नेपाली गीत-संगीतको क्षेत्रमा सन् साठीदेखि सत्तरसम्मको दशक अति नै सृजनात्मक र उर्बर देखिन्छ। यही अवधिभित्र खुबै राम्रा-राम्रा कालजयी गीतहरू सृजना भए। तर अम्बर गुरूङ्ग नेपाल पसेपछि अनि शरण प्रधानको निधनपछि स्थिति धेरै बिथोलिएको थियो। त्यहीमाथि नगेन्द्र थापाको साथ लागेर गोपाल योञ्जन पनि नेपाल पसे, रन्जित गजमेर बम्बेतर्फ लागे अनि पछिबाट शान्ति ठटाल पनि सक्किमतर्फ लागिन्। यस्तो अवस्थामा आफ्नो धैर्यतालाई बाँधेर दार्जीलिङगमा नै संगीत सृजनामा संलग्न रहँदै नेपाली गीत-संगीतलाई आजसम्मको मोडमा ल्याउन अतुलनीय योगदान पुऱ्याउने अति दक्ष, अनुभवी र सबैको प्रेरणा स्रोत हुन् महान संगीतकार हुन् कर्म योञ्जन। नेपाली गीत-संगीतलाई समृद्ध पार्नमा कर्म योञ्जनले जे जति योगदान पुऱ्याएका छन् त्यसको सही मूल्याङ्कन पटक्कै भएको छैन भन्दा कुनै अनर्थ हुँदैन।
उनकै भनाइअनुसार, उहाँका पिता आफै पनि हार्मोनियम राम्रोसित बजाउँथे। पिताको प्रभाव र प्रेरणा छोरोमा नपर्ने त कुरै आएन। यसैले उनी सानैदेखिनै गीत-सङ्गीतमा औधि चासो राख्थे। एकोहोरो प्रकारको बालक थिए। कुनै एउटा कुरामा लागेपछि लाग्यो लाग्यो। गाउँघरमा कुनै एक व्यक्तिकोमा ग्रामोफोन थियो, त्यहीं गएर मित्रसेन र रत्नदासका गीतहरू सुन्थे। ओकाईटी चिया कमानमा गोपाल योञ्जनको बाबु बितेपछि उनी पनि आमाको साथमा सँगै बस्न आएका हुनाले दुई भाई सँगै भए। यसरी गीत-सङ्गीतप्रति मरेमेटाई राख्ने दुई भाई एकैसाथ भएपछि सँगै बजाउनु गाउनु सिक्न थाले। साथमा कुनै साज बाजा थिएन तर कर्म योञ्जन कुनै काठको दण्डामा घोड़ाको पुच्छरको सिरालाई तार जस्तो तन्काएर अर्को कुनै कुप्रो धनु बनाएर त्यसले रेट्दै भायोलिन तरिकाले बजाउँथे। गोपाल योञ्जन पनि गाँउघरमा नै पाइने बाँस आदिबाट आफै बाँसुरी बनाएर बजाउँथे। उनीहरूको यस्तो मरिमेटाई देखेपछि पिताले नै हार्मोनियम किनेर ल्यादिएका रहेछन्। कसैले भायोलिन पनि किनेर दिएका रहेछन् कर्म योञ्जनलाई। त्यसपछि कर्म भायोलिन गोपाल बाँसुरी बजाउँदै सँगै हुर्कँदै गए। बिस्तार बिस्तारै दुवै पारङ्गत हुँदै गए। गाउँघरमा बजाउन थाले, सबैले चिने र प्रशंसा गर्न थाले।
आ-आफ्नो साजमा दुवैले प्रवीणता हासिल गर्दै गरेको बेला एक दिन अम्बर गुरुङसित उनीहरूको साक्षात्कार भयो। उनीहरूका प्रतिभा देखेर अम्बर गुरुङ्गले उनीहरुलाई आर्ट एकाडेमीमा लिए। पछिबाट अम्बर गुरुङ्ग नेपाल पसेपछि दुवै भाई हिमालयन कला मन्दिरमा पसे अनि त्यहाँ संगीत सृजनामा लागे।
पहिलो गीत सृजना
कर्म योञ्जनले कुनै पनि गीतमा सङ्गीत भर्न सुरू गरेका रहेछन् सन् १९५७ देखि । सङ्गीत सिक्दै जाँदा कर्म योञ्जनले भाई गोपालसित जोड़ी बनाएर सङ्गीत सृजनामा लाग्ने निर्णय गरे। एक दिन पानी परिरहेको दिन बाहिर निस्कनु नसक्ने अवस्था थियो। दुवै भाइ पहिलो पटक कुनै गीत रचना गर्ने मुड लिएर एकाग्रतासित जुटे। भनेकै बेला अनि आवश्यक परेकै बेला गीत रचना गर्न सक्ने क्षमता भएका गोपाल योञ्जनले गीत रचना गरे अनि त्यसमा धुन भरे कर्मले। खुबै राम्रो गीतको सृजना भयो र अझ हौलसा बढ़्यो। फेरि अर्को गीत सृजना गर्ने लहड़ चल्यो, उनीहरुलाई। फेरी गोपालले गीत लेखे कर्मले त्यसमा धुन भरे। दुईवटा अति राम्रा गीतहरू जन्मिए यसरी-
