यो नभेम्बरमा ठ्याक्कै २६ वर्ष भयो केनको शहादतको ।
मेरो वर्णप्रति नहेर्नू/मेरो अनुहारलाई ननियाल्नू/म त्यो होइन/जो मरेर स्वाहा हुनेछ ।(म मर्दिनँ : केन सारो विवा)
हो, मारिएर पनि नमरेका योद्धा थिए केन, नाइजेरियाली पत्रकार, साहित्यकार, अधिकारकर्मी र पर्यावरणवादी अभियन्ता । युगौँदेखि लुटिइरहेको आफ्नो माटोका लागि केही गरौँ, वर्षैादेखि दासताको साङलोमा बाँधिएर बसेका अगोनी जनताका लागि केही सोचौँ भन्ने दृढ अठोटमा बाँधिएका हुनाले नै ५४ वर्षे वयमै मृत्युवरण गर्न वाध्य पारिएका थिए ओगोनी जोधाहा–केन्युल बीसोन सारो विवा ।
मृत्यु पनि आफ्नो माटोलाई औधी माया गर्ने यिनलाई पोर्ट हार्कोर्टको धरतीबाट उठाई लैजान धक मानिरहेको थियो । तर क्रूर सैनिक जर्नेल सानी अबाचा ‘यसलाई जसरी पनि लैजा कि लैजा’ भनी ढिपी गरेको गरै थियो र त पाँचौँ पटकको झुण्ड्याइमा ‘लानु र !?’भन्दै मनले नमानीनमानी मृत्युले यिनलाई बल्लतल्ल हात थापेको थियो । त्यहाँ उपस्थित सबैका कानमा यिनको गर्वोन्नत दृढोक्ति निकै बेरसम्म गुन्जायमान भइरह्यो –गड टेक माई सउल बट द स्ट्रगल कन्टिन्युज अर्थात् दैवले मलाई टिपे पनि हाम्रो संघर्ष जारी नै रहने छ ।
हुन त माटोलाई माया गर्ने आफुजस्तो मायालुहरुलाई माटोले मार्छ भन्ने शंकाचेत यिनको अवचेतनमा छसात वर्षअघिदेखि नै पलाइरहेकै थियो किनकि शासन सत्तामा माटो लुट्ने र जनतालाई निचोर्नेहरुकै मतियार आसिन थिए । र त यिनले सन् १९८९ मै एउटा कथा लेखे– अफ्रिका किल्स हर सन अर्थात् अफ्रिका आफ्नो छोरोलाई मार्दछ । नाइजेरियाको राष्ट्रभाषा अंग्रेजीमा नै लेख्ने गर्दथे यिनी । १९६० सम्म अंग्रेजकै उपनिवेश रह्यो नाइजेरिया ।
नाइजेरिया । मध्यपश्चिम अफ्रिकाको एउटा राष्ट्र । राजधानी अबुजा । सन्१९६० मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको देश । सन् १९६३ मा लोकतान्त्रिक गणतन्त्र घोषित भएको अफ्रिकी महादेशमा सबभन्दा धेरै जनसंख्या भएको देश, लगभग २१ करोडको आवादी । जनसंख्यामा विश्वको नवौँ ठूलो देश र सवा नौ लाख वर्गकिलोमिटरमा विस्तारित क्षेत्रफलको हिसाबले संसारको बत्तिसौँ ठूलो देश । नाइजर नदीको नाम बोकेर बसेको देश नाइजेरिया ।
सन् १९०० देखि बेलायती आधिपत्यमा परेको यो देश सन्१९१४ मा उत्तरी र दक्षिणी नाइजेरियाको एकीकरण भई बलियो उपनिवेशमा रुपान्तरित भएको थियो । यस देशमा अढाइ सयजसो जनजाति समुदाय रहेका छन् र ५०० जसो जातिभाषा बोलिने गरिन्छ तर पनि राजभाषा भने अंग्रेजी नै रहेको छ । कालो महादेश भनिने गरेको अफ्रिकाका नाइजेरिया लगायत सबैजसो देशहरुमा काला जातिहरुकै बाहुल्य रहेको छ । १९ औं शताब्दीसम्म दास व्यापारका लागि प्रचलित नाइजेरिया पछि ताडको तेल र काठ व्यापारमा लाग्यो । पेट्रोल खानी यसको महत्वपूर्ण सम्पदा हो । ९५ प्रतिशत आय तेलबाट गर्नेगरेको यस देशको प्राकृतिक श्रोतसाधनमा उपनिवेशवादी पुँजीवादी कम्पनीहरुको बोलबाला छ । पेट्रोलियम पदार्थको उत्पादनमा रोयल डच शेल कम्पनीको एकाधिकार कायम रहेको छ ।
