हुन त उनले पहिलो कविता आफ्नै गाउँ दिङ्लाको ‘षडानन्द संस्कृत प्रधान पाठशाला’मा कक्षा आठमा पढ्दा नै लेखेका थिए । बाह्र वर्षको उमेरमा लेखेको कविता पुरस्कृत समेत भएको थियो र दुई रुपियाँ पुरस्कारसमेत पाएको थियो ।
कविता प्रतियोगितामा पुरस्कृत भए पनि उनले कविता लेखनलाई निरन्तरता दिएनन् । पहिलो कविता वाचन गरेको चार वर्षपछि वि.सं. २०२० सालमा दोस्रो कविता (मुक्तक) सुनाएको स्मरण गर्छन् उनी । यो कविता उनले काठमाडौंको पद्योदय हाई स्कुलमा सुनाएका थिए ।
फाट्टफुट्ट कविता लेखे पनि गाउँमा रहँदासम्म उनले साहित्य खासै पढेका थिएनन् । सामान्य पढलेखसम्म गर्न सक्ने उनकी आमा युवाकुमारीसँग केही साहित्यिक कृति रहेछन् । उनले तिनै कृति पढे । पौराणिक ग्रन्थ मात्र पढेका उनले साहित्यको नाममा त्यतिखेर पढेका कृति हुन् देवकोटाको ‘मुनामदन’, माधवप्रसाद घिमिरेको ‘गौरी’ र जगन्नाथ उपाध्याय गुरागाईंको ‘नम्रनिवेदन’ र ‘गुणरत्नमाला’ ।
आठ कक्षासम्म गाउँमै पढेपछि उनी काठमाडौं आए । सहर आएपछि उनले रानीपोखरी संस्कृत छात्रावासमा बसेर पढ्न थाले । त्यहाँ बस्दा उनले पाठ्यपुस्तक मात्र पढेनन्, अन्य पुस्तक पनि पढ्न थाले । त्यहाँको पुस्तकालयले उनको ज्ञानको ढोका खोलिदियो । पुस्तकहरू नै उनका साथी बने । त्यहाँ उनले निकै पढे । उनी सम्झिन्छन्, ‘संस्कृत छात्रावासको पुस्तकालय निकै राम्रा पुस्तकहरूको सङ्कलन भएको पुस्तकालयमा गनिन्थ्यो । त्यहाँ रहेका सबै विषयका पुस्तकसहित विशेषगरी साहित्यिक सामग्रीको अध्ययनले ममा साहित्यतिर विशेष लगाउ उत्पन्न गरायो । ज्ञानको यस्तो भोक र पढाइको यो लत काठमाडौं प्रवेश गरेपछि मात्र ममा जागेको हो ।’
उनको साहित्यप्रतिको रुचि काठमाडौं आएपछि, खासगरी राल्फा कालमा ह्वात्तै बढ्यो । रानीपोखरी संस्कृत छात्राबासमा बसेर पढ्दा उनले केही कथा लेखे । केही अनुवाद पनि गरे । तर ती सबै प्रारम्भिक रचना थिए, जुन अहिले उनीसँग छैनन् ।
वि.सं. २०२२ सालमा उनले पारिजातलाई भेटे । उनले भेट्दा पारिजात चर्चाको शिखरमा पुगिसकेकी थिइन् । उनलाई नपढ्ने र नचिन्ने कमै थिए । त्यस्तो जल्दोबल्दो साहित्यकारलाई भेटेपछि उनमा साहित्यप्रतिको अभिरुचि अरू बढेर गयो । उनलाई स्वयम् पारिजातले नै भेट्न बोलाएकी थिइन् । उनले पढ्ने संस्कृत महाविद्यालय र पारिजात बस्ने पुतलीसडको डेरा नजिक नजिक थिए ।
उनी सम्झिन्छन्, ‘कहिले दिन बिराएर, कहिले दिनैपिच्छे जस्तो उनकहाँ जानेआउने क्रम सुरु भयो । उनकोमा साहित्यिक व्यक्तित्वहरू आइरहने, साहित्यिक विमर्श भइरहने । यही क्रममा मञ्जुल, रायन, रामेश, अरिम आदिसँग चिनजान र भेटघाट हुन थाल्यो । हामी अन्तरङ्ग मित्र बन्न पुग्यौं । पारिजातकहाँ नियमित रूपले जमघट हुन थाल्यो र राल्फाली अभियानको थालनी भयो ।’
राल्फामा लागेपछि उनको जीवनमा नयाँ मोड आयो । उनी निरञ्जन चापागाईबाट निनुमा रूपान्तरित भए । त्यसो त राल्फामा लाग्ने पारिजातबाहेक सबैजसोको नाम परिवर्तन भएको थियो । जस्तै रामेश्वर श्रेष्ठको नाम रामेश भयो, नारायणभक्त श्रेष्ठको नाम रायन । अझ धेरैजसोले त नामको पछाडि राल्फा लेख्न थाले । यो सबै परम्पराप्रतिको विद्रोह थियो । राल्फा परम्परागत मूल्यको विद्रोहमा सुरु भएको आन्दोलन थियो ।