सावन फर्की फेरि झर्यो माया लगाई निष्ठुरी फर्केन
चुडाई लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन
अनि अर्को गीत थियो-
सम्झेर बुझेर दिइहाल त्यो जोवन
आखाँ लोभी मन पापी बुझ्दैन तिम्रो मन
यही गीतहरू लिएर उनीहरू सन् १९५९ मा दार्जीलिङ्गमा आयोजित विराट सङ्गीत प्रतियोगीतमा निस्किए। प्रतियोगीतमा पहिलो ‘सावन फर्की’ बोलको गीत दिलमाया खातीले गाएका थिए भने अर्को ‘सम्झेर बुझेर’ बोलको गीत दिलमाया खाती र कर्म योञ्जन स्वयंले युगल स्वरमा गाएका थिए। प्रतियोगीतमा शरण, रन्जित, जितेन्द्र बर्देवा र अरुणा लामा लगायत धेरैले भाग लिएका थिए, धेरै कड़ा प्रतिस्पर्धा भएको थियो। निर्णायकहरूमा त्यस समयका दहलसिंह गहतराज, हिरा सिंह, मानधोज गुरुङ, अम्बर गुरूङ्ग आदि थिए। प्रतियोगीता हेर्न मानिसहरूको भीड़ थियो, हलदेखि बाहिरसम्मै मानिसहरू खचाखच थिए। अन्तमा परिणाम घोषणा भयो। यो दुवै गीतमा तीनै जनाले प्रथम पुरस्कार प्राप्त गरे। सङ्गीतकारमा प्रथम पुरस्कार कर्म योञ्जनले प्राप्त गरे। गीतकारमा प्रथम पुरस्कार गोपाल योञ्जनले प्राप्त गरे अनि गायनमा दिलमाया खातीले प्रथम पुरस्कार प्राप्त गरीन्।
यही दुईवटा गीतहरू नै थिए कर्म योञ्जनको सङ्गीतिक व्यक्तित्वको पहिलो माईलखुट्टी। तर यी दुई गीतहरूलाई एच.एम.भी.बाट रेकर्ड भएर निस्कनु छ वर्ष पर्खिनुपऱ्यो। त्यस बेला यी दुई गीतहरू अतिरिक्त अन्य दुई गीतहरू लगाएर जम्मा चार गीतहरू रेकर्ड गराउन सके कर्म योञ्जनले।
त्यसपछि भने उनले कहिल्यै पछि फर्केर हेरेनन्। आजसम्ममा लगभग ४०० गीतहरूमा सङ्गीत भरिसकेका छन्। यसमा कतिपय गीतहरू रेकर्ड हुन पाएकै छैनन्। सुरुआती कालमा ‘कर्म गोपाल’ नामले दुवै भाइले मिलेर कैयौं गीतहरूमा सङ्गीत भरेका छन्।
गायकको रूपमा दिलमाया खातीसितको ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन’ बाहेक उनले कुमार सुब्बासित पनि एउटा गीत गाएका छन्। गीतको बोल छ-
‘मोती लहर भरी अल्झेर जोवनको हर मुस्कान तिम्रै आखा भरी सजाइ राखुँला’।
उनको साङ्गीतिक करियरलाई हेर्नु हो भने ७० को दशक उनको लागि अझै धेरै फलदायी बनेको देखिन्छ। त्यो वर्ष प्रख्यात नाटककार मन बहादुर मुखियाको ‘अनि देउराली रून्छ’ नाटकमा सङ्गीत भर्ने दायित्व कर्मले पाए। गीतप्रधान नाटकमा समावेश रहेका तीन गीतहरू अति नै लोकप्रिय बन्यो। कर्म योञ्जनले अति लगन र मेहनतले नाटकको गीतहरूमा असल धून भरे अनि चित्ताकर्षक सङ्गीतले सजाए, जसको राम्रो प्रतिफल पनि उनलाई मिल्यो। नाटकको साथ-साथै गीतहरू ‘हे फूल चुँड़ेर लाने हो’, ‘सारङ्गीको तारले मेरो’, र ‘देउरालीको ठिटी हो, नक्कल पार्नु पर्दैन’ ले चारैतिर वाहवाही लुट्न सक्यो। नाटक यसै पनि राम्रो त थियो नै त्यही माथि गीत-सङ्गीत पक्षले नाटकमा सूनमा सुगन्ध थपिदिने काम गऱ्यो। यही नै थियो कर्मको सबैभन्दा ठूलो प्रमाणपत्र। ‘अनि देउराली रून्छ’ नाटक नेपालमा प्रदर्शन गर्दा राजा वीरेन्द्र र रानीले समेत नाटकको सुरूदेखि अन्तसम्मै धैर्य धारण गरेर हेर्नु भनेपछि सानोतिनो कुरा थिएन। नाटक यति सफल हुनुको श्रेय नाटककार र सङ्गीतकार दुवैलाई जान्छ।
