१. प्रवेश :
रातको अन्धकार । लेउ लागेको रातो माटे आँगनमा झिंगेनीको गह्रौं लाथ्रो, जाँड र रक्सीको नसासँगै पूर्वाग्रही आक्रोस भुइँमा प्रहार हुँदा घरै थर्किने! घर वरिपरि ती पाखुरेहरू जुत्ता बजाउँदै घुम्थे । कोही खोकेजस्तो गर्थे, कोही त्यो झिंगेनीको लाथ्रो जोड़जोड्ले भुइँमा ठोक्दै हिँड्थे । चिसो रातमा यसरी घर घेरेर हामीलाई धम्काउने उनीहरूको चाल कति निर्दयी थियो ! कति चिसो थियो ! घरभित्रबाट को आएको छ थाहा हुँदाहुँदै पनि सोध्नु पर्ने एकखेप !
‘को हो….? ’
‘हामी! है गुरूमा! प्याट्रोलिङ गर्नेहरू.. एकक्षण सरलाई भेट्ने काम थियो! आज त सरको टाउको लिएरै आउनू भनेको छ चिफले !’
मुखमा चोर औंला ठाडो पारेर हामी सबैलाई चुपचाप बस भन्ने सङ्केत आमाले गर्थिन् । बाबा रिसले बटारिने, तर आमाको जिद्दीअघि चुप लागेरै बस्नु पर्ने । सिरानमुनि खुकुरीको बेंड निस्किरहेको देख्दा ढुक्क लाग्थ्यो, बाबामाथि भरोसा लाग्थ्यो ! ‘सक्दैनन् केही गर्न हाम्रो बाबालाई!’ मन बोल्थ्यो । त्यस्ता क्षण हामी बाबालाई दह्रो अठ्याएर ओछ्यानमा बसेका हुन्थ्यौँ । कतिबेला बाबालाई तानेर बाहिर लगी, त्यो गह्रौं झिंगेनीको लाथ्रोले प्रहार गर्लान् अनि उनीहरू मध्ये एकजना कमान्डरले खुकुरी उज्याएर उनीहरूका चिफले ‘लिएरै आउनू’ भनेको चीज…. ! अनुहार- शरीरमा चिसो पसिना आउँथ्यो । मुटु एक तमासले ‘ढुक-ढुक’ गर्ने! कस्तो समय थियो त्यो !…….
त्यो समय थियो आन्दोलनको ! रातो झण्डा र कम्युनिष्ट भन्ने बितिक्कै ठूलो आपद आइपर्ने । काफरेहरू धरि आफैलाई साहसी देखाउन खुब ‘माटो विरोधी होसियार’ भन्ने रहर गर्थे । रातो झण्डाभन्दा सामाजिक प्रतिष्ठा र बौद्धिक भएकाहरूलाई बदला लिने ठूलो अवसर थियो समय । त्यस्ता आवाजसँग हाम्रा बाबा-आमाले कति-कति मानसिक, वैचारिक, सामाजिक युद्ध लडे लडे ! त्यो हिसाब छैन । यस्ता छुट्टै धेरै संस्मरणहरूपछिका कुराहरूभित्र धेरै कथाहरू छन् !
