मानिसका दैनिक जीवनचर्याभित्र हास्यव्यङ्ग्यले कतै न कतै ठाउँ ओगटेकै हुन्छ। कवि साहित्यिकहरूले पनि साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यममा हास्यव्यङ्ग्य भावलाई व्यक्त गर्दै आएका छन्।
हास्यव्यङ्ग्य भनेर हास्य शब्दलाई व्यङ्ग्यभन्दा अघि राखे तापनि व्यङ्ग्य पहिला र हास्य पछि आउने तत्व हो। व्यङ्ग्य भनेको वक्रोक्ति हो। शब्दलाई उसको अभिधा अर्थात सोझो अर्थ नदिएर व्यञ्जना अर्थात बाङ्गो अर्थ दिन सके वक्रोक्ति बन्छ। कुनै विषय अथवा कुनै व्यक्तिको कुनै कार्यलाई मन नपरेको खण्डमा त्यसको विरोध गर्न अथवा केवल विशुद्ध हास्यरस सिर्जना गर्नकै निम्ति पनि वक्रोक्तिको प्रयोग साहित्यमा उहिल्यैदेखि हुँदै आएको हो।
व्यङ्ग्यले समाजका विसङ्गतिलाई झल्काउँदै त्यो विषयप्रति पाठकको ध्यान आकर्षण गर्छ। व्यङ्ग्यले कहिले केवल सोच्न लगाउँछ, कहिले हँसाउँछ पनि। रमणीय व्यङ्ग्यमा हास्यरस सृष्टि गर्ने क्षमता हुन्छ। हास्य शब्दले हाँस्न लायक, हँस्सी गर्न सुहाउँदो अर्थ प्रतिपादन गर्छ। छेडखानका साथै हाँसो उठाउने कामकुरो नै हास्य र व्यङ्ग्य हो।
अस्वाभाविक आकृतिप्रकृति, पहिरन, कामकुरा, चालचलन आदिले अर्थात असङ्गतिले मानिस मनमा हाँस्य भाव उद्रेक गर्छ। साहित्यको नवरसभित्रको एउटा रसका रूपमै स्वीकृत छ हास्यरस। प्रतीच्यका पनि अनेक विद्वानले हास्यको बारेमा चर्चा गरेका छन्। विलियम हैजलिटले असङ्गतिलाई नै हास्यसृष्टिको मूल कारण मानेका छन्। विरोधाभास विचार साथ साथ राख्दा हुने असहज अनुभव नै असङ्गति हो। हार्बार्ट स्पेन्सरले निम्नोन्मुख असङ्गति (Descending incongruity) हास्यको कारण हो भनेर यसको व्याख्या गरेका छन्। हास्यरसले मानव मनलाई कतिसम्म प्रभावित पार्दछ त्यसको आभास पाइन्छ लङ्ष्टन हिउजको कुरामा। उनले लेखेका छन्-Like a welcome summer rain, humor may suddenly cleanse and cool the earth, the air and you.
दैनिक जीवनको अङ्ग भए पनि साहित्यमा भने हास्यव्यङ्ग्य विधा असममा मात्र होइन सबै ठाउँमै पछि परेको र हेपिएको विधा हो। यहाँका हाम्रा साहित्यमा हास्यव्यङ्ग्य रचनाहरू औँलामा गन्न सकिने छन्। नित्यानन्द तिमसिनाको हास्यव्यङ्ग्य पुस्तिका कलियुगी वृद्धविवाहको महासंकल्प (1951), चन्द्र कुमार शर्माको मेरा बारीका भातकरेला(1985) र छिमेकी (2003)शीर्षक पुस्तक, वृजलाल शर्माका पुस्तक पोलखोल (2007) र वक्रदृष्टि(2012), पद्म ढकाल(दुर्मुख)का स्पन्दन पत्रिकामा लगातार प्रकाशित दुर्मुखको जर्नेल, हरिभक्त कटुवालका र दुर्गा घिमिरेका केही व्यङ्ग्य निबन्धहरू आदि केही व्यङ्ग्य र हास्यव्यङ्ग्य कृति र रचनाहरूले यस विधालाई यता बचाइराखेका हुन्। यस विधालाई अहिलेघरी केही सशक्त पार्दैछन् अर्जुन निरौलाले।
