किसान स्केच - एक जब गाउँमा अनिकाल पस्छ ठिक त्यो बेला कि त दिल्लीले खान्छ कि त चेन्नईले खान्छ गाउँको रणमायाहरुको अर्ग्यानिक सपना किन खान्छ ? सत्ता मौन छ । किसान स्केच- दुई आमाले जीवनको दुइ एपिसोड यै खेत खनेर बिताइन् जहाँ अहिले निर्माण भएको छ सयदिने रोजगारको आधा कल्चो बाटो । किसान स्केच - तीन कृषक सन्चवीर लिम्बुको कोदो बारीको भित्तामा झुन्ड्याएको छ 'एजुकेसन फर्र अल' लेखिएको सर्बशिक्षा अभियानको बोर्ड त्यही बोर्डको फेदमा बसेर सोधी बस्छ सन्चवीर लिम्बु अक्षर भनेको कस्तो हुन्छ ? स्कूल भनेको कस्तो हुन्छ ? किसान स्केच - चार जब जब यो देशको शिक्षा आयोगहरूले सर्बशिक्षा अभियानको घोषणा गर्छ तब तब नै किन अशिक्षित हुन्छ हँ गाउँको असंख्य सन्चवीर लिम्बुहरु ? किसान स्केच - पाँच अदुवा कुहेर प्रष्टेसन भएको किसानहरुको चेतनालाई ब्ल्याकमेल गर्छ साला यो कुच्चोको भाउ जब सुकाउरोमा परेर मर्छ अलैंची दिलमाया दिदीहरुको बैशालु सपनाले सुसाइड गर्छ अलैंचीको बोटबोटमा झुन्डिएर । किसान स्केच - छ फल्दै फल्दैन कोदो दश रुप्पे के.जि छ कुच्चोको भाउ अभावले जहिल्यै समाति बस्छ किसानहरुको स्कूल जाने छोरा छोरीको खुट्टा यो कण्डोमको एड देखाउँने राष्ट्रिय टि भी च्यानलले किन देखाउँदैन हँ अलैंचीको बिज्ञापन? (कालिम्पोङ/दार्जीलिङ/भारत)