पहिलोचोटि उनको घरमा जाँदा माइकलेले मलाई भित्तामा टाँगिएको उनको आफ्नै फोटो देखाएका थिए । उक्त फोटोमा उनले स्टिमर चलाइरहेको दृश्य थियो । त्यो बेला उनले भनेका थिए, “मिस्टर ह्यारी, यो मलाई असाध्यै मन पर्ने फोटो हो किनकि मैले जीवनमा धेरै वर्ष स्टिमर चलाएँ । त्यो पेशा सम्झिँदा अहिले पनि मलाई खुसी लाग्छ ।”
माइकको पेशाप्रतिको ममता देखेर म भावुक भएको थिएँ ।
मैले भेट्दा उनी सत्तरीको हाराहारीमा थिए र निवृत्त जीवन बिताइरहेका थिए । साथमा थिइन् उनकी श्रीमती मार्लिस, जुन उनीभन्दा दुई तीन वर्ष जेठी थिइन् । यी दुई दम्पत्तिबाहेक त्यो घरमा अरु कोही थिएन । छोराछोरीहरू आआफ्नो परिवारसहित अलग्गै बसेको कुरा सुनाउँथे तर हामीले उनीहरू देख्ने अवसर भने पाएका थिएनौँ ।
बृद्ध उमेर, एक्लो जीवन तैपनि उनीहरू औधि खुसी देखिन्थे । बिचबिचमा बूढाबूढीहरू हाँसो ठट्टा गर्थे र एक्लै रमाउँथे । उनीहरूको त्यो व्यवहार देख्दा विदेशीहरू लामो समय सँगै बस्न सक्दैनन् भन्ने मेरो परम्परागत मान्यता वा विचार परिवर्तन हुँदै गइरहेको थियो ।
उमेरले फरक भए पनि उनीहरू हाम्रा छोरा र बुहारीका साथी थिए । यसै सिलसिलामा उनीहरुसँग हाम्रो परिचय र पारिवारिक सम्बन्ध कायम भएको थियो । फुर्सद भएको बेला उनीहरू हाम्रा घरमा आउँथे र हामीलाई फुर्सद् भएको समयमा हामी उनका घरमा जान्थ्यौँ । घर जाने आउने पनि अचम्मको तरिका थियो । भेटघाट गर्ने पनि अनौठो तरिका थियो । हामी उनीहरुकोमा जाँदा होस् वा उनीहरु आउँदा अघिल्लो। दिनमै फोनमा कुरा गरी समय निस्चित गर्नुपथ्र्यो । ‘हामी भोलि तिमीहरुका घरमा आउन खोजेका छौँ, तिमी घरमा हुन्छौ कि हुन्नौ वा तिमीलाई फुर्सद छ कि छैन ? आदि कुराहरु पहिले नै तय गर्नुपथ्र्यो । आउने जाने समय पनि निस्चित हुन्थ्यो र भनेकै समयमा पुग्नु पथ्र्यो ।
उनीहरू हाम्रो घरमा आउँदा पनि तोकिएको समयमा आउँथे । त्यति मात्रै होइन कति समय बस्ने र के खाने भन्ने कुराको पनि पहिले नै निस्चित हुन्थ्यो । पूर्व जानकारी नगरी नगराई कसैको घरमा नजाने त्यहाँको चलनलाई हामीले आत्मसाथ गरेका थियौँ ।
एकदिन माइकले हामीलाई बिहान एघार बजे आउनु भनेर बोलाए । त्यो बेला दिउँसोको खाना खाने बेला हुन्थ्यो । ‘माइकले हामीलाई खाना खान बोलाएका होलान् ।’ हामीले अनुमान लगायौँ । घरमा सामान्य नास्ता खाएर गयौँ ।
माइकको घरमा पुगेपछि कुराकानी सुरु भयो । खानाको त कुरै भएन । केही समयपछि माइकले भने, “मैले तिमीहरूलाई स्वादिलो कफी बनाएर खुवाउँछु ।”
त्यस्तै भयो, चिनी नहालेको कफी मात्रै खाएर आयौँ ।
यस्तो धेरै ठाउँमा धेरै चोटि भएको छ ।
हाम्रो घरमा आएको बेला एकदिन माइकले भने, “पवन तिमी बिजी छौ, तिम्रो बाआमालाई मैले मेरो गाडीमा घुमाएर ल्याउँछु । तिन चार दिनको प्याकेज । तिमी र तिम्रो बाआमा राजी छौ ?”
