‘अब म बिदा हुँदै छु । आइन्छ या आइदैन ? थाहा छैन । यो बालक छोरो, यी बुढी आमा । यी दुवैसँग भेट होला या नहोला ? …. अब के गरौँ ? उफ् ! यस्तै हो जिन्दगी ।’ म यहाँ पुगेर पुस्तक एकछिन बन्द गर्छु र उपन्यासभित्रका क्रान्तिनायकले भोगेका पीडाहरू, जनमानसले भोगेका आततायी यातनाहरू सम्झन्छु । अलिकति भोक्ता, अलिकति द्रष्टाका रूपमा विगतलाई सम्झन्छु र फेरि पन्ना पल्टाउँछु ।
‘बुढी आमाको माया, यो सानो बच्चोको माया, म कसरी भुल्न सकूँ ? तर केही समयको लागि भुल्नैपर्छ आमा ।’ प्रकाशको यो मनोदशालाई महसुस गर्ने प्रयत्न गर्दै थिएँ म ।
योद्धा उपन्यासको अन्तिम हरफ पढेर टुकुले भोग्नु परेको पीडाहरूलाई मनन गर्दै अलि अगाडि पल्टाउँछु म–
‘यो हुहुरो, मातृस्नेह गुमाएको बच्चो । भविष्यमा सम्पूर्ण कुराको भार उसैले थाम्नु छ । उसलाई यो भार थाम्ने अवस्थासम्म कसले पु¥याइदिने हो ?’ क्रान्तिकारी जीवनको अनिश्चित यात्रा बारे कालु अर्थात उपन्यास नायक प्रकाशको यी मनोसंवादलाई दोहो¥याएपछि उपन्यासलाई सदाको लागि बन्द गर्छु म ।
म विगत बाह्र दिनदेखि मुम्बइको हिन्दुजा हस्पिटलमा छु । सात दिनदेखि एघार तले भवनको चौथो तलामा रहेको आई सि यु वार्डको बाहिर योद्धा उपन्यासलाई साक्षी बनाएर प्रतिक्षामा छु ।
‘यसको बारेमा केही लेख्नु पर्छ है,’ झण्डै वर्षदिन अघि नै पुस्तक हातमा थमाएर मित्र माधवजीले भन्नुभएको हो ।
४३२ पृष्ठको आयतनमा फैलिएको बृहत कायाको यस उपन्यासलाई पढने समय व्यवस्थापन गर्न सकिएको थिएन । अनि भेटमा डर लाग्थ्यो, कतै खै त खै भन्नुहुन्छ कि ? तर अब त्यो स्थिति रहेन ।
‘योद्धा’ यदुनाथ भट्टराईको दोस्रो प्रकाशित कृति हो भने पहिलो आख्यानात्मक कृति । यस अघि ‘युद्ध र शान्ति’ निबन्ध सङ्ग्रह लिएर साहित्याकासमा उदाएका हुन् उनी । ‘योद्धा’ समकालीन नेपाली समाज विशेष गरी परिवर्तनकामी दृष्टिकोणबाट लेखिएको सुन्दर कृति भएर पनि कम चर्चा भएको कृति हो ।
गोरखा र लम्जुङको उच्च पहाडी क्षेत्रको भूगोल, प्रकृति र विशेषगरी तामाङ संस्कृति र जनजीवनमा आधारित रहेर आञ्चलिकताको चित्रण गरिए पनि उपन्यासको उत्तरार्धमा क. प्रताप, क. ज्वाला र क. प्रकाशको परिवर्तप्रतिको उत्कण्ठा, बलिदानीभाव र अवश्यंभावी परिवर्तनप्रतिको आशावादिताले ‘आमा’को पावेल, ‘युवाहरूको गीत’को लिन दाउजिङ, ‘रातो चट्टान’को लि चिङ्ग–यानलाई सम्झाउँछ । यस उपन्यासका कान्तिकारी पात्रहरूमा विषम परिस्थितिमा पनि जीवनप्रतिको वैराश्य र नैराश्य भाव कतै देखिँदैन । क्रान्तिमा होमिएका योद्धाहरूमा मात्र होइन समाजका सामान्य पात्रहरूमा पनि नैराश्यता देखिँदैन । जीवनमा आइपरेका भवितव्य र दुःखहरू देखेर जीवनबाट भाग्नुभन्दा सुन्दर र सुखद भविष्यको कामनामा जीउने अभिप्रेरणा लिन्छन् ।
उपन्यासको आधा आधी खण्डमा गोरखा र लम्जुङको सीमाको उच्च पहाडी क्षेत्रको हिमाली हावापानी, दुर्गम भूगोल, कष्टकर जीवन शैली र तामाङ संस्कृतिको चित्रण देखिन्छ । दूधपोखरी र नारदपोखरीमा जनैपूर्णीमामा लाग्ने मेला र त्यहाँको यात्राको कठिनाइ पढ्दा आङ् जिरिङ्ग हुन्छ । इलम पोखरी जात्राको वर्णन पढ्दा ग्रामीण क्षेत्रमा विभिन्न अबसरमा लाग्ने मेलामा फन्को मारिरहे जस्तो लाग्छ । इलमपोखरी र कुनाघाट जात्राको वर्णनमा लेखकले ग्रामीण क्षेत्रको जात्राको यथार्थ वर्णन उतारेका छन् ।
