नेपालमा कहिलेदेखि सभ्यताको विकास भयो भन्ने तथ्यगत प्रमाण भेटिदैन । सभ्यताको विकास अन्यत्रभन्दा ढिलो भएता पनि यहाँ एक करोड पचास लाख वर्ष पहिलेदेखि नै मानिसहरू विचरण गर्थे भन्ने प्रमाण भने भेटिन्छ । बुटबलको तिनाउ नदी किनारामा भेटिएको रमा पिथाकसको माथिल्लो बायाँ बङ्गारा यसको प्रमाण हो ।
नेपाली सभ्यताको प्रमाणिक इतिहास करिब पाँच हजार वर्ष पुरानो छ । प्राप्त ऐतिहासिक स्रोत र प्रमाणका आधारमा नेपालमा मानिसहरू सयौँ वर्ष पहिलेदेखि नै बस्न थालेपनि सभ्यताको विकास नहुनुको कारण के थियो ? कतै खोज र अनुसन्धानको कमीले यहाँको आदि सभ्यताको प्रमाण नभेटिएको त हैन ?
इसापूर्व ५०००–४००० वर्ष पहिले नै अहिलेको इराकमा मेसोपोटामिया सभ्यताको विकास भएको थियो । सिन्धु घाँटी र मिश्रको सभ्यता पनि इसापूर्व ४०००–३००० वर्ष पहिले नै विकसित भएको मानिन्छ । त्यस्तै ग्रिसको प्राचीन सभ्यता इसापूर्व ३०००–२००० को बिचमा विकसित भएको थियो । रोमको सभ्यता पनि युनान(ग्रिस)को सभ्यताजत्तिकै पुरानो मानिन्छ । अफ्रिकाको उत्तरी भाग, युरोप र एशियाको पश्चिममा हजारौँ वर्ष पहिले नै मानव सभ्यताको विकास हुँदा हाम्रोमा किन भएन ?
जतिबेला युरोप र पश्चिम एशियामा मानव सभ्यता विकसित अवस्थामा पुगेको थियो त्यतिखेर नेपाल अन्धकारमा रहेको देखिन्छ । अरू ठाउँमा विकास हुँदा घाँस, फलपूmल र पानी प्रचूरमात्रामा पाइने नेपालमा मानिसको बसोबास नहुनै प्रश्नै आउँदैन । मानिस नबसेका हुन् कि सभ्यताको विकास नभएको हो भन्नेबारे खासै अध्ययन भएको पनि पाइँदैन । हुनसक्छ त्यतिखेर यहाँका मानिसहरू जङ्गली र कविलाई अवस्थामा हुँदाहुन् ।
इतिहासको अध्ययन गर्दा नेपालमा खासगरी तीन महासभ्यताबाट आएका मानिसहरू बसेको पाइन्छ । एशियाको मध्य भागमा पर्ने भएकोले र विकसित जातिको केन्द्र भएकोले पनि यहाँ विभिन्न जातिको आगमन भएको देखिन्छ । चिनमा विकसित भएको मंगोलियन सभ्यताबाट एउटा जाति पटकपटक हिमालय पर्वत नाघेर तथा वर्मा र पूर्वी भारतको बाटो हुँदै नेपाल भित्रिएको थियो । यो जातिका मानिसहरू नेपालमा आएर रैथाने बासिन्दा बनिसक्दा विभिन्न जाति र समुदायमा रूपान्तरण भएका थिए । राई, लिम्बु, गुरुङ, मगर र तामाङ यही सभ्यताबाट आएका जातिमध्येमा पर्छन् ।
त्यस्तै पश्चिम एशियाबाट ठूलो संख्यामा आर्य जातिका मानिसहरू नेपाल आएको पाइन्छ । आर्यहरू मध्यएशिया हुँदै भारत आइपुग्दा यहाँ द्रविड सभ्यता विकसित भैसकेको थियो । उनीहरू द्रविडभन्दा अविकसित र बर्बर थिए । यिनीहरूले मोहनजोदाडो र सिन्धुघाँटीमा विकसित सभ्यतालाई नष्ट गरेका थिए । भारतमा आइपुग्दा गंगाको समथर भूभागबाट द्रविडलाई दक्षिणतिर धकेली आर्य सभ्यता सुरु गरेका थिए । जसलाई आर्यवर्त भनिन्थ्यो । यो क्षेत्र कावुलदेखि सप्तसिन्धु र दक्षिणमा राभीनदी र गंगाको मैदानदेखि हिमालसम्म फैलिएको थियो । आर्यहरू भारत र नेपाल आइपुग्दा दुई समुदायको रूपमा दुई अलग संस्कृति र अलग पहिचान लिएर आएका थिए ।