यसरी राल्फासँगै पारिजातसँग जोडिएका निनु जीवनभरि उनीसँग छुट्टिएनन् । राजनीतिक जीवनको भूमिगत कालमा पनि उनी पारिजात र सुकन्याको सम्पर्कमा रहेर काम गरे ।
उनको पहिलो प्रकाशित रचना हो ‘अबोध’ । जुन निनु राल्फाको नाममा २०२४ सालमा प्रकाशित भएको थियो । पछि उनी सौन्दर्यचिन्तकको रूपमा चिनिए पनि पहिलो प्रकाशित रचना भने कथा विधाको थियो ।
उनी जे बोल्छन् त्यही गर्छन् र जे गर्छन् त्यही बोल्छन् । हुन त उनी झट्ट हेर्दा अल्पभाषी जस्ता देखिन्छन् । कम बोल्छन् । तर कम बोले पनि कुरा चपाउँदैनन् । अरूका कुरा काट्ने र खुट्टा तान्ने गुटीय प्रतिस्पर्धामा देखिन्नन् । मान, सम्मान र चर्चापरिचर्चाबाट टाढै बस्न रुचाउने उनी समकालीन नेपाली साहित्यका अगुवा साधक हुन् ।
सामाजिक विषमताका विरुद्धमा विद्रोही स्वर बोकेर निस्किएका थिए निनु राल्फा बनेर । तर समयक्रममा उनलाई आफू हिँडेको बाटो ठिक रहेनछ भन्ने लाग्यो । उनलाई मात्र लागेन प्रायः सबै राल्फालीहरूले आफू हिँडेको बाटो बदले । कोही तत्कालीन चौमको नजिक पुगे कोही मालेको ।
अहिले राल्फाबारे उनले समीक्षा गर्दै भन्छन्, ‘राल्फाको थालनी कुनै विचारधारालाई सिरानी हालेर भएको थिएन ।’ उनले अगाडि थप्छन्, ‘सुरुको अवस्थामा अस्तित्ववादी चिन्तन, अराजकतावादी सोच, यौन स्वतन्त्रतालगायत व्यक्तिगत स्वतन्त्रताको उग्र धारणा, भावुकतापूर्ण आक्रोश, सामाजिक असन्तुष्टि, परिवर्तनको चाहना र विद्रोही भावना यी सबैको मिश्रण जस्तो थियो राल्फा ।’
राल्फा कुनै वैचारिक धरातलमा उभिएको नभएता पनि यो त्यतिखेरको चर्चित विद्रोही आन्दोलन थियो । विद्रोही भए पनि वा सामाजिक विषमता र विसङ्गतिको चर्को विरोध गरे पनि यो आन्दोलन सीमित घेराको विद्रोह जस्तो भएको थियो । फेरि यो आफूभित्रै पनि विभिन्नखाले विसङ्गति बोकेर सुरु भएको थियो । राल्फाबारे उनको विश्लेषण छ, ‘आफ्नो लक्ष्य र उद्देश्यका साथै त्यसलाई प्राप्त गर्ने समुचित बाटाका बारेमा स्पष्ट नहुँदा अर्को शब्दमा त्यसका लागि सुसङ्गत विचार नहुँदा त्यो विद्रोह र आक्रोश निजी विद्रोह र आक्रोशमा सीमित हुन पुगेको थियो र कतिपय असङ्गतिबाट मुक्त हुन सकेको थिएन ।’
बिस्तारै उनी पारिजातमार्फत निर्मल लामाको नजिक पुगे । उनीसँगको संगत र अध्ययनले निनु मात्र हैन आफूलाई प्रजातान्त्रिक र कम्युनिष्टभन्दा श्रेष्ठ ठान्ने अन्य अभियन्ताहरूले पनि आफू हिँडेको बाटो असङ्गत र दिशाहीन रहेछ भन्ने अनुवोध गरे । यसरी अन्य साथीहरूसँगै उनी पनि राल्फा छोडेर मार्क्सवादी विचारको नजिक भए ।
हुन त २०२९ सालसम्म पनि निनु राल्फाका नामबाट उनका रचना प्रकाशित भएको पाइन्छ । तर उनी २०२६ सालदेखि नै निर्मल लामाको सम्पर्कका कारण मार्क्सवादी विचारको नजिक भैसकेका थिए । उनले २०२८ सालदेखि नै केन्द्रीय न्युक्लियसको नजिक रहेर काम गर्न थाले । यसरी राल्फाबाट कम्युनिष्ट बनेका उनी २०३० सालमा काठमाडौं जिल्लाको पार्टी सचिव हुँदै २०३३ मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको पाँचौं सम्मेलनबाट केन्द्रीय अध्यक्षमा र २०३४ सालमा ने.क.पा.(चौथो महाधिवेशन)को केन्द्रीय सदस्यमा मनोनित भए ।