असमबाट प्रकाशित देशवार्ता, प्रजाशक्ति लगायत अनेक पत्रपत्रिका र स्मारिकाहरूमा हास्यव्यङ्ग्य कविता र निबन्धहरू लेखेर परिचित भएका अर्जुन निरौलाको चित्रगुप्तको गुप्तचित्र एउटा व्यङ्ग्य निबन्ध सङ्ग्रह हो।
2017 सनमा प्रकाशित यस सङ्ग्रहमा 29 वटा निबन्ध छन्। यसभन्दा पहिला उनको हजुरबाको अनुहार र पेन्सन शीर्षकको काव्यसङ्ग्रह प्रकाश भइसकेको छ जसमा व्यङ्ग्य कविताहरू पनि छन्। निरन्तर यस विधामा कलम चलाउने अर्जुन निरौला अहिलेको समयमा असमका एकजना प्रतिष्ठित हास्यव्यङ्ग्य लेखकका रूपमा परिचित मात्र होइन समादृत पनि भइसकेका सर्जक हुन्। असमिया भाषामा पनि उनका हास्यव्यङ्ग्य रचना प्रकाशित हुँदै आएका छन्।
चित्रगुप्तको गुप्तचित्रलाई लेखकले व्यङ्ग्य निबन्ध सङ्ग्रह भनी लेखे तापनि र कतिपयमा विशुद्ध व्यङ्ग्य मात्र भए तापनि धेरै निबन्धमा हास्यरस पर्याप्त मात्रामा छ। । हुन त व्यङ्ग्य सृष्टि नै उनको ध्येय होला। तर अनेक रचना दुवैको समाहार र सन्तुलनले उत्कृष्ट तहका बनेका छन्। शैक्षिक,राजनैतिक, सामाजिक, पारिवारिक आदि विभिन्न विषयलाई उपस्थापन गर्दै उनी भरपूर मनोरञ्जन दिनका साथै पाठक मनलाई झकझकाउन पनि समर्थ बनेका छन्। यस सङ्ग्रहमा हास्यरस सृष्टि गरेका छन् कहिले विसङ्गतिको आधारमा, कहिले सङ्गतिकै आधारमा, कहिले व्यक्ति वा जातिको स्वभावको आधारमा त कहिले स्मृति र कल्पनाको आधारमा। भाषा र शैलीले उनका व्यङ्ग्यलाई हास्यरसमा चोबलेको छ।
व्यक्तिदेखि देशसम्म परिव्याप्त विसङ्गति र विकृतिको चित्रण यस कृतिका धेरजसो निबन्धको ध्येय पक्ष रहेको छ। दिनभरि भुक्छ रातपरे लुक्छ, तेरा बाउ मेरा बाउ माछा मार्न गए, के को खोजी, तेरो रोग, तँइ भोग, नेताले ताने आदि निबन्धमा राजनैतिक क्षेत्रमा चलिरहेको भ्रष्टाचारलाई लेखकले झटारो हानेका छन्। राजनीतिमा पसेको घुसघोरी, भ्रष्टाचार, राजनेताहरूका निरर्थक भाषण र अवसरवादी स्वभावलाई जहाँ मौका पाए त्यहीँ तीखो व्यङ्ग्य हान्न उनी चुकेका छैनन्। सत्तामा आसीन हुने अयोग्य व्यक्तिहरू, कामचोर नेताहरू, दुराचार भ्रष्टाचार र दुर्नीतिमाथि शब्दवाणले प्रहार गरेका छन्।
सानातिना नेतादेखि लिएर ठुलठुला राजनैतिक नेता, जस्तै मनमोहन सिंह, सोनिया गान्धी,नरेन्द्र मोदी, ममता बेनर्जी आदि पनि उनका व्यङ्ग्यप्रहारमा परेका छन्। लेखकले उनीहरूको राजनैतिक र व्यक्तिगत स्वभावको आधारमा यहाँ हास्यव्यङ्ग्य सिर्जना गरेका छन्। मन्त्री शब्दलाई उनी यसरी केलाउँछन्- मन्त्री भनेको मन- त्रि अर्थात तीनवटा मन। एउटा मन तरुणीको तनमा हुन्छ, दोस्रो मन देशका धनमा हुन्छ र तेस्रो मन कुर्सीमा । (अनिकाले मोरो कनिकाले टार्छ) असमका आफ्ना जातिका कतिपय नेता पनि उनको व्यङ्ग्यदृष्टिबाट बाँचेका छैनन् ( व्याधि एक विधि अनेक)।
