वर्तमान असमेली नेपाली साहित्यमा आफ्नो सशक्त उपस्थिति साबित गराउन सक्षम भएका नारी कविहरूमध्ये अन्यतम कवि हुन् काउरीपथार, विश्वनाथ, असमकी कवि निलीमा आचार्य।
‘परिवर्तन र अन्य कविता’ पुस्तकको रूपमा उनको पहिलो कृति भए पनि उनलाई नयाँ सर्जक भन्न मिल्दैन। धेरै अघिदेखि नै उनका कथा, कविता आदि विभिन्न पत्र-पत्रिका अथवा सामाजिक सञ्जालमा प्रकाशित भइआएका हुन् र स्तरीय स्रष्टाका रूपमा परिचित भइसकेकी छन्। हालैमा प्रकाशित उनको कविता पुस्तक ‘परिवर्तन र अन्य कविता’ ले हाम्रो भाषा-साहित्यलाई थप गरिमा प्रदान गरेको छ।
असम नेपाली साहित्य सभा, विश्वनाथ जिल्ला समिति द्वारा प्रकाशित, निजानन्द अफसेट प्रेस, विश्वनाथ चारालीमा मूद्रित, मूल्य भा.रु. 100 रुपियाँ र आइ एस बी एन 978-81-949690-7-5 रहेको कवि निलीमा आचार्यको कविता पुस्तक ‘परिवर्तन र अन्य कवित’ को आवरण पृष्ठले नै धेरै कुरा भनिरहेको छ। छेउमा अँध्यारो छ, तर अलिक पर उज्यालो देखिएकाले एउटा परिवर्तित सुनौलो नयाँ युगको आशा बोकेको अनुभव हुन्छ।
प्रकाशकका तर्फबाट मूल सचिव हेमन्त भट्टराईको प्रकाशकीय, डिल्लीराम खनाल, कृष्णनील कार्की, डा. इन्दुप्रभा देवी, अविकेशर शर्माका शुभेच्छा र अभिव्यक्तिहरूले सजिएको यस पुस्तकको थालनीमा कवि निलीमा आफ्ना मनका कुरा यसरी राख्छिन्- ‘कवितामा रम्न मलाई पनि धेरै राम्रो लाग्छ, त्यसैले धेरै अघिदेखि कवितासँग मेरो साइनो जोडिएको थियो। कुनै रहर, वाद अथवा मान्यतामा मेरा कविताहरू सृष्टि भएका होइनन्। समाजमा व्याप्त कुसंस्कार, वर्ग विभाजन, विसङ्गति आदि देख्दा हाम्रो भित्री मनले चित्कार गर्छ, हुङ्कार गर्न खोज्छ अनि कविता जन्मन्छन् अथवा कविताहरू पनि त्यसैगरी जन्मेका हुन्छन्। समाजमा एउटा नौलो सोच कल्पना गरेकी छु जहाँ केही भेदभाव नहोस…….।’
नारीवादी कण्ठस्वरका रूपमा परिचित हुँदै आएकी कवि निलीमाका अट्ठआइसओटा कविता समेटेको यस पुस्तकमा उनको सोच अब नारीवादमा मात्रै सीमित नरहेर अझ विस्तृत रूपमा देखा परेको छ। उनका केही कविताहरूले समाजमा एउटा योगात्मक परिवर्तनको खाँचो स्वीकारेका छन्, रुढीवाद र विकृतिहरूको अन्त्यको माग गरेका छन्। कुनै कवितामा प्रकृतिप्रतिको कविको माया र हाम्रो दायबद्धता व्यक्त भएको छ भने कुनै कविताले मान्छेको भिन्नभिन्न मानसिकतालाई पर्गेलेका छन्। कृतिको कलेवर सानो भए पनि यसले विस्तृत क्षेत्र समेटेर एउटा गहकिलो काव्यपुस्तक बन्न पुगेको छ। अवश्य, दुइ-एउटा कवितामा विषयवस्तुको सोझो उपस्थापनले गर्दा काव्यमयताको केही खाँचो अनुभूत हुन्छ।
अहिलेको यन्त्रयुगमा मानिसको व्यस्त जीवनशैली र तनावग्रस्त मनस्थितिमा चिन्तित हुँदै कवि निलीमा हाँस्नु किन भन्ने कवितामा हाँसेरै तनावमुक्त रहन सकिने सन्देश दिन्छिन्। उनी भन्छिन्-
...जसरि भएनि, जहाँ भए पनि हाँसेर त हेरौँ मुटुका अवरोध खोलेर त हेरौँ के बिग्रेर जान्छ, के शुद्ध हुन्छ त्यसको हिसाब नगरीकन मनको गिटार रेटेर त हेरौं ।
व्यवहारिक साधनहरूमा पनि प्राण फुकेर जीवन्त पारेकी छन् कविले ‘सारथि, चप्पल’ आदि कवितामा। सारथि कविताले लगभग अतीत हुनलागेको बाइसाइकलको महत्व र गरिमाको सरल काव्यिक उपस्थापन गरेको छ। पाठक पनि साइकलसँगको स्मृति रोमन्थन गरेर नस्टालजिक हुन पुग्छन्। उसैगरी चप्पल कवितामा चप्पलको मर्मवेदना अति मार्मिक ढङ्गले वर्णन गर्दै कविले मान्छेको भोग गर्ने प्रवृत्तिलाई उजागर पारेकी छन्। मान्छेको स्वार्थपूर्तिपश्चात् फालिने चप्पल यस कवितामा गुनासो पोख्छ यसरी-
...घिसार्नु घिसार्यौ हामीलाई हिलोमा गाड्यौ हामीले ऐयासम्म भनिनौं हरेक पाइलामा तिम्रो साथ दियौं..