त्यसपछिका दिनमा उनले पार्टीको पोलिटव्युरोमा रहेर काम गरे भने साहित्यिक आन्दोलनमा पनि सक्रिय रहे । वि.सं. २०७० सालसम्म आइपुग्दा उनले पार्टीको पोलिटब्युरो सदस्य, संयुक्त जनमोर्चा, नेपालको पहिलो महासचिव, प्रगतिशील लेखक सङ्घको महासचिव र दुई पटक अध्यक्षमा रहेर काम गरे । यसैबिच इन्द्रेणी सांस्कृतिक समाजको दुई कार्यकाल अध्यक्ष र प्रगतिशील सांस्कृतिक संगठनको अध्यक्ष बनेर काम गरे । आन्दोलनको आवश्यकताले गर्दा उनी पत्रकार पनि बने । त्यो समयका चर्चित पत्रिका मूल्याङ्कन साप्ताहिक, जनएकता साप्ताहिक, जनादेश साप्ताहिक र वेदना साहित्यिक त्रैमासिकको नेतृत्वमा रहेर काम गरे ।
°°°
निनु चापागाईं सम्पन्न परिवारमा जन्मिए र हुर्किए । आर्थिक रूपले सम्पन्न परिवारभित्रै पर्दथ्यो उनको घर–परिवार । त्यतिखेरको भाषामा सामन्ती परिवार भन्दा हुने । बुबा डण्डपाणि चापागाईं काभ्रे, साङराङ, बडहरे, गडिगाउँ, आम्बोटे, सिम्ले, मझुवा, चाम्लादाङ, जस्ता धेरै गाउँको जिम्मावाल थिए । गाउँलेहरूले बुवालाई कान्छा मुखिया भनेर सम्बोधन गर्थे भने निनुलाई परिवारको जेठो छोरो भएकोले जेठा मुखिया भन्थे । उनको घरमा दुईचार जना नोकर हुनु सामान्य कुरो थियो । डेढसय मुरी धान फल्ने खेतका मालिक थिए उनका बुवा ।
तर यस्ता सम्पन्न र धार्मिक परिवारका सदस्य निरञ्जन चापागाईं समयक्रममा क्रान्तिकारी निनुमा रूपान्तरित भए, त्यो पनि कम्युनिष्ट ।
चार भाइ र दुई बहिनीमध्ये उनी सबैभन्दा जेठा सन्तान हुन् । नेपाली विषयका डिग्री होल्डर उनलाई बुवाआमा प्रशासक बनाउन चाहन्थे । तर उनी पढाइ सकेपछि विद्रोही स्वर बोकेर गाउँ फर्किए । वि.सं. २०२६ देखि २०२९ सालसम्म उनले ‘षडानन्द संस्कृत प्रधान पाठशाला (प्रस्तावित षडानन्द संस्कृत महाविद्यालय)’मा प्राचार्य बनेर काम गरे । उनी गाउँ फर्किएकोमा बुवा त्यति धेरै खुसी थिएनन् । उनी छोरोलाई डिठ्ठा, सुब्बा वा यस्तैयस्तै बनाउन चाहन्थे, छोरो भने मास्टर बनेर गाउँ फर्किएका थिए । भित्री इच्छा जस्तो भए पनि छोरो हेडसर भएकोमा उनले चित्त बुझाए । त्यतिखेरको जमानामा प्रतिष्ठित स्कुलको हेडसर हुनु सामान्य कुरो पनि त थिएन ।
पढाउँदापढाउँदै उनी शान्तिसुरक्षा अन्तर्गत गिरफ्तार भएर जेल परे । डेढदुई महिना जेल बसे । जेलबाट छुटेपछि पनि केही समय शिक्षण पेशालाई निरन्तरता दिए । बुवाले भने उनलाई गाउँमा बस्नै दिएनन् । बुवाको इच्छा छोरो शिक्षकको भेषमा राजनीतिज्ञ हैन सहर गएर डिठ्ठा, सुब्बा वा सेक्सनअफिसर जे हुन्छ बनोस् भन्ने थियो । उनी दुई अढाई वर्ष शिक्षण पेशा गरेपछि सहर फर्किए । गाउँबाट फर्किएपछि उनी निर्मल लामा, सुकन्या र पारिजातसँगै म्हेपीमा बस्न थाले ।
उनको परिवारको पहुँच गाउँ र जिल्लामा मात्र हैन राज्यसत्ताको केन्द्रसम्म नै थियो । उनका अन्तरे बुवा तत्कालीन शिक्षामन्त्री कृष्णराज अर्यालका खाँटी मान्छे, उनैले सेक्सनअफिसरको नोकरी मिलाइदिएका थिए । निनुलाई भने नोकरी खाने मन पटक्कै थिएन । उनलाई नियुक्ति लिएर जागिर खान दबाब दिन थालियो । अन्तिममा निर्मल लामाकै सल्लाहमा आवश्यक परेको बेला नोकरी छोड्ने गरी नियुक्ति लिए । उनले २०२९ देखि २०३१ सालसम्म नोकरी खाँदै पार्टीको काम गरे ।
मलाई उनले अन्तरजातीय विवाह गरेको त थाहा थियो तर त्यो विवाह प्रेमविवाह थियो कि माघी विवाह सोध्नु थियो । जब मैले उनलाई विवाहबारे सोधेँ उनी अली लजाए । केही बेर बोलेनन् । केही बेरको सन्नाटापछि उनले बिस्तारै भने, ‘हाम्रो विवाहको कथा लामो छ क्या विष्णु जी !’