यस्तो लाग्छ उपन्यासकारले यो आञ्चलिकताको सजिव चित्रण क्रान्तिको सामाजिक आर्थिक धरातल पुष्टि गर्नका लागि समाजशास्त्रीय कोणबाट गरेका हुन् ।
मुम्बइमा बसेर उपन्यास पढ्दै थिएँ । उत्तरवर्ती क्रान्ति नायक क. प्रकाश अर्थात कालु, उसकी बहिनी फूलमतीलाई मुम्बइसम्म किन यात्रा गराइएको होला ? पढ्दै जाँदा यस्तो लाग्छ– नायक मुम्बइ नपुगेर पनि नेपाली मुक्तियुद्धमा होमिने चेतना र परिवेश प्रशस्त मात्रामा निर्माण हुने थियो ।
उपन्यासमा सशक्त योद्धाका रुपमा उभिएका चरित्र नायकहरू क. प्रताप, क. गौरव, क. ज्वाला, क. निर्मली, क. आँचल आदि प्रतिनिधि पात्र मात्र हुन । यस्ता हजारौँ युवाहरू, वैयक्तिक स्वार्थलाई तिलान्जली दिएर क्रान्तिमा होमिएका थिए । जगमान, टुकु, भवानी, मिनप्रसाद, बुढी आमै, सेते, शिवराज आदि प्रतिनिधि जनसाधणहरू हुन्, जसले परिवर्तनका लागि सहयोग र साथ दिए । छापामारहरूलाई आश्रय दिए । प्रहरी दमनको सिकार भए तर पोल खोलेनन् । म नेपालको वर्तमान राजनैतिक परिदृश्यलाई आँकलन गर्न खोज्छु र आफैलाई प्रश्न गर्छु– त्यही जनसहयोग र योद्धाहरूको बलमा स्थापित यो राज्यसत्तामा पुगेका नेताहरूले ती जनसाधरणले, ती योद्धाहरूले देखेको सपनालाई पुनरावलोकन गर्ने प्रयत्न गर्लान् ?
वि.सं. २०७० सालमा छापिएको उपन्यासमा २०५८ सालपछिको घटना चित्रण नगर्नु पनि विशेष अर्थ बोकेको छ भन्ने लाग्छ मलाई ।
माओवादीले २०४६ को जनआन्दोलपछि नै जनयुद्धको लागि आधारभूमि तयार गर्दै गएको हो । त्यही अनुसार सङ्गठन विस्तार र प्रशिक्षण गर्न थालेको हो । यसको चित्रण उपन्यासमा साङ्केतिक रूपमा आएको छ । जनयुद्ध सुरु भएपछिका सुरुवातका दिनहरूमा सर्वसाधारणले पाएको सास्ती, फटाहा र सुकीहरूले दिएको दुःख, प्रहरी ज्याजतिको पराकाष्ट, निर्दोष जनताहरूको हत्या जस्ता यथार्थ घटनाहरूले उपन्यासमा यथेष्ठ स्थान पाएको छ । विस्तारै ग्रामीण क्षेत्र माओवादीको पकडमा पुगेको, सुराक गर्नेहरूले गाउँ छाडेको, चौकीहरू विस्थापन भएको र प्रहरी पराजित मानसिकता बोकेर सदमुकामका खुम्चिएको, गाउँमा जनसरकार निर्माण भएको, माओवादीले विकास निर्माण सुरु गरेको यथार्थ घटनाहरू उपन्यासमा विस्तृत रूपमा आएको छ । होलेरी घटनापछि प्रहरी शक्ति पछाडि हटेको स्थिति थियो । सरकार सेना परिचालन गर्ने मानसिकतामा थियो तर ब्यारेकबाट निस्किसकेको अवस्था थिएन । उपन्यास यही गएर टुङ्गिएको छ ।
उपन्यास नायक क. प्रकाश अन्तिम युद्धका लागि घरबाट विदा भएर निस्कन्छ । उसले बाबु, बहिनी र जीवन सङ्गीनी गुमाएको छ । तर उसमा त्यो वियोगको शोक छैन । बरु आाफू नरहे पनि आफ्नो बिंडो धान्ने छोरा रहेकोमा ढुक्क छ र क्रान्तिपछिको सुन्दर नेपालको परिकल्पना रमाउँछ । युद्धमा परेर मृत्युवरण उसका लागि ठूलो कुरो होइन । बरु आफ्नो सहादतले अरु हजारौँ योद्धा जन्माउने कुरामा ढुक्क छ । एउटा क्रान्ति नायकमा हुनुपर्ने क्रान्तिप्रतिको उदात्त भाव र भविष्यप्रतिको आशावादिता उसमा अटेसमटेस छ ।
