विषय प्रवेश
शब्दहरूको समुहलाई कविले मिलाएर सजाउँदा त्यसले कविताको रूप लिन्छ । कविले देखेका, भोगेका, अनुभव गरेका, सुनेका वा पढेका सामग्रीको मन्थनबाट कविता (साहित्य) सिर्जना गर्छन् । कविताको प्रसङ्गमा साहित्यकार पारसमणि प्रधान लेख्छन् ः कवि कविता होस् कविता कवि होस् । शब्द थुपारीकन के हुन्छ ? भाव भए पो हुन्छ ।
त्यस्तै प्रसिद्ध समालोचक रामकृष्ण शर्माका विचारमा कवि कोमलताको प्रतीक हुने भएकोले कवि दुराचारी हुनै सक्दैनन् र कविका कृतिमा चाख दिने पाठक पनि क्रमशः पवित्र हुँदै जान्छन् । वास्तवमा कहिलेकाहीँ एउटा कविताले पाठकको विचारनै परिवर्तन गरी दिन्छ । कुनै कुनै कविताले पाठकलाई कविताको गर्भसम्म पु¥याएर सिर्जनाको यथार्थता बुझ्न तल्तल्याउँछ ।
त्यस्तै फेसबुकमा विश्वराज अधिकारीले राख्नु भएको ‘गान्धारीको आर्तानाद’ कविताले मलाई हुटहुटायो । मलाई आजको मितिबाट इसापछि र इसापूर्व हुँदै द्वापर युगसम्म हुत्याई दियो । उनको कविताले तीन युगको प्रतिनिधित्व गरेको पाएँ । कविताले द्वापर युगको महाभारतकालकी महारानी गान्धारीको व्यथालाई उनको विवशता मान्दै उनलाई तेह्रौँ शताब्दीका चित्तोडगढकी महारानी पद्यावतीजस्तै पतिव्रताको प्रमाण दिन आत्महत्या गर्नुको साटो इसापूर्वकी इजिप्टकी महारानी क्लियोपेट्रा जस्ती साहसिक र कर्मठ नारी बनेर अघि बढ्न आह्वान गरेको छ । वास्तवमा यस कविताले आजको मितिसम्म हुने महिला हिंसाको विरुद्ध एकवद्ध हुन र महिला सशक्तिकरणका लागि आह्वान गरेको आभाष हुन्छ ।
प्राक्कथन
हाम्रो वेद, उपनिषदबाट लिएर रामायाण, महाभारत आदि प्राचीन ग्रन्थहरू सबै मिथक अर्थात पुराकथा हुन् वा वास्तविकता भन्ने तर्कमाथि आजको मितिसम्म लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् । ६ डिसेम्बर १९९२ मा हिन्दुवादी समुहले अयोध्यामा अवस्थित बाबरी मस्जिद भत्काएपछि ३२ वर्षपछि त्यहीँ स्थानमा राम मन्दिर निर्माण गर्न भारतको सर्वोच्च अदालतले फैसला सुनाएपछि यो प्रसङ्गले नेपालमा पनि हलचल मच्चिएको थियो ।
कही समय अघि प्रधानमन्त्री के.पी. ओलीले रामको जन्मभूमि नेपाल हो भनेर घोषणा गरेपछि यसको प्रभाव छिमेकी मुलुकमा समेत परेको थियो । भनु जयन्तीको अवसरमा १३ जुलाई २०२० मा दिन प्रम ओलीले राम जन्मभूमि अयोध्या विरगञ्जको उत्तरमा पर्ने थोरीमा रहेको र राम नेपालको थोरीमा जन्मेको हुनाले वास्तविक अयोध्या नेपालमा रहेको दावी गरेका थिए । यसमा कतिको सत्यता छ त्यो कुरा भोलिका दिनमा प्रष्ट हुँदै जाने छ । राम रावणको युद्ध १२९९ इपू भएको मानिन्छ भने महाभारत युद्ध ८२७ इपू । महाभारतका सन्दर्भमा पनि नेपालको भूमि गासिएर आएको छ । तर यसबारे ठोकुवा गर्ने ठोस प्रमाण नभएकोले हामी रामलाई नेपालको छोरा नभनेर जुवाइ मान्दै आएका छौं ।
हामी नेपाली हिन्दुवादी राष्ट्रमा जन्मेको हुनाले बाल्यकालदेखि नै धार्मिक ग्रन्थहरूबाट परिचित हुँदै आएका छौं । अनि बाल्यकालदेखि नै यिनै ग्रन्थहरूलाई आधार बनाएर मानव–सभ्यता र समाजको परम्परागत थालनीका कथाहरू पढेर तत्कालीन सभ्यता र समाजका बारेमा बुझ्दै आएका छौं ।