“हुन्छ माइकले, तिमीलाई धेरै धेरै धन्यवाद !” छोराले भने ।
त्यै बेला माइकले भने, “एउटा शर्त, त्यो के भने खाना र बासको पैसा तिमीले तिनुपर्छ । तेलको पैसा म लिन्नँ ।”
“हुन्छ माइकले । के मार्लिस पनि सँगै जान्छिन् ?”
“हो हामी दुई जना तिम्रो बाआमा दुई जना । चार जना भएर जान्छौँ । मैले उनीहरूलाई मिसिसिपी नदीको उद्गम स्थलमा घुमाउँछु । फर्कदा हामी डुलुथ आउँछौँ र सुपेरियर लेकको किनारै किनार घुम्दै घर आउँछौँ । त्यै बेला मैले तिम्रो बाआमालाई मेरो स्टिमर पनि देखाउँछु ।”
आश्चर्य मान्दै छोराले सोधेका थिए, “दश वर्ष पहिले चलाउँदै गरेको स्टिमर भेट्छौ त ?”
“मैले जहाँ काम गर्थेँ त्यही ठाउँमा पुग्छौँ । मेरो स्टिमर कसो नभेटिएला । अहिले पनि मलाई मेरा स्टिमरको निकै माया लागिरहेको छ ।”
“माइकलाई मेरो भन्दा पनि बढी माया लाग्छ स्टिमरको ।” हाँस्दै मार्लिसले भनिन् ।
मार्लिसको कुरा सुनेपछि माइकले कोर्के नजरले मार्लिसका अनुहारमा हेर्दै भने, “होइन होला !”
त्यसपछि दुवै जना मिठो हाँसो हाँसे ।
त्यै बेला मीनाले भनिन्, “देख्नु भो त, लोग्ने स्वास्नीको माया कस्तो हुँदो रहेछ ।”
मैले भनेँ, “के मैले कम माया गर्छु त तिमीलाई !”
हामी नेपाली भाषा बोलेको देखेर माइकले र मार्लिस अलमलिए । एकोहोरो तरिकाले मेरो मुखमा हेरे । मैले भने, “सरी माइक, हाम्रा बिचमा पनि माया प्रेमका कुरा हुँदै थिए ।”
त्यसपछि माइकले भने, “ए त्यसो भए ठीक छ ।”
बिहान सात बजे हाम्रो घरबाट हिँड्ने तय भएको थियो, उनीहरू ६ः३० बजे हाम्रो घरमा आए । हामी तयार हुँदै थियौँ । उनीहरू भित्र आए र सोफामा बस्दै मेरी बुहारीसँग भने, “सपना ! के तिमी हामीलाई कफी खुवाउन सक्छ्यौ ?”
