“बुहारीलाई तपाईहरू के भन्नु हुन्छ ?”
“बुहारी, दुलही, दुलही नानी ।” साथीहरूको विभिन्न जवाफ आयो ।
“त्यही भएर त तपाईहरूको बुहारीलाई हेला गर्नुहुन्छ । हाम्रो जातमा त बुहारीलाई छोरीभन्दा पनि ठुलो मानिन्छ । थाहा छ किन ? हामी बुहारीलाई नानी भन्छौं । नानीको अर्थ थाहा छ तपाईहरूलाई ?”
“सानो मान्छे, प्यारो मान्छे,……” हाम्रा आ–आफ्नै आँकलन थियो । तारानिधि, प्रमोद प्रधान, राजेन्द्रमान लगायतका साथीहरू संवादमा हुनुहुन्थ्यो ।
“नानी भनेको आँखाको नानी हेर्नुस त ।” उनले आँखा देखाए । “आँखाको नानी कति प्रिय हुन्छ हैन त ? हो बुहारी भनेको त्यही हो । बुहारीलाई हेर्नुछ भने ऐनामा गएर हेर्नु ।” उनले थपे । सोमरसको तालमा नै सही बुहारीलाई हेर्ने एउटा दार्शनिक दृष्टिकोण भने भुजेल दाइले अभिव्यक्त गरे ।
अक्लाङको आँगनमा उभिँदाको सम्वाद थियो यो ।
कुहिरोलाई छिचोल्दै पहाडलाई फन्को मारेर हामी अक्लाङ आइपुगेका थियौँ । तलतिर हाम्रो बाटो छेक्न आइपुगेको कुहिरो सायद ओसको बोझले यहाँ उक्लन सकेको थिएन ।
हामी तीन दिनदेखि आँबुखैरेनीमा थियौँ । बाल बाङ्मय तथा अनुसन्धान केन्द्रको बार्षिक साधारण सभा बाल सिर्जना महोत्सबका रुपमा मनाउन काठमाडौदेखि हामी बाङ्मय १७ जना सदस्यहरू यहाँ आएका थियौँ । मंसिर २३ गते पुस्तक विमोचन र परिचर्चा कार्यक्रम, मंसिर २४ गते बालबालिकाहरूका लागि अभिनय, चित्रकला, कविता लेखन, कथा लेखन, निबन्ध र संस्मरण लेखन प्रशिक्षण कार्यक्रम थियो । २५ गते अर्थात आज छिम्केश्वरी लेकमा नियात्राकार राजेन्द्रमान डङ्गोलको नविनतम कृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’ कृति परिचर्चा कार्यक्रम थियो । त्यसैका लागि हामी उक्लदै थियौँ । वक्ताका रुपमा तारानिधी भट्टराई र सिर्जना शर्मा, टिप्पणीकारका रुपमा प्रमोद प्रधान र म आफैं थिएँ । यात्रामा बाङ्मयका साथीहरूमात्र थिएनन् । यस यात्रामा तनहुँबाट जोडिनुभएको छ आकाश अधिकारी, शिव आर्य, प्रोल्लास सिन्धुलीय र जमुना श्रेष्ठ पनि । राजेन्द्रमान डङ्गोल काठमाडौंदेखि नै हामीसँग हुनुहुन्छ ।
“हैन कति घना कुहिरो हो ?” प्रमोद सरको जिज्ञासामा गाडी चालक दिनेश थापा भाइले भनेका थिए, “माथि त घाम लागिरहेको होला सर । माथि चाहीँ कुहिरो उक्लदैन ।” नभन्दै यहाँ कुहिरो थिएन । दिनेश भाइको घर यहीँ रहेछ । कुहिरो बीच जङ्गलै जङ्गलको बाटो हुँदै यहाँ आइपुग्दा हामीले दुईवटा पहाड नाघिसकेका थियौँ ।
