बसन्त आचार्य र सुरेश आचार्यसँग परिचय भयो २०५१ सालमा । नेपालगन्जको दुई नम्बर छात्रावासमा बस्थे दुबै जना । बसन्त खलङ्गा जुम्ला र सुरेश सिंजा जुम्लाका रहेछन् । दुबै फूर्तिला थिए । पातलो जिउडालका थिए । उनीहरूको नामले तानेन मलाई । जुम्ला भन्ने ठाउँले भने तानिछाड्यो । । धेरै सुनेको नाम थियो जुम्ला । माफ गर्नु होला मलाई मन नपरेको नाम थियो जुम्ला । जतिबेलासम्म उनीहरूसङ्ग घुलमिल भएको थिएन ।
कसैलाई हेप्नु पर्यो भने ‘कस्तो जुम्ली जस्तो’ भनेको धेरै पटक सुनेको थिएँ मैले । दुर्गमका कुरा गर्दा जुम्लाकै नाम लिन्थे नेताहरूले पनि । दुर्गमको उदाहरणमा सधैं जुम्ला कै नाम लिन्थे गुरुहरू पनि । नेपालगन्जको बसपार्कमा होस् वा होटलहरूमा जुम्लीहरूप्रति आपूmलाई सभ्य भानाउन रुचाउनेहरूका असभ्य व्यवाहारहरूले जुम्लीप्रतिको हेराइ निकै साँगुरो बनेको रहेछ मेरो । यो कुरा धेरै पछि मात्रै थाहा पाएँ मैले ।
हुन त मैले चिनेका जुम्ली मैला कपडा लगाएका मात्रै थिए । पछाडि झोला बोकेर काला पहाड जाँदै गरेका मात्रै थिए । बसपार्कमा गाडीवालाले झोला तानातान परेर पीडित बनेका मात्रै थिए । टाङ्गावालाहरूसङ्ग ‘भारू दस कि नेपाली दस’ भनेर विवाद गर्नेहरू नै थिए । वसन्त र सुरेशसङ्ग हात मिलाउँदै गर्दा मेरो नजरमा उनीहरू नै घुमिरहे । धेरै दिनसम्म मैले पनि उनीहरूलाई त्यही नजरले हेरेँ । कुनै महत्व नै दिइनँ । औपचारिकतामा सीमित रह्यो हाम्रो मित्रता ।
हामी एउटै कक्षामा पढ्थ्यौँ । हामीहरूले पढ्ने विषय पनि एउटै थियो । दुबै छात्रावासमा बस्थे । मेरो पनि छात्रावासको बसाइ थियो । साँझ, बिहान र दिउँसो नचाहेर पनि भेट भइरहन्थ्यो हाम्रो । भागेर कतिदिन भाग्न सक्थें र ? तर्केर कहिलेसम्म तर्कन सक्थेँ र ? बसन्त र सुरेश आँखा वरिपरि घुमिरहे । एकदिन दुईदिन गर्दागर्दै निजिकिनु पर्ने वाध्यता बन्दै जान थाल्यो । एक आर्काका आनिबानी, शील स्वभावसङ्ग परिचित हुन थालियो । जतिजति दिनहरू बित्दै जान थाले उतिउति उनीहरूलाई गरेको वेवास्थाले गिज्जाउन थाल्यो मलाई ।
वसन्त राम्रो परिवारका सदस्य रहेछन् । बाबु शिक्षक, दाइहरू व्यपारी र बैंकर । दिदी स्वास्थ्य कर्मी । घरमा स्याउका बगानहरू । राम्रो आम्दानी रहेछ उनीहरूको । कुनै कुराको कमी रहेनछ । जुम्लामा गनिएको परिवार । अभावमा हुर्किएको मलाई उनको सम्पन्नता देखेर लोभ लाग्ने गर्दथ्यो ।
बसन्तले कहिलै घमण्डले देखाएनन् । सुरेशले कहिल्यै फूर्ति लगाएनन् । दुःख सुखका साथी भए नेपालगन्ज क्याम्पसमा पढ्दासम्म । बाबागंजदेखि गगनगंजसम्म सङ्गै घुम्न गयौँ हामी । पछिपछि त खाना खाने भान्सा र सुत्ने बिस्तारा पनि एउटै बन्न थाल्यो हाम्रो ।