८५ वर्ष पुगिसकेका अनि जीवनको ६ दशकभन्दा बढ़ि समय नेपाली गीत-सङ्गीतको क्षेत्रलाई माथि उठाउनुमा आफ्नो सम्पूर्ण ऊर्जा खर्च गर्ने महान सङ्गीत तपस्वी कर्म योञ्जन यति महान् भएर पनि लो प्रोफाइलमा बस्न रुचाउँछन्। आफूलाई लाइम् लाइटमा ल्याउँदै ढ्याँग्रो पिट्ने आचरण पनि उनमा छैन। अति नै सरल, सोझो, इमान्दार सङ्गीत साधक, अरूले मूल्याङ्कन गरून् कि नगरून् तर नेपाली गीत-सङ्गीतको फूलबारीलाई नयाँ-नयाँ प्रयोगका फूलहरूले सजाउने कार्यमा पहाड़ जस्तो छाती लिएर निरन्तर लागिपरेका छन्। सबैको लागि उनी पथ प्रदर्शक हुन्।
उनीसित प्रत्यक्ष कुराकानी गरि उनको साङ्गीतिक जीवनको आरोह-अवरोह जान्ने र बुझ्ने मेरो धोको पुरा हुन्छ ९ जून २०२२ को दिन। मैंले राखेका केही प्रश्नहरूका उत्तर खुबै मलिन र सहृदयी ढंगले दिन्छन् –
प्रश्नः १९५७ देखि नै संगीत सृजना गर्नुभएको हो भनिन्छ। तपाईले सङ्गीत भर्नुभएको पहिलो गीत कुन होला ?
उत्तरः मेरो सङ्गीत रहेका प्रारम्भिक गीतहरू हुन्- दिनमाया खातीको स्वरमा रहेको ‘सावन फर्कि फेरि झर्यो’ बोलको गीत अनि मेरो र दिलमाया खातीकै स्वर रहेको युगल गीत ‘सम्झेर बुझेर दिइहाल यो जोवन’ बोलको गीत। यी गीतहरू एच.एम.भी रेकर्डिङ कम्पनीबाट रेकर्ड भएका हुन्।
प्रश्नः साङ्गीतिक करियरको सुरूमा त यसरी गाउनु पनि भएको थियो, त्यसपछि अरू गीत गाउनु मन लागेन ?
उत्तरः त्यो बेला गीत गाउने एउटा रहर पनि थियो र अलि-अलि आफै गाउँथें तर पछिबाट गीत गाउन छाड़ेर सङ्गीत सृजनामा नै तटस्थ रहें। तर एउटा सङ्गीतकारले गाउनै छोड़्यो भन्न पनि मिल्दैन। किनभने कुनै गीत कम्पोज गर्दा वा त्यसको धुन तयार पार्ने क्रममा आफूले गाएरै तयार पारेको हुनपर्छ। आफूले गाउनु पनि पऱ्यो अनि कुनै गायक/गायिकालाई त्यो गीत गाउनु दिएपछि उसलाई गाएरै सिकाउनु पनि पर्छ। यस हिसाबले गायनदेखि अलग बस्नु त सकिँदैन। म आफू त राम्रो गायक होइन नी, त्यसैले कम्पोज गरेर राम्रा गायक/गायिकाहरूलाई सिकाएर गाउन लगाउँथे, आफ्नो कम्पोजिशनको गीत।
प्रश्नः हाम्रो गीत-सङ्गीतको इतिहासलाई हेर्दा सन् ६० देखि ७० को दशकलाई स्वर्णकाल भनिन्छ। त्यो उर्बरकालमा कैयौं मेलोडियस र कालजयी गीतहरू सृजना भए। ती अजर अमर गीतहरू आज पनि नयाँ जस्तै लाग्छन्, यिनीहरूमा अहिले पनि उस्तै मिठास पाईन्छन्। गीत-सङ्गीतको मिठास अनुभूत गर्नेहरू यस्ता पुराना गीतहरू खोजी-खोजी सुन्छन्। आज गाउने र बजाउनेको लागि कैयौं सुविधाहरू उपलब्ध छन् तर पनि किन आज त्यस्ता गीतहरू बन्न सक्दैनन् ?