पेट्रोलजन्य पदार्थको उत्पादनका क्रममा त्यसबाट उत्सर्जित पदार्थले वातावरण विनाश गर्नुका साथै प्रदुषण फैलाउने गर्दछ । ओगोनी क्षेत्रमा नाइजर नदीको डेल्टामा स्थापित शेल कारखानाका कारण त्यस क्षेत्रका बासिन्दाहरु अत्यधिक पीडित भएका छन् । पुँजीपतिहरुले धर्तीका सन्तानहरु उपर फैलाएको यही पीडाका विरुद्ध ओगोनी युवा केन्युल बीसोन सारो विवाले स्थानीय ओगोनीबासीमा चेतना भर्ने जोखिम उठाए । यिनले ओगोनी जनताको बाँच्न पाउने अधिकारको लागि मोसोप (MOSOP, मुभमेन्ट फर द सर्भाइभल अफ ओगोनी पिपुल)नामक अभियान आन्दोलन चलाउन थाले । आन्दोलन र चेतना अभियान चलाएवापत सरकारले यिनलाई तर्साउनका लागि घरिघरि थुनछेक ग¥यो । यिनले भने– म त एक आँधी हुँ /जसले तिम्रो कारागारलाई पनि थर्काउन सक्छ (म मर्दिनँ : केन सारो विवा)
१९४१ अक्टुबर १०का दिन ओगोनीलैण्डको बोरीमा जन्मेका केन सारो विवा आमा विडु र बुबा जीम विवाका छोरा थिए । यिनको परिवार सम्पन्न परिवार थियो । औपनिवेशी शासनमा यिनका बुबा राम्रो जागिरमा थिए । त्यसैले माध्यमिक तहसम्म यिनले राम्रो शिक्षाको अवसर पाए । उच्चशिक्षा पनि यिनले इबादान विश्व्विद्यालयमा छात्रवृत्ति पाएरै पढन पाएका थिए । प्राज्ञिक र सांस्कृतिक रुचिका यिनी उच्चशिक्षापछि आफ्नो इतिहास र संस्कृतिको प्रचारप्रसार गर्न भनी नाटकमा काम गर्न लागे । पछि यिनले विश्वविद्यालयमा सहायक प्रशिक्षकको रुपमा पनि काम गरे ।
सुका विश्वविद्यालयमा अफ्रिकी साहित्यको शिक्षक रहेका बेलामा तिनताका भडकेको गृहयुद्धमा संघीय शासनको पक्षमा उभिए किनकि मुलुक त्यसबेला भर्खरभर्खर बेलायती उपनिवेशबाट स्वतन्त्र भई संघीय गणतन्त्र बहाल भएको अवस्था थियो । तर त्यहाँ स्थानीयको चर्को विरोधको कारण वाध्य भएर यिनले त्यो ठाउँ छाडनु प¥यो । त्यहाँबाट आफ्नो गृहनगर बोरी फर्किँदा पोर्ट हार्कोर्टको बाटामा यिनले शरणार्थीहरुको भीड देखे । दयनीय अवस्थाका शरणार्थीहरुको भीडले यिनको मन विदीर्ण भयो । वेदनाले मन छटपटिई रह्यो र फेरि लागोस फर्के । घरबाट बोलाएकाले लगत्तै फेरि घर फर्के । र, बोनीको नागरिक प्रशासक बने ।
मुलुकमा गृहयुद्ध चलिरहेकै थियो । त्यो युद्धले यिनलाई संघीयताप्रति समर्पित नेता बनायो । पछि यिनी रिभर स्टेटका क्षेत्रीय शिक्षा कमिस्नर पनि भए तर ओगोनीको स्वायतताको पक्षधर रहेकाले यिनी सो जिम्मेबारीबाट छिटै नै बर्खास्त गरिए । त्यसपछि यिनले व्यापारव्यवसायमा पनि हात हाले । तर त्यसमा पनि यिनको मन रमेन । र राजनीतिमा होमिए । विधानसभाको चुनावमा छोटो मतान्तरले पराजित भएपछि यिनले