उनको भनाइले ममा विवाहको कथा सुन्ने उत्सुकता अरू बढ्यो । उनी अँ अँ गर्दै थिए, काटेको स्याउको प्लेट टेबलमा राखिदिँदै भाउजू कट्किहालिन् । भनिन्, ‘मलाई सोध्नोस् न यसबारे । निनु दाइले के भन्नुहुन्छ र !’ यसरी बोल्दा उनको चाउरी परेको अनुहारमा किशोरवयको भाव झल्कियो । बस् अब भने हामीबिचको अन्तरसंवादमा इन्दिरा भाउजू पनि मिसिन आइपुगिन् ।
‘राम्रैसँग प्रेम भयो नि’ उनले हाँस्दै भनिन् । उनले यसो भन्दै गर्दा निनु दाइ सोफामा अढेस लागेर मौनव्रतमा लिन भए । प्रेम र विवाहको प्रसङ्ग सुनिसक्दा लाग्यो दाइले भनेजस्तै उनीहरूबिचको प्रेम र विवाहको कथा गजबको रहेछ ।
इन्दिरा भाउजूकी आमालाई पारिजातले पढाएकी थिइन्, मदन मेमोरियल माविमा । त्यसो त इन्दिरा दलीले पनि पारिजातसँग पढ्न पाइन् तर एक दिन मात्र । एक दिन क्लास लिएपछि पारिजात विरामी परिन् र विद्यालय आउनै छोडिन् । पारिजातसँग पढ्ने इन्दिरा भाउजूको धोको धोकैमा टुङ्गियो । पढ्न नपाए पनि पारिजातको पुतलीसडकको डेरामा बारम्बार गइरन्थिन् । त्यहीँ भएको थियो निनुसँग उनको भेट । निनुसँग मात्र भेट भएन निनुकी आमालाई औषधोपचार गर्ने काम पनि उनैले गरिन् । डेरा खोजिदिने, वीर अस्पत्ताल पुर्याएर जँचाउने र अन्य वन्दोवस्त गर्ने काम उनैको थियो । यो सबै पारिजातको निर्देशनमा भएको थियो । परिवारको यतिधेरै नजिक रहेर काम गरेकी त्यतिखेरकी सुन्दरी युवतीप्रति निनु दाइमा अनुराग र प्रेम प्रस्फुरण नहुने कुरै भएन । तर त्यो प्रेम सुशुप्त अवस्थामै रह्यो धेरै समय । हो कि हैन जस्तो ।
प्रेम, अनुराग र आपसी सम्बन्धले नजिकिए पनि उनीहरूको विवाह अलि पछि २०३३ सालमा बाराणसीमा भयो । त्यो पनि गंगा नदीको डुङ्गामा बसेर । जन्ती थिए मोहनविक्रम सिंह, मोहन वैद्य, आजाद, सिपी गजुरेल र निर्मल लामासहित यस्तै बिस जना । इन्दिरा भाउजू सम्झिन्छिन्, ‘के विवाह भन्ने, दुईटा फूलका माला र एउटा सिन्दुरको सानो बट्टाबाहेक अरू केही थिएन ।’ यसपछि उनी मजाले हाँसिन । उनका कुरा सुनेपछि दाइ पनि मुस्कुराए ।
‘राल्फाको थालनी कुनै विचारधारालाई सिरानी हालेर भएको थिएन ।’
उनीहरूका दुई सन्तान भए । जेठो छोरो मृदुल र कान्छो छोरो महिम । अहिले कान्छो छोरा उनीहरूसँग छैनन् । २०७२ सालमै उनको असामयिक निधन भयो । उनीसँग छन् जेठो छोरा र उनको परिवार ।
सानेपाको ज्ञानोदय पुस्तकालय चोक नजिकै छ उनको घर । सडकबाट एक कित्ता भित्र गएपछि ढकमक्क फूल फुलेको कम्पाउन्ड भेटिन्छ । त्यहीँ छ उनको निवास । जिन्दगीभरि राजनीति गर्ने मानिसको कम्पाउन्डसितको दुई तले घर त्यो पनि सानेपामा । जोकोहीलाई जिज्ञासा लाग्न सक्छ । मैले यो सबै भाउजूकै कमाइ त होला भन्दै भाउजूको अनुहारमा हेरेँ । भाउजूले हैन हैन निनु दाइको पनि परेको छ भनिन् । सम्पत्तिप्रति खासै रुचि नदेखाए पनि धनी बाउले उनको नाममा पनि जग्गा नामसारी गरिदिएका रहेछन् । केही बेचे केही अझै बाँकी छ । त्यही जग्गा बेचेको रकम ल्याएर यता लगाएका रहेछन् ।
भाउजूले लामो समय त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा सहायक प्रमुख भएर काम गरिन् । कहिले सेडा त कहिले पद्यकन्या कलेज गर्दै झन्डै चालिस वर्ष परिश्रम गरिन् । त्यही परिश्रमको उपलब्धी थियो त्यो दुईतले घर, जहाँ नेपाली साहित्यका साधक निनु चापागाईको अधिकांश समय व्यतित हुन्छ ।
°°°
साहित्यका बारेमा प्रस्ट दृष्टिकोण निर्माण भएको खण्डमा नै प्रभावशाली साहित्य लेख्न सकिन्छ भन्छन् निनु । तर उनको आफ्नै सिर्जनकार्य दृष्टिकोण परिपक्व नहुँदै सुरु भएको थियो । कट्टर धार्मिक र सम्पन्न परिवारमा जन्मिएका उनलाई दुःख के हो भन्ने थाहा पनि थिएन । साहित्य पढेर के हुन्छ र केका लागि लेखिन्छ भन्ने मतलब पनि थिएन । अन्य आम लेखककै जस्तो थियो उनको साहित्यप्रतिको आकर्षण । रहर र लहडमै हेलिएका थिए साहित्यमा । उनी आफ्नो सुरुवाती लेखनबारे टिप्पणी गर्दै भन्छन्, ‘त्यसैले गरिबीको वाक्कलाग्दो नीरस जीवनलाई रङ्गिन बनाएर प्रस्तुत गर्ने आकाङ्क्षा ममा हुने कुरै भएन ।’
आफ्नो साहित्यप्रतिको आकर्षणबारे उनी भन्छन्, ‘पहिल्यैदेखि लेखनका बारेमा प्रस्ट दृष्टिकोण बनाएर साहित्यिक गतिविधिमा संलग्न भएको मानिस थिइनँ म । समय सँगसँगै मेरो लेखनको उद्देश्यमा परिमार्जन हुँदै आएको छ । जतिखेर मैले लेख्न सुरु गरें त्यतिखेर साहित्य सम्बन्धी मेरो कुनै अवधारणा बनेकै थिएन । त्यस अवधिमा लेखिएका मेरा कविता रहर र लहडमा लेखिएका थिए ।’