केवल नेता वा मन्त्रीहरूलाई होइन घुसखोर अफिसर, कर्मचारी, चन्दा माग्ने व्यक्तिहरू सबैलाई लेखकले आफ्नो व्यङ्ग्यका आवर्तभित्र राखेका छन्। जङ्गलमा डिएफओ, फरेस्ट अफिसरहरूले पैसा लुटेको प्रसङ्ग, दसैँ तिहारजस्तो चाडपर्वका नाममा जनताबाट चन्दा माग्ने धन्दा चलाएको प्रसङ्ग आदिको उठान गर्ने उनको तरिकामा हास्यभन्दा व्यङ्ग्य नै अधिक छ। वन कर्मचारीलाई हानेको एउटा झटारो हेरौँ- वनकर्मचारी हुन सकेउ भने बिचारा सिकारीहरूका झैँ रातभरि मच्छरलाई चुसाएर बन्दुक बोकेर गैँडा कुर्नु पर्दैन। एयर कन्डिसन्ड कक्षमा सुति सुति तिर्भागी लिन सक्छौ। वनदेवता र धनदेवता सँगसँगै बस्दा रैछन्। (खुच्चिङ पऱ्यो जङ्गले आफ्नै ढङ्गले)
नेतृत्व वा घुसखोर, पैसाचोरप्रति मात्र होइन, आफ्नो दायित्व र अधिकारप्रति विमुख नागरिकप्रति पनि अचुक प्रहार छ यहाँ। अल्छे जनताको हाइढुक्कको स्वभावले गर्दा बिग्रँदै गरेको समाजप्रति लेखक सचेत छन्। उनीहरूलाई व्यङ्ग्य कस्ने कारण पनि एउटा त्यही हो। हुन त केवल झुक्किनु पर्ने वाध्यता भिरेका यी गरिब निमुखा जनताको दुर्दशामा उनी समव्यथित पनि छन्, दुःखी छन्।
लेखकलाई अनुभव भएको छ- फुटेको खप्पर। आँप अमिलो फेला पऱ्यो, पानी धमिलो फेला पऱ्यो,चिनीमा सधैँ कमिलो फेला पऱ्यो। कमन पिपललाई तिनसए पैँसट्ठी दिन नै एप्रिल फूल। अभागीको सलाईको कान्छो काँटी पनि ओस्सिएको हुन्छ रे ! ( दिनभरि भुक्छ, रातपरे लुक्छ) जनता चुसिएको छ, व्यवस्थातल किचिएको छ। उनी लेख्छन्- जनताले त जताततै टेक्स तिरिरहेको छ। माटाको पनि तिर्छ, बाटाको पनि तिर्छ। गाडीको पनि तिर्छ, साडीको पनि तिर्छ । (आफ्नो दुनो )
जनताको कुरा लेख्ने अर्जुन निरौलाले आफ्नो जातिको स्वभावतिर पनि हेरेका छन्। माछो होइन भ्यागुता मै फुर्किने, आँप झार्ने झटारोझैँ अर्काका लागि मरिमेट्ने स्वभावमा पिरोलिएर कहिले उनले व्यङ्ग्य कसेका छन्, (तेरा बाउ मेरा बाउ माछा मार्न गए) कहिले पत्रपत्रिका वा पुस्तक किनेर नपढ्ने स्वभावतिर औँल्याएका छन् (पत्रचरित्र) त कहिले नराम्रै मात्र देख्ने बानीबेहोरालाई पनि देखाएका छन्( के को खोजी)। यस सङ्ग्रहका अन्य कतिपय निबन्धमा पनि आफ्नो जातिका धेरै यस्ता स्वभावको बारेमा हास्यमधुर अभिव्यक्ति दिएका छन् निबन्धकारले।
यस सङ्ग्रहमा शिक्षा क्षेत्रको अव्यवस्था खिचडी शीर्षक निबन्धमा झल्किएको छ भने जनसंख्या वृद्धिप्रति कटाक्ष छ तेरो रोग तइँ भोगमा। त्यसैगरी नाइटो कलामा लेखक साहित्यिक, पुलिस, ड्रामेबाज मान्छे, विज्ञापनको बजार आदि विषयलाई लिएर हास्यव्यङ्ग्यको सिर्जना भएको छ। लेखकले शरीरका अङ्गलाई लिएर कतै हास्यरस सृष्टि गरेका छन्, कतै प्रेममा पर्नेहरूको स्वभावलाई लिएर। कतै महाकाव्यका घटनालाई नयाँ गरी हेर्न खोज्दा हास्यरस सृष्टि भएको छ भने कतै नामलाई लिएर यस रसको स्फूरण भएको छ।