“अवश्य सक्छु माइक, किन नसक्नु ।” यसो भन्दै बुहारी किचनतिर लागिन् । हामीले आफ्नो काम जारी राख्यौँ ।
घरबाट हिँडेको करिब दुई घण्टा भएको थियो, रफ्तारमा गुडीरहेको गाडीको गति कम हुँदै गयो । केही समयमा माइकले गाडीलाई एउटा ग्यास स्टेशनको पार्किङमा लगेर रोके ।
“रेष्टरुम जाने होइन ?” यसो भन्दै उनी गाडीबाट उत्रे र भित्रतिर लागे । दुवै घुँडा अप्रेशन गरेर कृतिरिम पाङ्ग्रा हालेकी मार्लिस पनि सुविधा सम्पन्न लौरो टेक्दै बडो जतनसाथ गाडीबाट उत्रिन् । उनलाई पछ्याउँदै हामी पनि भित्रतिर लाग्यौँ । अमेरिकामा पेट्रोलपम्पलाई ग्यास स्टेशन भन्दारहेछन् र हरेक ग्यास स्टेशनमा सानो डिपार्टमेन्टल स्टोर तथा शौचालय आदिको व्यवस्था हुँदो रहेछ । केही हल्का खानेकुरा वा चिया कफी किन्न पनि पाइने अनि शौचालयको प्रयोग गर्न पनि पाइने हँुदा प्रायः यात्रुहरु ग्यास स्टेशनमै रोकिँदा रहेछन् ।
हामी शौचालयबाट फर्किएर गाडीमा आउँदा माइक पहिले नै आइसकेका र पहिले मार्लिस बसेकोसिटमा बसेका थिए । चालक सिट खाली भएको देखेपछि मार्लिसले भनिन्, “मलाई थाहा छ माइक थाकिसके । केही समय मैले चलाउनुपर्छ ।”
मार्लिस चालक सिटमा बसिन् र गाडी चलाउन थालिन् । उनका खुट्टा देख्दा कसरी चलाउलिन् र भन्ने लागेको थियो तर माइकले भन्दा पनि राम्रो तरिकाले चलाउन थालिन् । उनको त्यो अवस्था देखेपछि मेरा मनमा कुरा खेल्न थाले, ‘हामी नेपालीहरु छिटै आफूलाई बूढो भन्न र अशक्त सावित गर्न पछि पर्दैनौँ तर मार्लिस पचहत्तरको हाराहारी पुगेर पनि आफूलाई सबल ठान्दै हरेक काममा अग्रसर हुन्छिन् । यिनी विदेशीहरु र हामीमा धेरै फरक छ ।’
त्यसपछि मीनातिर हेर्दै भनेँ, “देख्यौ ?”
“देखेँ !” लामो सास फेर्दै उनले भनिन्, “यस्तै ठाउँमा जन्मेको र यस्तै वातावरणमा हुर्केकोभए मैले पनि चलाउँथेँ । बिस वर्षको उमेरमा देखेकी थिएँ मैले यस्तो गाडी । त्यस्तो गाउँघर र भीरपाखामा जन्मेका हामीले कसरी चलाउनु ।”
मीनाको कुरा ठीक लाग्यो मलाई । उनको कुरा सुनेपछि म पनि विगतमा फर्केँ । मैले पहिलोचोटि गाडी देख्दा मेरो उमेर पनि चौध पन्द्र वर्षभन्दा कम थिएन । सुरुमा नजिकबाट गाडी देख्दा निकै डराएको थिएँ । नजिक जान पनि डर लागेको थियो । त्यो बेला टिभी पनि थिएनन् । स्क्रिनमा देख्ने कुरा पनि भएन । अहिले भने गाउँघर जताततै गाडी पुगेका छन् । अहिलेका बालबालिकाहरूलाई गाडी देख्न चौध पन्द्र वर्ष कुर्नु पर्दैन ।