रहर र लहडबाट सुरु भएको उनको साहित्यिक यात्रा समयक्रममा अरू विकसित भयो । राल्फामा लागेपछि उनको अध्ययन र लेखनले अरू गति लियो । राल्फाकालले मेरो अध्ययनको धारलाई तेजिलो बनाउन अरू मद्दत गर्यो भन्छन् उनी । उनी थप्छन्, ‘गोर्कीका साहित्यको अनुवाद गर्ने जमर्को मैले त्यही बेलादेखि गर्दै आएको हुँ । गोर्कीका अधिकांश प्रसिद्धि पाइसकेका कथाहरूको अनुवाद गरेर मैले पाँच, सातओटा कापी रङ्ग्याएको अहिले पनि सम्झिन्छु ।’ तर ती रचना पनि उनले सुरक्षित गर्न सकेनन् । कोही अरूले नै आफ्नो नामबाट छपाए, कोही हराए ।
सम्बन्ध, सम्पर्क र अध्ययनले उनीभित्रको साहित्यिक प्रतिभा फक्रिदै गयो । यही प्रक्रियामा उनी विचारमा स्पष्ट हुँदै गए । तीसको दशकदेखि नै चिनियाँ सांस्कृतिक क्रान्तिको भावधारालाई समातेर हिँडेका उनी अहिले पनि त्यही भावधारालाई समातेको समात्यै छन् ।
उनीसँगै रहेका कतिपय साथीहरू सत्तास्वार्थको माखेसाङ्लोमा फस्दा पनि उनी बँचे । सत्ताको आडमा उनले धेरै प्राप्त गर्न सक्ने थिए तर त्यसो गरेनन् । कुनै समय उनलाई प्रज्ञाप्रतिष्ठानको कुलपतिको सम्भावित उमेदबारका रूपमा पनि हेरिन्थ्यो । तर उनी भएनन् । यसबारे सोध्दा उनले भने, ‘कुलपति हुने चर्चा त थियो तर मैले कहिल्यै कुलपति हुन्छु बनाइदेऊ भनेर मागिनँ ।’
यही नमाग्ने र आदर्शको राजनीति गर्ने प्रवृत्तिले निनु छायामा परे । माओवादी शान्तिप्रक्रियामा आएपछि युद्ध लडेका क्रान्तिकारीहरू ‘राजनीति गरेको जोगी हुन हो र’ भन्दै भटाभट नियुक्तिमा पुगे । एकता प्रक्रियाबाट आएका पनि नेताको पुच्छर समाएर बैतरणी तरे, तर निनु आफ्नो आस्थामा कत्तिपनि टसमस भएनन् ।
उनी भन्छन्, ‘कहाँ कुन व्यक्तिको आवश्यकता छ भनेर योग्य व्यक्ति छान्ने काम पार्टीको हो, सरकारको हो । निष्ठाको राजनीति गर्ने हो भने मलाई यो देऊ भनेर माग्ने हैन । मैले पार्टीमा यो पद देऊ भनेर मागिनँ ।’
उनका कुरा सुन्दा यस्तो लाग्थ्यो कि यी व्यक्ति बास्तवमै आदर्शको राजनीति गर्ने व्यक्ति हुन् । विसङ्गति र विकृतिले राजनीति फोहर भएको समयमा पनि यस्ता व्यक्ति हाम्रै समाजमा छन् । उनको कुरोले ममा उनीप्रतिको आदरभाव अरू बढेर गयो । मैले उनको शालीन र गम्भीर अनुहारमा हेरेँ । अहँ त्यहाँ कुनै लोभ, मोह र इर्ष्या थिएन । उनी बिस्तारै बिस्तारै बोल्दै थिए । उनले थपे, ‘मलाई यो पद देऊ भनेर रोइकराई गर्ने भनेको व्यक्तिवाद नै त हो । मलाई देऊ भनेर कहिल्यै भनिनँ । माग्ने संस्कृति र प्रवृत्तिप्रति मलाई घृणा लाग्छ ।’
उनले साहित्यलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरेनन् । सधैँ शब्द र कर्मका बिचमा तादाम्यता राखे । साहित्यलाई हल्का रूपमा लिनुहुन्न भन्छन् उनी । उनी थप्छन्, ‘साहित्य सामाजिक चेतनाको एउटा रूप हो । त्यसैले, यसले समाजको, त्यसमा पनि आम जनताको आवश्यकता, आकाङ्क्षा र अपेक्षाहरूलाई मुख्य रूपले आफ्नो विषय बनाउँदै आएको छ ।’
उनले पार्टीको सांस्कृतिक संगठनमा रहेर काम गर्दा होस् अथवा प्रलेस जस्तो साझा संस्थाको नेतृत्वमा रहँदा होस् विचारलाई तलमाथि हुन दिएनन् ।
कतै उनी अतिशय वैचारिकीले थिचिएका लेखक त हैनन् ? प्रश्न गर्ने ठाउँ नभएको हैन । तर उनले कलासाहित्यलाई विचारनिर्माणको साधनको रूपमा लिन्छन् । उनी साहित्यको नाममा फोस्रा गन्थन र समालोचनाको नाममा विचार र दृष्टिकोणहीन प्रलाप लेख्दैनन् । उनले कसैलाई उचाल्ने र कसैलाई खसाल्ने पनि गर्दैनन् । आफ्नो विचारसमूहको होस् अथवा अन्य जुनसुकै, सबैलाई दृष्टिकोण र सिर्जनाको सामर्थ्यका आधारमा मूल्याङ्कन गर्छन् ।
°°°
वि.सं. २०२४ सालमा पहिलो रचना प्रकाशित भएपछि २०२९ सालसम्म निनुका जम्मा नौवटा रचना प्रकाशित भए । प्रायः सबैजसो राल्फाका मुखपत्रमा । ‘अबोध’ नामको रचना ‘सेतो वन, नीलो जून र आकाशका अमिला निश्वासहरू’ नामक राल्फाको मुखपत्रमा २०२४ सालमा प्रकाशित भयो । ‘मृत्युको समन’ र ‘राल्फा : आफ्नै र अरूहरूको अनुहारमा’ राल्फाकै पत्रिका ‘बगरमाथिको जनावर मृत्यु’ मा २०२५ सालमा प्रकाशित भयो । त्यस्तै ‘महत्ताहीन र ताना सर्मा’ (सिउँडी, २०२६)’, ‘युद्धभूमिको छेउमा उभिएर’ (राल्फाको पत्रिका ‘यन्त्रणा– २ : २०२७)’, ‘आगो लाग्नु अघि’ (राल्फाकै पत्रिका ‘विरुद्ध : २०२७)’, ‘ढिला विष : मृत्युका कीटाणुहरू’ (राल्फाको पत्रिका ‘यन्त्रणा– ३ : २०२८)’, ‘गलत सोचाइका विरुद्ध’ (आक्रोश : २०२८),’ ‘प्रगतिशील साथीहरूसित’ (नौलो नेपाली– ५ : २०२८)’ र ‘झ्यालखानभित्र’ (राल्फाकै ‘यन्त्रणा– ४ : २०२९) मा प्रकाशित भएका थिए ।