एउटा उदाहरण हेरौँ- एउटा स्कीम यस्तो पनि बनाइएछ अरे। आफ्नो नाउँ लामो भएकोमा आआफूलाई, अरूलाई भन्न र लेख्न छरितो पार्नको लागि दुइचारजना मिलेर प्रस्ताव पारित गरी हालेछन् कि नाम,थर आदिको आद्याक्षर मात्रै व्यवहार गर्नु पर्छ। जस्तै गोविन्द कुमार लम्साल- गो-कु-ल गोकुल, नारद मिजार नामि, प्रणव भूजेल प्रभु। … सबैले कसरी पो मान्थे र। … आपत्ति गर्नेहरूमा थिए विरेन्द्र नाथ शर्मा वि-ना-श, खगेन सिरुवाल- खसि, भार्गव लुइटेल आदि। खगेन सिरुवालले जब आपत्ति गरो बोधन कोइरालाले त मान्ने कुरै आएन।… (आफ्नो दुनो)
कतिपय शब्दप्रयोगलाई लिएर पनि उनले हास्यरस सृजना गरेका छन्। असममा बहुप्रचलित शब्द एन आरसी (NRC),ओआई (OI)को पोस्टमर्टेम नै गरेका छन् उनले हास्यरसको कैँचीले (व्याधि एक विधि अनेक)।
निरौलाका कतिपय रचनामा नाट्यधर्मिता छ। विशेषगरी खोतलराम र गुरुबाका जति पनि अन्तर्वार्ता छन् ती अभिनय गरेर देखाउन सकिने हास्यव्यङ्ग्य नाटकजस्तै भएका छन्। कतै नाटकमा दिएजस्ता निर्देशना पनि छ। जस्तै लङ्कामा सुन छ उतै गए हुन्छ मा लेखकले गुरुबाको अवस्था कोष्ठकभित्र वर्णन गरेका छन् यसरी (गुरुबालाई झनक्क त उठ्यो तर थामेर शान्त स्वरमा)। उनका नाट्यधर्मी केही सम्वाद यस्ता छन्-
खोतलरामः हैन गुरुबा,बनियाहरू पनि प्रजा नै हैनन्? चामलसँग ढुङ्गा मिसाएर लट्याइरहेका छन् त?
गुरुबाः ए खोतलराम,कति खोतल्छौ? सेठहरू पनि कतै प्रजा हुन् त? किङमेकर पो त। धोती-पन्जाबी लगाएको सेठलाई मज्जले हेर्नु त,भारतको म्यापजस्तै देख्छौ। तिम्रो भान्साघरजत्रो त उसको भुँडी हुन्छ। प्रजा भन्छौ! (अनिकाले मोरो कनिकाले टर्छ )
चित्रगुप्तको गुप्तचित्र निबन्ध पनि नाट्यधर्मी हो। यमराज र चित्रगुप्तको वार्तालापको उदाहरण-
-मेरो त जागीर बँचाउनै गाह्रो परिसक्यो, तिमी के गर्दैछौ चित्रे?
– के भयो महाराज, एनि प्रोब्लेम?
-हेर, म त्यो मृत्युलोकको दायित्वमा छु। मर्तेलोकबाट मान्छे टिप्तै यता फ्याँक्तै गर्नु पर्ने। मर्तेलोकलाई ब्यालेन्सड राख्नु पर्ने। उता मान्छे बढेका बढै छन्। मेरो कार्यदक्षतामा ब्रह्माजीले शंका व्यक्त गर्नुभो। मलाई इरेस्पन्सिबल, होपलेस केके भन्नु भो। मलाई लाग्दैछ, तिम्रो डाटा कालेक्सनमा केही गडबड छ। तिमीले राम्रोगरी रजिस्टर मेन्टेन गरेका छैनौ।
– हैन सर। म सानो भनेर दोषजति मेरै माथि न थुपार्नोस्। बाँसमा छेरेको घाँसमा नपुछ्नोस्।
निरौलाका ओखती शीर्षक निबन्ध कथाजस्तै मीठो छ। डाक्टरले पनि हरेस खाएका ओछ्यान लागेका बिरामी वृद्ध पनि नाट्यविभूति सम्मान पाएको खबर पाएर कसरी जुरुक्क उठेका छन्, त्यसको सरस वर्णन यसमा छ। वाक्यहरू पनि रोचक छन्। ती वृद्धको उपचारका निम्ति हेर्न आउने व्यक्तिहरूले कसरी उपदेश दिएका छन् त्यो देखाएर निबन्धकार एकठाउँमा लेख्छन्- एउटा मान्छै बिरामी भयो भने हेर्न आउने हरेकका शरीरमा डाक्टरको आत्मा पस्छ।