क. ज्वाला मृत्युवरण गर्दै गर्दा आफ्नो छोरा कल्याणलाई त्यही बाटोमा हिडाउने सपना देख्छे । तिनै यौद्धाहरूको सौर्य, वीरता र आत्मबलको आडमा गणतन्त्र स्थापना त भयो । तर के गणतान्त्रिक मुलुकको सत्तामा पुगेकाहरूले उनीहरूले देखेको सपना, उनीहरूले गरेको बलीदानलाई सम्मान गर्न सकेका छन् ? मनमा प्रश्न जन्मन्छ ।
लेखकले नेपाली समाजको आमूल परिवर्तनको लागि गरिएको सङ्घर्षको अघिल्लो कालखण्डलाई टपक्क टिपेर पछिल्लो कालखण्डमाथि प्रश्नचिन्ह खडा गरेका छन् । २०५१ सालदेखि सुरुभएको जनयुद्ध २०५८ मा आइपुग्दा शक्ति सन्तुलनको स्तरमा आइपुगेको थियो । प्रहरी पराजित थियो । राज्य सदरमुकाममा सिमित थियो । द्वैद शासनको स्थिति थियो देशमा । गाउँ माओवादीको कब्जामा थियो र शहर राज्यसत्ताको नियन्त्रणमा । राजनैतिक समाधान खोज्ने कि सेना परिचालन गरेर दमनचक्र चलाउने ? बहस सुरु भएको थियो ।
देश विस्तारै ध्रुवीकरण हुँदै थियो । एक प्रकारको क्षणिक सन्नाटा थियो देशैभरि, आँधी आउनु पूर्वको मुर्दा शान्ति जस्तो । भिषण आतङ्क र नरसंहारको सङ्घारमा उभिएको थियो देश । यही परिवेशमा उपन्यासको नायक बुढी भएकी आमा र नाबालक छोरालाई छाडेर मृत्यु वा मुक्तिको अन्तिम लडाइँमा निस्कन्छ । ऊ सफल हुन्छ कि हुँदैन उपन्यास मौन छ । उपन्यास नायकको कान्तिकारी यात्रा मार्फत सर्जकले अहिलेका सत्ताका नायकहरूलाई प्रश्न तेस्र्याएका छन् – कहाँ छन् ती योद्धाका परिवर्तनकामी उदात्त भावहरू ? कहाँ छन जनसाधरणका ती सुन्दर सपनाहरू ? बस्तीका व्यथाहरूमा तात्विक फरक देखिन्न । रुपान्तरणको फलको अनुभूत छैन दूरदराजका बस्तीहरूमा । सङ्गिन बनेको छ जनजीवन ।
देशमा एउटा राजा त फाल्यौँ हामीले । तर, जनसाधारणले देखेका ती सुन्दर सपनाहरू, उनीहरूको झुपडीसम्म, विकट भूगोलसम्म हामीले पुर्याउन सक्यौँ कि सकेनौँ ? उपन्यास पढेर थन्क्याएपछि मनमा उब्जिएको प्रश्नहरू हुन् यी ।
वर्तमान राजनीतिक परिदृश्यमा सक्रिय रहेका व्यक्ति वा पार्टीहरू कम्तिमा पनि आफूलाई परिवर्तनका पक्षधर मान्नेहरूले योद्धा उपन्यास पढेर आफू हिडेको बाटो र आफूले देखेका र बाँढेका सपनाहरू एकपटक पुनरावलोकन गर्नु आवश्यक छ, चिन्तन मनन गर्न आवश्यक छ ।
कतै कतै अतिरञ्जित वर्णन छ उपन्यासमा । कतै तटस्थ बन्न नसके को हो कि भन्ने महसुस पनि हुन्छ पढ्दै गर्दा । कतै अनावश्यक भाषणले पठनलाई केही बोझिलो पनि बनाउँछ । कतै कतै सर्जक आफै बोलेका छन् जुन अनावश्यक लाग्छ । मूल कथासँग कथा उपकथाहरू जोडिएर आएका छन । ती सबै समाजका विविध यथार्थताको विम्व बरेर क्रान्ति धारामा जोडिन आइपुग्छन् ।
‘यस्तै हो क्रान्तिको बेला । सुत्केरी महिलाको प्रसवपीडा जस्तै हो । कोही बेला आमाको ज्यान जान सक्छ । कहिले बच्चा मर्न सक्छ । तैपनि सुन्दर शिशुको परिकल्पनामा एउटी महिला प्रसवपीडादेखि डराएकी हुँदिनन् कालुजी । (पृ.४२८) उपन्यासभित्रको बुद्धिजीवी पात्र मोहनले भनेजस्तै हामीले जन्माएको शिशु सुकेनास लागेर टाक्सिदै गएको त छैन ? खोलो तरेपछि लठ्ठी बिर्सने काम त भएको छैन ? जुन जोगी आए पनि कानै चिरेका भएको त छैन ? थुप्रै प्रश्नहरू जन्मन्छन् मनभरि ।
(२०८० बैशाख २६ गते, मंगलवार, मुम्बइ )