विद्यालयदेखि नै रामायण र महाभारतमा आधारित पाठ्य साहित्य पढ्दै, नाटक नौंटङ्की हेर्दै र छिमेकी मुलुकले बनाएर प्रशारण गरेको धार्मिक (रामायण,महाभारत) टेली–सिरियल हेर्दै हुर्केका हामीहरूको मन मस्तिष्कमा बाल्यकालदेखि वर्तमानसम्म सुन्दै, हेर्दै, पढ्दै आएका यी यावत ग्रन्थहरूका कथा–उपकथा, पात्र, चरित्र र घटनाहरू हाम्रो दिमागको हार्ड डिस्कमा कतै सेभ भएर बसेको हुन्छ । अनि कहिलेकाहीँ मगजमा सुरक्षित रहेका यी डाटाहरूबाट प्रसङ्गवस् कुनै घटना, पात्र, चरित्र चिरबिराएर बाहिर आउन खोज्दा आजका सर्जकले हिजोका ती घटना, पात्र, चरित्रलाई आजको परिवेशमा ल्याएर अभिव्यक्त गर्न खोज्छन् ।
यस्तै महाभारतको कथाबाट एउटा पात्रलाई विषयवस्तु बनाएर विश्वराज अधिकारले सिर्जना गर्नु भएको ‘गान्धारीको आर्तानाद’ कविता पढेपछि ती पात्र र त्यसमा चित्रित तीन युगका महारानीको कथा खोतल्ने जमर्कोमा यो लेख तयार भएको हो । अर्कोतिर मिथकलाई विषयवस्तु बनाएर साहित्यमा रमाउन पनि रमाइलो नै हुन्छ ।
चालिसको दशकमा सर्वनामबाट हामीले ‘रामायणको अर्को पृष्ठ’ नाटक मञ्चन गरेका थियौं उक्त नाटकमा पत्नी प्रेमबाट पीडित दशरथले रामलाई बनवास जाने आदेश दिँदा आधुनिक रामले त्यसको विरोध गरेको एउटा नयाँ प्रसङ्ग जोडेर देखाउने प्रयास गरेका थियौं । त्यसरी नै अधिकारीको यस कवितामा मिथक र इतिहासलाई कोट्याएर निस्केको विरोधका स्वरको आभाष सुनेर उनको कविताभित्र डुबुल्की मार्ने जमर्को गरेको छु ।
यहाँ मेरो महाभारतको कथा हाल्ने कुनै विचार छैन । तर कविता बुझाउन र बुझ्नलाई महाभारतकी गान्धारीसँगै इपू ६० को दशकको ईजिप्टको इतिहासमा क्लियोपेट्राको भूमिका र सन् १३०३ को भारतको चित्तौडगढकी महारानी पद्यावतीको अग्निकुण्डमा हामफल्ने कथा बुझ्न जरुरी हुन्छ । किनभने कवि अधिकारीले गान्धारीलाई पात्र बनाएर महिला अधिकारको कुरा झिकेकोले त्यसलाई खोतल्न जरुरी छ ।
कविताको सार :
कविताको भावलाई बुझ्दा यसमा गान्धारीलाई माध्यम बनाएर नारीलाई शक्तीशाली बन्न आह्वान गरिको आभाष हुन्छ । कविताको भाव अनुसार महाभारतको कथाले पुरुषवादी समाजको प्रतिनिधित्व गरेको थियो । त्यसैले महारानी भएर पनि गान्धारीले आफु र अन्य महिलामाथि भएको अत्याचारको विरोध कहिल्यै गर्न सकिनन् । त्यसबेला अन्धो पतिका लागि आँखामा पट्टी बाधेकी गान्धारीले अभिव्यक्त गर्न नसकेका वाक् स्वतन्त्रता र महिला अधिकारका कुराहरू कविताले मुखारित गरेको छ ।
उनले आँखामा पट्टी बाँध्नुको कारण उनकै महलमा हुने गरेको महिला शोषण हेर्न नसकेर हो वा द्रोपदीको वस्त्रहरण नहेर्न हो । गान्धारीले आँखामा पट्टी बाँध्नुको कारण उनका पुत्रहरूले पाण्डव पुत्रहरूलाई लाक्ष्यागृहमा बस्ने व्यवस्था मिलाएपछि त्यहीँ जलाएर मार्ने योजना बनाएको बारे आफु अनभिज्ञ रहेको बताउनका लागि हो वा देवरानी कुन्तीभन्दा महान बन्न खोज्ने प्रयासका लागि हो ।