उत्तरः त्यति बेला मनभित्रैबाट गीत रचना गरिन्थ्यो, सङ्गीत भरिन्थ्यो। त्यसबेला राम्रा-राम्रा शब्दकारहरूले लेखेका शब्दहरू खुबै राम्रो हुन्थ्यो। राम्रा-राम्रा शब्दरचनाहरू पाएपछि कम्पोज पनि त्यही प्रकारले मेहनत लाएर, गहिराईमा डुबेर गरिन्थ्यो। एउटै गीतहरू कम्पोज भएपछि ठीक लागेन भने अरू पनि धुनहरू बनाइन्थ्यो। कुनै ट्यून चित्त बुझ्दो भएपछि मात्र त्यसलाई अन्तिम रूप दिइन्थ्यो अनि कुनै गायक या गायिकालाई सिकाएर गाउन लगाइन्थ्यो।
प्रश्नः गोपाल योन्जन र तपाई दाजु भाइका छोराहरू हुनुहुन्छ, होइन ?
उत्तरः हो, हामी दाजु भाइको छोराहरू हौं। उसको आमा र मेरो आमा पनि एउटै घरकी दिदी बहिनी हुन्।
प्रश्नः सानैदेखि दुई भाइले सँग-सँगै गीत-सङ्गीत गर्नुभएको होला। कतिपय गीतको सङ्गीत दुवै मिलेर पनि गर्नुभएको होला होइन ?
उत्तरः दुवैले मिलेर सङ्गीत भरेको गीतहरू थुप्रै छन्। जस्तै नारायण गोपालले गाएका ‘तिम्रो जस्तो मुटु मेरो पनि’ अनि अर्को ‘मेरो गीत मेरै प्रतिबिम्ब होइन’। सङ्गीतमा दुवैको सहकार्य भएका यस्ता गीतहरू धेरै छ। अरु-अरु गीतहरू पनि दुईजना मिलेरै गर्थ्यौं त्यति बेला। जब गोपालले लोक मनोरञ्जन शालामा प्रवेश गऱ्यो त्यसबेलादेखि म चाहिँ हिमालयन कला मन्दिरमा जान थालें। त्यसपछि छुट्टा-छुट्टै प्रकारले गीत-सङ्गीत गर्न थाल्यौं। पछिबाट ऊ नेपालतिर लाग्यो अनि त्यसपछि देखि त मिलेर काम गर्ने कुरा पनि आएन। उसले सङ्गीत सम्बन्धी गतिविधि उतै गर्न थाल्यो मैंले यता दार्जीलिङ्गमा नै बसेर गर्न थालें। आफ्नो कम्पोजका गीतहरू दार्जीलिङ्गकै गायक गायिकाहरूलाई गाउन लगाउन थालें। दार्जीलिङ्गमा नै बसेर म सङ्गीत कार्यमा लागिरहें।
प्रश्नः अम्बर गुरूङ्ग र केही पछिबाट गोपाल योञ्जन प्रखर सङ्गीतकारहरू जनमानसमा चर्चित बनिरहेकै बेला नेपाल पसेका हुन्। कुन कुराले उनीहरूलाई उतै पस्ने अभिप्रेरित गऱ्यो ?
उत्तरः हो, अम्बर गुरूङको स्वर र सङ्गीतमा रहेको अगमसिहँ गिरीको शब्दरचना ‘नौलाख तार उदायो’ बोलको गीत सुनेपछि अम्बरलाई राजा महेन्द्रले नेपाल बोलाउनु भयो। त्यसपछि उनी नेपालतर्फ लागे। गोपाल चाहिँ कलेज पढ़दा-पढ़दै उसको परम मित्र नगेन्द्र थापाको आग्रहमा नेपालतिर लाग्यो। उसको टेलेन्ट देखेरै नगेन्द्रले उसलाई नेपाल पस्ने परामर्श दिएको थियो।
प्रश्नः यता स्कोप छैन भनेर तपाईलाई पनि उतै जानु मन लागेन ?
उत्तरः मलाई त जान मन लागेन। एक त आपा बित्नुभएपछि घरमा आमा मात्र हुनुहुन्थ्यो। घरको दायीत्व आइपऱ्यो। यसैले जाने कुरै आएन।
प्रश्नः नाटक ‘अनि देवराली रुन्छ’ को गीतले नाकटकार मन बहादुर मुखिया, सङ्गीतकार कर्म योञ्जन, गायक गायिकाहरू सबैलाई निकै चर्चित तुल्यायो। ‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ’ बोलको गीत नाटकमा त दुर्गा खरेलले गाएका छन्। गीतको सङ्गीतकार तपाईँ हुनुहुन्छ। गीत रेकर्ड हुँदा त कुमार सुब्बाको स्वरमा निस्कियो। यो कसरी भयो ?
