लकडाउनको कारणले म काठमाडौंबाट गाउँ फर्किएकी थिएँ । गाउँमा नेट राम्रोसँग नचल्ने भएकाले म सोसियल मिडियाबाट अल्लि टाढा थिएँ। गाउँको माहोल अति नै रमाइलो थियो । म पनि गाउँको त्यो माहोलमा रमाउँदै थिएँ । कहिले काफल खान जाने, ग्वाला जाने, साथी सङ्गातिसँग घाँस दाउरा जाने, मम्मिलाई घरको काम सघाउने गर्थेँ ।
लकडाउनको पहिलो चरणमा मैले बाबालाई केही उपन्यासहरु ल्याउन लगाएँ । धेरैजसो उपन्यासहरू पढिसकेकी पनि थिएँ । बाँकी उपन्यासहरु लकडाउनको दोस्रो चरणमा पढ्न सुरु गरेँ । जब मैले अमर न्यौपानेको करोडौं कस्तुरी पढेँ त्यो पढेपछि मलाई लाग्यो हाम्रो पाइला पाइलामा कस्तुरी रहेछन् । हरेक व्यक्तिसँग कस्तुरी हुँदोरहेछ । त्यो कस्तुरी मान्छेले चिन्दै नचिनेर भौँतारिंदो रहेछ । मानौं कसैले संसारभरिका राम्रा किताबहरु पढ्यो, संसारको पूरै भ्रमण पनि गर्यो, संसारका प्रतिभावान मानिसहरुलाई पनि चिन्यो तर उसले आफूभित्रका किताबहरु पढेन, आफूभित्रको संसारको भ्रमण गरेन र आफूभित्रको प्रतिभावान मानिसलाई चिनेन भने उसले आफूलाई चिनेको हुँदैन । संसार बुझ्नका लागि आफूभित्रको संसार बुझ्न जरुरी रहेछ, आफूलाई चिन्न जरुरी रहेछ । जसरी कस्तुरीले आफूभित्रको बासना थाहा नपाएर यताउता भौतारिन्छ त्यसरी नै मान्छे भौतारिनुको अर्थ रहेनछ ।
हरिवंश आचार्यको चिना हराएको मान्छे पढ्दै जाँदा मलाई लाग्यो कुनै पनि व्यक्ति चर्चित हुनका लागि जन्मजात प्रतिभाशाली भएर आएको हुँदैन । उनीहरु पनि कतै न कतै संकट भोगेर आएका रैछन्। एसएलसी पास हुन नसकेर वर्षौ दुःख भोगेका हरिवंश आचार्यजस्तो मान्छे आज राष्ट्रिय कलाकार भएका छन्। कलाकार हरिवंश आचार्य आफूलाई चिन्ने र पढ्ने मानिस हुन् । त्यही चिनाइ र पढाइले नै उनलाई आज यति प्रसिद्ध कलाकार बनायो । चिना हराएर पनि राष्ट्रले चिन्ने हरिवंशको जीवन कथाबाट जिउने कला सिकिन्छ । जीवनकथा पढ्दै जाँदा मदनकृष्ण र हरिवंशको मह जोडीबाट जीवनमा अघि बढ्न साथीको भूमिका कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ साथै प्रेरक साथी बनाउने कुराको प्रेरणा समेत मिल्छ ।
यसै सन्दर्भमा मैले फेरि अर्को कृति बुद्धिसागरको फिरफिरे पढेँ। जब फिरफिरे पढेँ तब मलाई लाग्यो जिन्दगी एउटा फिरफिरे जस्तो रैछ, घुमिरहन्छ घरि यता घरि उता । फिरफिरे पढ्दै गएँ, त्यस भित्रका पात्रहरू आफन्त जस्ता भए । बाँसबारी आफ्नै गाउँ जस्तो लाग्यो । अम्बरपुर आफ्नै बजार जस्तो लाग्यो ।
बिस्तारै म उपन्यासको कथा र पात्रहरुसित यसरी गाँसिदै गएँ कि ती मलाई सत्य लाग्न थालेँ । मलाई लाग्न थाल्यो, सबै घटना आँखा अघि भइरहेका छन् । उपन्यास पढ्दै जाँदा कतिपल्ट किताबमा आँसुका थोपा पनि खसे, कतिपल्ट मन खोलेर हाँसे पनि र एकदिन अन्तिम हरफ पढेँ । त्यो पढेपछि लाग्यो, अघिल्लो दिनसम्म घरमा रमाइलो गरिरहेका आफन्तहरुले एक एक गर्दै बिदा माग्दै गएजस्तै लाग्यो । एकदमै रित्तो भएजस्तै लाग्यो। पढ्दै जान्छु फेरि प्रत्येक दिन मेरो कक्षा कोठा र पाठहरु पल्टाउँछु, कक्षा कोठाका विषय वस्तुहरु, मेरो स्वास्थ्य क्षेत्रका कुराहरु पढ्दा पढ्दै पनि मलाई निबन्धहरु र वैचारिक लेखहरु पढूँ पढूँ लाग्न थाल्यो । अरुका जीवनी र उपन्यासहरू पढ्नु मेरा लागि अम्मलजस्तै लाग्न थाले ।