जरेबरबाट उक्लेर आँबुटार पार गरेपछि पहिलो पहाड सकिएको थियो । पहाड नाघेर ओर्लदा गोरेटो बाटो साथमा लिएर तेर्सिएको सिउडी खोलासँग भेट भयो । सिउडी खोलाको बारेमा दिनेश भाइले सुनाएको कुराले अलिकति अतिततर्फ फर्काएको थियो मलाई । ‘पहिलाका मान्छेहरू यही बाटो भएर ठोरी जान्थे ।’ दिनेशभाइले जानकारी त दिए तर त्यसभन्दा बढी नुन आयात हुने ठोरी मार्ग बारे उनलाई खासै थाहा रहेनछ । सडक मार्ग बन्नु अघि गोर्खा, तनहु र लम्जुङका मान्छेहरू नुनको ढाकर बोकेर यही बाटो भएर ठोरी पुग्थे र नुन बोकेर फर्कन्थे । मेरो बाल्यकालको धुमिल स्मरणलाई ताजा गराउँछ ठोरीको प्रसङ्गले । गाउँमा ठोरीको यात्रा उत्सव जस्तो हुन्थ्यो । ढाकरभरी खाने सामल बोकेर यात्रामा निस्कन्थे मान्छेहरू । नुन तेल किलमेलमा जाने भरियाहरूलाई विदाइ गरिथ्यो भने हप्ता दश दिनपछि फर्कंदा झन उत्सव जस्तै हुन्थ्यो ।
“ऊ त्यही हो हामी पुग्नु पर्ने ठाउँ ।” दिनेश भाइले छिम्केश्वरी पहाडतिर देखाए । नजिकै केही उत्तर पूर्वतर्फ ढल्किएर रहेको छिम्केश्वरी पहाड देखियो । माथमा वृक्षहरूको टोपी सिउरेर छिम्केश्वरीको शिर उभिएको थियो । मैले छिम्केश्वरी मन्दिर रहेको पर्वत शिखरतिर आँखा डुलाएँ । पुनुपर्ने अझै निकै माथि थियो ।
मनमा लाग्यो– ‘सूर्योदयको दृश्यको लोभ देखाएर टाइगरहिल र अन्तुडाँडाले पर्यटकहरूलाई तानिरहेको छ । पोखराले साराङ्कोट देखाएर डलरको खेती गरिरहेछ । के छिम्केश्वरीले त्यसो गर्न सक्दैन ? पोखरा पुग्ने पर्यटकलाई एक रातमात्र यहाँ रोक्न सक्ने हो भने पनि पर्याप्त हुनेछ यहाँको लागि । पोखरा हुँइकिन चाहने आन्तरिक वा बाह्य पर्यटकहरूलाई होमस्टेको न्यानो आतिथ्यता प्रदान गर्न सक्छ । सूर्योदयको दृश्वावलोकनको लोभ देखाएर आँबुखैरेनीबाट छिम्का लेकतिर उकाल्न सक्छ । यतिमात्र गर्ने हो भने पनि यहाँका बस्तीहरू मानवविहीन हुनबाट रोकिने थिए ।’
“अहिले त हिउँदको समय भयो, उराठिलो पहरा मात्र देखिन्छ । यदि वर्षाको समयमा आउनुभयो भने त्यो पारिको पहराहरूमा झर्ने झरना कति सुन्दर देखिन्थे ।” ड्राइभर भाइले थपे । ‘साँच्चै पहाडको शिरबाट छङ्छगाउँदै पानीका लहरहरू तल फाल हान्दा कति सुन्दर देखिदो हो ? तर के वर्षाको समयमा यस क्षेत्रको यात्रा यति सहज हुन्छ होला र ?’ मनमा यस्तै भाव तरङ्ग उठ्यो ।