‘जुम्ली पनि यस्ता हुन्छन् र ?’ मैले धेरै पटक आपैंmलाई गरेको प्रश्न हो यो । बसन्तका दाइ र दिदीहरूसङ्ग भेट भयो । उनीहरूले पनि माया गरे । ‘जुम्ला आउनु है’ भने । स्याउ र ओखरहरू पटक पटक खुवाए । उनीहरूका सङ्गतले जुम्ला ‘जाऊँ जाऊँ’ जस्तो लाग्थ्यो तर मेरो लागि सम्भव थिएन । गाडी चढ्न डराउनु पर्ने आर्थिक अवस्थाको मलाई जहाज चढ्ने कुरा कल्पनाभन्दा टाढाको कुरा थियो ।
मैले कल्पना गरेको जुम्लामा सधै हिउँ पथ्र्याे । आगो तापिरहनु पथ्र्याे । नुहाउनु र कपडा धुने कुरा कल्पनाभन्दा टाढाको थियो । पाखा र गोरु घुम्न नमिल्ने गह्राहरू थिए । बसन्तले एलवम देखाए । जुम्लाको खलङ्गा र सिंजा देखाए । फोटोमा देखिने धुमिल सिंजा र खलङ्गा उपत्यकाले जुम्लाको आकृति फरक रहेछ भन्ने लाग्यो । बसन्त र सुरेशसङ्ग भेट नभएको भए मेरो जुम्लाप्रतिको धारणा लामो समयसम्म उस्तै रहन्थ्यो सायद ।
जुम्ला बाइसे चौबिसे राज्यहरूमा एउटा शक्तिशाली राज्य थियो । यही शक्तिले कर्णाली प्रदेशको समग्र क्षेत्रलाई जुम्ला भनेर चिनाउन सफल भयो । कालीकोट होस् वा मुगु, डोल्पा होस् वा हुम्ला । सुर्खेत जाजरकोट र दैलेखलाई जुम्लाले आफ्नो कब्जामा राखेको छ अहिलेसम्म पनि । कर्णाली प्रदेशबाट झरेकाहरू सबै जुम्ली कहलिन्छन् अन्यका लागि । एउटा सभ्यता बनेर बसेको छ जुम्ली सभ्यता । सिङ्गो कर्णाली सभ्यता ।
गोर्खाली, स्याङ्जाली, झापाली र अछामीहरू जिल्लागत परिचय बनाउन सफल भएका नागरिकहरू हुन् । यिनीहरूभन्दा झनै दह्रो उपस्थिति र परिचय छ जुम्लीको । आफ्नै मौलिकता बोकेको छ जुम्ली सभ्यताले । सिङ्गो कर्णाली प्रदेशलाई नेतृत्व दिएको छ जुम्लाले । अहिले लाग्छ जुम्लाका नागरिकले जुम्ली भनेर परिचय गर्दा गर्व गर्न सक्नुपर्छ ।
मैले बसन्त र सुरेशलाई सम्झिरहेँ कर्णाली यात्रामा । उनीहरूकै गाउँ ठाउँ रमाउँदा कसरी बिर्सन सक्थें र उनीहरूलाई ? जुम्ला ‘जाऊँ जाऊँ’ बनाउने उनीहरू नै त थिए । ऊ बेला जान सकिएन र पो त । अहिले म जुम्ला क्षेत्रमा छु तर साथीहरू छैनन् । झण्डै तीन दसक पहिला भेटिएका साथीहरू यतिबेला मेरो सम्पर्कमा पनि छैनन् । कहाँ छन् ? के गर्दै छन् ? मलाई थाहा छैन । सायद उनीहरूलाई पनि मेरो बारेमा थाहा नहुनसक्छ । न त उनीहरूले खोजे, न त मैले नै । अहिले केवल सम्झनाहरूमा मात्रै छन् बसन्त र सुरेशहरू । हुन सक्छ कुनै दिन पृथ्वीले धुमाउँदा घुमाउँदै हामीलाई एउटै स्थानमा भेट गराउने छ ।
एउटा सपना थियो जुम्ला पुग्ने, कर्णाली घुम्ने । राराको पानीलाई शिरमा लगाउने । केही सुनेर र केही पढेर जानेको जुम्ला । नेपाली भाषाको उद्गम स्थल । पहिलो ऐतिहासिक शिलालेख भएको क्षेत्र । ‘नेपाल चिन्न कर्णाली घुम्नु पर्छ’ भन्छन् । नेपाल चिन्नकै लागि कालिकोट जुम्ला हुँदै मुगु राराको यात्रामा जाने निर्णयमा पुगेका थियौं हामी ।
गोवाको भ्रमणमा रहेको बेला कृतिम आइसलेण्ड हेर्न पटक्कै मन लागेन । ‘सर्वोच्च हिमाल भएको देशको मान्छे । कृतिम हिउँमा के खेल्नु ? कुनै बेला हिमाली क्षेत्रमा जाउँला र हिउँ खेलौंला’ भनेर तर्किएका थियौँ उबेला । हिमाली क्षेत्रमा त पुग्ने भयौँ तर हिउँ खेल्न पाइने नपाइने कुराको ज्ञान थिएन । हिउँ पर्छ थाहा थियो । हिउँ छ छैन थाहा थिएन हामीलाई ।