त्यसपछि भने उनको लेखनको गति धीमा भयो । उनी साहित्यकार हैन राजनीतिज्ञ हुने यात्रामा निस्किए । राजनीतिक सक्रियताले उनीभित्र फक्रिदै गरेको साहित्यिक प्रतिभा मुर्झायो । त्यसपछि करिब पन्ध्र वर्ष उनी साहित्यमा झन्डै निष्क्रिय जस्तै रहे ।
चालिसको दशकको मध्यतिर आएपछि उनले एकपल्ट पछिल्तिर फर्किएर हेरे । उनलाई साहित्यको विराट संसारबाट टाढिएकोमा नमजा लाग्यो । उनी फेरि साहित्यिक यात्रामा जुटे । तर पनि राजनीतिक व्यस्तताबाट अलग हुन सकेनन् । उनलाई साहित्यले भन्दा राजनीतिले नै समाज परिवर्तनमा योगदान दिन्छ भन्ने लागेर होला फेरि पनि उनी राजनीतिकै छायामा हराए । यसो भन्दा उनको योगदानलाई कम आँकेको हैन । कुरा के मात्र हो भने उनले भनेजस्तै उनको चरित्र राजनीतिज्ञ हुनेभन्दा साहित्यकार हुने नै थियो । हुन त चालिसको दशकको अन्तिम वर्षतिर पार्टीमा आएको टुटफुटले उनमा निराशा नजागेको हैन । यही भएर पनि उनी साहित्यमा फर्किएको पाइन्छ ।
साहित्यमा फर्किनुको कारण स्पष्ट गर्दै उनी भन्छन्, ‘साहित्यको क्षेत्रमा, त्यसमा पनि मार्क्सवादी सौन्दर्यशास्त्रको क्षेत्रमा जति योगदान मबाट हुन सक्छ त्यति राजनीतिक क्षेत्रमा हुन सक्तैन भन्ने आत्ममन्थनका कारणले र पार्टीभित्रको राजनीतिक उतारचढाउको कारणले समेत म फेरि साहित्यमा सक्रिय हुन खोजेको थिएँ ।’
पार्टी राजनीतिबाट अलग हुँदाबित्तिकै आन्दोलनबाट नै अलग भएको सोच्छन् नेपाली कम्युनिष्टहरू । कि सक्रिय कार्यकर्ता कि आम नागरिक ! बिचमा बस्ने भनेको निनु जस्तै गुमनाम जीवन जिउनु हो ।
निनु चापागाईंको नामबाट प्रकाशनमा आएको उनको पहिलो रचना ‘प्रगतिशील साहित्य : केही प्रश्नहरू’ शीर्षकको लेख हो । जुन २०४४ सालको वेदना सहित्यिक त्रैमासिकमा प्रकाशित भएको थियो । यहीँबाट उनी योजनावद्ध रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गरेका हुन् भन्दा हुन्छ । त्यसपछि उनी राजनीतिसँगै साहित्यमा पनि कस्सिएरै लागे । यसैको प्रतिफल थियो उनको पहिलो कृति ‘यथार्थवादी रचनादृष्टि र विवेचना’ । जुन वि.सं. २०५१ मा प्रकाशित भयो ।
त्यसपछि अहिलेसम्म उनका क्रमिक रूपमा ‘मार्क्सवादी चिन्तनमा सौन्दर्य (२०५४)’, ‘सन्दर्भ : संस्कृति र सांस्कृतिक रूपान्तरण (२०५९)’, ‘उत्तरआधुनिकतावाद : भ्रम र वास्तविकता (२०६१)’, ‘सांस्कृतिक रूपान्तरण (२०६७)’, ‘दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८)’, ‘पूर्ववाद र सइदेली विचार (२०७३)’ र ‘सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया (२०७५)’ मौलिक कृति प्रकाशित भएका छन् ।
यी कृतिहरू नेपाली मार्क्सवादी सौन्दर्यचिन्तनको क्षेत्रका अमूल्य निधी हुन् । यी कृतिको अध्ययनले नेपाली मार्क्सवादी सौन्दर्यचिन्तनको विगत र वर्तमानको अवस्थालाई अध्ययन गर्न र बुझ्न सकिन्छ । नेपाली साहित्यमा यसरी सौन्दर्य चिन्तनलाई मात्र मुख्य विधा बनाएर लेख्ने साधक निकै कम छन् । तिनैमध्येका अगुवा साधक हुन् निनु चापागाईं ।
त्यसो त उनले अनुवादमा पनि प्रशस्तै काम गरेका छन् । अहिलेसम्म उनका ‘मैले कसरी लेख्न सिकेँ (२०५९)’, ‘समाज र संस्कृति (२०६१)’, ‘गोर्कीका छानिएका वैचारिक रचनाहरू (२०६५)’, ‘मार्क्सवादी समालोचना–पद्धति (२०६७)’, ‘मार्क्सवादी साहित्यचिन्तन (२०६७)’, ‘माक्र्सवाद र सङ्गीत (२०६७)’, ब्रेख्त र ब्रेख्त (२०७४)’ लगायत झन्डै एक दर्जन अनूदित कृति प्रकाशित छन् । त्यतिकै संख्यामा ‘पारिजात स्मृतिग्रन्थ’, ‘सम्झनाको तरेलीमा कमरेड निर्मल लामा’ र ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’ जस्ता सम्पादित कृति पनि प्रकाशित छन् ।
°°°
वि.सं. २०७० सालदेखि उनले गुमनाम राजनीतिक जीवन बाँचिरहेका छन् । यति लामो समय राजनीतिक जीवन व्यतित गरेका उनी अहिले किन चुपचाप बसेका होलान् ? के उनी पदप्रतिष्ठा र मानसम्मान नपाएर पार्टी राजनीतिदेखि अलग भएका हुन् ? अथवा राजनीतिदेखि वितृष्णा जागेर पो उनी अलग भएका हुन् कि ! उनलाई चिन्नेहरूसँग यस्ता धेरै प्रश्नहरू हुन सक्छन् । एउटा मोठ प्रश्न हुन सक्छ जीवनभरि राजनीति गरेर उनले के पाए त ?