अक्लाङको आँगनमा उभिएर हामी छिम्कालाई नियाल्दै थियौँ । “गाडीले हामीलाई कहाँसम्म पुर्याउँछ भाइ ?” तारानिधी भट्टराईले सोध्नुभयो । भूगर्भशास्त्रका प्रध्यापक उहाँ विज्ञान र भूगर्भका जटिल कुराहरूलाई बालबालिकाहरूलाई सरल भाषामा बुझाउनका लागि बालसाहित्य सिर्जनामा लाग्नुभएको साहित्यकार हुनुहुन्छ ।
“मन्दिरको फेदीसम्म पुगिन्छ सर । त्यहाँबाट एक घण्टाजति हिड्नु पर्छ ।” उनले जानकारी दिए ।
“अनि बाटो नि ? कस्तो छ ?” कसैले सोध्नुभयो । “यहाँबाट माथि लागेपछि केही ठाउँमा राम्रो छैन ।” जवाफ आयो । हाम्रो सौचादि कर्म र दिनेश भाइको परिवारिक भेटघाट सकिएपछि फेरि उकालो लागियो ।
भाँगे स्थित छिम्केश्वरी मा.वि. बाट अझै नजिक देखियो छिम्केश्वरी लेक । अँधेरी भज्याङमा क्षणिक बिश्राम लिदै असैनीको फल टिप्न ओर्लिएका थियौँ हामीहरू । पछाडि रहेको अनिल जी चढेको गाडीले उछिनेर गएपछि तारानिधी सरको ठट्यौलो टिप्पणीले एकछिन रौनक जमायो । “हैन, आफ्नो मन र मुटुलाई चटक्कै छाडेर अनिल जीले यसो गर्नुहोला जस्तो त लागेको थिएन । हैन जमुना बैनी, केही गडबड छ कि क्या हो ?” तारानिधी सरको ठट्टा थियो । गाडीमा हाँसोको फोहारा छुट्यो । उहाँ फिस्स हाँस्नुभयो । “हैन, उहाँको मन र मुटु नै हामीसँग भएपछि हामीलाई के को डर ।” बाल साहित्यकार प्रमोद प्रधानले थप्नुभयो ।
अँधेरी भञ्झ्याङमा गाडीको क्षणिक बिश्राम फलको लोभमात्र थिएन पछिल्लो गाडीलाई पर्खने बहाना पनि थियो । यस यात्राको संयोजन तनहँु स्रष्टा समाजका अध्यक्ष रहनुभएको साहित्यकार अनिल श्रेष्टले गर्नु भएको थियो । दुई घण्टा उकालो चढ्दा पनि खाजा र खानाको समय र गन्तव्य बारे साथीहरू अन्योलमा थिए । पेटमा मुसा कुद्ने सुरसार गरेकाले सायद यो कटाक्ष आएको थियो । गाउँको अर्गानिक मकै भटमासको अर्नीमा रमाउन बेग्लै आनन्द हुने हुनाले व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो तारानिधी सरले । तर त्यसको व्यवस्था बारे भने हामी अनविज्ञ थियौँ ।
लाब्दीको होमस्टेमा हामीले कल्पना नै नगरेको स्वागत समारोह थियो । गुरुङ भेसभुषमा सजिएका चेलीहरूले पूmलमालाद्धारा गरिएको स्वागत साँच्चै आल्हादित थियो । साथीहरू फोटो खिच्न हतारिँदै थिए । मन मनै धन्यवाद दिएँ यस यात्राका संयोजक आँबुखैरेनी स्रष्टा समाज र साहित्यिक मित्र अनिल श्रेष्ट अनि सहयोग गर्ने आँबुखैरेनी गाउँपालिकालाई । छिम्केश्वरी क्षेत्रको दीर्घकालीन विकासको गुरुयोजना अन्तर्गत १४ वटा होमस्टे सञ्चालनमा रहेछन् यहाँ ।