पश्चिम एशियाबाट सिन्धुघाँटी हुँदै आएकामध्ये वैदिक आर्यहरू गंगाको मैदानतिर फैलिए भने ककेशिया, कश्मिर, तिब्बत र मानसरोबर हुँदै आएका खस आर्यहरू उत्तर भारत र पश्चिम नेपालमा फैलिए । पछि वैदिक आर्यले नेपालको तराई क्षेत्रमा विदेह÷मिथिला सभ्यताको विकास गरे भने खस आर्यले पश्चिम नेपाल र कुमाऊँ गढबालमा खस सभ्यतााको विकास गरे ।
माथि उल्लेख गरिएका मंगोल र आर्यहरू नेपालमा आउनुपूर्व नै यहाँको तराई र भित्री मदेशमा आष्ट्रिक र द्रविड सभ्यताबाट आएका मानिसहरू बसोबास गरिसकेका थिए । हजारौँ वर्षदेखि यहीँ बसेपनि यिनीहरूको छुट्टै राज्य र सभ्यता थिएन । विकसित सभ्यता नभएपनि घनाजङ्गल, औलो र जङ्गली हिंस्रक जीवजन्तुको परवाह नगरी यिनीहरूले जीवनयापन गरिरहेका थिए ।
रामायणलाई आधार मान्ने हो भने त्यतिखेरको विकसित सभ्यता श्रीलंकामा थियो । अनार्य अथवा द्रविड समुदायको नेतृत्व गर्ने व्यक्तिमा रावण पर्थे । आर्यको आगमनपश्चात गंगाको मैदानबाट अनार्यहरू दक्षिणतिर खेदिए । खेदिनेसँगै नगएर यहीँ बस्नेहरू आर्यसँग घुलमिल भएर बसे । यसरी बस्ने यस जातिका मानिसहरूले अहिलेसम्म पनि आफ्नो पहिचान बचाएका छन् । नेपालको तराई, मधेश र भित्री मधेशमा बस्ने थारु, दनुवार, कुमाल, राजवंशी र ताजपुरियाहरू यही आष्ट्रिक/द्रबिड सभ्यता अन्तर्गतका मानिस हुन् ।
यसरी नेपाली सभ्यता एउटै जाति र समुदायबाट विकास नभएर विभिन्न जाति र समुदायको केन्द्रिकृत सभ्यता हो भन्दा फरक पर्दैन ।
नेपालम किरात, विदेह र लिच्छवि सभ्यतको विकास हुुनुभन्दा धेरै पहिलेदेखि मानिसले सामाजिक जीवन सुरु गरिसकेका थिए । प्रमाणको अभावमा विलुप्तजस्तै भएको त्यस सभ्यतालाई हामीले आदि सभ्यता भन्न सक्छौँ । कुनै पनि ठाउँमा सभ्यताको विकास हुनुपूर्व यस्तै आदि सभ्यता रहेको पाइन्छ । यस्तो सभ्यता विकसित मानव समाजको कोटीमा पर्दैन । अविकसित उत्पादन साधन र जङ्गली अवस्थाका कारण यस्तो सभ्यता स्थिर र विकसित हुँदैन । यो कविलाई खालको पनि हुनसक्छ त्यो भन्दा अविकसित पनि हुनसक्छ ।
नेपालको सन्दर्भको कुरा गर्दा आजभन्दा करिब तीनदेखि पाँचहजार वर्ष पहिलेको नेपाली समाज र सभ्यता यस्तै अविकसित, अव्यवस्थित र अस्थिर प्रकारको थियो । त्यतिखेर न कुनै खास समाजको विकास भएको थियो न राज्य । मानिसहरूको मुख्य पेशा पशुपालन थियो । कृषि सुरु भैसकेको भएता पनि नेपालमा कृषिलाई भन्दा पशुपालनलाई नै मुख्य पेशाको रूपमा ग्रहण गरिएको थियो । यसो गर्नुको मुख्य कारण पशुपालनका लागि घाँस र पानीको उपलब्धता नै हो । हामीसँग त्यतिखेर मानव समाज कस्तो थियो भन्ने प्रमाणिक इतिहास छैन । यही भएर किरात र विदेह सभ्यतापूर्वको नेपाली सभ्यतालाई आदि सभ्यता भन्न सकिन्छ ।
