दीपा विवाह गरेर जयको घरमा भित्रिदा जयसँग सामान्य जीवन गुजार्न पुग्ने सम्पत्ति थियो । तर जयको अत्याधिक मदिरा सेवन र धुम्रपान गर्ने बानी थाहा पाउँदा दीपा दिक्दार थिइन् । उनको गलत आदतले पुरै परिवारको सुख, शान्ति र चैन हरेको मात्र थिएन , बिस्तारै गरीबीको कालो बादल मडारिन थालेको थियो ।
दिक्क भएर बारम्बार दीपा जयलाई भन्थिन् , ” रक्सी र धूवाँले तपाईंलाई मात्र होइन हामीलाई पनि खान लागिसक्यो । छोराछोरी बढ्दै गएका छन् । उनीहरू पनि हैरान छन् । उनीहरू माथि पनि यसको दुस्प्रभाव पर्न थालिसक्यो । सासूससुरा यही पीरले बित्नु भयो । समाजमा पनि हाम्रो छवि बिग्रिएको छ । अब त गलत आदत बन्द गर्नुहोस् ….।” जय यस्ता कुरा सुन्थ्यो र मौनबस्थ्यो ।
तर गजबको कुरा उसमा केही राम्रा बानी पनि थिए ।
ऊ साहित्यमा रुचि राख्थ्यो । पत्रपत्रिका पढ्थ्यो । परिवारलाई माया गर्थ्यो ।
जय एकबिहान एउटा कथा पढिरहेको थियो । ऊ जतिजति कथा पढ्दै जान्थ्यो भित्रैदेखि तरङ्गीत र उद्धेलित हुन्थ्यो । जब कथाको अन्त्य भयो ऊ, नराम्ररी झस्कियो । बेचैन भएर रन्थनियो । उसको मनभित्र दनदनी आगो बल्यो, भित्रभित्रै छट्पटियो ।
कथामा एउटा कुलतमा फसेको जड्याहाको परिवारको सूक्ष्म र मार्मिक चित्रण गरिएको थियो । कथामा जड्याहाकी स्वास्नीले पिरोलिएर आत्महत्या गर्नेसम्मको विचार गेरेकी थिई तर मर्नुभन्दा पोइल जानु उपयुक्त ठानेर अन्त्यमा पोइल गएकी थिई ।
कथा पढेर जयको दिमाग झन्झनायो । उसले मनमनै प्रतिज्ञा गर्यो र सटासट घरबाट बाहिरियो ।
एकछिनपछि जयले ट्याक्सी लिएर आएको देख्दा दीपा र छोराछोरी चकित भए । उसले आज मदिरा सेवन पनि गरेको थिएन ।
जय भन्दै थियो, ” ल दीपा, सबैजना तयार भएर हिंडिहाल आज सपरिवार नयाँ ठाउँ घुम्न जाने ।” यसो भन्दै गर्दा जयका हात दीपाको काँध थप्थपाउन पुगिसकेका थिए ।
विवाह भएको पन्ध्र बर्षपछि पहिलो पटक दीपाका आँखाबाट हृदय छिचोलेर हर्ष र खुशीका शीतल आँसु बगेका थिए भने जयका आँखाबाट पनि पश्चातापका आँसु बग्दैथिए ।
एउटा प्रतिज्ञा युग बनेर उदायो ।
(दमक, झापा)