उत्तरः ‘अनि देवराली रून्छ’ नाटकको यो गीत रेकर्डिङ हुनभन्दा पहिले नै धेरै चर्चित भइसकेको थियो। म काठमाण्डौ गएको बेला कुमार सुब्बा पनि गएका थिए, रेकर्डिङको सिलसिलामा। मलाई रत्न रिकर्डिङले तपाईँ आउनु भएको बेला तपाईँको दुईचारवटा गीतहरू हामी रेकर्ड गर्छौं र तपाईँ आफ्नो कुनै गायक/गायिका पनि साथमा ल्याउनु होस् भनेको थियो। कुमार सुब्बा काठमाण्डौ आइसकेका हुनाले मैंले उनलाई नै लिएर गएँ। त्यो बेला ‘अनि देवराली रून्छ’ को ‘सारङ्गीको तारले मेरो’ बोलको गीत नातिकाजी दाईले पनि धेरै मन पराउनु भएको थियो। उहाँले यो गीत चाहिँ रेकर्डिङ गर्नु पर्छ है कर्म भाई, यसैपाली गरिहाल्नु पर्छ, घरी-घरी स्टूडियो खाली हुँदैन साथै यस्तो मौका पनि पाइँदैन भनि भन्नु भएको थियो। नाँतिकाजी दाईलाई नेपाल सरकारले रेकर्डिङ कम्पनीको एक प्रमुख सदस्यको रूपमा राखेको थियो। उहाँको आग्रहले नै यो गीत रेकर्ड गर्न मलाई कर लाग्यो। यसरी गीत रेकर्ड भयो कुमार सुब्बाको स्वरमा। तर जुन समय नाटक अनि देवराली रून्छ निर्माण भएको थियो, त्यो बेला त गाईनेको जस्तो म्याच गर्ने स्वर दूर्गा खरेलको छ भनि सो नाटकमा उनैलाई यो गीत गाउन लगाइएको थियो।
प्रश्नः रेकर्ड गर्दा यो गीतको शब्दहरूमा परिवर्तन गर्नु परेछ, होइन ?
उत्तरः हो, गीत रेकर्ड हुँदै गर्दा परिवर्तन गर्नुपऱ्यो। हामी स्टूडियो भित्र पसेका थियौं, रेकर्डिङ भइरहेको थियो। त्यसैबेला रेकर्डिङ टोलीका सदस्यहरूद्वारा, जसमा प्रमुख रूपमा नातिकाजी र शिवशंकर दाइहरू पनि हुनुहुन्थ्यो, रेकर्ङिङ हुँदै गर्दा एकक्षण रोक्न लगाइयो। मैंले यसरी बीचमा रोक्नुपर्ने कारणबारे सोध्दा उहाँहरूले भन्नुभयो, यो गीतमा ‘नेपालीले नेपालीलाई नचिने झैं गर्छन्’ भन्ने लाइन चाहिँ मिल्दैन यहाँ, हाम्रो सरकारले पनि आपत्ति गर्न सक्छ। त्यसो भएपछि मैले त्यहीँ त्यो लाइनको स्थानमा ‘आफ्नै दाजु भाइले मलाई नचिने झैं गर्छन्’ भनेर कुमारलाई लेख्न लगाएँ। यो गीतमा प्रयोग भएका कतिपय शब्द तथा पंक्तिहरूबारे आपत्ति हुन्छ होला भनेर हामीले सोचेका पनि थिएनौं। रेकर्डिङ मेम्बरहरूले अरु पनि शब्द र पंक्तिहरूमा केही परिवर्तन गर्न लगाए। त्यसैले गर्दा मैंले त्यसैक्षण ती आपत्ती भएका शब्द र लाइनहरूका स्थानमा अर्को विकल्प कुमार सुब्बालाई लेख्न लगाएँ। यसरी गीतको शब्दमा परिवर्तन भयो।
प्रश्नः नारायण गोपलसित तपाईँको परिचय भइसकेपछि तपाई दुई भाइको उहाँसित भेटघाट भइरहन्थ्यो। उनी दार्जीलिङ्ग आएदेखि नै धेरै प्रसङ्गहरूमा तपाईँ पनि जोड़िएर आउनुभएको छ। तपाईँ आफैले चाहिँ कुनै गीत गाउनु लाउनुभएन उनलाई ?