चैत्र मसाम्त २०७७ बिहान सात बजेबाट हाम्रो यात्रा कर्णालीतिर मोडियो । बर्दियाबाट आएको टिमसँग सुमित्रा न्यौपाने, म र छविलाल बराल कोहलपुर चौराहामा भेट भयौँ । हामीसँग दुई वटा स्कार्पियो गाडीहरू थिए । गाडी चालक सहित सोह्र जनाको समूह थियो । एउटा गाडीका चालक कृष्ण बास्तोला थिए । अर्को गाडीका चालक जनक पौडेल ।
प्रत्येक वर्ष कतै न कतै घुम्न जाने कार्यक्रम बन्दै आएको थियो हाम्रो विद्यालयको । यसपटक कहाँ जाने सबै निर्णय भ्रमण समितिले गरोस् भन्ने चाहेका थियौँ । सजिलोको लागि तीन जनाको समिति थियो । कृष्ण पौडेललाई समितिको संयोजकमा चुनेका थियौँ । खप्तड, रारा वा पाथिभरा रोजाइमा परेका थिए । छलफलमा आए यी ठाउँहरू । एक हप्ताको समय अनुमान गरियो । छब्बीस जना स्टाप रहेको हाम्रो विद्यालयका धेरै साथीहरू सुरुका दिनहरूमा भ्रमणका लागि तयार थिए । जतिजति दिन नजिकिदै जान थाले भ्रमण जानेहरूको संख्या घट्दै गयो । कसैको के समस्या देखियो, कसैको के ।
तीनवटा गाडीको तयारी गरेका हामी झण्डै एउटा गाडीमा थन्किन पुगगेका थियौँ । फेरि सल्लाह भयो इच्छुकहरूले आ–आफ्नो परिवार लैजान सक्ने । अन्तिम दिनसम्म आइपुग्दा मसँगै मेडम सुमित्रा जाने भइन् । अर्जुन तिवारी सरसँग गीता तिवारी र छोरी एञ्जल तिवारी जाने भइन् । युवराज घिमिरे र इश्वरी घिमिरे तथा जितेन्द्र पौडेल र गीता पाठकको जोडी पनि तयार भयो । कृष्णप्रसाद पौडेल, कृष्णराज अधिकारी, प्रकाश अर्याल र छविलाल बरालले मेडमहरू नलाने हुनुभयो । अनुज कुमार थारूले खै के गर्थे ? उनी कुमार नै थिए ।
‘एउटा गाडीमा जोडी भएकाहरू र अर्कोमा जोडी नभएकाहरू बस्ने’ योजना बनेको रहेछ । यो योजना प्रकाश अर्यालको रहेछ । सुरुमै उहाँहरूको योजना फेल खायो । म र सुमित्रा अलग अलग गाडीमा बस्यौँ । युवराज घिमिरे पनि हामी बसेकै गाडीमा बस्नु भयो । यो गाडी महिलाबिहीन गाडी बन्यो । हुन त साथीहरूले सायद चाहेको पनि यस्तै थियो ।
युवराज घिमिरेको विषयमा लेख्न मलाई अलि गाह्रो भएको छ यतिबेला । यात्रामा सँगै थियौं हामी । नियात्रा लेख्दै गर्दा उहाँ हामी माझ हुनु हुदैन । चैत्र मसान्तमा हामी यात्रामा निस्किएका थियौं । वैशाख मसान्त कै दिन ठिक एक महिनामा उहाँलाई कोभिडले हामीबाट सधैंको लागि छुट्टाएर लग्यो । युवराज सरसँग बचेका भनेका यिनै स्मृतिहरू त हुन् अब । यो स्मृति अक्षरहरूमा कुदेर बस्ने छन् जीवनभर ।