हुन त किरातभन्दा पहिले काठमाडौं उपत्यकामा गोपाल र आभीरहरूले राज्य गरेको भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । किरातले काठमाडौं उपत्यकामा राज्य कायम गर्नुभन्दा धेरै वर्ष पहिले नै यहाँ पशुपालक दुई जातिले आफ्नो राज्य स्थापना गरेका थिए । इतिहासकार राजाराम सुवेदी पनि यो कुरा स्वीकार गर्छन् । उनी लेख्छन्, ‘भारतीय गुप्तकालीन शासकहरूभन्दा कैयौँ शताब्दी अगाडि नेपालमा गोपाल वा पशुपालक युगका मानिसको बस्ती भएको थाहा हुन्छ ।’ (सुवेदी : २०६१ : ५३)
नेपालमा सभ्यताको विकास किरात सभ्यताको विकास हुनुभन्दा कैयौँ शताब्दी पहिले नै भएको थियो । बाह्रौँ किराती राजा जितेदास्तिका पालामा गौतम बुद्धका शिष्य आनन्द काठमाडौं आएका थिए । त्यस्तै एक्काइसौँ किराती राजा स्थुङ्गोको पालामा भारतीय मौर्य सम्राट अशोक नेपाल आएका थिए भनिन्छ । यसरी हेर्दा किरात सभ्यता पगनपुग ३००० वर्ष पुरानो मानिन्छ । यस कुरालाई इतिहासकार बाबुराम आचार्यको भनाइले पनि पुष्टि गर्छ । किरात कालका बारे बाबुराम आचार्यको धारणा यस्तो छ, ‘इस्वीसंवत्को उठान हुनुभन्दा ७/८ सय वर्ष पहिलेसम्ममा यस क्षेत्रमा किराँत सभ्यता तथा संस्कृतिको उत्थान तथा विकास पनि प्रारम्भ भसकेको सङ्केतहरू प्राप्त हुन आएका छन् ।’ (आचार्य : २०६३ : ५७)
गोपाल आभीरहरू को थिए र कहाँबाट आएका थिए भन्ने प्रमाण उपलब्ध छैन । गोपाल वंशावलीमा उल्लेख भएका राजाका नाम पढ्दा उनीहरू आर्य समुदायका हुन् भन्ने थाहा हुन्छ । तर सभ्यताको उषाकालमा अनकन्टार पहाड, नदी र गल्छी पार गरेर आर्यहरू काठमाडौं उपत्यकामा आएहोलान् भनेर कल्पना गर्न सकिदैन । बरु त्यतिखेर यहाँ चिनको ह्वाङ्ग हो र याङ्सी नदी आसपासमा विकसित भएको मंगोलियन सभ्यताबाट आएका मानिसहरूको बसोबास थियो । भित्री मधेश र नदी किनारामा आष्ट्रिक द्रविड सभ्यताका मानिस थिए ।
इतिहासको लेखन र अध्ययनका लागि वंशावलीलाई मात्र पनि आधार मान्न सकिदैन । गोपाल वंशावली जयस्थिति मल्लले लेखाएका थिए । उनी आर्य सनातनी लिच्छवी वंशका भएकोले पनि गोपाल र आभीर वंशलाई नेपालको आदि जातिको रूपमा लेख्न लगाएका हुनसक्छन् । इतिहासको अध्ययन गर्दा त्यतिखेरको लोकजीवन, ठाउँ, नदी र पहाडका नाम तथा मन्दिर, पाटीपौवा र मूर्तिजस्ता कुरालाई पनि आधार मान्नु पर्ने हुन्छ । वंशावलीमा उल्लेख गरेजस्तै गोपाल आभीर वंशका त्यतिधेरै पुस्ताले शासन गरेको काठमाडौं उपत्यकामा उनीहरूको कुनै पनि भौतिक प्रमाण भेटिदैन । बरु सबैतिर किरात र मंगोलियन संस्कृति र समाजसँग सम्बन्धित कुरा मात्र भेटिन्छन् ।
किरातहरू गोपाल आभीरपछि आएको भनिएता पनि प्राचीन कालमा नेपालमा मात्र हैन उत्तरी भारतसम्म पनि शिवलाई नायक मान्ने जातिको बर्चश्व थियो । द्रविडसँग लडाइँ भएजस्तै पटकपटक शिव र उनको सेनासँग पनि आर्यको युद्ध भएको पुराणहरूमा पढ्न पाइन्छ । सुरुमा शिवलाई आर्यले आफ्नो देवता स्वीकार गरेको पाइँदैन । दक्षप्रजापतिले त शिवलाई यति अनादर गर्छन् कि यो अनादर सहन गर्न नसकी स्वयम् उनकी छोरी सतीले आत्मदाह गर्छिन् । शिवका सेनाले त्यतिखेरका शक्तिवान दक्षप्रजापतिको यज्ञ ध्वंस पार्छन् । आर्यले पछिमात्र शिव पार्वतीलाई आफ्ना देवता स्वीकार गरेका हुन् । शिव पार्वती सुरुदेखि नै किरातका आराध्यदेव रहँदै आएको पाइएबाट पनि यो क्षेत्रमा प्रचीनकालदेखि नै किरातहरू बस्दै आएका थिए भन्ने बुझ्न सकिन्छ ।