उत्तरः त्यस समय नारायण गोपाल आफैले सहकार्य गरेको थिएन। पहिले-पहिले चाहिँ नारायण गोपालले ‘आँखाको भाका आफैले’ जस्ता परिपाटीका गीतहरू गाउँथे, उनले त्यस्तै प्रकारका गीतहरू गाएको हामीले सुनेका थियौं। पछि दार्जीलिङ्ग आएपछि हाम्रो गीत-सङ्गितप्रति उनको चासो बढ़्यो। त्यसपछि म र गोपाल भएर हाम्रो कतिपय गीतहरू उनलाई सिकायौं। मेरो र गोपाल दुवैको सङ्गीतमा उनले कतिपय गीतहरू गाएका छन्।
पश्नः धेरै शब्दकारहरूका गीतको धुन बनाउनुभयो, सङ्गीत भर्नुभयो तर तपाईँलाई कुन गीतकारको शब्दहरू अति मन पर्थ्यो।
उत्तरः आफ्नै भाइको प्रशंसा गरेजस्तो हुन्छ तर गोपालले खुबै राम्रो गीत लेख्थ्यो। अरू शब्दकारहरू पनि राम्रा-राम्रा हुन्। नेपालमा पनि धेरै राम्रा-राम्रा गीतकारहरू थिए तर धेरै जना बितेर गइसके।
प्रश्नः तपाईंले सङ्गीत गर्नुभएको गीतहरूमा कसको स्वरले न्याय गरेजस्तो लाग्छ ?
उत्तरः गीतमा न्याय दिन सक्ने त मेरो लागि अरुणा नै हो। उनको आफ्नै पति शरण प्रधान राम्रो कम्पोजर भएकोले मेरो गीतहरू उति गाउनु पाइनन् उनले। शरण बितेर गएपछि चाहिँ मैंले कतिपय गीतहरू गाउन लगाएँ। पहिले-पहिले गाएकी गीतहरू सबै विरही भावनाहरू व्यक्त भएका गीतहरू थिए तर मैंले अलिक फरक धारको गीतहरू उनलाई गाउन दिएँ। आफैले पनि मलाई ‘यो गीत चाहिँ म गाउँछु कसैलाई नदिनुहोस् है’ भनेर भन्थिन्। ‘फूललाई सोधें कहाँ गयौं’ बोलको गीत गाउन लाएँ। गीतको शब्दरचना थियो, नोरदेन रूम्बाको। अरूणाले अरू पनि गीतहरू गाएकी छिन्, मेरो सङ्गीतमा।
प्रश्नः अरुणा लामाको प्रसङ्ग फेरि निकाल्न मन लाग्यो। उनको पति शरण प्रधान बितेर गएपछि अरुणा लामा धेरै विक्षिप्त र मर्माहत् बनेकी थिइन्। गीत गाउनै छाड़िसकेकी थिइन् भनिन्छ अन्तमा तपाईँले सम्झाउनुभएपछि मान्नुभयो भनेर। के यो सत्य हो ?
उत्तरः हो, शरणको मृत्युले अरुणाको जीवनमा ठुलो उथुलपुथुल ल्याएको थियो। धेरै मर्माहत् भएर गाउनै छाड़िसकेकी थिइन्। अब गाउँदिन भन्ने ढिप्पीमा थिइन्। यसो भएकोले दार्जीलिङ्गमा हाम्रा कैयौं अग्रजहरूले तिमीले गायन छोड़नु हुँदैन भनेर उनलाई सम्झाए, बुझाए तर उनी आफ्नो ढिप्पीदेखि डेग चलिनन्। गाउनै नमान्ने। आखिरमा गगन गुरूङ्ग लगायत अन्य अग्रजहरूले तिमीले सम्झाइ हेर भनि मलाई पठाए। मैले गएर अरुणालाई गएर सम्झाएँ, “अरुणा गाउनुपर्छ तैंले। शरणकै आत्माले पनि शान्ति पाउँछ, यति राम्रो स्वर हराएर जानु दिनु हुँदैन हाम्रो नेपाली समाजमा, तैंले शरणकै निम्ति भए पनि गाउनुपर्छ” भन्दै मैंले धेरै सम्झाएपछि अरुणाले भनि, “दाज्यूले भन्नुहुन्छ भने हुन्छ त गाउँछु।” त्यति नै बेला मलाई तीनधारेबाट एउटा कार्यक्रमको लागि सानो टोली लिएर आउनु भन्ने आग्रहसहितको चिट्ठी आइराखेको थियो। मैंले अरुणालाई भनें, “यो आतबार मसँग तीनधारे जानुपर्छ है। तैंले पनि यो कार्यक्रममा भाग लिनुपर्छ।” अनि हामी दश बाह्रजना वाद्यवादकहरू, म, कुमार सुब्बा, अरुणा सबै गयौं। तीनधारेको त्यही कार्यक्रम थियो, जहाँ अरुणाले पहिलोचोटि शरण बितिसकेपछि मञ्चमा उभिएर गाएकी थिइन्। आरुणाले गाइन्, “सबैले भन्थे लयालू फूल भइ आँखैमा फुल्छु, कर्मैले हजूर आँशुमै म डुबें”…अनि गाउँदा गाउँदै अरुणा स्टेजमा नै एक्कासि डाँको छोड़ेर रून थालिन्। हलको वातावरण नै एकप्रकारको नैराश्यमय भएर आयो। दर्शकहरूलाई पनि उनको कथा व्यथा थाहै थियो, र सबैको आँखा रसाएर आयो। मैंले पनि आफूलाई थाम्न सकिनँ, साथी वाद्यवादकहरू हामी सबैजना अरुणासँगै रून थाल्यौं। फेरि अरुणालाई सम्झाएपछि मुश्किलले गाएर त्यही गीतलाई पूरा गरिन्।
प्रश्नः अहिले पनि केही सङ्गीत सृजनाहरूमा संलग्न हुनुहुन्छ कि ?