मार्लिसले तीव्र गतिमा गाडी चलाइरहेकी थिइन् । त्यहाँको बाटो सफा र खुला थियो । हामी जाने तीन लेन र आउने पनि तीन लेन भएको हुँदा कतै गाडी जुध्छ कि भनेर डराउनु पर्ने अवस्था थिएन । खाल्टाखुल्टी नभएका हुँदा गाडी हल्लिने वा उफ्रिने डर पनि थिएन । वरिपरि हरियो जङ्गल थियो । सुन्दर र शान्त वातावरणमा हामीहरु कुँदिरहेका थियौँ । आकाशमा छिटफुट बादल लागेको भए पनि जाडो र गर्मी बराबर थियो । अर्को कुरा अलिकति गर्मी हुँदासाथ मार्लिस एसी लगाउँथिन् र चिसो हुँदासाथ तातो बनाउँथिन् ।
गाडी तीव्र गतिमा अगाडि बढिरहेको थियो । माइक घुर्न थाले ।
“कति छिटो निद्रा परेको हो !” हामीले कुरा ग¥यौँ । मार्लिस आफ्नै तालमा थिइन् । उनले हाम्रो कुरामा ध्यान दिइनन् ।
करिब एक घण्टापछि मार्लिसले पनि उसैगरी गाडीलाई एउटा ग्यास स्टेशनको पार्किङमा लगेर रोकिन् । अनि पछाडि फर्केर हाँस्दै भनिन्, “भोक लागेन ? अब लञ्च खाऊँ ल ।”
माइकले एकथरी लञ्च अर्डर गरे, मार्लिसले अर्कै थरि हामी अलमलियौँ ।
“के खाने ?” माइकले सोधे ।
के खाने खाने ? हाम्रो अलमल हटेन ।
मेरो कुरा बुझिन् क्यारे मीनाले भनिन्, “मार्लिसले जे मगाउँछिन् त्यै मगाऊँ हामी पनि ।”
मलाई त्यही कुरा ठीक लाग्यो अनि माइकलाई सुनाएँ ।
टन्न दाल, भात, तरकारी, अचार खाएका हामीलाई त्यो खाना पटक्कै रुचेन । मीनाले पनि मुख बिगारिन् । मेरो घाँटीबाट पनि तल झर्न मानेन । पैसा परेको खाना फाल्नु पनि भएन । जेनतेन खायौँ र बाटो लाग्यौँ ।
मिसिसिपी नदीको मुहानमा पुग्दा बेलुकीको चार बज्दै थियो । हामी निकै रमायौँ । अमेरिकाको विभिन्न राज्य हुँदै बग्ने र मेक्सीको हुँदै समुद्रमा मिसिने संसारकै लामो र ठूलो नदी मिसिसिपीको मुहान यही हो भन्ने कुरामा सुरुमा त पत्यार पनि लागेन तर पत्याउन जरुरी थियो । किनकि माइकले, मार्लिस र त्यहाँ रहेका विभिन्न सूचनाहरूले त्यही कुरा बताइरहेका थिए ।
घना जङ्गलको बिचमा एउटा ठूलो ताल थियो । तालमा विभिन्न थरि चराचुरुङ्गीहरू चिरबिराइरहेका थिए । त्यसै तालको एउटा छेउँबाट हाम्रो गाउँघरमा खोलाबाट खेतमा जाने कुलो जत्रो पानी कलकलको आवाज दिँदै बगिरहेको थियो, त्यही नै थियो मिसिसिपी नदीको मुहान । त्यो देखेपछि हामी औधि खुसी भयौँ, फोटा खिच्यौँ र रमायौँ । हामी खुसी भएको देखेपछि माइकले पनि खुसी भए । खुसी हुँदै उनले भने, “तिमीहरू खुसी भयौँ ?”
“अवश्य माइकले अवश्य, यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद !”