आँबुखैरेनीबाट उकालो लागेको दुई घण्टाभन्दा बढी भइसकेको थियो । चियाको तातो सुर्कोसँगै मकै भटमास चपाएर सकेपछि हामी फेरि उकालो लाग्यौँ । लगभग बीस मिनेटको गाडीमा र एक घण्टा जति पैदल हिडेपछि छिम्केश्वरी डाँडाको चिसो हावाले हामीलाई स्वागत ग¥यो । असिनपसिन हुँदै सकिनसकि उकालिँदाको थकान छिम्केश्वरीको थाप्लामा पाइला टेकेपछि छिनभरमा नै हरायो ।
“गाउँपालिकाले अहिले पर्खाल लगाइ दिएपछि मन्दिर घुम्न मिल्ने भएको छ । नत्र त पछाडि जान नै मिल्दैनथ्यो ।” मन्दिरलाई फेरो मारेर हेर्न खोज्दा नजिकै उभिनुभएको पूजारीले जानकारी दिनुभयो । नभन्दै मन्दिरको पछाडिपट्टि छङ्गाछुर भिर थियो ।
‘न बस्तीको चाप न त सुगम मार्ग, न त पूर्व भुरे टाकुरे राजा नै । हैन, यस्तो अनकन्टार पहाडमा किन स्थापना गरियो होला छिम्केश्वरी मन्दिर । खैरेनीको जरेबरबाट कति समयमा यो डाँडामा देवीको दर्शन गर्न आउँथे होलान् दर्शनार्थीहरू ?’ मनमा यस्तै भाव तरङ्ग उछालियो । ‘सायद देउरालीमा थान बनाएर पाती चढाउने नेपाली समाजमा विद्यमान पहिलाको प्रचलन अनुसार भोटेस्वाँरा, हिलेखर्क, लाब्दी आदिका बासिन्दा वा पहिलाका गोठाला वा बटुवाहरूले थान मानेर पूmल चढाउन थालेपछि छिम्का लेक छिम्केश्वरी पहाडमा परिवर्तन भयो होला । अनि जोडिदै गए होलान् अनेकौं किम्वदन्तीहरू, आखिर लोकको कल्पनाशीलता न हो ।’
“नयाँ वर्ष र बुद्धपूर्णीमामा यहाँ मेला लाग्छ ।” हामीसँगै यहाँ उक्लनुभएको महिला वडा सदस्य सन्तमाया गुरुङको जानकारी दिनुभयो ।
“पल्लो डाँडामा बुढीमाई रहेको छ । हाम्रो कार्यक्रम त्यहीँ हो । त्यहाँ मन्दिर छैन, थुम्को मात्र रहेको छ । त्यहाँको मूर्ती पनि चोरी भयो ।” स्थनीय शिक्षक साथी सूर्यमानबाट प्राप्त जानकारी । लाब्दीबाट सूर्यमान, लक्ष्मण गुरुङ, सन्तमाया हाम्रो यात्रामा सँगै हुनुहुन्छ । हामी लाब्दी भोटेस्वाँराको थाप्लोमा रहेको बुढीमाईको आँगनमा पुग्यौँ । छिम्केश्वरीको मन्दिर निर्माणाधिन अवस्थामा देखिन्थ्यो तर यहाँ मन्दिर थिएन । टुटेको अवस्थामा बुढीमाईको मूर्ति आकाशलाई ओत बनाएर उभिएको थियो । ‘यस्तो डाँडामा भत्केको घर !’ भग्नाबशेष अवस्थामा नजिक रहेको घरमा हाम्रा जिज्ञासु आँखाहरू तानिए ।
“यो घर सञ्चार टावरका लागि बनाइएको थियो । तर द्वन्द्वकालमा माओवादीहरूको अवरोधको कारण यो पूरा भएर प्रयोगमा आउन सकेन ।” नाटककार आकाश आधिकारीले हाम्रो जिज्ञासा मेटाउनु भयो । “द्वन्द्वको अन्त्य पछि पनि यसलाई बनाउने र उपयोग गर्नेतर्फ कसैले चासो नदिएकाले यस हालतमा रहेको छ यो ।” अनिलले थप्नुभयो ।