वास्तवमा मान्छेले खुसी के गर्दा र कहाँ जाँदा प्राप्त गर्छन् होला ? खुसी पद, प्रतिष्ठा, धन सम्पत्ति ऐश आराम केमा हुन्छ होला ? कि जन्मजात भाग्यमा लेखेर ल्याएको हुनुपर्छ होला? यस्तै यस्तै कुरामा मेरो मन घुमिरहन्थ्यो । यहीँ कुराको खोजीमा मैले विजय कुमारको खुसी पढेँ। त्यहाँ लेखिएको छ– मेहनत र इमानदारीलाई जोडेर जे बन्छ मेरो नजरमा भाग्य त्यही हो। हुन पनि हो जजसले आफ्नो क्षेत्रमा निरन्तर इमानदारीसाथ मेहनत गरेका छन्, भाग्यले ती सबैका ढोका ढकढकाएको छ। तर भाग्य ढोकामा उभिएको बेला त्यसलाई चिन्न सक्नुपर्छ।
हरेक मानिसको जीवनमा कुनै न कुनै बखत मौका आएको हुन्छ । सम्भावना आएको बेला त्यसलाई चिनेर मेहनत र इमानदारीसाथ निरन्तर अघि बढे भाग्यलाई खोजिरहनु पर्दैन । लेखक भन्छन् – मेरो रुचि पैसा कमाउनेमा थिएन, पैसा बुझ्नेमा थियो। हो, कुनै पनि मान्छेले कुनै चिजलाई भौतिक रूपमा बुझ्यो भने दुःख पाउँछ। त्यसैले भौतिक रूपमा होइन त्यसलाई मानसिक रुपमा बुझ्न सकियो र त्यसको महत्त्वलाई बुझियो भने राम्रो हुन्छ। मान्छेलाई माछा मारेर दिने होइन माछा मार्ने कला सिकाउनु उपयुक्त हुन्छ भन्ने कुरा प्रष्ट छ।
हामी खुसी खोज्न कहिँ जानु पर्दैन । आफै भित्र खुसी छ ,आफै खुसी हुन जान्नु पर्छ। पुस्तकका पानाहरू पल्टाउँदै जान्छु, हेर्दै जान्छु, मलाई निद्रा कम , भोक कम र लेखनमा बढी प्यास लाग्न थाल्यो । बेलुकी मलाई एउटा कुनै न कुनै कृति नपढेर निद्रै लाग्न छोड्यो । फुर्सदको बेला घरमा परिवारसँग बसेर, गाउँमा साथी सङ्गातिका बिचमा खेल्न मन लाग्थ्यो, डुल्न मन लाग्थ्यो । अब मलाई साथी भनेका ती पुस्तकहरु भए । जब म एकछिन फुर्सदमा हुन्छु तब बाबाको लाइब्रेरीमा पस्छु र हेर्छु । अनि एउटा किताब तानेर पढ्न मन लाग्छ । वास्तवमा लेखन भन्ने कुरा कुनै दैवी शक्ति रहेनछ । यो अग्रजका कृति पढेर आउँदो रैछ, अरुका विचारले आफूभित्रको भावना पग्लिएर शब्दमा रूपान्तरण हुँदा लेखन बन्दो रैछ ।
मलाई कतिपय साथीहरूले लेखनतिर कसरी अग्रसर भएको भनेर सोध्नुहुन्छ । मेरो बुझाइमा यो लेखन भन्ने कुरा अभ्यासले हुने रैछ र पठनले हुने रैछ। कविताजस्तो आख्यान रैनछ । कवितामा लय र बिम्बको खोजी भएजस्तै आख्यानमा विचारको प्रवाह हुनु पर्दो रहेछ । म जब आख्यानका पानाहरू पल्टाउँदै जान्छु मेरो घर, मेरो दुनियाँ यहीँ पुस्तक हो जस्तो लाग्छ ।
मलाई पुस्तकका पानामा हराउन मन लाग्छ, पुस्तकका पानामा विलय हुन मन लाग्छ । जब म केही लेख्छु त्यतिबेला कुनै एउटा आमाले सन्तान प्राप्त गरे जस्तो अनुभूति हुन्छ । जब मेरो लेखनलाई मेरो बाबाले हेरिदिनु हुन्छ, मेरो दादाले हेरिदिनु हुन्छ या कुनै पत्रिकामा छापिन्छ त्यसपछि मलाई झन अर्कै अनुभूति हुन्छ । अझ आफ्नै लेखलाई आफै पाठक भएर पढ्छु, मलाई लाग्छ मैले यहाँ अलिकति सच्याउनु पर्नेरैछ । यहाँ यति कुरा पुगेको रैनछ जस्तो लाग्छ। जिन्दगी एउटा यात्रा जस्तो रैछ जो कहिले पूर्ण हुँदो रैनछ। त्यहीँ अपूर्णबाट पूर्णतातिरको खोजी नै जीवन रैछ जस्तो लाग्छ ।
वास्तवमा जिन्दगी एउटा लेखन हो, जिन्दगी एउटा अभ्यास हो । यो अभ्यासको चरणमा छु र अद्यापि चरणमा लेख्दै छु। हेरौँ, मलाई यो लेखनमा प्रेरित गर्ने मेरा अग्रज साहित्यकारहरू मेरा प्रेरणाका स्रोत हुनुहुन्छ जसका किताबले म लेख्नतिर प्रेरित भएँ । मलाई लाग्थ्यो, लेखेर पनि मान्छेले कसरी सन्तुष्टि प्राप्त गर्छ होला ? कसरी जीवन निर्वाह गर्छ होला ? जब म लेखन यात्रामा अग्रसर भएँ तब लेखन क्षेत्रमा पस्नुको मजा बेग्लै रहेछ । बजारमा आएका नयाँ पुस्तक पढ्नुको आनन्द छुट्टै रहेछ। हेरौँ समयले कहाँ पुर्याउँछ । पाठकको प्रतिक्रियाले कति उर्जा दिन्छ । यो भोलिको विषय भयो । आजलाई यत्ति ।
(सल्यान)