साहित्यलाई आफ्नो माटोको सेवाको माध्यम बनाए । साहित्यको सामथ्र्य उल्लेख गर्दै यिनले बेलायती उपन्यासकार विलियम बायदलाई लेखेका थिए, “आफ्ना पीडकहरुका विरुद्ध जुध्न ओगोनीबासीलाई समर्थ बनाउन मैले आफ्नो प्रतिभालाई लेखकको रुपमा प्रस्तुत गर्नु महत्वपूर्ण हुने ठानेको छु । राजनीतिज्ञ र व्यापारीका रुपमा मैले त्यो जिम्मेबारी निर्वाह गर्न सकिँन नै, तर लेखनले त्यो काम गरिरहेको छ ।”
स्मरण रहोस, बेलायती उपन्यासकार बायदले अफ्रिकी पृष्ठभूमिमा आफ्नो पहिलो उपन्यास ‘अ गुडम्यान इन अफ्रिका’ (१९८१,अफ्रिकाको भलो मानिस) उपन्यास लेखेका छन् । र, असीको दशक यिनले लेखनमै बिताए । सोजाब्वाय, १९८५, सङ्स इन अ टाइम अफ वार, अ फरेस्ट अफ फ्लावर्स, अन अ डार्कलिङ प्लेन, १९८६–८७, बासी एण्ड कम्पनी, १९८७, जेनोसाइड इन नाइजेरिया, १९९२, अ मन्थ एण्ड अ डे, १९९५ आदि कृतिहरु यही समयका उपज हुन् । कविता, उपन्यास, नाटक, रिपोर्ताज आदि यिनका सृजनका विधा रहे । बासी एण्ड कम्पनी व्यंगात्मक टेली श्रृङ्खला हो जुन निकै लोकप्रिय रहयो । ट्रान्जीस्टर रेडियो नामक नाटक पनि निकै रुचाइएको नाटक हो ।
सन् १९८७ मा यिनी एकपटक फेरि राजनीतिमा फर्के । मुलुकमा प्रजातन्त्र बहाल गर्ने प्रतिबद्धता तत्कालीन शासक इब्राहिम बाबनगिडाले गरेका हुनाले यिनी उनका राजनीतिक सल्लाहकारका रुपमा रहे । तर समय बित्दै जाँदा उनले त्यसो गर्ने छाँटछन्द नदेखाएकाले सो पदबाट राजिनामा गरी यिनी आफ्नो अभियानमा केन्द्रित भए । सन् १९९० मा मोसोप गठन गरे । र, यही संगठनमार्फत् यिनी जनचेतना अभियानमा सक्रीय भए । अहिंसात्मक जागरण अभियान भएतापनि भ्रष्टाचारी अधिनायकवादी सैनिक सत्तालाई त्यो अभियान सह्य भएन ।
सन् १९९२ मा यिनी गिरफ्तार गरिए र बिना मुद्दा महिनौं हिरासतमा राखिए । मोसोपको आयोजनमा देशैभरि लाखौँलाखको शान्तिपूर्ण जुलुस निस्क्यो । सरकारले सन् १९९४ मा ओगोनी स्वायतताका लागि संघर्षरत ४ जना शिर्षस्थ नेताहरुलाई जिउँदै जलाएर हत्या ग¥यो । त्यसबेला केनलाई ओगोनी प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । तर पनि यिनलाई ओगोनी जनतालाई उचालेको आरोप लगाइयो र यिनी लगायत नौ जना ओगोनी अधिकारका लागि संघर्षरत अभियन्ताहरुलाई गिरफ्तार गरियो ।
यिनले भनिरहे– म मर्दिनँ /किनकि मेरो शिरमाथि तिम्रो आकाश छ /सास फेरिरहन्छ तिम्रो हावा / तर एक अफसोच मेरा लागि /म कालो वर्ण भई जन्मेँ त्यस ठाउँमा / जहाँ मान्छेहरु मर्छन् जन्मिनेबित्तिकै /म बाँचिनै रहनेछु / (म मर्दिनँ : केन सारो विवा)
