कुटो कोदालो समाउने ’बा’ को इमान्दारी उस्तै छ,
फेरेन तन्त्रहरूले धमनी अभावको महामारी उस्तै छ ।
बा बिसको एक्काइस भएजस्तो लाग्छ र बस्तीमा,
अझै जातभात भनी हेपिरहने मकुटधारी उस्तै छ ।
धन भनी खाडी उडेको छोरा खाडीमै हराउँदा,
बन्धकमा परेको सानो खेतबारी उस्तै छ ।
स्वरोजगार नामक तमसुक इन्द्रजालमा फसेछि,
फेर्दै फेरेन युवाले सास बेरोजगारी उस्तै छ ।
सारै अचम्म लाग्छ सेता घोडा दौडाउनेहरू प्रति,
न्याय अन्याय देख्दैन देख्ने अख्तियारी उस्तै छ ।
(धनगढी)