प्रस्तुत पुस्तक परिवर्तन र अन्य कविता का केही कवितामा कवि निलीमा आचार्यले कतै कतै विम्बको सुन्दर प्रयोग गर्दै काव्यमय गतिशीलता दिएकी छिन् भावहरूलाई। परिवतर्नकामी कवि समाजका कुसंस्कार, अन्धविश्वासहरूमा विचलित हुँदै औंठीलाई आधार बनाएर भाव पोख्छिन् ‘औंठी’ कवितामा। हो पनि। हामीले औंलामा औंठी नचाउँदै छैनौं, हामीलाई आफ्नो औंलामा औंठीले नचाइरहेको छ। उनी भन्छिन्
...चारैतिरबाट घेरेको छ औंठीले हामीलाई औंठीको माकुरीजालमा बेरिएको छ मान्छे ....... बडा ताकत हुन्छ यी औंठीहरूको मान्छेलाई आफ्नो औंलामा नचाउँछन् औंठीले...
कुसंस्कारकै प्रसङ्गमा ‘बोक्सी’कवितामा अत्याधुनिक यन्त्रयुगमा पुगिसकेको मान्छेले अझै पनि रुढीवाद अँगालेको व्यथा पोखिएको छ यसरी-
...ती समाजले उब्जाएका हलाहल विष तल्लो घरकी साइँली बज्यैलाई मात्र किन पिउन दिनु ? यति माथि पुगेपछि क्षितिजको ढोका उघारेपछि खुम्चिन्छ मन किन.. ...अन्धविश्वास भित्रिन दिन्छौ किन घरघरमा ?...
निलीमा आचार्यको कवि हृदय सुनौलो अतीतको रोमन्थनमा भावविभोर हुँदै पाठकवर्गलाई पनि नष्टालजिक बनाउन उत्तिकै सक्षम देखिन्छ। गोरेटो, परिवर्तन, हाम्रो आँगन आदि कविताले यस्तै भाव बोकेका छन्। जस्तै-
...कोही कसैका आफ्ना थिएनन् तर सबै सबैका मनको नजिक थिए धेरै नजिक...(गोरेटो) ...त्यहाँ चीजहरू मात्र किनबेच हुँदैन थियो हाम्रो बजारमा त मायाँ साटासाट हुन्थ्यो हाँसो किन्ने गर्थे गाउँले रोदन बेचेर...(परिवर्तन) ...घरको माथिल्लो तलामा बसेर झ्यालबाट जुनेली नियाल्नेहरूलाई थाहा होला र आँगनमा फुलेको परिजातको बास्ना के हो ? ..... आँगन ठूलो हुनु भनेको त मन विशाल हुनु हो तिम्रा बा-बज्यै सोझा होइनन्, महान हुन् त्यसैले त घरअघि फराकिलो आँगन राखेका छन्...(हाम्रो आँगन)
पुरुष र नारीको पक्षपातलाई दाहिने र देब्रेको अवधारणामा प्रस्तुत गरेको छ ‘दाहिने र देब्रे’ कविताले। दाहिनेले आफ्नो ओहोदा र क्षमतामा जति नै अहङ्कार गरे पनि कुनै बखतमा ईश्वरसामु नतमस्तक भएर ढोग्नुपरेको खण्डमा दाहिनेसँग देब्रे हात पनि जोडिनै पर्ने प्रसङ्गले कवितालाई आलङ्कारिक सौन्दर्य प्रदान गरेको छ। केही हरफहरू हेरौं-
...नतमस्तक छु भगवान, तर अचल छु ....... सँगै हुँदा कहिल्यै देब्रेको महत्व अनुभव गर्न नखोज्ने दाहिने अहिले देब्रेको सम्झनामा दिन व्यतीत गर्दैछ उसलाई अधुरो, खल्लो लाग्छ आफ्नो जीवन देब्रेको अनुपस्थितिमा।
यसरी नै नारीप्रति समाजको दृष्टिकोणमा मर्माहत हुँदै विधवा जीवनको मार्मिक चित्रण गर्नुका साथै समाजसामु केही प्रश्न पनि तेर्साएकी छन् कविले ‘विधवा’ कवितामा-
तिम्र ती हातका हरिया चुरा फुटेका दिन चुराका चोइटाहरूले तिम्रा नाडी रक्ताम्मै भएका थिए तापनि तिमीले ऐया भनिनौ सायद तिम्रो मनको घाउ शरीरको घाउभन्दा ठूलो भएर हो ........ आज मानिस अन्तरिक्ष पुगिसक्ता पनि रूढीवादी समाज किन कहिल्यै विकशित भएन कहिले हुनु हाम्रो झिनो सोचाइको परिवर्तन कहिले पाउनु राँडाको जस्तै मर्यादा विधवा नारीले ???