मैले अनिल जीको ‘टाइगर हिलकी पुनम’ सम्झेँ । ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरू’ संस्मरणात्मक निबन्धमा यी हरफहरू साभार थिए–
कफ्र्यु लाग्यो गाउँबेसी नदीनाला भीर
फेरि पनि उच्च रह्यो छिम्कालेक शीर ।
त्यतिखेर लागेको थियो– सायद छिम्का रोल्पा रुकुमतिरको कुनै लेक होला । किनकी यो द्वन्द्वकालमा लेखिएको थियो । द्वन्द्वकालको समयसँग रोल्पा रुकुम नै अभिन्न भएर आउँथ्यो मानस पटलमा । त्यसैले छिम्का लेक कहाँ पर्छ खोज्नेतिर लागिएन । धेरै पछिमात्र थाहा भयो छिम्का लेक तनहुँ जिल्लाको सबैभन्दा अग्लो पहाड हो भनेर ।
दश वर्षे द्वन्द्व कसैका लागि सपनाको यात्रा र कसैका लागि कहरको भारी थियो होला । सत्ता परिवर्तन होलान् तर भोलिको इतिहासले बिर्सन नसक्ने एउटा अभिन्न पाटो हो द्वन्द्वकाल, जसको बलमा नेपालमा गणतन्त्रको उदय सम्भव भयो, जनतामा चेतनाको स्तर बढ्यो । त्यसैले यहाँ स्थित यो खण्डहरलाई संरक्षण गर्ने हो भने भोलिका लागि अतितलाई सम्झाउने जिवन्त सङ्ग्रालय बन्न सक्छ र पर्यटकहरूलाई आकर्षित गर्न सक्छ । किनकि द्वन्द्वकाल आगामी पुस्ताको लागि किम्वदन्ती बन्ने निश्चित छ । द्वन्द्वकालीन घाउहरू देखाएर अब तय गर्नु पर्ने बाटो सम्झाउन र पाठ पढाउन पनि यस्ता स्मारकहरू आवश्यक छन् भन्ने लाग्छ मलाई ।
‘तनहुँसँग हिमाल छैन त के भयो ? छिम्केश्वरी लेकमा पर्यटकहरूलाई उकालेर हिमश्रृङ्खलाहरूको सुन्दर दृश्यहरूको अवलोकन गराउन सक्छ । मैले त्यसै कहाँ लेखेको हुँ र !’ नियात्राकार राजेन्द्रमानले पूर्व पश्चिम फैलिएर लहरै उभिएका हिमश्रृङ्खलाहरू देखाउँदै भन्नुभयो । कुरा पनि ठिकै थियो । न त उच्च पर्वत यात्राको कठिनाइ न त लेक लाग्ने डर । दन्त लहर देखाएर मुस्कुराए जस्तै हिमश्रृङ्खाहरू यहाँबाट हेर्न सकिन्छ । त्यतिमात्र कहाँ हो र, दिन स्वच्छ परेछ भने भित्री मधेशको समथर फाँट यहीँबाट हेर्न सकिन्छ ।
“ऊ त्यो धवलागिरी, त्यो माछापुच्छ्रे त्यो अन्नपूर्ण, त्यो मनासुलु र त्यो गणेश हिमालका श्रृङ्खलाहरू हुन् ।” पर्यटन व्यवसायी पनि रहेका राजेन्द्रमानमा हिमाल बारेकोे ज्ञान लोभ लाग्दो छ । उहाँले पश्चिमबाट पूर्वतिरको हिमश्रृङ्खाहरू क्रमशः चिनाउनु भयो ।
