जीवन एकैनासले चल्दैन । एकैनासले चल्योभने त्यति मज्जा पनि आउँदैन । म ०७३ जेठ १ गते अचानक बिरामी भएँ, पक्षघात तथा मस्तिष्कघात भएछ । जीवनयात्रामा अलिकति ठेस लाग्यो, यथोचित उपचार तथा यहाँहरु सबैको उत्साहले आज मानसिक रुपमा त पूरा निको भयो । शारिरिक रुपमा पनि कमजोर छु भन्ने लाग्दैन । यस घटनाले मलाई अझै बलियो त बनाएन ? वा अझै सबल त बनाएन ? अझै दृढ त बनाएन ? यहाँहरुसँग अझै आत्मीयता त बढाएन ? यही कुराको आत्मपरीक्षण गर्दै थिएँ आजसम्म । लाग्छ, परिणाम सकारात्मक निस्क्यो र विचारको अथवा लेखनको बजारमा निस्केको छु । यसो पनि हो, आज जीवनको अत्यन्त सुखद क्षणको अनुभुति गर्दैछु । यो क्षण, बिगतकोभन्दा मज्जाको क्षण हो, अतुलनीय मज्जा….! यो मेरो दोस्रो जीवनयात्राको औपचारिक लेखनको श्रीगणेश हो यद्यपि अनलाइनतर्फ खुद्रा कुरा भए होलान् ।
म बिरामी हुँदा यस्तो दुःस्वप्न देखेँ– एउटो सूर्य अझै पनि निन्याउरो मुख लगाएर पूर्वबाट झुल्कन्छ । उसले प्रकाश दिन सक्दैन । उसमा कुनै परिवर्तन छैन, रुझेको सूर्य । न उसमा अयनको ख्याल छ, न ऋतुको ज्ञान छ । केवल झुल्कनु र अस्ताउनु उसको काम हो । उता आकामा सहस्र ताराहरु छन्, अझ नौलाख छन् भन्छन् । ती ताराहरुले पनि चकमक्क उज्यालो दिनुको सट्टा लुछुप्प भिजेका निन्याउरा देखिन्छन् । मानौं ती ताराहरु समुद्रको किनारमा ज्वार–भाटाको चेपुवामा परेर फालिएका, मरेका सिद्रा हुन् र त्यसैमध्ये मृत्यु पर्खेका सिद्रा यदाकदा छट्पटाएको जस्तो देखिन्छ ।
वन जङ्गल उजाड छ । बुढा रुखहरु ढलेका छन्, साना हुर्केका छैनन् । ढलेका रुखहरु न दार काम लाग्छन् न त दाउरा नै । डढेलो लागेको छ । चराहरु बासको निमित्त छट्पटाएका छन् । मैदानका गँगटाहरु सधै मछुवारको जालमा फसेका जस्ता, खुट्टा भाँचेर मछुवारले झोलामा हाल्दासम्म पनि के के नपुगेका जस्ता, असन्तोषी देखिन्छन् । अरु वस्तु, जीव आदि पनि अल्लारे, बेरोजगार, पलायन, भगौडा– यस्तै यस्तै लाग्यो । यसको मतलव मेरो मानसिकता स्वस्थ रहेन । मेरो परिकल्पना फाटेको दूधजस्तो वा तम्केको मोही जस्तो रह्यो ।
त्यस अवधिको मेरो स्वप्नमा रुने मान्छेहरु रोएको रोयै, नाङ्गाहरु उस्तै, रोगीहरु झन् रोगी, भोकाहरु सधै भोकै, यस्तो लाग्यो मानौं; म अर्कै लोकमा छु जहाँ मान्छे मरेर मात्र जान्छन् भन्छन् । यस्तै माझमा देश चलाउने सरकार छ त्यहाँ पनि । सरकारमा जाने हकवालाहरु सरकारमा जाने र फर्कनेको होडमा कतै चाकाचुली खेल्दैछन्, राइँचुइँ खेल्दैछन् । घाम झुल्कँदाको समय दिन हुन्छ र अस्ताएपछि रात हुन्छ । यो प्रकृयालाई कसैले मैले क्रान्ति गरेर भएको हो भन्न मिल्दैन । यहाँ त्यस्तै होड चलेको पाइयो । ‘बहर गोरु कांशी गए बुढा गोरु हुक्काँ’ भन्ने कुरा चरितार्थ भएको पाइयो । दलहरुले चुनाव चिन्हलाई आदर्श र धर्म मान्ने, सिद्धान्त पोखिएका, परिकल्पनाको नर्क, पापी, अनैतिक यस्तो लाग्यो त्यो संसार अर्थात त्यो लोक । जब मेरा आँखा खुले, स्वप्न भङ्ग भयो, पुरानो मानसिकतामा परिमार्जन भएको अनुभुति भयो ।
यथार्थ जीवनमा आउँदा, वास्तवमै हामीहरुमध्ये धेरै हामीहरुले दुःस्वप्न देख्ने रहेछौं । देश बनेकोभन्दा बिग्रेको परिकल्पना बढी गर्नु, देश बर्बाद भएको कुरा बढी देख्नु, देश डुबेको मात्र बढी देख्नु, अथवा नकारात्मक कुरा बढी देख्नु मस्तिष्कघातको समस्याजस्तै हो भन्ने लाग्यो । आज शिक्षाको टुकीबाट बिजुली बलेको छ तर मनमा उज्यालो छैन । कहिले अन्धकार हुँदा पनि रछायँ रछायँ उज्यालोलाई प्रगति मान्ने र कहिले दोप्पहरको उज्यालोमा सन्तुष्ट हुन नसक्ने परिस्थिति झेलेका हामीहरु आजको उज्यालो रमाउन सकेका छैनौं । प्रगति– रोएर, चिच्याएर मात्र हुँदैन बरु पुगेनभने अझ बढी श्रम गर्ने हो । हामीमा त एक प्रकारको अरण्य रोदन, इष्र्या, जलन, बेमेल, आलस्यता आदि रोग छ ।