उत्तरः अहिले उमेरले गर्दा पनि केही सकेको छैन । विश्राम गरेर बसिएको छ। उमेरले गर्दा सकिँदैन पनि रहेछ।
हो, जस्तो नाम उस्तै सार्थक काम पनि गरेका छन् कर्मले। अधिकाँश दार्जीलिङ्गका कलाकारहरूले विभिन्न क्षेत्रमा हात हालेका छन्। तर उनी मात्र एक अपवाद छन्। केवल सङ्गीतलाई मात्र सर्वस्व ठानेर यस क्षेत्रमा दह्रिलो उपस्थिति दर्ता गरि बसेका छन् उनी। आफूलाई विभिन्न क्षेत्रमा र विषयमा विभक्त गरेका छैनन् उनले। उनको सम्पूर्ण योगदान र एकाग्रता भनेको नै सङ्गीत हो। आफ्नो वरिपरिको कुनै पनि कुराले ध्यान भङ्ग गर्न नसक्ने तपस्वीको जस्तो छ सङ्गीतप्रति उनको निष्ठा। उनले आफ्नो जीवनलाई नै सङ्गीतमय बनाएका छन्। सङ्गीतमा नै सुत्ने, सङ्गीतमा नै उठ्ने, सङ्गीतमा नै रूने र सङ्गीतमा नै हाँस्ने महामानव हुन् उनी। यस्तो सङ्गीतकार बन्नु सजिलो छैन। उनी सङ्गीतको पर्याय हुन्।
आफूद्वारा सङ्गीवद्ध गरिएका गीतहरूमा उनलाई साह्रै मन पर्ने गीत कुन हो भनि सोधिएको खण्डमा धेरै ठाउँ उनले कुमार सुब्बाको स्वरमा रहेको ‘मेरो सानो मुरलीमा’ बोलको गीतको उल्लेख पनि गरेका छन्। सन् ६० को दशकको अन्त्यतिर राल्फाली समूह दार्जीलिङ्ग पुगेको बेला मञ्जुलले यो गीत उनलाई दिएका हुन्। उनले धुन र सङ्गीत भरेर यो गीत बाहिर आएपछि अति नै लोकप्रिय र चर्चित बन्यो।
गोपाल योञ्जन बालखै छँदा उनको पिता बितेको हुँदा आमा सहित परिवार दार्जीलिङ्गमा नै आएर बसेका थिए। यसो हुँदा कर्म र गोपालले सँगै खाने, खेल्ने र सङ्गीत सुन्ने-सिक्ने अवशर पाएका थिए। दुवैले एकले अर्कोको साथ पाएका थिए। दुवै दाजु-भाइभन्दा बढ़ी साथी-साथी जस्ता भएर हुर्किए। सङ्गीत निकै सिकेपछि दुवैले कर्म गोपालको जोड़ीले सङ्गीत सृजना गरे। कर्मले गोपाल पाएका थिए भने गोपालले कर्म जस्तो दाजु पाएक थिए । जब गोपाल कलेज पढ़न थाले, त्यहाँ नगेन्द्र थापासित उनको परिचय र मित्रता बढ़िसकेको थियो। कर्म योञ्जन भन्छन् “म त कुनै तालिमको लागि धेरै दिन पहिले नै कालिम्पोङ्ग गएको थिएँ, त्यही बेला नगेन्द्रसित गोपाल नेपाल गएछ। मलाई थाहा पनि भएन। पछि घरमा आएपछि मलाई थाहा भयो गोपाल गइसकेछ भनेर। त्यसबेला मलाई धेरै नराम्रे लाग्यो।”
गोपाल नेपाल पसेपछि कर्म योञ्जनलाई आफ्नो दाहिने हात भाँच्चिए जस्तो भयो तर उनले भने आफ्नो थलो दार्जीलिङ्ग छोडेनन्। गोपालको पलायनपछि उनी केही समय त बिथोलिए तर धैर्यताका साथ आफूलाई सम्हाले अनि कर्मयोगी बनेर आफ्नै थलोबाट सङ्गीत सृजनामा लागिरहे। आज पनि उनी नेपाललाई औधि माया गर्छन्, नेपालका कलाकारहरूसित उनको हृदय जोड़िएको छ, नेपाल गइरहन्छन्। उनी ठोकेर भन्छन्- “नेपालले मलाई धेरै मान सम्मान दियो, इज्जत दियो । रेडियो नेपालको गुण, रत्न रेकर्डिङको गुण यस्ता गुण कत्ति छन् छन्, नेपालले लगाएको।” तर तपाईलाई पनि नेपालतिरै लागे स्कोप पाइन्छ भन्ने भावनाले सताएन भनि कसैले प्रश्न