मैले चारैतिर आँखा डुलाएँ । तल फेदीमा मस्र्यङ्दी बाँधले बनाएको ताललाई छातीमा लिएर सत्रसय फाँट लमतन्न सुतेको थियो । अलिपर गोरखाको पाल्ुङटार लमतन्न परेरै सुतेको देखिन्छ । मुग्लीनबाट आकास छुन लागेको देखिने मनकामना डाँडा फुच्चे देखिन्थ्यो । मनकामनाको उचाइमा पुगेर आपूm निकै माथि आइपुगेको अनुभूति गरेर रमाउने मनहरूलाई यहाँ डोर्याउन सक्ने हो भने उनीहरूको मन आनन्दले कति बुर्कुसी मार्दो हो ? मलाई हेर्ने भए यहीँ आउनु पर्छ, त्यति टाढाबाट किन हेर्न दिने भने झैं बन्दिपुरलाई छेकेर उभिएको छ दक्षिणतिर साल भन्ज्याङ र रानीवन डाँडो । खैरेनी बजार निकै तल कतै हराएको छ । पहाडको छेलमा परेको खैरेनीले सायद कुहिरोको घुम्टो अझै छाड्न सकेको छैन होला । अलि तल पहाडको बिचोबिच नागबेली बनाएर तेर्सिदै थियो बन्दीपुर पुग्ने धुले सडक । मेरो आँखाले ठोरी मार्ग खोज्यो तर सिउडी किनारै किनार ठोरी जाने उबेलाको नून मार्ग बिच पहाडतिरै कतै अलप थियो ।
‘पैतालामा हिउँ, आँखामा हिमाल’ पुस्तकको परिचर्चा कार्यक्रमको तयारीमा छन् साथीहरू । मेरो मनमा भने बेग्लै विचारहरू बुर्कुसी मारिरहेका छन् । शहरमा भ्युटावर बनाउने होडबाजी चलेको छ । यता प्राकृतिक भ्युटावरहरू प्रकृतिक दृश्यका पारखी र आकांक्षीहरूलाई पर्खेर बसिरहेका छन् । भ्युटावर बनाउनेहरूको दृष्टि यतातिर कहिले पर्ला ?
सदरमुकाम दमौली सरेपछि मुर्झाएको बन्दीपुर साख जोगाउन जागरुक छ, परम्परागत संस्कृति र कलालाई ज्यूँदो राखेर महत्वपूर्ण गन्तव्यस्थलको रुपमा आपूmलाई उभ्याउन रस्साकसी गरिरहेको छ । छिम्केश्वरी लेकलाई आफ्नो प्राकृतिक धरोहरका रुपमा उभ्याएर आँबुखैरेनी गाउँपालिकाले आपूmलाई चिनाउन किन सक्दैन ? छिम्केश्वरीको फेदीसम्म सडक मार्ग पु¥याएर यसको सुरुवात भने गरेको छ ।
सडक पुग्नु नै विकास हो भन्ने भ्रम छ हामी धेरैलाई । यसले विकाससँगै विनास र विकृति पनि भित्रिएका थुप्रै उदाहरणहरू छन् । सडके विकासले रैथाने महत्वका ज्ञान, सिप र उत्पादनहरू विस्थापन भई परनिर्भरतालाई मलजल गरिरहेको कुरालाई बेवास्ता गरिएको छ । त्यसैले स्थानीय स्रोत, साधन र सम्पदाको संरक्षण र प्रचारप्रसार गरिनु विकासको अर्को पाटो हो । यसबाट स्थानीय मौलिकतालाई पस्किएर स्थानीय जीवनस्तर उकास्न सकिन्छ । बस्तीहरू जनसून्य हुनबाट रोक्न सकिन्छ ।
