घुम्दाघुम्दै भोक पनि लाग्यो र खाने बेला भयो। त्यसपछि इकोसिष्टमको पाठ पढेको बिद्यार्थीलाई अमेरिकाको एउटा शहरमा एउटा सानो प्लाजामा खाना ख्वाउन गुरूले लिएर जानुभयो । बिद्यार्थीलाई प्लाजा देखेर ताजुब लाग्यो। लामो गुहाली जस्तो एकतले बिल्डिङमा एउटा फाष्टफूडको होटेल खोलेको। होटेलको दाहिने छेवैमा कार इन्सुरेन्सको पसल। त्यसपछि लस्करै नङ सिँगार्ने नेल्स, हेयर र आइब्रो थ्रेडिङका पसलका कोठाहरू। होटेलको देब्रे छेवैमा सिगरेट र लिक्वेर पसल खोलेको। अनि लस्करै डेन्टिष्टको क्लिनिक, डाक्टरको क्लिनिक, फार्मेसी, हेल्थ इन्सुरेन्स, जीम र फिटनेस, ओभर साइज लुगा पनि पाइने क्लोथिङ, ल फर्मका पसलका कोठाहरु ।
“गुरू गुरू तपाईँले मलाई इकोसिष्टम पढाउनु भयो। यहाँ त पैसो सिष्टम पो रहेछ।“
“किन र बिद्यार्थी बाबु?“
“हेर्नुस न। मान्छे छिटो सस्तो फाष्टफूड खान कार चढेर आउछ। उसले कार इन्सुरेन्स किन्नुपर्यो। खान आउदा चिटिक्क पर्न नेल्स र हेयर बनाउन खर्च गर्छ। कोही धुम्रपान गर्नेलाई लिक्वेर पसलमा खर्च गर्नुपर्यो। बाहिरको जङ्क फूड खाएपछि मुखको सरसफाइ नपुगेर दाँत दुख्छ। डेन्टिष्टको बिल तिर्नुपर्यो। चिल्लोचाप्लो खानाको अडकल नपाएर शरीरमा बिगार भइ बिरामी भए डाक्टरलाई फिस बुझाउनु पर्यो। उनीहरुले औषधी लेखेपछी फार्मेसीमा खर्च गर्नुपर्यो। डाक्टर र औषधीको लागि हेल्थ इन्सुरेन्स बर्षेनी किन्नु पर्यो। खाना धेरै भयो तौल घटाउनु भनि डाक्टरले सुझाव दिए फिटनेसलाई पैसा तिरेर पसीना बगाउनुपर्यो। बढी खानाले जीउ फुके ओभरसाइज लुगा किन्नुपर्यो। गाडीको एक्सिडेन्ट अथवा त्यो प्लाजामा ग्राहकहरुमा रीसराग, झैँझगडा, मनमुटाव भइ चित्त नबुझ्नेलाई सहयोग गरेजस्तो गरेर ल फर्मले पैसा असुल्ने भयो।“
कुरा गर्दा गर्दै होटेल भित्र बस्ने पालो आयो। गुरूले होटेल भित्र गमगम खाइरहेका मानिसहरुलाई सरसरी हेर्दाहेर्दै मनमनै सोच्नुभयो, ‘हो यहाँ त, यत्रो सानो प्लाजामा पैसो सिष्टमको वरिपरि मानिसको जीवन पो घुमीरहेको रहेछ । मानिस कसरी व्यापारीको भूलभूलैयामा बाँचिरहेका रहेछन् त!‘
(लस एन्जेलस)