गरे होइन म घरमा जेठा छोरा हुनाले र आपा बितिसकेका हुनाले आमालाई हेर्नु र घरको जिम्मेवारी निभाउनु थियो र जान सकिनँ भनेर सरल उत्तर दिन्छन्। तर उनको यो उत्तरमा उनले केही न केही लुकाएका छन् जस्तो लाग्छ, जो जीवनभरि उनले खुलाउन चाहेनन्। उता गएर मुटुनै दिए पनि जीवनभरि प्रवासीको ट्याग छातीमा झुण्ड्याएर हिँड्ने गोपालको वाध्यतालाई देखेको दर्द उनले मुटुको भित्री तहमा लुकाएका छन् कि जस्तो हामीलाई लाग्छ।
धेरै शीर्ष श्रेणीका गायक/गायिकाहरूले कर्ण योञ्जनको सङ्गीतमा आफ्नो स्वर दिएका छन्। उनीहरूमा मुख्यरूपले अरुणा लामा, दिलमाया खाती, नारायण गोपाल, मणिकमल क्षेत्री, रिमा गुरूङ, तारा देवी, शङ्कर गुरूङ, डेजी बराईली, मीरा राणा, हीरा रसाईली, रिमला मोक्तान, कुन्ती मोक्तान, किरण प्रधान, दीप श्रेष्ठ, रामकृष्ण ढकाल, आदिको नाम लिन सकिन्छ।
उनले खुबै राम्रा-राम्रा शब्दकारहरूका रचनामा सङ्गीत भरेका छन्। यस्ता शब्दकारहरूमा गोपाल योञ्जन, जस योञ्जन ‘प्यासी’, नन्द हाङखिम, ईश्वर वल्लभ, किरण खरेल, नरदेन रूम्बा, पुरण गिरी, कमल रेग्मी र अरू केही असल गीतकारहरूका नाम लिन सकिन्छ।
महान सङ्गीत तपस्वी कर्म योञ्जनको भनाइमा-नेपाली आधुनिक सङ्गीतमा ‘जेनेरेशन ग्याप’ देखिन्छ। पाश्चात्य सङ्गीतमा आधारित गीतमा नेपाली प्रभाव ज्यादा भए अझ राम्रो हुने थियो। अहिले गीत सङ्गीतमा व्यापार मात्र प्रवेश गर्न थालेको छ । कानले सुन्ने भन्दा आँखाले हेर्ने गीतहरू बन्न थालेका छन्। उफार्ने गीतहरू । उनको मनमा प्रश्न छ- उहिले गीतमा जीवनदर्शन हुन्थ्यो तर अहिले त्यस्ता गीतहरू खोई ?
प्राप्त सम्मानहरूः
सन् १०८५ मा दार्जीलिङ्गबाट भानु पुरस्कार, सिक्किमबाट मित्रसेन पुरस्कार, नेपालको राज्यभिषेक पुरस्कार, नेपालबाट साधना पुरस्कार, मधुरिका पुरस्कार, अन्तर्राष्ट्रिय पुरस्कार, नारायण गोपाल स्मृति गुठी काठमाडौंद्वारा नारायण गोपाल पुरस्कार, अन्त्तर्राष्ट्रिय स्वर्ण सम्मान, काठमाडौंबाट नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, पश्चिम बङ्गाल सरकारबाट सङ्गीत सम्मान, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा बिजुलीमाया बनः श्रेष्ठ राष्ट्रिय पुरस्कार, कलाकार अभियान र अरू धेरै संघ संस्थाहरूबाट अभिनन्दन, प्रशस्तिपत्र र प्रशंसापत्रहरू।
कर्म योञ्जनको जन्म दार्जीलिङ्गमा सन् १९३७ को २० अक्टोबरको दिन पिता सी.एस.लामा र माता रानीमाया मोक्तानको जेष्ठ पुत्रको रूपमा भएको हो। माता पिताको छ सन्ताहरू थिए। दुई भाइ र चार बहिनीहरू। भाइको नाम कुलदीप योञ्जन हो। श्रीमती चम्पा योञ्जनसित वैवाहित वन्धनपछि दुई छोरीहरू छन्, बन्दना र विपश्यना, दुवै हाल नेपालमा छन्।
(प्रख्यात सङ्गीतकार श्री कर्म योञ्जनसित टेलिफोनिक भेटवार्ता गरि त्यसैको आधारमा यो लेख तयार पारिएको हो। यद्यपि अन्य सूत्रहरूको सहयोग पनि लिइएको छ।)
(नयाँ दिल्ली)