राजनीति बुझ्ने प्रयासमा आफ्ना विचार सोँच तयार गरिहेको समयमा, मैले तिनलाई एउटा विचारका प्रणेताका रूपमा देखेँ । त्यो विचार केही हदसम्म टाडा हुँदाहुँदै पनि कहिँ कतै नजिक पनि थियो । तिनका पुस्तकहरू र साहित्यका लेखनहरूमा त झन् नजिकका स्रष्टाका रूपमा तिनका विचारहरू भेटियो । तिनलाई भेटेर आधा घण्टा पनि घनिष्टताकासाथ बात मारेको स्मरण मलाई छैन । न त तिनले मलाई अनुहारले नै चिन्छन् ।
माथि वर्णित घटना जस्तै धेरैले सामना गरेका त्यस्ता पृष्ठभूमि अनि परिस्थितिलाई चिरेर उभिन सक्ने हामी जस्तै अर्का भद्र मानिस हुन् राजनैतिक आरबी राई ! चियाबारीमा जन्मेका, हुर्केका अनि यसैलाई आफ्नो सर्वश्व ठान्ने मन भएका रत्न बहादुर राई उर्फ रत्न बान्तवा, उर्फ आर्बी, भारतीय नेपाली साहित्यका एक स्रष्टा हुन् ! तिनका पछिल्लो कविता सङ्ग्रह ‘आरबी राई कविताहरूमा’ उपलब्ध छ । तिनका किताबहरू मध्ये अर्को किताब सन् २००० मा विकास जन साहित्य केन्द्रद्वारा प्रकाशित ‘हाम्रो बासभूमिमा चियाबारी मजदूर आन्दोलनको पहिलो चरण फेरि नयाँ चरण लामो शीर्षक रहेको एउटा दस्तावेज प्राप्त भयो । यसैलाई अध्ययन गर्दै यसै कृतिद्वारा तिनलाई चिन्ने अनि केही कुराहरू यहाँ गरिनेछ ।
२. ‘हाम्रो बासभूमिमा चियाबारी मजदूर आन्दोलनको पहिलो चरण फेरि नयाँ चरण: एक अध्ययन
यस पुस्तकमा जम्मा बाह्रवटा अध्यायहरू रहेका छन्, जसमा बाह्रौं अध्यायको भाग एक र दुई रहेको छ । परिशिष्ट एक र दुई गरेर जम्मा ६३ पन्नाको यस पुस्तकमा निम्न अध्यायहरू क्रमैले यसरी समावेश गरिएका छन् ।
अध्याय एक: चियाबारीको कथा र हाम्रो जातीय इतिहास, खोइ ? कुन ? प्रागैतिहासिक अतीत ऐतिहासिक अतीत आदिकालदेखि आजसम्मको बासभूमि दार्जिलिङ ।
अध्याय दुई: भारतमा मजदूर आन्दोलन उदयको ९० वर्ष (सन् १८५० – १९४०)
अध्याय तीन: चिया खेतीको प्रारम्भिक काल, दार्जिलिङमा चिया खेती र मजदूरहरूको अवस्था
अध्याय चार: दाजिलिङमा चिया उद्योगको शुरू र मजदूरहरूको अवस्था
अध्याय पाँच: दार्जिलिङमा जागृतिको उषाकाल
अध्याय छ: गोर्खालीग र कम्युनिष्टपार्टीको जन्म, दार्जिलिङमा चिया मजदूरहरूको पहिलो संगठनको जन्म
अध्याय सात: संगठित आन्दोलनको नयाँ लहर
अध्याय आठ: स्वाधीनताको अन्धकारमय तीन वर्ष (१९४८-५०)
अध्याय नौं: संगठन र आन्दोलनको पुनर्जागरण, ‘अग्रदूत ’को प्रकाशन शुरू
अध्याय दश: संगठित आन्दोलनको प्रथम पराकाष्ठा – ५५ सालको ऐतिहासिक आन्दोलन
अध्याय एघार: क्रामाकपाको जन्म : मजदूर आन्दोलनलाई नयाँ दिशा दार्जिलिङमा मजदूर आन्दोलनको सही हकदार, दार्जिलिङ, तराई-डुवर्स चिया कमान मजदूर यूनियन
अध्याय बाह्र (१): आजको हामी चियाबारीमा
अध्याय बाह्र (२): हाम्रो चियाबारी र हाम्रो मूल दृष्टिकोण, इत्यादि ।
