"आऊ छोरी ! तिम्रो बाबा हुँ म" दुई हातका अञ्जुली तेर्साएर बोलाउनुभएथ्यो बाबाले र म अकमक्क परेथेँ देखेर नौलो अनुहार तर पनि कता-कता सुनेथें परिचित आवाज आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर र एकजोर रसिला आँखाले संकेत गरेका थिए जाऊ भनेर अनि काखमा गएर लुरुक्क बसेथेँ मूर्तिजस्तै, सम्झन्छु- बाबाका स्नेही हातको स्पर्श बिछोडको पीडा बोल्ने त्यो कसिलो अँगालो आँखाको डिल भत्काएर छचल्किएका आँसुका थोपा अनायास पुगेका थिए मेरा कोमल हात बाबाका गाला पुछ्न यसरी भएको थियो बाबा-छोरीको पहिलो भेट ! मेरो नाम थियो माया आमाको ममता पोखिएको बाबाको हृदय पोखिएथ्यो उज्योलो मुहारमा र भन्नुभएथ्यो- "मञ्जु हौ तिमी मञ्जु यो सृष्टिकी पृय सौन्दर्य !" यसरी जन्मिएकी थिएँ म फेरि भएकी थिएँ पूरा जिन्दगी र सहर्ष स्विकारेकी थिएँ परिचयको त्यो नवीन यात्रा ! अब आमाको आँचलमा थपिएको थियो बाबाको काँध मुस्कुराएथें म पहिलोपटक प्रश्न गरेथें निर्धक्क र पाएथें एक आकाश प्रफुल्लता ! जीवनको पहिलो उपहार गुलाफी लुगा बनेर आएथ्यो बाबाको झोलामा त्यो मात्र आवारण मात्र थिएन थियो हाम्रो खुसीको सर्वस्व ! त्यो साँझ मेरो जिन्दगीको रंगीन साँझ थियो एउटा सपनाको साँझ थियो आँखा र मन निदाएको थाहै नहुने साँझ थियो बिहानै भालेको आवाजले बिउँझिँदा बाबा मस्तसँग निदाइरहनु भएको थियो मेरै छेउमा मैले हेरेँ एकटकले बाबाको मुहार र छातीमा पल्टेर सोच्न थालेथेँ जून र ताराहरुको संसार ! अनि आरम्भ भएथ्यो हाम्रो यात्रा जन्मेको गाउँबाट आकांक्षाको सहरतिर प्रकृतिबाट कोलाहलतिर अभावबाट मिठासको भावतिर ! आज सम्झिन्छु- बाबाको त्यो अज्ञातवास कति कठिन कठिन थियो होला आफूबाट टाढाटाढा बसेर आफैंभित्र पारस निर्माण गर्नु आफूलाई निरन्तर ज्ञानको छिनोले खोपेर ढुङ्गाबाट बहुमूल्य मणि बन्नु.... र त सधैं गर्व लाग्छ बाबा त्यही त्यागले त चलेका रहेछन् मेरा यी पखेटा खुल्ला आकाशमा निर्बिघ्न त्यही तपस्याको बलमा त उडान भरेको रहेछ जिन्दगीको यो यात्राले कोसौँ दूरीसम्म हाम्रो त्यही भेटले त तय गरेको रहेछ आफ्नै पाइला टेकेर उभिने यो सामर्थ्य अनि त्यसै बेलादेखि हुर्केको रहेछ यी आँखामा दृढ आत्मविश्वास ! (वेलायत)