गोपाल आभीरले कुनै राज्य वा सभ्यताको विकास गरेको भन्दा पनि ग्वालाको रूपमा यहाँ बसेका थिए । दक्षिणपश्चिमबाट चरनको खोजीमा आएका उनीहरू काठमाडौंजस्तो उर्वर विशाल उपत्यका पाएपछि यहीँ नै स्थायी रूपमा बस्न थालेको देखिन्छ । पछि यहाँका रैथाने मंगोल÷किरातको बर्चश्व बढेपछि यिनीहरू पछि हट्न बाध्य भए । यो खोजीको विषय हो ।
गोपालराज वंशावलीका अनुसार गोपाल बंशका पहिला राजा भूमिगुप्त हुन् । गोपालराज र भाषा वंशावलीका आधारमा अध्ययन गर्दा यो सभ्यताको विकास वुद्धकालभन्दा पनि पुरानो देखिन्छ । अहिलेसम्मको नेपाली इतिहासमा प्राप्त स्रोतका आधारमा गोपाल आभीर काल आदिम पशुपालक अवस्थाको युग थियो । गोपाल वंशका पहिला राजा भूमिगुप्त हुन् ।
गोपालराज वंशावलीमा आभीर जातिले गोपाल वंशको राज्यधिकार छिनेको देखिन्छ । यसका लागि गोपाल आभीरका बिच युद्ध भएको र यस युद्धमा गोपालहरू पराजित भएपछि महिषपालक आभीरले गोपालको राज्य हरण गरेको भन्ने पाइन्छ । अन्तिम आभीर÷महिषपाल राजा भुवनसिंहका पालामा किरातहरूले आक्रमण गरी किरात राज्यको सुरुवात गरे ।
वंशावलीमा गोपालवंशीय राजाले करिब पाँचसय वर्ष शासन गरेको र आभीर वंशले एकसय साथी वर्ष शासन गरेको पाइन्छ । यति धेरै वर्ष शासन गरे पनि यो सभ्यता खासै विकसित सभ्यता थिएन । श्रीमद्भागवत महापुराणमा पनि आभीरको उल्लेख पाइने हुनाले यो जाति सर्वप्राचीन जाति थियो भन्ने थाहा हुन्छ ।
गोपालवंशीय शासनकाल कविलाई समयको पशुपालनमा आधारित समाज थियो । यो सभ्यता कृषियुगको सुरुआतिचरणको भएकोले यसले किरात सभ्यतामा जस्तो समाजलाई व्यवस्थित र विकसित गर्न सकेन । यस सभ्यताको कलासाहित्य, संस्कृति र राजनीतिक तथा सामाजिक र धार्मिक अवस्था कस्तो थियो भन्ने केही कुरा पनि प्राप्त छैन ।
गुफा, कन्दरा, पहाड र प्रशस्त फलपूmल पाइने भएकोले नेपालमा बासस्थानका लागि वातावरण उपयुक्त थियो । सुरक्षाका दृष्टिले पनि उपयुक्त भएकोले डेढकरोड वर्ष पहिले नै यहाँ मानिसहरू विचरण गरेको पाइन्छ । तर त्यति धेरै वर्ष पहिलेदेखि मानिसको उपस्थिति रहेको भएता पनि यहाँको आदि सभ्यताको खोजी भएको छैन ।
कतिपयले किरात कालभन्दा पहिलेको समयलाई गोपाल आभीर सभ्यता अन्तर्गत राखेको पाइन्छ । तर गोपाल आभीर सभ्यता आउनुपूर्व नै यहाँ सभ्यताको विकास भएको हुनुपर्छ । माथि पनि भनिसकियो निर्जन र जङ्गलले घेरिएको ठाउँ हुन्थ्यो भने निश्चय पनि आर्यवंशीय गोपालहरू एक्कासी यहाँ आउन सक्ने थिएनन् । उनीहरू आउनुपूर्व नै यो ठाउँ मंगोलीयन जातिको कुनै कविलाई जातिले आवाद गरिसकेको हुनुपर्छ ।
सन्दर्भ सूचि
सुवेदी, राजाराम । नेपालको तथ्य इतिहास । काठमाडौं, साझा प्रकाशन, २०६१
आचार्य, बाबुराम । प्राचीन कालको नेपाल, श्रीकृष्ण आचार्य, २०६३ पृष्ठ ५७