बाहिर चित्कार गुञ्जायमान छ । शैय्यामा छटपटाहट छ । प्राण लास बन्ने हो कि सास मै बाँकी रहने हो छुट्याउनै नसकिने छ । सासको आशमा जिन्दगी पलपल बाँचिरहेको छ । घरी चिच्याउँछ, घरी सुस्केरा मार्छ विरे ।
सुनसान सडकमा सास किन्न दौडिरहेको थियो माने बिरेको ज्यान तलमाथि नहोस भन्दै । भौतारिएको माने सिंहदरबार ढक्ढक्याउन पुग्छ । अह सुन्दैन ।
अन कम्फर्टेबल भेरियन्ट हो कि भनेर बाहिर हेर्दैनन् ।
मुखमा बुजो कोच्छ कि भन्ने डर पनि थियो । लुसुत्त भुइँमा पछरिदिन्छ कि भन्ने तनाब पनि थियो र बाहिरको दृश्य हेर्न चाहेनन् । चित्कार सुन्न चाहेनन् ।
केही छिनपछि कम्फर्टेबल भेरियन्ट हो भन्ने थाहा पाएपछि एकछिन बाहिर निस्किएर बिना प्रतिज्ञा सबैले उही पद नाम सहित बाँचेको ताली पिट्दै लुसुत्ता भित्र दुलोमा पसे ।
माने एकछिन पर्खिरह्यो सासको आस बोकेर । प्राण नपाएपछि आश मारेर फरक्क फर्केर भेरियन्टको चपेटामा परेको बिरेको लासको पर्खाइमा बसिरह्यो ।
(कञ्चनपुर)