कवि निलीमा आचार्य प्रकृति ध्वंसकार्यले गर्दा जीवकुलमा आइपर्ने विपदमा मात्र शङ्कित भएकी छैनन्, उनी रुखपातको पीडामा पनि उत्तिकै व्यथित देखिन्छिन् नयाँ युगको निर्माण कवितामा-
...आफ्ना तिखा धारिला दाँतले रेटेर रुखका शरीरभरि घाउ पार्दै ती तेर्साएर राखेका निर्जीव ठुटामा आफ्नो अधिकार जमाउने त्यो मसिन हिजोआज गाउँ पसेको छ कयौं गर्भवती रुखहरूलाई आफ्नो वासनाको सिकार बनाउँदै...
यसैगरी ‘कालो वर्ण” कवितामा रङ्गभेदलाई कुशल ढङ्गले निरर्थक पार्दिन्छिन् कवि सशक्त काव्यशैलीमा। यो कविता पढेपश्चात् पाठकका रूपमा मेरो मनमा उब्जेको भाव यस्तो छ- श्यामवर्णका युवतीहरू साँच्चै नै सौभाग्यशाली छन् किनभने उनीहरूलाई बिहे गर्ने मानिसले बाहिरी रङ्गलाई बिहे गरेको हुँदैन, भित्री मान्छेलाई अपनाएको हुन्छ। यस कविताको एउटै मात्रै पङ्क्ति हेरौं-
…मलाई त खुसी लाग्दथ्यो कि मैले कुनै छालाप्रेमीको प्रेयसी बन्नु परेन….
‘आर्त्त आवाज’ कविताले मानव मनस्तत्वको अनुसन्धान गरेको छ। बाबुको पदमर्यादामा चिनिनु अथवा थिचिनुपरेको शिशुको मानसिक पीडालाई प्रभावी ढङ्गले उभ्याएको छ। पृष्ठपोषणले प्रत्यक्षतः सहुलियत दिए पनि त्यसको परोक्ष असर कोहीबेला नकारात्मक पनि हुन सक्छ भन्ने आभास दिन्छ यस कविताले। केही अंश-
....मलाई मन पर्दैन त्यो आदर्श जो झुटको घडेरीमा निर्माण भएको छ जहाँ मेरा हरेक भूलहरू ढाकछोप हुन्छन् जबकि मेरा साथीहरूका सा-साना दोषहरू अँध्यारामा पनि केलाइन्छन् हजुरको नाउँले मलाई छोप्छ.. ..... त्यसैले मैले भनेको बाबा मलाई पनि रामे, चामे, हर्के बन्न दिनु आफ्नो परिचय आफैँ बनाउन दिनु।
बेलाबखत प्रकृतिको दुर्जेय शक्तिप्रति नतमस्तक हुँदै पोखिएको भाव पाइन्छ ‘शिशिर’ कवितामा। सबैलाई आफ्नो धरातल याद दिलाउने, सीमावद्धताको बोध गराउने कारक प्रकृतिमा अवश्य छन् भन्ने कुरो व्यक्त हुन्छ यसरी-
....वर्तमान रूद्र रूप धारण गरी बग्ने प्रलयकारी नदीको निम्ति आफ्नो अस्तित्वको पहिचान गराउने एउटा ऐना हो शिशिर।
वास्तवमै निलीमा आचार्यलाइ सामयिक कालकी एउटी कुशल कवि भन्न सकिन्छ। ‘परिवतर्न र अन्य कविता’ ले त्यही भन्दैछ। हुनत अघिदेखि नै उनी सिपालु स्रष्टाका रूपमा चिनिएकी हुन्। प्रस्तुत पुस्तकमा धेरैजसो कविता नै स्तरीय छन्। भाव पोख्ने हतारमा केही कविताहरूमा काव्यिकताको केही कमी पाइए तापनि भावपक्ष भने प्राय सबैजसो कविताको दह्रो छ।
असमेली नेपाली काव्यजगतमा प्रत्याशित उपस्थिति दर्शाएको यस पुस्तकले निसन्देह नेपाली साहित्यको गरिमा बढाएको छ। परवर्ती समयमा पनि स्रष्टा निलीमा आचार्यद्वारा नेपाली साहित्य धेरै उपकृत हुने सुलक्षण देखिन्छ। स्रष्टालाई शुभकामना।
(विश्वनाथ, असम)