बार्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्ट पार गरेसँगै हामी उकालियौं पहाडतिर । हाम्रो बाटो बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको सिमाना हुँदै हिडेको थियो । चैत्रको महिना प्रायः डढेलोले वन सखाप बनाउने महिना । जङ्गलभरि डढेलो लागेर कुरुप बनाएको रहेछ वातावरणलाई । डढेलो रोक्नलाई ठूलै रकम निकासा हुन्छ प्रतेक वर्ष । डढेलोले वन सखाप नबनाएको कुनै वर्ष हुदैन । सधैं हुन्छ वन विनाश । सधैं हताहत हुन्छन् जङ्गली जनावरहरू । समस्या समस्यामै रहन्छ । समाधान कहिल्यै भएन ।
बबई पुग्दा आठ बजेको थियो । छिन्चुमा पुगेर चिया नास्ता खाने कुरा थियो । हाम्रो अगाडि अगाडि हिँडेको गाडी खोइ किन रोकियो ? हामीलाई थाहा भएन । सायद दिशा पिसावका लागि रोकिएको पनि हुन सक्थ्यो । हामीले सोच्यौँ चिया नास्ता खाने सोच भएछ । कतै अडर थिएन । एउटै होटलमा भिडभाड र ढिला होला भन्ने पनि लाग्यो । प्रकाश, अनुज, जितेन्द्र र म प्रधान होटलमा छि¥यौंँ । शरण प्रधान राम्रो गजलकार थिए । चिनेजानेका गजलकार । परलोक भएको पनि पाँच सात वर्ष भइसकेछ । छोरा बुहारीले चलाएका रहेछन् प्रधान होटेल । पुडी तरकारी खायौँ । अरु साथीहरूले पूर्ववत सल्लाहलाई नै सिरोधार्य गर्नु भएछ । सुर्खेतको छिन्चु कुरेर बस्नु भएछ । छिन्चुमा नास्ता खाने मेसो नै मिलेन । भोकभोकै बिरेन्द्रनगर पुगे साथीहरू । ‘जसले हान्यो उसले जान्यो’ भने जस्तो भयो । हामीले नास्ता खाएर ठिक गरेछौं । बाटामा कतै मौका नै मिलेन नास्ता खान । एक बजेसम्म साथीहरू भोकले आकुलव्याकुल भइसकेका थिए । खाना खान हामी दैलेखको तल्लो डुङ्गेश्वर लोहरे खोलाको तिरमा पुगेका थियौँ ।
खाना तयारी हुँदै रहेछ । हामी केही अगाडि पुग्यौँ । गाडी राम्रो हो कि चालक राम्रा हामीलाई थाहा थिएन । हामी चढेको गाडीको गति तीब्र थियो । कृष्ण बास्तोला थिए चालक । धावक नामले जिल्लाभरि चिनिएका । पुराना आर्मी । जागिर छोडेर व्यवसायी बनेका । धावक नाम समाजले राखेको नाम थियो । २०५७ सालमा २१ वर्षको उमेरमा महाकालीको पानी बोकेर मेची पुगेका थिए । दौडेर मिसाएका थिए दुई नदीको पानी । एउटा साहसिक व्यक्ति थिए उनी । त्यही समयदेखि धावक नामले परिचित थिए उनी । आर्मीमा भर्ती भए पछि दुई चारवटा राष्ट्रिय दौड प्रतियोगितामा भाग लिएर पुरस्कार पनि पाएका थिए । दुई दुई पटक शान्ति सेनामा परेछन् । जागिरको अवधि नपुग्दै जागिर छोडेर पैसा कमाउने धन्दामा लागेका थिए आजभोलि । तीन चारवटा व्यवसाय आफै गर्थे । राष्ट्रिय खेलाडीलाई राष्ट्रले परिचालन गर्न सकेको भए पनि हुन्थ्यो भन्ने लाग्यो । खेलमा भविष्य देखेनन् । जागिरमा भविष्य देखेनन् र आए नाम कटाएर । थाले आफ्नै व्यवसाय । पैसा कमाउने धन्दा ।