उपर्युक्त अध्यायहरू समावेश गरिएका यस पुस्तकमा दार्जिलिङका चियाबारीको इतिहास, पृष्ठभूमि र अवस्थाका कुराहरू, मजदूर आन्दोलनका कुराहरू इत्यादि रहेको एउटा गहकिलो दस्तावेज राखिएको छ । अन्य भाषामा धेरै लेखकहरूले पनि आर्बी भन्दाअघि नै दार्जिलिङको समाज-संरचना र चियाबारीमाथि धेरै उल्लेखनीय पुस्तकहरू, लेखहरू एवम् टिप्पणीहरू लेखेका छन् । अध्ययनका क्रममा ती रचनाहरू ‘ड्रोन अध्ययन’ जस्ता देखिन्छन्, जो अर्कै उचाईंबाट हेरिएको छ । तर आर्बीले यस पुस्तकभित्र चियाबारीकै जमिनमा उभिएर धेरै ऐतिहासिक त्यस्ता पुस्तकहरुलाई नै आधार बनाएर चियाबारीको एउटा श्रमिकको सकस, पीडा र परिवेश चिनाएका छन् । यसैले यो पुस्तक तिनको अनुभव र भोगाइको अभिव्यक्ति स्वरूप खडा रहन्छ ।
भारतीय नेपाली भाषिक समुदायका समाज-संरचनाको चर्चा गर्दा चियाबारी जन-जीवनलाई चर्चा नगरिए, त्यो अपूर्ण रहन्छ । स्वतन्त्र भारतको चर्चा गरिँदा विगतका सत्ता सहभागीहरूका उल्लेख गर्नैपर्ने हुन्छ, अत: ती सत्ताहरू रहेको समयभित्रकै दार्जिलिङको चियाबारीको चर्चा यहाँ रहेको छ । यस पुस्तकभित्र तिनले विगत अनि वर्तमान चियाबारीको मर्मस्पर्शी कथानै राखिदिएका छन् ।
राजनैतिक सत्ता र विचार आज मिल्न सक्छ तर उद्देश्य भिन्नै भए, क्षणिक सहुलियत र स्वार्थपूर्तिको ध्यानमा परेकाहरूलाई कुनै मतलब हुँदैन । यस पुस्तकमा हाम्रा सङ्घर्ष र इतिहासका कुराहरू, भोगाइ र दुखाइहरू, आउने पिडीलाई ज्ञात होस् भन्ने उद्देश्यले एउटा घटनाशास्त्रको अध्ययनका रूपमा प्रस्तुत गरिएको छ । तिनले यस पुस्तकमा भारत स्वतन्त्र हुनअघि अनि पछिका दिनहरूमा विदेशी र स्वदेशी मालिकहरूका अधिनमा रहेका चियाबारी जन-जीवनका चर्चा गरेका छन् । ती विदेशी र स्वदेशी साहबहरूका शासनमा बाँचेको चियाबारी जीवनको चर्चा यहाँ मूलरूपमा छ । त्यसरी नै चियाबारी जीवनमात्र नभएर भारतीय नेपाली भाषी गोर्खाहरूका समाज-राजनैतिक अभिव्यक्तिको सम्मिलन बिन्दु अर्थात् एउटा सामूहिक अनुक्रियाका प्रेरक घटना ‘हट्टा बाहर’-को चर्चा पनि यस पुस्तकमा मुख्य छ ।
मलाई लाग्छ हट्टा बाहर दार्जिलिङको समाज राजनैतिक सन्दर्भमा एउटा मेट्नै नसकिने समयको खत हो (scar of time), एउटा घटना (Phenomenon) हो । यसकारण हट्टा बाहर प्रथाले उखाल्न लागेका समयमा पौदाहरूले आफ्ना जरा झन् दह्रो बनाउने प्रयास गरिँदा, हाम्रा चियाबारीले दह्रो खुट्टा टेक्न सकेका हुन् । हावा हुण्डरीले जबरजस्ती उडाएर लानु खोज्दा आफूलाई बचाउन माटोमा आफैलाई झन् बलियो बनाएर उभिने अभ्यासमा चियाबारीका बुट्टाहरू हरियो रमाइलो दह्रिलो देख्न सकेका हुन् । यस्तै परिस्थिति, विचार अनि सङ्घर्षका प्रतिवद्धता आजसम्म बाँचेका छन् । यो बचाइले हामी यहाँको माटोमा दह्रिलो भएर रहनुको आभास साथै हाम्रो बचाइको व्यग्रतालाई प्रकाशन पार्दछ ।
चियाबारी सामान्य चिया रोपिने बारीमात्र नभएर यो आजको परिचय सङ्कटको स्थितिमा एउटा बासभूमिको अङ्गको रूपमा पाइन्छ । यसै बासभूमिलाई उनले कसरी परिभाषित गर्न खोजेका छन् त भन्ने यहाँ मनमा खुल्दुली उत्पन्न हुन्छ । उनकै शब्दमा, ‘…यो पुस्तक दार्जिलिङको चियाबारी र यहाँ काम गर्ने मजदूरहरूका जीवन र उनीहरूका सङ्घर्षसँग सम्बन्धित् छ । तर यहाँको यो चिया खेती वा उद्योग भनौं हाम्रो पेटपालोको साधन मात्र होइन । यो खेतीसँग हाम्रो