मरेका मनको भार निबन्धमा पनि निबन्धकारले एकजना कविको मनको बहलाई र पाठकसमाजको चरित्रलाई व्यङ्ग्य र हास्य मिसाएर कथाजसरी व्यक्त गरेका छन्। उनी हास्यव्यङ्ग्यकार हुन् र नै यसको शक्ति चिनेका पनि छन्। छेड्को शीर्षक निबन्धमा अन्य कलाकारको प्रसंग तानेर हास्यव्यङ्ग्यको शक्तिको उदाहरण दिएका छन् उनले।
शब्दप्रयोगमा अर्जुन निरौलाको दक्षता छ। कथित रूपका शब्द उनले मनग्गे प्रयोग गरेका छन्। उखान तुक्का आदि सँगै एकै खालका शब्द प्रयोग गरेर पनि वाक्यमा मिठास भरेका छन्। उनका यस्ता कतिपय शब्द र वाक्यहरू उदाहरणका रूपमा हेर्न सकिन्छ। –
ढिँडे दलको लिँडे बल, अहिले झिलिक्क पछि मिलिक्क, एउटाको चासो अर्काको पाशो, लाटो देखेर भाटो उज्याएका, छिटो मान्छेले बिटो पार्छ, आफ्नो जिउ अर्काको घिउ, लाशले पनि आश गर्छ, हिलो कोट्याउँदा कोट्याउँदै पिलो कोट्याउँन थालिएछ आदि।
नयाँ शब्दरूप निर्माणमा पनि कुशल छन् उनी। नेपाली असमिया हिन्दी अंग्रेजीको खिचडी रूपले लेखकको उद्देश्यलाई सघाएको छ। केलेङ्कारीयास्, गडबडफुल, सर्टीकरण, टाँस्मेनिया, क्यास्ट्रिक, पोलेरियाजस्ता शब्द त छन् नै असमिया मिसिएका हाल बाएर खेती गर्ने जस्ता वाक्य र हिन्दी मिसिएका -हमको झुक्याने आता है! सोझो पाया है क्या? तुम चोरेगा तो हम निचोरेगा जस्ता वाक्यले पाठकलाई बेस्सरी हँसाउन सक्छन्। अङ्ग्रेजी मिसिएका वाक्यहरू माथि कतिपय त उल्लेख गरिसकिएको छ।
आफूले अङ्ग्रेजी शब्द प्रयोग गरेर यस्तो प्रयोगप्रति उनले व्यङ्ग्य गरेका हुन्। अङ्गेजी शब्दको भरमार प्रयोग देखेर एकठाउँमा उनी लेख्छन्- गोर्खेले अंग्रेजी बोलेको कि अंग्रेजले नेपाली बोलेको ! यस्तै देखेर उनी भन्छन्- वाह रे अङेग्रेज! छोडेर त गयौ तर स्वाधीनता दिवस होइन, इन्डेपेन्डेन्स डे दिएर गयौ। (वाह रे इंलिस) हिज्जेको क्षेत्रमा भने लेखकले अझ ध्यान दिनु पर्ने देखिन्छ।
धेरै ठाउँमै शब्दगठनमा व्याकरणिक त्रुटिहरू छन्। कतिपय ती त्रुटिहरूलाई छोडेर समग्रमा भाषाको कुरा गर्नु हो भने उनको भाषा सहज सरल छ, आकर्षक छ। व्यङ्ग्यमा रहने कठोर र कटुतापूर्ण भाषा सँगसँगै हास्यमा हुनु पर्ने रोचक र विनोदी भाषा प्रयोग गर्नमा उनी सक्षम छन्।
निरौलाको सूक्ष पर्यव्यक्षण क्षमताले जन्माएका यी प्रत्येक निबन्ध यति रसिला भरिला छन्, पाठकलाई यी पाठभित्रै मग्न राख्न सक्छन्। कम्ती मात्रामा लेखिँदै आएको यो हास्यव्यङ्ग्य धारालाई उनले अझै अघिबढाउँदै लानेछन् भन्ने विश्वास हामी पाठकले बोकेकै छौँ।
मान्छेको अनुहारबाट, आँखाबाट, मुखबाट हाँसो नै हराउन लागेको आजको दिनमा अलिकति हाँस्न पाउनु, पठनका बिचमा रमाउन पाउनु कम कुरा होइन। त्यहीँ माथि यी निबन्धहरूले कसैका आँखा खोल्लान् र समाजबाट नराम्रा प्रवृत्तिहरू हट्लान् कि, क्षीण भए पनि त्यो आशा त छँदैछ।