एकेक गरी बदलिँदै जान्छन् इन्द्रेनीका सातै रङ्ग
म एक एक गर्दै पालैसँग डुब्छु – पौडिन्छु सबै रङ्गमा ।
घर भित्र- बाहिर इत्रिन्छन् मिठा अनुभूतिहरू
उल्लासहरू खेल्छन् आँगनभरि
कुण्ठाहरू उड्छन् खुल्ला अकासमा
तातो हावा सुस्तरी बहिरहेको उसकै मनजस्तो
बगिरहेको थियो खोला तिर्खाइरहेको थियो बगर ।
तिमी तिम्रा खोल्साहरू सँगालेर गयौ
म पौडिरहेँ मेरा उफानहरूमा
ताराहरू टिल्पिलाउन थालेका थिए बादलभित्र
कुहिरोभित्र अल्मलिएर कराउँदै थियो काग
बाँचिरहेको आशाबाट भइरहन्छ नयाँ सृष्टिको सिर्जना
केही न केही भइरहनु जीवनको एउटा पक्ष होइन र !
(विश्वनाथ, असम, भारत)