उनी कुनै मानसम्मान र पदप्रतिष्ठा नपाएर पार्टी राजनीतिबाट अलग भएका भने हैनन् ।
राजनीतिबाट मैले धेरै त नकारात्मक पाठहरू सिकेँ भन्छन् उनी । उनले भनेजस्तै जीवन भनेको सिकाइ पनि हो । सकारात्मक र नकारात्मक सिकाइको बिचबाट त जीवनको यात्रा अगाडि बढ्छ ।
उनलाई नेपालमा कम्युनिष्ट आन्दोलन अपरिपक्क स्थितिमै निर्माण भएछ भन्ने लागेको रहेछ । उनी भन्छन्, ‘यहाँको आन्दोलन सर्वहाराको हातमा नभएर मध्यमवर्गको हातमा थियो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई यो अवस्थामा पुर्यायो ।’
यही नै नेपाली कम्युनिष्ट आन्दोलनको पेचिलो प्रश्न हो । नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व पञ्च र कांग्रेस हुन नसकेका उदार र प्रगतिशील सोच भएका मध्यमवर्गको हातमा पुग्नु नै अभिशाप भयो । जसले ऐनमौकामा आन्दोलनलाई सम्झौतापरस्त र दिशाहिन बनाउन बल पु¥यायो । हुन त उनी पनि उच्च मध्यमवर्गबाट नै आएका हुन् । तर उनले राजनीतिको उपलब्धीलाई आफूमा सीमित गरेर हेर्दैनन् । भन्छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनले जनतालाई जागरुक बनाउन र राष्टवादी तथा लोकतान्त्रिक मूल्य विस्तारका लागि महत्त्वपूण भूमिका खेल्यो । तल्लो बर्गको चेतना फैलाउन पनि यसको ठुलो हात छ । मैले अप्रत्यक्ष रूपमा आन्दोलनबाटै ऊर्जा प्राप्त गरेँ । अहिलेको निनु राजनीतिक आन्दोलनकै उपलब्धी त हो ।’
कम्युनिष्ट विचार, कम्युनिष्ट संगठनात्मक पद्धति र कम्युनिष्ट आचारलाई सही रूपमा समाउन नसक्नाले आन्दोलनले यस्तो हरिविजोक खेप्न परेको हो भन्छन् उनी ।
अहिले उनलाई हिजो सँगै काम गरेका पार्टीका नेतृत्वले सम्झिन पनि सम्झिदैनन् । पार्टी राजनीतिबाट अलग हुँदाबित्तिकै आन्दोलनबाट नै अलग भएको सोच्छन् नेपाली कम्युनिष्टहरू । कि सक्रिय कार्यकर्ता कि आम नागरिक ! बिचमा बस्ने भनेको निनु जस्तै गुमनाम जीवन जिउनु हो । सायद यो नेपाली राजनीतिकै ‘दुर्भाग्य’ हो । यसबाट पनि थाहा हुन्छ नेपाली समाजलाई राजनीतिको विसङ्गतिपूर्ण संस्कृतिले कतिसाह्रो गाँजेको छ ।
यस्तो जीवन जिउँदा उनलाई दुःख पनि त लाग्दो हो । हुन त यो मेरो सोच हो । मैले पार्टीका नेतासँग कत्तिको भेट हुन्छ भनेर सोध्दा उनले भने, ‘मलाई भेट्न उनीहरूसँग न विषय छ न नैतिकता ।’
जीवनभर राजनीति गरेर यसरी सामान्य जीवन जिउनुपर्दा पीडा पनि त हुँदो हो । मैले जीवनभरि राजनीति गर्नुभयो, व्यक्तिगत लाभलाई चटक्कै छोडेर हिँड्नुभयो अहिले यसरी बस्दा पीडा हुन्छ कि भनेर सोध्दा उनले मुस्कुराउँदे भने ‘पीडाबोध पटक्कै छैन । मैले जुन जीवन बाँचेको छु त्यो त मेरो रोजाइ थियो । अहिलेका नेताले बाँचेको जीवनशैली बाँच्नका लागि मैले राजनीति गरेकै थिइनँ । अहिलेका नेतृत्वले बाँचेको जीवन त म उहिल्यै बाँच्न सक्थेँ । म त भिन्नै (सर्वाहारा–ले) जीवनशैली बनाउन पो आएको हुँ । मैले जे जस्तो जीवन बाँचे गलत बाँचे भन्ने लाग्दैन । मैले मेरो दायित्व पुरा गर्ने हो त्यसबाट व्यक्तिगत लाभ हुन्छ कि हुन्न भन्ने सेकेन्डरी कुरो हो ।’