म प्राविधिक रुपले त बिरामी मान्छे, मैले चिन्ता गरेर के हुन्छ ? म आत्तिएर के हुन्छ ? मैले लेखेर के हुन्छ ? यस्तो पनि लाग्ला । म एक्लो छैन । मेरो साथमा तपाइँहरु हुनुहुन्छ । यसो पनि भनुँ– म यहाँहरुको साथमा छु । यस्तो चिन्तन उत्पन्न भएको छ । यस्तो हुनु पर्छ हामी । १ सयवटा काममा ९९ वटा काम नकारात्मक भए पनि एउटै सकारात्मक कामले बाजी मार्न सक्छ । त्यो उद्येश्यमा हामी लागौं, त्यस चिन्तनमा हामी लागौं ।
आजसम्म सबै समय ब्यर्थै त नभनुँ तर धेरै समय ब्यर्थमा खेर गएछ । अनिकालमा पनि बिउ जोगाउनु पर्छ भन्छन्, हामीले न त बिउ जोगाउन सकेका छौं न त जिउ जोगाएका छौं । जीउको महत्व मरेपछि के थाहा हुन्छ र ? अनि सामान्य अवस्थामा पनि जिउको महत्व हामीले बुझेका हुन्नाँै । जिउ त रमाएर खाने वा मोजमस्ती गरेर बस्ने अर्थमा कतिले बुझेका हुन्छन् । मैले नै त्यस्तै बुझेँ । बिगतमा संघर्ष त गरियो तर के गरियो ? त्यसोभए अब के गर्ने त ?
हामीले जे सुकै काम गरौं, सुल्टो चिन्तनका साथ गरौं । हो, अम्मलीले अम्मल छोड्न तबसम्म सक्दैन जबसम्म उसले त्सयबाट हुने पीडा भोग्दैन । पीडा भोग्दासम्म उ मान्छे फतक्क गल्छ । शरीर गल्छ, मानसिकता गल्छ । कति मान्छेको उमेर छिप्पिएपछि बैँसमा चाहिने विवेक आउँछ जबकि उसको विवेकले उसैलाई कहिल्यै सहयोग गर्दैन । यी सबै महसुस हुन हामी यथा समयमै संवेदनशील हुनु आवश्यक छ । यही सन्देशयुक्त झापड म बिरामी भएपछि महसुस गरेँ ।
हामी धेरैले निजी तथा सार्बजनिक जीवनमा अलि बढी इष्र्या पालेका छौं । राजनीति त इष्र्याले जलेको छ, डढेको छ । हामीले इतिहास पढेर त्यसको समीक्षा गर्ने हो । इतिहासलाई अध्ययन गरेर वर्तमान तथा भविष्यमा लागु गर्ने हो । अचम्मै छ, हामीले इतिहासलाई नै वर्तमानमा घिसारेर तुलना गर्छौं । उहिलेका पृथ्वीनारायण शाहलाई आजको आँखाले हेर्नु, भानुभक्तलाई आजका आँखाले टिप्पणी गर्नु, यस्तो लाग्छ उनीहरु ज्युँदै छन् र हामीले गुनासा सुनाएका छौं तथा उनीहरुको छाला काढेर नुन चुक दल्दैछौं ।
हामीले इतिहाको बहादुरीको ब्याज खाँदैछौं र त्यही इतिहासको छाला काढ्दैछौं । यस्तो पनि हुने गरेको छ, हामीले इतिहासलाई, पौराणिक कथाका पात्रलाई अनावश्यक रुपमा देवत्वकरण गरेका छौं । हामीले सत्य, त्रेता तथा द्वापर युग भनिने कथाहरुका पात्रलाई आज अस्तित्वमा ल्याउन आराधना गरिरहेका छौं तर वर्तमानलाई वास्ता गरेका छैनौँ । भविष्यको बारेमा त कल्पना समेत गरेका छैनौँ । आज राम्रो काम गरेको खण्डमा यही काम भविष्यमा राम्रो इतिहास बन्दछ, पुराण बन्न सक्दछ । हामी त कस्ता छौंभने पुराणको जप गर्ने, ती पात्रको भजन गाउने र मरेपछि त्यही पौराणिक कालको युग छ भनेर त्यता जाने कामना गर्ने ।
यस्तै गन्थन मनन गर्दैछु अहिले । अब त मरेपछिको लोक छ भनेर मान्नेहरुले पनि नयाँ लोकको परिकल्पना गरौँ । हामीले नयाँ युगको, नयाँ समयको, नयाँ चेतनाको परिकल्ना गरौँ । इतिहास तथा पुराणले नयाँ बाटो खन्न सहयोग गर्छ मात्र । हामी पुरानो बाटोमा धकेलिन सक्दैनौं, चाहेर वा नचाहेर पनि हामी हिजोतिर फर्कन सक्दैनौं । यस्तै मैले पनि हिजोका दुःखद वा सुखद कुरातिर पौडी खेलेर समय बर्बाद गर्नुभन्दा ‘ए… हो तनि’ भन्दै अघि बढ्न उपयुक्त ठान्दछु ।
(तिलोत्तमा, रुपन्देही)