सैनिक अदालतमा तीबारे एकतर्फी सुनुवाइ र नाटकीय पुर्पच्छेपछि विवालगायत नौ जनालाई मृत्युदण्डको सजाय सुनाइयो । र, १० नभेम्बरको दिन बिहान सखारै तिनलाई कडा सुरक्षाघेराभित्र राखी आँखामा पट्टी बाँधेर पाता फर्काएर हात बाँधियो अनि खुट्टामा नेल लगाएर फाँसीमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । मृत्युदण्ड दिन लगिँदै गर्दा दुई जना अभियन्ताहरु रुन थाले । केनले तिनलाई सम्झाउँदै भने, “किन रुन्छौ तिमीहरु ? मातृभूमिको स्वायतताको लागि मर्नु कुनै अपराध होइन, यो त महान बलिदान हो ।”
ती नौमध्ये सबभन्दा पहिले केनलाई नै झुण्ड्याए जल्लादले, चार पटकसम्म मार्ने प्रयास असफल भयो, पाँचौ पटकमा मात्र केनको सास गयो । मर्नेबेलामा केनले आफ्नो दृढोक्ति दोहो¥याए, ”दैवले मेरो सास लगे पनि हाम्रो संघर्ष चलिरहने छ । जहाँ मान्छेहरु मर्छन् जन्मिनेबित्तिकै /म बाँचिनै रहनेछु /मेरो संघर्ष अझ बाँकी नै छ । “ (म मर्दिनँ : केन सारो विवा)
सैनिक सरकारको यस निरंकुश कदमको चौतर्फी निन्दा भयो । बेलायत, अमेरिका, युरोपेली युनियन, संयुक्त राष्ट्र संघलगायत कतिपय अफ्रिकी मुलुकले नाइजेरियाली सैन्य सरकारको उक्त कदमको कडा निन्दा गरे । राष्ट्रमण्डलले तीन वर्षका लागि नाइजेरियालाई निलम्बन ग¥यो ।
यिनको मृत्युको केही समयपछि यिनलाई एक अमेरिकी संस्थाद्वारा पर्यावरण रक्षाका लागि काम गरेबापत दिइने प्रोत्साहन पुरस्कार राइट लिभलीहुड अवार्ड द्वारा सम्मानित गरियो ।
बेलायतमा बस्ने गरेकी यिनकी एक पत्नी मारिया सारोविवातर्फका तीन छोराहरु केन विवा, नू सारोविवा र जीना सारोविवा तथा नाइजेरियाकी अर्की पत्नीबाट दुई छोरी सिंगतो र अदिली छन् भने एक छोरा क्वामे सारो विवा छन् । मारियातर्फका छोराहरु लेखक पत्रकार र चलचित्र निर्माता छन् ।
सन् २०१७ मा केन सारो विवाका नाममा एक प्रतिष्ठानको गठन भएको छ । त्यसले पर्यावरणलगायत विभिन्न क्षेत्रमा काम गर्दछ । नाइजेरियाली लेखक संघले यिनको नाममा गद्य साहित्य पुरस्कार पनि स्थापना गरेको छ । यिनको नाममा पोलीटेक्नीक स्कुल खुलेको छ, सडक बनेको छ ।
यिनका बारेमा जीवनी लगायत विभिन्न पुस्तकहरु लेखिएका छन् । अमेरिकी लेखक रिचर्ड नाथ प्याटर्सनले यिनको जीवनीमा आधारित उपन्यास इकलिप्स, २००९, लेखेका छन् । दक्षिण अफ्रिकी लेखिका बेभर्ली नायडुले आफ्नो उपन्यास द अदर साइड अफ ट्रुथ, २०२० मा यिनको आन्दोलनलाई प्रेरणाको रुपमा प्रस्तुत गरेकी छन् । भारतीय पत्रकार तथा लेखक आनन्द स्वरुप वर्माले केन सारो विवा–संघर्ष और बलिदान की गाथा शिर्षकमा यिनको जीवन र संघर्षको कथा कहेका छन् ।
अहिले यिनी बाँचिरहेका भए असी वर्षको हुने थिए । यिनको बलिदानको २६ औँ वर्षको सम्झनामा शब्दश्रद्धासहित ।
(यो सामग्री विभिन्न श्रोतहरुबाट तयार पारिएको हो । एमनेस्टी इन्टरनेशनलको बुलेटिन केन्द्रबिन्दु (जनवरी १९९६, वर्ष २५ अंक २ ), टाइम पत्रिका २५ डिसेम्बर जनवरी १, १९९६, प्रलेस २०५३, पूर्णांक ६ (साकस प्रेमीद्वारा अनुदित कविता), तथा विकिपेिडयाका विभिन्न सामग्रीहरु ।)