छिम्का लेकमा उभिएर खैरेनी झर्ने धुले सडक नियाल्दै गर्दा यसको भविष्य के होला ? मनमा प्रश्न जन्मियो । यस्ता कैयौं छिम्काहरू मानव विहीन बन्दै गएका छन् । सुविधाको खोजमा बस्तीहरू सून्य बन्न थालेका छन् । विकासको गोरेटोको रेखाचित्र कोर्न थालिएको यहाँको भविष्यचाहिँ के होला ? आँबुका मान्छेहरू खैरेनी झरेपछि आँबुखैरेनी बनेको इतिहास यसैसँग छ । स्थानीय निकाय, प्रदेश हुँदै केन्द्रीय योजना मातहत नै यहाँ पर्यटन मार्ग खोलिदै त छ, के त्यतिले मात्र हिजो खैरेनी बनेर आँबु रित्तिए जस्तो नियति भाँगे, अक्लाङ, काया, ध्याङ्सी र लाब्दी जस्ता गाउँले भोग्नु नपर्ला ? गाउँ रित्तिन नदिन के प्रयत्न गरिएला ? सडक उकाल्दैमा पर्यटक कहाँ उक्लन्छन् र ? उक्लिहाले पनि यदि उनीहरूलाई यी गाउँमा एक रात पनि भुलाउन सकिएन भने यहाँको जनजीवनमा के नै फरक पर्छ र ? यतातिर स्थानीय सरोकारवालाहरूको ध्यान गएको छ कि छैन होला ?
सहज मार्ग निर्माण पहिलो प्रयास हुनसक्छ । दोस्रो सुविधायुक्त र व्यावस्थित होमस्टेको सञ्चालन । तेस्रो महत्वपूर्ण कार्य हो यसको प्रचारप्रसार । यहाँको प्राकृतिक सौन्दर्य र साँस्कृतिक महत्व झल्कने खालका सामाग्रीहरू प्रकाशन गर्न सकिन्छ । पर्यटन व्यवसायीसँग सहकार्य गरेर पोखरा भ्रमण प्याकेजमा छिम्केश्वरीलाई समावेश गराउन सक्ने हो भने यो क्षेत्रको दीर्घकालीन पर्यटन विकास संभव छ । पर्यटकहरू नयाँ गन्तव्यको खोजीमा हुन्छन् । पोखरा प्याकेजमा छिम्केश्वरीलाई थपिँदा पर्यटकहरू परम्परागत आतिथ्यमा डुबुल्की मार्न पाउनेछन् । यसको बारेमा कस्तो योजना बनिरहेको होला ?
पुस्तक परिचर्चाको कार्यक्रम सँगै थुप्रै प्रसङ्गहरू मनमा लहरिदै थिए ।
छिम्केश्वरी पहाडबाट हिमाल आँखा निर
पहाडको हिरा हो कि ? तनहुँको शिर ?
आकाश अधिकारीको वातावरण सम्बन्धित सडक नाटक अनि कविताको टुक्राले एकछिन सोचमग्न पार्यो । महाभारत पर्वत मालाको तेस्रो उच्च शिखर छिम्केश्वरीसँग के छैन ? छिम्केश्वरी लेकसँग सुनाखरी छ, गुराँस छ, धार्मिक महत्व बोकेको छिम्केश्वरी मन्दिर छ, साँस्कृतिक महत्व बोकेको गुरुङ संस्कृति छ अनि सुन्दर हिमश्रृङ्खलाहरूको दृश्यको ताज पहिरिएको छ । छिम्केश्वरी धार्मिक आस्था काखीमा च्याप्दै अनन्त संभावनाहरू बोकेर समयको प्रतिक्षामा उभिएको छ । समय मिल्यो भने कुनै दिन फेरि यहाँ उक्लेर धित मर्ने गरी यहाँका सौन्दर्यलाई मनमा पोको पार्ने मौन बाचा गरेँ छिम्केश्वरीसँग र छिम्केश्वरीको सानिध्यतामा पुस्तक परिचर्चामा दुई घण्टा बिताएपछि साथीहरूको ओरालिएको पाइलामा पाइला मिलाएँ ।
(२०७८ मंसिर २५)