जातिको इतिहास, सामाजिक, साँस्कृतिक र संक्षेपमा जातीय स्थिति पनि जोडिएको छ । यो केवल अर्थनैतिक जीवनमात्र होइन । चिया खेतीबाट नै हामीले साम्राज्यवादी अंग्रेज शासन र शोषण चिन्यौं, त्यसको विरुद्ध लड्नपर्ने शिक्षा लियौं, त्यही उद्योगकै मार्फत् दार्जिलिङमा अंग्रेजले प्रारम्भ गरेको सभ्यतामा शिक्षा र संस्कृति जान्यौं र जातीयता बोध अनुभव गरी अन्य विकसित सम्प्रदायहरूका माझमा आफ्नो विशेषता जोगाउन पर्ने आवश्यकता जान्यौं ।’
यस पुस्तकमा अर्को अध्याय क्रामाकपा राजनैतिक पार्टीको प्रादुर्भाव (अभ्युदय) बारेमा चर्चा गरिएको छ । आफ्नो स्थापनाकालदेखि यता यस पार्टीको राजनैतिक टेक र गतिविधिसँग मलाई सरोकार छैन । राजनैतिक पार्टीभित्र धेरै विचार र व्यक्तिका मत-मतान्तर लिएर काम गर्नुपर्ने हुन्छ । एक्लो विचारले राजनैतिक विचार सम्भव छैन । इमान्दारीपूर्वक भन्नपर्दा उनलाई एउटा राजनैतिक पार्टीका नेता आरबी राईभन्दा मलाई आफूभन्दा अग्ला पुस्तकका थाकहरूसँग रमाउने साहित्यिक रत्न बान्तवा प्रिय लाग्छ । यो उमेरसम्म विचार र बासभूमिको लेखकीय अभिव्यक्ति दिइरहने तिनै आर्बीकै कुरा माया लागिरहन्छ, यसैले तिनकै कुरा यहाँ अघि राखिन्छ । हाम्रो बासभूमिको कथा, सयवर्ष नाघिसकेको चाहनाको ‘मिरेज’, यथार्थमा भन्नुपर्दा बासभूमिको सपना! भारतीय समाज-राजनैतिक सन्दर्भहरूमा हामी सूक्ष्म जनसंख्या भएका गोर्खा समूदायका उपस्थिति एवम् गतिविधिका कुराहरू रहेका छन् ।
बासभूमिको सन्दर्भमा उनले प्रागैतिहासिक कालदेखि आजसम्मको हाम्रो बासभूमिको कुरालाई उल्लेख गर्दै अध्येता डा.टंकबहादुर सुब्बाका लेखबाट निम्न वाक्यहरू उधृत गरेको पाइन्छ ‘प्रागैतिहासिक कालदेखि किरातहरूको वासभूमि रहेको नेपाली समाजको यो हिस्सा पुरै लत्याइएको छ । र नै कहिलेकाहीं दार्जिलिङ – सिक्किमको हिमाली भेकमा धरी उनीहरुमाथि बहिरागत/अप्रवासी र विदेशी/रैथाने सम्मको लान्छना लगाइन्छ । परिणामत नेपालीहरू उनीहरूका अज्ञानताका शिकार बनाइन्छ । यसरी बाहिरकाहरूले उनीहरूलाई भावमूर्तिमात्र विकृत तुल्याउदैनन् तर उनीहरूलाई ठग्छन् पनि ।’
यसरीनै भारतीय नेपाली साहित्यका धरोहर इन्द्रबहादुर राईका लेखबाट पनि निम्न कुराहरू टिपेका छन्-‘ढिलो भन्दा ढिलो पन्ध्रौं शताब्दीदेखि नै यस भागमा लाप्चे-मगर-लिम्बुहरू ग्वारग्वार्ती रहेको किटान गर्छन् ।’ यसै सन्दर्भमा आर्बीले, डा.कुमार प्रधानलाई टिप्दै उनले थुप्रै ऐतिहासिक तथ्यका आधारमा ‘दार्जिलिङको वर्तमान इतिहासको शुरुदेखि नेपालीहरू यता रहेको प्रमाणित गर्छन्’- भन्ने महत्वपूर्ण कुरा जोडिदिएका छन् । डा.प्रधानकै शब्दहरूमा- ‘दार्जिलिङको प्रमुख जाति नेपाली, सर्वमान्य एउटा तथ्य । भारतमा दार्जिलिङ नै नेपालीहरू समाहित भएको एउटा मुख्य गड, जहाँ भारतीय समाजकै परिप्रेक्ष्यमा नेपाली जातीयताको भावना प्रबल छ अनि नेपालका रैथानेको भन्दाभिन्न र विशिष्ट पनि ।’