अझ भनौं गान्धारीले एउटा अन्धो राजासँग विवाह गर्नुको कारण महत्वाकाक्षी भीष्मबाट आफ्नो बुवा र माइती देश जोगाउन रहेको वास्तविकता हो ? ंकविताले सतीप्रथामाथि प्रहार गर्न गान्धारीमार्फत भीष्मलाई कारक बनाएको देखिन्छ भने कतै आजको समाजमा पनि महिलामाथि हुँदै आएको हिंसा, अन्याय, अत्याचार, बलात्कार, असमानता अझ भनौं एसिड फाल्नेजस्ता महिलामाथि हुने गरेका जधन्य अपराध र अमानवीय व्यवहार दिनानुदिन बढ्दै गएकोमाथि ध्यानाकर्षण गर्न खोजेको छ । त्यसैले कविले महिलालाई द्वापर युगको गान्धारीको चोला फालेर आधुनिक युगकी क्लियोपेट्रा बन्न आह्वान गरेका छन् । गान्धारीको आर्तानाद सुनी दिन कविले कविताबाट अनुरोध गर्दै महिलामाथिको अत्यचारमा शासक मौन बस्ने महाभारतको जस्तो कथा नलेखियो र पतिव्रता नारीको संज्ञा पाउन मान मर्यादाको नाममा पद्यावती जस्तै अग्निकुण्डमा हाम फाल्न विवस पनि नपारियो ।
प्रस्तुत कविताले तीन युगकी महारानीलाई विषयवस्तु बनाएको छ । यहाँ शीर्षकको सार्थकताला लागि इसमसीहको जन्मअघि र मृत्युपछिलाई पनि युगमा राखिएको छ ।
द्वापर युगकी गान्धारी :
अन्धो पतिसँग समान हुन मैले आफ्नो आँखामा पट्टी बाँधेको होइन शक्ति उन्मादमा मइमत्त भएको, बेविचारको पराकाष्टा नाघेको हस्तिनापुरको शासन व्यवस्था हेर्न नसकेर ........................
महाभारतलाई विश्वकै महान काव्य मानिन्छ र यसको समय अनुमानित पाँच हजार वर्षअघिको मानिदै आएको छ । महाभारत युद्धलाई कतिपय विद्वनहरूले वास्तविक त कतिले मिथक पनि मान्दै आएको छ । तर पुरातत्वविद्हरूले उत्खनन्बाट प्राप्त सामग्रीका आधारमा महाभारत युद्ध भएको तथ्यलाई स्वीकारेका छन् । महाभारत युद्धको समय पाँच हजार वर्षअघि लानुको अर्को कारण हो हिन्दु मान्यतानुसारको युग । परम्परागत मत अनुसार युगलाई सत्य, त्रेता, द्वापर र कलि चार युगमा बाडिएको छ । भनिन्छ द्वापर युगको समाप्ति र कलि युगको थालनीसँगै महाभारत युद्ध भएको थियो । कलियुगको थालनीको समयलाई इ.पू. ३१०२ मानिएको छ (राय चौधरी, पोलिटिकल हिस्ट्री आफ एन्सियन्ट इण्डिया, सन् १९५३, पृष्ठ २७०)। यसैलाई आधार मानेर महाभारत युद्धको सयमलाई पाँच हजार वर्ष पहिले भएको मानिएको हो ।
महाभारतमा गान्धारीको चरित्रलाई नारीमा हुनु पर्ने गुणहरूका साथै धार्मिकता र सद्गुणका प्रतीकका रूपमा चित्रण गरिएको छ । गान्धारी शुबालाको छोरी र शकुनीको बहिनी हुन् । उनलाई महाभारतमा सुन्दर, सद्गुण र पति समर्पित महिलाका रूपमा चर्चा गरिएको छ । शिवभक्त गान्धारीले तपस्या गरेर सयपुत्र प्राप्तिको आर्शीवाद पाएकी थिइन् । वेद व्यासबाट पनि उनले अर्शीवाद पाएकी थिइन् । भिष्मका जेष्ठ पुत्र धृतराष्ट्र अन्धो हुनु र काञ्छो छोरो शारीरिक रूपमा कमजोर रहेकोले आफ्नो शेषपछि कुरु राज्यको सिंहाशन रिक्त रहने चिन्ता थियो । भिष्मले गान्धारीलाई कुरु राष्ट्रको जेठी बुहारीको रूपमा छनोट गर्नुको मुख्य कारण गान्धारीको सय पुत्र लाभको वरदान हो । जसले भिष्मको कुरु राष्ट्रको सिंहासन रिक्त रहने चिन्ता पनि हटाउँछ ।