मैले त्यसो भनेपछि उनी पनि खुसी भए । केही बेर हामीले खुसी साटासाट ग¥यौँ ।
साँझ बास बस्ने बेला भइसकेको थियो । मलाई दुई कुराको चिन्ता थियो । पहिलो माइकले कस्तो ठाउँमा बास बसाउँछन् भन्ने चिन्ता र अर्को साँझ के खाने होला भन्ने चिन्ता । यो कुरा मैले मीनालाई पनि सुनाएँ । उनले भनिन्, “जस्तो पर्ला पर्ला । एक दुई दिन नखाए पनि मरिन्न क्यारे । बरु एक गिलास वाइन खान पाए हुन्थ्यो । दिनभरिको हिँडाइले जीउ गलेको छ ।”
“हुन्छ, मैले माइकलाई भनुँला ।” मैले विश्वस्त पारेँ ।
सूर्यले पश्चिमी क्षितिज पार गरिसकेका थिए । सडक किनारमा रहेका पोलमा बत्ती बल्दै थिए । त्यस्तैमा माइकले चल्दै गरेको गाडी एउटा ठूलो घरको आँगनमा लगेर रोके । झ्यालबाट बाहिर हेरेँ । त्यो त मोटल पो रहेछ । त्यहाँ खान बस्न पाइने ठाउँलाई होटल र सुत्न मात्र पाइने ठाउँलाई मोटल भनिदो रहेछ ।
माइकले काउन्टरमा गएर कुरा नमिलाउँदासम्म हामी गाडीबाट उत्रिएर टहलियौँ । केही समयपछि माइकले आए र भनेँ, “आज यसैमा बस्ने ।”
एउटा कोठामा दुई दुई जना सजिलै सुत्न मिल्ने खालका दुईटा बेड थिए । भित्र पस्दै माइकले भने, “हामी चारै जना यसैमा सुतौँ । छुट्टा छुट्टै कोठा लिँदा धेरै पैसा खर्च हुन्छ ।”
यो कुरा हामीलाई छोराले पहिले नै भनिसकेका थिए । त्यसैले आश्चर्य लागेन । एउटा खाटमा उनीहरू सुत्ने भए, एउटामा हामी ।
“खाना के खिलाउँछौ माइकले ?” मैले सोधेँ ।
“नजिकै रेष्टुरेन्ट छ । त्यहाँ गएर हेरौँ, जे पाइन्छ त्यही खाउँला ।” उनले भने ।
साँझको खानामा खासै समस्या परेन । त्यहाँ धेरै आइटम रहेनछन् । फ्राइ आलु र यस्तै नाम नसुनेको एउटा खानाको आइटम थियो । खाना खानुपूर्व मैले भनेँ, “माइकले एक एक गिलास वाइन खाने इच्छा छ, पाइन्छ त ?”
“राम्रो कुरा, अवश्य पाइन्छ । म मगाउँछु ।” यसो भन्दै माइकले बेरालाई बोलाए ।
“तिमी खाँदैनौ ?” मैले सोधेँ ।
“म मुटुको बिरामी, उनी युरिक एसिडको रोगी, हामीले कम गरेका छौँ ।” उनले भने । त्यसपछि मैले सम्झेँ, ‘ए माइकले त मुटुको वाइपास सर्जरी पो गरेका छन् त !’
साँझको खाना पनि खासै मिठो लागेन । माइकले र मार्लिसले पनि सबै खाएनन् । केहीबेरपछि माइकले बेरालाई बोलाए र यो सबै खाना प्याक गरिदिन भने । अमेरिकामा खाना फाल्ने चलन नभएको कुरा हामीलाई पहिलेदेखि नै थाहा थियो । कुनै होटलमा गएर खाना खाँदा बाँकी रहेको खाना हरेक अमेरिकनहरूले प्याक गरेर घर लगेको देखेका थियौँ । त्यसैले त्यो कुरा आश्चर्य लागेन ।
अर्को दिन हामी सुपेरियर लेकको किनार डुल्यौँ ।
लेखको सङ्लो पानी तरङ्गिदै ओर र पर गरिरहेको थियो । साना–ठूला छालहरूले हामीलाई स्वागत गरेको आभाष हुन्थ्यो । गर्मीको मौषम भए पनि क्यानाडातिरबाट आएको चिसो हावाले हामीलाई चिमोट्दै थियो ।
