पल्लो कोठामा “थप्प” ठुलै स्वर गुञ्जियो। एकदमै चकचके छोरालाई डर देखाउन। उनले आफ्नै ताली थप्प पारेकी थिइन्। छोरो भने च्या~ च्या ~ चिच्याएर रुन थाल्यो।
लकडाउनले दिक्क, वल्लो कोठामा मोबाइल खेलाएर बसेका उनका श्रीमान रामबाबु चिच्याए, “किन कुटेको बच्चालाई ? तिमी एउटा बाबु पनि सम्हाल्न सक्दैनौ ?”
“के रे मैले कुटेँ रे ? बोल्न पाएँ भन्दैमा जे पायो त्यही नबोल। कामकाज छैन, मोबाइल खेलाएको छ। बसेको छ। आफुलाई सारा काम भ्याउनुपर्छ।” उनीपनि निकै रिसाएकी थिइन् ।
उनीहरूमा निकैबेर भनाभन चल्यो। सामान्य भनाभनले उग्ररूप लियो।
“यो घरमा जतिसुकै मरिहत्ते गरेर काम गरेपनि कहिल्यै जस दिने हैन। एकदिन हैन दुईदिन हैन कतिदिन सहनु ?” भन्दै उनी माइतीघर हिँडिन् ।
रिसको झोँकमा उसले पनि भन्यो। “जाऊ ,जाऊ ! तिम्रोबिना यहाँ म भोकै मर्छु सोचेकी छ्येउ।”
भोली देखि ऊ एकलै भयो। छोरोले यो भएन, त्यो भएन भनेर हैरान बनायो। खाना पकाएर खान पनि गाह्रो भयो । उसलाई निकै रिस उठ्यो। छोरोलाई एक झापड लगायो। छोरोले घरै थर्काएर रुन थाल्यो।
पल्लाघरे सरिता बहिनी आएर सबैकुरा बुझिन् । रामबाबुले बेलीबिस्तार हिजोको घटनाबारे बतायो र रुन्चे स्वरमा भन्यो, “उफ्! घर उनले छोडिन् घर विहिन म भएँ ।”
(बागलुङ)