धृतराष्ट्रसँग बिहे गरेर कुरु राज्यको महारानी बन्ने सौभाग्य पाएकी गान्धारीले आफ्नो देउरानी कुन्तीबाट पुत्र (युद्धिष्टिर) जन्मेको समाचारले व्याकुल बनाएको हुन्छ । उनलाई एक प्रकारले ईष्र्या जाग्न थाल्छ । आफु जेठी बुहारी भएर पनि आफ्नो सन्तान नहुनु र कुन्तीको पुत्र जन्मनुले व्याकुल भएर उनी वेद व्यासको शरणमा पुग्छिन् । वेद व्यासले पहिलो सयवटा माटोको गाग्रो मगाँएर त्यसमा मक्खन राखेर एकान्त स्थानमा राख्न लगाउछन् । (गान्धारीले छोरीको पनि रहर राखेकोले पछि थप एउटा गाग्रो राखेर त्यसबाट छोरी दुशालाको जन्म हुन्छ) । पहिलो सन्तानका रूपमा गाग्रोबाट दुर्योधन जन्मन्छन् । तर शिशु दुर्योधनको विचित्र प्रवृत्ति देखेर भविष्यमा वंशको विनास हुने सम्भावना रहेको भविष्यवाणी रहेकोले विदुर र अन्य ब्रहमणहरूले धृतराष्ट्रलाई पहिलो छोरा त्याग्न अनुरोध गरिएको थियो । तर पुत्र वात्सल्यले गर्दा धृतराष्ट्र र गान्धारीले मानेनन् । त्यसैको परिणाम महाभारत हो भन्नेहरू पनि छन् ।
गान्धारीले आफ्नो पतिको आत्मसम्मानका लागि आँखामा पट्टी बाँधे तापनि कविताले त्यसभित्र छिपेको बाध्यता देखाउने प्रयास गरेको छ । गान्धारीलाई माध्यम बनाएर उनको आँखामा मात्र नभएर मुँखमा समेत पट्टी बाध्न बाध्य भएकी निरीह नारीका रूपमा उपस्थित गराएर महिला अधिकारका कुराहरू अभिव्यक्त गराइएको छ । कविले तत्कालीन (वर्तमानसम्म) पुरुष प्रधान समाजमा नारीको अवस्था उजगार गर्न खोजेका छन् ।
इसापूर्वकी क्लियोपेट्रा :
उठ क्लियोपेट्राले जुलियस सिजरलाई शक्तिको उन्माद लागि दण्डित गरेझैँ दण्डित गर .................
अर्कोतिर कविले गान्धारीलाई क्लियोपेट्राजस्तै शक्तिशाली बन्ने आह्वान गर्छन । कविले क्लियोपेट्राका माध्यमबाट पुरुषलाई अधिनमा पर्ने नारी शक्तीलाई देखाएका छन् । इजिप्टमा जन्मेकी क्लियोपेट्रालाई इतिहासकारहरूले एक चतुर र महत्वाकाँक्षी नारीका रूपमा चित्रण गरेका छन् । उनले आफ्नो बुवासँगै इजिप्ट साम्राज्य साझेदारी गर्दै बुवाको शेषपछि सत्ता आफ्नो अधिनमा राख्न आफ्नै नाबालक भाइसँग बिहे गरेर सत्ताको साझेदारीमा रमाइ रहिन् । क्लियोपेट्राको सुन्दरताको चर्चा त्यस बेला जताततै फैलिएको थियो ।
आफ्नो सौन्दर्यतालाई निरन्तरता दिन उनी गधाको दुधले भरिएको कुण्डमा नुहाउने र विभिन्न पूmलहरूको मिश्रणबाट अत्तर बनाएर प्रयोग गर्नेजस्ता सौन्दर्य प्रसाधनहरूको प्रयोगको थालनी गराएको मानिन्छ । बहुभाषी, शिक्षित र कामुक महिलाका रूपमा चर्चित क्लियोपेट्रामा पुरुषलाई आकर्षक पार्ने प्रलोभनको शक्ती ९एयधभच या क्भमगअतष्यल० भएकी महिलाका रूपमा चर्चा गरिएको छ ।
आफ्नो भाइलाई मार्न उनले रोमका सैनिक जेनेरल जुलियस सिजरसँग सम्बन्ध बनाएका थिइन् । सत्तामा रमाउन रुचाउने क्लियोपेट्राले जुलियस सिजरसँगको सम्बन्धबाट जन्मेको छोरा सिजरियनसँग सत्ता साझेदारी गर्न जुलियस सिजरलाई समेत मार्न लगाएकी थिइन् ।
इसाको तेह्रौँ शताब्दीकी पद्यावती :
जौहरमा, अग्निकुण्डमा हामफाल्ने म जस्तै गान्धारीहरू थिए उनीहरूलाई पनि आदर्श स्त्री बनाइएको थियो, अग्निकुण्डमा हामफाल्न विवस पारिएका थिए ......................
