मेरो देशमा माननीयले अपराध गर्दै गर्दैन गरिहालेछ भने पनि सांसदको भत्ता खुवाइन्छ पुलिसको सलाम चढाइन्छ आँखै अगाडि उभिए पनि फरार भनिन्छ। प्रमाण लुकाउन सेटिङ मिलाउन परिवार भगाउन पैसाको खातापाता मेटाउन पत्ता लागेर पनि बेपत्ता भनी भनी समय दिलाइन्छ। सबै कामकुरा मिलेपछि नक्कली गिरफ्तार गरिन्छ, सरकारलाई हतकडी होइन स्यालुट ठोकिन्छ जनतालाई जस्तो हिंड् होइन, सर आइबक्स्योस भनिन्छ गरिबलाई जस्तो भ्यानमा कोचेर होइन कारमा सवारी गराइन्छ कारागारमा होइन हाकिमको क्वाटरमा ज्युनार अनि आराम गराइन्छ। बयानको नाटक गरिन्छ मुद्धाको जाल लगाइन्छ वकालतको ढोल बजाइन्छ न्यायाधीशको न्याय भजाइन्छ अदालतको क्लिन सिट लिइन्छ माननीयको सदाचारको चर्चा हुन्छ, फूलमाला लगाइन्छ दोसाल्ला ओढाइन्छ रातो कार्पेट ओछ्याइन्छ, अनि संसदभित्र छिराइन्छ। मेरो देशमा अपराधी माननीय हुन सक्छ तर माननीय अपराधी कहिल्यै ठहर हुन सक्दैन। (स्युचाटार, काठमाडौं)