हामी त्यहाँ पुग्दा बिहानको दश बज्दै थियो । आकास सफा भएको हुनाले सूर्यका किरणले हामीलाई सिधै स्पर्स गरिरहेका थिए तर पनि चिसोको अनुभव यथावत थियो ।
त्यहाँ माइकले हामीलाई चारैतिर घुमाए । सुपेरियर लेकको वरिपरी व्यवस्थित शहर थियो र त्यो भन्दा माथि हरिया रुखहरूले वातावरणलाई झन् सुन्दर बनाइरहेका थिए । त्यैबेला माइकले भने, “यहाँदेखि न्यूओर्कसम्म पानी जहाज वा स्टिमर चलाएर जान सकिन्छ । वरपर गर्नको लागि यो मार्ग अति नै उत्तम छ ।”
म प्रकृतिको अनुपन दृश्य देखेर रमाइरहेको थिएँ । त्यस्तैमा खुसी हुँदै माइकले भने, “मिस्टर ह्यारी मैले तिमीलाई भनेको ठाउँ यही हो । यही ठाउँमा मैले लामो समयसम्म स्टिमर चलाएको थिएँ र मेरा जवानीका दिन बिताएको थिएँ ।”
खुसी हुँदै उनले भने, “आऊ म तिमीलाई मैले फोटो खिचेको ठाउँ देखाउँछु ।”
त्यसपछि उनले मलाई एउटा म्युजियममा लगे, जहाँ पानी जहाजसँग सम्बन्धित धेरै सम्झनाहरू थिए ।
केही समयपछि भावुक हुँदै उनले भने, “मैले मार्लिसलाई विवाहको प्रस्ताव राखेको ठाउँ पनि यही नै हो ।”
त्यै बेला चौहत्तर वर्षे मार्लिसले भनिन्, “माइकले यो ठाउँलाई धेरै माया गर्छ । शायद मलाई भन्दा पनि बढी ।”
“ह्यारी उनले भनेको कुरा सत्य होइन, म मार्लिसलाई धेरै माया गर्छु ।”
माइकको कुरा सुनेपछि मार्लिस हाँसिन् मात्र कुनै प्रतिक्रिया दिइनन् । माइकले भनेको कुरा ठिक हो भन्ने कुरामा शायद उनी सहमत थिइन् ।
संवाद हुँदै थियो, प्रसङ्ग बदल्दै माइकले भने, “तिमीहरूलाई यहाँ ल्याउनुको मुख्य उद्देश्य मेरो स्टिमर देखाउनु पनि हो । म मेरो स्टिमरलाई धेरै माया गर्थेँ, शायद मार्लिसलाई भन्दा पनि बढी ।”
माइकले यसो भन्दा मार्लिसले मुख बिगारिन् । कोर्के नजरले माइकतिर हेर्दै हानुँलाजस्तो गरिन् र हाँस्दै भनिन्, “यस्तासँग मैले चालिस वर्ष कसरी बिताएँ कुन्नि !”
त्यै बेला माइकले फुर्र आवाज निकालेर मार्लिसलाई जिस्क्याए । मार्लिसले उसैगरी जवाफ दिईन् ।
त्यै बेला मीनाले भनिन्, “देख्नु भो त श्रीमान् श्रीमतीको माया प्रेम कस्तो हुँदो रहेछ ?”
“तिमीलाई मैले कम माया गर्छु, माइकले मार्लिसलाई गर्ने भन्दा पनि बेसी । छाती चिरेर देखाउन मिल्ने भए देखाउँथेँ ।”
“कुरा मात्रै हुन् । लोग्ने मान्छेको जात कति स्वार्थी हुन्थ भन्ने कुरा मलाई थाहा छ ।”
मीनाको कुरा सुनेपछि मैले भनेँ, “म जत्तिको सञ्जन र श्रीमतीलाई माया गर्ने मान्छे संसारमा कोही छैन होला ।”
मेरो कुरा सुनेपछि उनले मलाई प्याट्ट हानिन् र मुस्कुराउँदै भनिन्, “कुरा गर्न त कसैले सिकाउनु पर्दैन ।”