यस कवितामा गान्धरीलाई तत्कालिन समाजको एक निरीह महिलाका रूपमा प्रस्तुत गर्दै कविल¸महिला सशक्तिकरणका लागि आजको महिलालाई आवाज बुलन्द गर्न आह्वान गरेको देखिन्छ । कविताले सन् १३०३ मा भारतको चित्तौडगढका राजा रत्न सिंहकी काञ्छी पत्नी (उनको पहिल्यै १४ रानीहरू थिए) महारानी पद्यावतीको सौन्दर्यताबाट मुग्ध भएका मुगल बादशाह अल्लाउद्दीन खिलजीले राजासँग उनलाई युद्धमा हराएर रानी पद्यावतीलाई लिएर जाने शर्तमा युद्धमा छल गरेर राजालाई बन्दी बनाएर मारेका थिए ।
राजाको हत्यापछि पद्यावतीलाई लिनजाँदा महारानी पद्यावतीले धर्म र मान–मर्यादाका लागि आफुसँगै अन्य रानीहरू र सैनिकका पत्नीहरूसहीत महलभित्र रहेको कुण्डमा आगो बालेर हामफालेर आत्महत्या गरेका थिए । यस कुण्डलाई जौहर कुण्ड भनिन्छ । जौहरको अर्थ हो आत्महत्या । महारानी पद्यावतीका बारेमा सुफी कवि मलिक मुहम्मद जयसीले सन् १५०४ मा ‘पद्यावती’ महाकाव्य लेखेका थिए । यसैमा आधारित ‘पद्यावत’ शीर्षकमा चलचित्र पनि बनेको छ ।
निष्कर्ष :
अमेरिकोको ओक्लोहोमाबाट साहित्यकर्म गर्दै आउनुभएका साहित्यकार विश्वराज अधिकारीको ‘गान्धारीको आर्तनाद’ कविता केही समयअगाडि पढ्ने मौका पाएँ । कविताले महिला अधिकारका शब्दहरू ओकलेको थियो । कविले महाभारतलाई विषयवस्तु बनाएर कविताका माध्यमबाट तत्कालीन समाजदेखि वर्तमानसम्म महिलामाथि हुँदै आएको अन्याय र अत्याचारका विरुद्ध एकबद्ध हुन आह्वान गरेका छन् ।
नेपालको सन्दर्भमा महिला हिंसाका कुरा ग¥यौ भने प्रत्येक दिन महिलामाथिको हिंसाका समाचार प्रकाशित हुने गर्छ । आर्थिक वर्ष २०१९–२० (ई.) मा २,१४४ जना महिलामाथि हिंसा भएको तथ्याङ्क पाइन्छ भने त्यसअघि २०१८–१९ (ई)मा २,२३० बलत्कार, ७८६ बलत्कारको प्रयास र २ जना बलत्कारपछि हत्यका घटना भएको तथ्याङ्क पाइन्छ । यसमा नाबालिकहरूको संख्या बढी हुने गर्दछ ।
जुलाई २७, २०१८ मा १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या भयो । यसको विरोधमा न्याय माग्दै पुरै नेपाल जागेको थियो । न्यायका पोस्टरहरूले शहरबजार रङ्गिएको थियो । तर सरकार मौन नै बसिरह्यो । यसरी महिलामाथि हुँदै आएको र हुने गरेका हिंसाको विरोधमा प्रस्तुत कविता कोरिएको आभाष हुन्छ ।
(टोरन्टो)