हामी साथीहरूलाई कुरेर बसेका थियौं । त्यस्तै दस एघार वर्षका तीन जना नेपाली थर भएका केटाहरू हाम्रो अगाडि आए । गीत गाउन सुरु गरिहाले । ‘माग्ने केटाहरूको चाला’ भन्ने लाग्यो । पैसा निकाल्ने बेलासम्म त सुन्नै पथ्र्यो मन नपरे पनि । स्वर मीठो थियो । नारायण गोपालको गीत पाए । उसो त नारायण गोपालका गीत मलाई खुब मन पर्छन् । एकछिन सुन्न मन लाग्यो । राम्रै लाग्यो । दस रुपियाँ निकालेको थिएँ । मन पग्ल्यो । बीस रुपिया थपिदिएँ । तीन जनालाई दश दश भाग लगाउन पनि सजिलो । केटाहरूले नाँच्ने र गाउने दुबै गरे । युवराज सरलेले साथमा साथ दिइरहनु भएको थियो । रमाउनु हुदो रहेछ सङ्गीतमा । कम्मर मर्काइ मर्काइ ताली बजाउनु भयो ।
बाटोभरि रमाइलो गर्नु भयो युवराज सरले । प्रकाश सर आफै गाउनुहुन्थ्यो । स्वर मीठो छ प्रकाश सरको । धावकको त कुरै गर्नु परेन । लोक गीतका पारखी नै थिए उनी । लोकगीतको भिडियोमा अभिनय गरिसकेका थिए । उनले अभिनय गरेको गीतले चर्चा पाएको थियो । लाख बढी दर्शक हेरिसकेका थिए । रमाइलो टिम थियो यो गाडीमा । हाँसी मजाक पनि चलिहाल्ने । गीत पनि गाइहाल्ने । जोकहरू पनि सुनाइ हाल्ने गरिरहेका थिए साथीहरू । अर्को गाडीमा यो सुविधा थिएन । अर्जुन सर र जितेन्द्र सर नाताले ज्वाइँ जेठान । ज्वाइँ जेठान के मजाक गर्नु ? के जोक हाल्नु ? मेडमहरू पनि सरहरू भएको ठाउँमा के ठट्टा गर्नु ? लाग्छ यात्राको मजा अर्को गाडीमा बस्ने सर मेडमहरूले लिनै पाउनु भएन ।
जनकको गाडी आउने बेलासम्म हामी गीतमा रमाइरहेका थियौँ । केटाहरूले राम्रै गाए । मलाई गायक रामकृष्ण ढकालको याद आयो । सडक पेटीमा गाउने मान्छे गोपाल कर्माचार्यको फेला परेपछि कहाँबाट कहाँ पुगे । अर्को गोपाल कर्माचार्य जन्मिएको भए यिनीहरूको प्रतिभाले पनि ठाउँ पाउथ्यो भन्ने लाग्यो । हुनत पछिल्लो समयमा युट्युवे पत्रकारहरूले कुनै कुनै ठाउँमा राम्रै गरेका छन् । सचिन, कमला, प्रिन्स, रविना जस्ता बाल कलाकारहरूलाई स्थापित गराइदिएका छन् । यिनीहरू पनि कसैको नजरमा परे भने कलाकार बन्न सक्थे भन्ने लाग्यो । हामीले भिडियो बनाएको देखेर भन्दै थिए ‘सर हामीलाई माथिसम्म पठाइदिनु ।’ उनीहरूको माथि सायद काठमाडौं भन्ने नै थियो ।
एक बजिसकेको थियो । भोक मज्जाले लागेको थियो । ‘पुर्नेल गुराँस होटल’ डुङ्गेश्वरमा खाना खाना खायौं । हामी पुग्नु पर्ने नाङ्मा थियो । ‘नाग्मा त खोई मान्मासम्म त पुग्नु हुन्छ’ होटलवाला साहुले भने । त्यसैले पनि हामी हतारियौं । लोहरे खोलाको पुल तरेर रारा जाने मुख्य बाटो समात्यौं । कर्णाली प्रदेश घुम्न हिडेका हामी कर्णालीको तिरैतिर उकालिरह्यौँ ।
बाटोका रमाइला दृश्यहरूले मन लोभ्याइरहेका थिए । कर्णालीको पारिपट्टि अछाम पथ्र्याे सुदुर पश्चिम प्रदेश । हामी दैलेखमा थियौं । शुभ छेडामा । दैलेख हुँदै कालिकोट पुग्नु थियो । कर्णालीको तिरैतिर । पादुका खोला तरेर अगाडि बढेका थियौं । गाडीमा तेल सकिदै गरेको सङ्केत भयो । राकम पुगेर तेल राखौँला भन्ने थियो भएन । ‘कर्णाली आयल स्टोर’ पादुकामा तेल हाल्यौं । हामी अघिअघि थियौँ अर्को गाडी पछिपछि ।