यसो भन्दैगर्दा उनी अलिक निराश र उदास देखिए । उनको उदासीले कताकता मलाई च्वास्स छुन्छ । नेपाली राजनीतिले उनी जस्ता निष्कपट र इमान्दार व्यक्तिको आवश्यकताबोध गर्दैन सायद । म उनी बोल्दै गर्दा उनको अनुहार चियाउँछु, उनको गम्भीर अनुहारमा निराशा गोचर हुन्छ । यो मेरो आशङ्का थियो कि वास्तवमै उनी निराश थिए । तर पनि मलाई नमिठो अनुभूति हुन्छ ।
मैले उनको अनुहारका केही खोज्ने प्रयत्न गर्छु । मैले के खोजेको थिएँ, त्यो त मलाई नै थाहा थिएन । मैले उनको अनुहारमा पीडा रहेछ भन्ने मनगढन्ते कुरा बनाउन चाहन्नथेँ । मलाई त बरु त्यो शालीन अनुहार भएको साधक अबका दिनमा पनि यसरी नै सतिसाल जस्तै उभिइदिए हुन्थ्यो भन्ने लाग्दै थियो । जीवनको उत्तरार्धमा लालीपप देखेर लोभिएका अरूहरू जस्तै यो साधक पनि बिक्ने त हैन भन्ने लाग्दै थियो । हुन त त्यो मेरो भ्रम थियो । उनको अन्तर्हृदय यति नजिकबाट चियाउँदा पनि मभित्र बाँकी रहेको आशङ्का थियो । अन्तिममा मलाई लाग्यो, त्यो अनुहार उदास पक्कै थियो तर त्यहाँ पश्चाताप थिएन । अभीप्सा थियो तर त्यहाँ लोभ र मोहको विकृत दोछाया थिएन ।
सोच्छु, आन्दोलनका बेला सडकमा ब्यानर लिएर उभिने निनु अहिले गुमनाम बाँच्नु भनेको उनको मात्र उपहास हैन । यो त समग्र नेपाली प्रगतिशील साहित्यकै उपहास हो । आन्दोलनको बेला ‘लोकतान्त्रिक स्रष्टा आन्दोलन, २०६३’ बनाएर सडकमा निस्किएका चार अध्यक्षमध्ये एउटा अध्यक्ष वैरागी काइँला प्रज्ञाप्रतिष्ठानको कुलपति भए । अर्का अध्यक्ष निनु चापागाईं सडकमा छन् । जीवनभरि प्रगतिशील/प्रगतिवादी साहित्यको उत्थानामा क्रियाशील निनुलाई कम्युनिष्ट सरकारहरूले पनि सम्झिएनन् । के उनी प्राज्ञिक नेतृत्व गर्न नसक्ने व्यक्ति हुन् ?
°°°
उनमा विगतप्रति गुनासो खासै छैन । जीवनमा राजनीतिक व्यस्तताका कारण साहित्यमा जति योगदान पु¥याउन सकिन्थ्यो त्यति पु¥याउन नसकेकोमा भने दुःखी छन् । तर जति गरेँ ठिकै गरेँ भन्छन् । उनी भन्छन्, ‘मलाई विगतप्रति पश्चाताप छैन । जति गरियो, लेखियो ठिकै लेखियो, गरियो जस्तो लाग्छ । तर जतिखेर मैले राजनीतिमा भन्दा साहित्यमा काम गर्ने सोच बनाएको थिएँ, त्यसलाई निरन्तरता दिएको भए धेरै गर्ने थिएँ जस्तो लाग्छ ।’
अहिले उनी पचत्तर वर्षमा हिँड्दै छन् तर उनको स्फूर्ति घटेको छैन । धेरै संस्थामा छैनन् । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान र देवकोटा लूसुन प्रतिष्ठानको नेतृत्वमा छन् । काम गर्ने हुटहुटीले अझै छोडेको छैन ।
उमेर घर्किसक्यो, रोगले च्याप्दै गयो, तर पनि उनी दुःखी छैनन् । उमेर घर्किदै गएको वा मृत्यु नजिकिदै आएकोमा उनलाई रत्तिभर चिन्ता छैन । भन्छन्, ‘म त मस्तराम जस्तो पो छु त । मृत्युको सोच मेरो जीवनमा कहिल्यै आएन ।’
‘उहाँ त निरन्जन निराकार पो हुनुहुन्छ’, भाउजूले हाँस्दै प्रश्न् गर्छिन्, ‘मैले जीवनभरि उहाँलाई कति मोरल सपोर्ट गरेकी छु यो कुरा सोध्नुभएन ?’
हो नि ! एउटा हिरोको सफलतामा पर्दापछाडि ककसको भूमिका हुन्छ यो सब कुरा दर्शकलाई के नै थाहा हुन्छ र ! बस् उनीहरू त हिरोको कमालमै रमाउँछन्, जसरी म निनु दाइको जीवनशैलीको आशक्तिले तानिदै उनको निवाससम्म पुगेर एकोहोरो उनीसँग मात्र संवाद गरेँ । तर राजनीतिको छायामा परेको निनुलाई सौन्दर्यचिन्तक बनाउन अहोरात्र परिश्रम गर्ने उनकी जीवनसङ्गिनी इन्दिरा भाउजूको कथाव्यथा कस्तो थियो सोध्ने र सुन्ने आँट गरिनँ ।