यी माथिका केही महत्वपूर्ण अंशहरूलाई राख्ने क्रममा आर्बीले आफ्ना विचारको निष्कर्ष यसरी राखेको भेटिन्छ यस पुस्तकमा ‘अरूले कथेको शिशु कथाजस्तो हिजो चियाको बुट्टामा पैसा फल्छ भन्दा बाहिरबाट आएका नेपालीहरू थुप्रेर नै दार्जिलिङ हाम्रो जातीय आन्दोलन र अस्मितावोधको नाभी केन्द्र बनेको होइन ।’ दार्जिलिङमा हाम्रो जातीयता अनि उपस्थितिको तथ्यलाई केही समयदेखि यता राजनैतिक स्वार्थ प्रेरित केही झुण्डहरूले सामाजिक अनि अहिले वर्तमानमा आएर साहित्यिक रूपमा पनि अपव्याख्या गरिरहेका स्थितिदेखि हामी अनभिज्ञ छैनौँ । यस्ता अपव्याख्यालाई सत्य ठान्ने सिङ्गो प्रायोजित राजनैतिक कुसंस्कार र अकृतग्न कोखबाट जन्मिएका धमिराहरू एकदिन उदाङ्गो हुनेनै छन् । त्यस समय आर्बीले लेखेका यो पुस्तकका केही अंश अति नै महत्वपूर्ण अनि साहसिक दस्तावेजका रूपमा देखा पर्नेछ ।
३. निष्कर्ष:
कुनै पनि स्थानको सामाजिक, राजनैतिक वस्तुस्थितिहरू तत्कालीन समय अवस्था अनुरूप नै बनिएका हुन्छन् । दार्जिलिङका वस्तुस्थितिहरू पनि ठिक यसरीनै समय अनुरूप निर्माण हुँदै गएका भेटिन्छन् । आर्बीकृत यस पुस्तकले पनि दार्जिलिङमा बसोबसो गर्ने नेपाली भाषी गोर्खाहरूका निम्ति बासभूमिको मानसिक औडाहालाई ऐतिहासिक घटनाक्रममा राखेर प्रकाशन दिन खोजिएको देखिन्छ । भारतभरि छरिएर बसेका नेपाली भाषी जनमानसको दह्रो प्रतिनिधि भएर समय अनि अवस्था अनुरूप सिङ्गो दार्जिलिङले बहन गरेको भूमिकाको तथ्य एउटा इतिहास नै छ ।
भारत स्वतन्त्र हुन अघिदेखि नै दार्जिलिङमा धेरै समाज-राजनैतिक महत्वाकाङ्क्षा रहेका विविध विचारहरू रूमलिएका हुन् अनि यस्तै विचारहरूले त्यतिबेलादेखिनै दार्जिलिङको अवस्था कमजोर बनाएको पनि हो । यसकै फाइदा उठाएर यहाँ विभिन्न विचारका बजार लागेको पनि हो । यहाँ विभिन्न शासकहरूले आफ्ना महत्वाकाङ्क्षा दार्जिलिङको अवस्था र समय हेरेर प्रकट गर्दै आएका तथ्यहरू हाम्रा दस्तावेजहरूमा भेटिन्छ । त्यतिमात्र होइन, फेरि सत्ताको प्यारो बनेर यहाँ सिङ्गो दार्जिलिङको इतिहासलाई नै अपव्याख्या गर्दै गोर्खाहरूको बासभूमिको सान्दर्भिकतालाई धमिलो बनाउने प्रयासमा लागेकाहरूको चलखेल पनि उत्तिकै रहेको हो । यस्तो सन्दर्भमा आर्बीका यस पुस्तकले स्वतन्त्रताअघिदेखिका प्रसङ्गहरू जोड्दै स्वतन्त्रतापछिका अवस्था, गतिविधि, सामूहिक सङ्घर्ष, विचारको क्रियाशीलता, सामूहिक उद्देश्यको निम्ति सांगठनिक जागरूकता जस्ता कुराहरू; आफ्ना अध्यायहरूमा राख्दै भारत देशको काखमा हाम्रो बासभूमिको सुकल्पना बारेमा बताएका छन् ।
उनले भारत लगायत विश्वभरि छरिएर बसेका गोर्खाहरूका दीर्घकालीन आकाङ्क्षाको सत्य यथार्थ नै हाम्रो बासभूमि हो भन्ने कुरालाई अझ स्थापित गराउने यहाँ प्रयास गरेको देख्न पाइन्छ । भविष्यमा भारतीय नेपाली भाषी जन समूहका अवस्थान, अभिव्यक्ति एवम् पहिचानको विषयमा शोध गर्न चाहनेहरूका निम्ति यस पुस्तक एउटा दह्रिलो सहायताको रूपमा देखा पर्नेछ । यसका साथै सम्भव भए, यस पुस्तकको पुन: सम्पादित प्रकाशनले पाठक तिर्खा पनि अवश्य मेट्न सक्नेछ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
(खरसाङ, दार्जिलिङ)