आमा ! यसपटक गाँजा खाएको थिइन गाजा आएको थिएँ थाह छैन तिमीले बनाएको खाजा खान फर्केर आउँछु कि आउँदिन ! एक दिन अल्लारे साथीहरूको लहैलहैमा तानेको एक सर्को गाँजाकै कारण बाका क्रोधले बलेका आँखा आमाका सन्तापले बर्सेका आँसु आत्मग्लानी, हिनताबोधले नतमस्तक म बस्नै नसकेर घरमा गाँजा गन्हाएकै मुख लिएर सँघार नाघेको हुँ सहर गएर सुध्रिएको प्रमाण लिई आउन । सुध्रिएको प्रमाण दिएन सहरले आफैँ बिग्रिइसकेछ म पुग्दासम्म बिगारिसकेछन् घुम्ने मेचका अन्धा मान्छेहरूले सहरले मलाई धैर्यता सिकाएन व्यग्रतामा सहरले बरू हिब्रु सिकायो समग्रतामा । हो आमा, सहर अचेल स्वाभिमान र इमान्दारिताको साटो कोरियन, जापानिज र अरबीहरू सिकाउँदो रहेछ ! अरब भास्सिए अरबी सिकेकाहरू कोरिया सुइँकिए कोरियन सिकेकाहरू जापान हान्निए जापानिज सिकेकाहरू म आइपुगेँ छिनछिनमा टाउकोमाथि मृत्यु दौडने सहरमा मसँगै आए हिब्रु सिकेकाहरू । खेतीकै काम तर, बाले गर्ने भन्दा आधुनिक कृषि नै पेशा तर, बाले कमाउने भन्दा तेब्बर सर्प्राइज लिएर बा सामू सुध्रिएको प्रमाण सहित फर्किने अठोट जिउँदै थियो गाजाको सिमाना आइपुग्दासम्म । अचानक --- गाजा बल्यो आमा टाउकै माथि बलिरहेछ थाप्लो रन्काइरहेछ देशले पानी पठाउला र ? सुन्छु, अत्यासमा अतालिएको छ देश बैठकमा व्यस्त छन् देश-नायकहरू तिनीहरूका बैठक सकिँदासम्म म सकिएनछु भने भन्दिनु है बालाई- गाँजा छोडेर गएको म गाजा छोडेर आउँनेछु । आमा ! यसपटक गाँजाको चक्करमा छैन गाजाको बङ्करमा छु थाह छैन तिमीले बनाएको खाजा खान फर्केर आउँछु कि आउँदिन ! (डेनमार्क)