माइकले नजिकै थिए, हामीले गरेका कुरा नबुझेर अलमल परिरहेका थिए । त्यै बेला मैले भनेँ, “सरी माइकले ! हाम्रो कुरा तिमीले बुझेनौँ क्यारे, हामी पनि मायाप्रीतिका कुरा गरिरहेका थियौँ ।”
मेरो कुरा सुनेपछि उनले “ओ गुड !” भन्दै अगाडि थपे, “ल हिँड, म तिमीहरूलाई मेरो प्यारो स्टिमर देखाउँछु । केही समय मार्लिस र मीना यही बसुन् ।”
यसो भन्दै माइकले दुवै जनाको अनुमति लिए र मलाई हातमा समाएर अघि बढे ।
तालको किनार र पानीमाथि सयौँको सङ्ख्यामा किसिम किसिमका डुङ्गा तथा स्टिमरहरू तैरिरहेका थिए । माइकले मलाई एक डुङ्गाबाट अर्को डुङ्गा हुँदै धेरै परसम्म पुराए । बिचबिचमा मध्यम खालको स्टिमर देखाउँदै उनी भन्थे, “मेरो स्टिमर यस्तै थियो, तर यो चाहिँ होइन ।”
त्यसपछि कुनै अपरिचित डुङ्गामाथि उभिएर वरपर हेर्दै भन्थे, “यतै कतै हुनुपर्ने ।”
उनले मलाई धेरै समयसम्म घुमाए तर आफ्नो डुङ्गा देखाउन सकेनन् ।
उनी निरास हुँदै गए । अघिको उज्ज्यालो अनुहार क्रमशः धमिलो हुँदै गयो तर पनि उनले आफ्नो स्टिमर खोज्ने प्रयास त्यागेनन् । उनले आफ्नो स्टिमरप्रति देखाएको माया देखेर म समेत भावुक हुँदै गइरहेको थिएँ ।
अनुहारसँगै उनको आवाज पनि धमिलो हुँदै गइरहेको थियो । मन्द आवाजमा उनले भने, “बुझ्यौ ह्यारी, त्यही डुङ्गा देखेर मार्लिसले मलाई पत्याएकी थिई । मेरो सम्पत्ति भनेकै त्यही डुङ्गा थियो । त्यो नभएको भए मार्लिस मसँग विवाहको लागि राजी नहुन पनि सक्थिन् ।”
म केही बोलेको थिइनँ, उनैले भने, “मेरा साना साना नानीहरू त्यै डुङ्गामा खेल्थे । छुट्टीको बेला सबैलाई ल्याउँथेँ र केही समय त्यसै डुङ्गामा राखेर घुमाउँथेँ ।”
भावुक हुँदै उनले भने, “उनीहरू ठूला भए र हामीलाई छोडेर गए । म बूढो हुँदै गएँ र एकदिन नचाहँदा नचाहँदै पनि मेरो प्यारो डुङ्गा अर्कालाई जिम्मा लगाएर गएँ ।”
यसो भन्दै गर्दा उनले गोजीबाट रुमाल निकाले र आँखाबाट बग्दै गरेका आँसु पुछ्न थाले ।
“आज मैले मेरो डुङ्गा भेट्छु भन्ने ठूलो आशा गरेको थिएँ तर भेटिनँ । शायद अब कहिल्यै भेट्दिन पनि होला । किनकि म सधैँ यहाँ आउन सक्दिनँ ।”
माइकको डुङ्गाप्रतिको प्रेम देखेर अघि मार्लिसले भनेका शब्द मेरा कानमा गुन्जिन थाले । उनले भनेकी थिइन्, “माइकले मलाई भन्दा बढी माया आफ्नो डुङ्गालाई गर्छ ।”
माइकलाई हेर्दा हेर्दै म पनि भावुक बनेछु । मेरा आँखाबाट बगेका आँसुले मलाई ब्युँझाए । मैले पनि गोजीबाट रुमाल झिकेँ ।
चारैतिर घुम्दा पनि माइकले आफ्नो डुङ्गा भेट्न सकेनन् । उसको बोली क्रमशः बन्द हुँदै गयो ।
उनी चूप लागेको देखेपछि मैले भनेँ, “माइक फर्कौँ ।”
उनले मेरो कुरा सुने कि सुनेनन् कुन्नि उनी बोलेनन् । मैले देखेँ, उनका आँखाबाट अहिले पनि आँसु बगिरहेका थिए ।
(रुपन्देही)