राकम पुग्दासम्म तीन बजिसकेको थियो । बाटामा देखिएका रातो चट्टान र रातो माटोको विषयमा कुरा भयो । मकै छर्नलाई तयार पारिएका थिए बारीहरू । मलाई सानो छँदाको सम्झना भयो । डाँडाबारी भन्ने जग्गा थियो हाम्रो स्याङ्जा पञ्चमुलमा । अहिले त आफ्नो भन्न मिल्दैन । राजिनामा दिएको जग्गालाई कसरी आफ्नो भन्नु ? माटो पूरै रातो । मल हालेर कालो बनाए पनि अर्को साल राताको रातै हुन्थ्यो । जहाँ मकै र कोदो राम्रो फल्थ्यो । तर मकै मुस्किलले बच्थ्यो । मकैले सुत्लो छोड्न थालेबाटै बाँदरहरू हुत्तैसी खेल्न आइपुग्थे । जोगाउनै कठिन । जे जति बचाएर ल्याउन सकिन्थ्यो नछिप्पिदै ल्याइन्थ्यो । पोल्यो, भुट्यो वा उसिन्यो जे गरे पनि हुने । काँचै खान पनि सकिने । चिनी जस्तै गुलिया । अति स्वादिष्ट । दैलेखको रातो माटोले गुलियो मकै दिन्छ कि दिदैन ? हामीलाई थाहा भएन ।
कर्णाली नदीले बनाएका राकमका सुन्दर फाँटहरूले हाम्रो मन लोभ्यायो । खोलाको किनार । पानी र घाँस दाउराको सहजता । खेतीपाती हुने फाँटहरू । नजिकै बजार । विद्यालय र अस्पताल जस्ता कुराहरूको सुविधा हुन्छ भने मानिसले किन गथ्र्याे र बसाइँसराइ ? ‘राकामका मानिसहरू रहर गरेर सुर्खेत नझरे हुन्छ । कोहलपुर र नेपालगन्ज नपुगे हुन्छ’ यस्तै लाग्यो हामीलाई । राकमको आत्मियता र हावापानी कहाँ पाइएला सुर्खेत, कोहलपु र नेपालगन्जमा ?
कर्णाली एक तमासले सुसाइरहेको सुनियो । सायद सास फेरेको होला । हिमालका खबरहरू बोकेर तराई हिडे जस्तो । कर्णाली आफैमा एउटा सभ्यता हो । कर्णालीबाट बिस्तारित भएको छ नेपाली भाषा र साहित्य । कला र संस्कृति । ब्राह्मण र क्षेत्रीहरूको पूर्खौली थलो यही कर्णालीको आसपास भएको इतिहासले बताउँछ । सुन्दरताको हिसावले मनमोहन छ कर्णाली । घुम्न र हेर्नु पर्ने स्थानहरू थुप्रै छन् कर्णालीमा । रारा ताल, शे–फोक्सुण्डो, नेपाली भाषा र सभ्यताको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका, कालिकोटको रास्कोट, जुम्लाको पाण्डवगुफा, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाताल छहरा, डोल्पोको सदरमुकाम दुनै, कालिकोटको मान्मा बजार, जुम्लाको खलङ्गा, मुगुको गमगढी, हुम्लाको श्रीनगर, लिमी, हिमाली पठार क्षेत्र हिल्सा आदि । कर्णालीका प्रमुख पर्यटकीय स्थल हुन् यी ठाउँहरू ।
तिब्बत मानसरोवरका लागि आधार प्रवेशद्वार पनि हो कर्णालीको हुम्ला । यातायातको असुविधाले गर्दा कर्णाली पछि परेको छ । कर्णालीको पानीलाई मात्रै सदुपयोग गर्न सक्ने हो भने कर्णालीको मुहार फेरिन सक्छ । पाखा पखेराहरूलाई मौसम अनुसारको कृषिमा प्रयोग गर्न सक्ने हो भने किन हुन्थ्यो भोकमरी ? स्याउ खेतीले मात्रै पनि मुहार फेर्न सक्छ कर्णालीको । ओखर र जडिबुटीले सम्पन्नसाली बनाउनसक्छ कर्णालीलाई । तर हिजोदेखि आजसम्म दरिद्रता, असहाय, भोक रोग र गरिवीबाट पीडित छ कर्णाली । ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बीड’ जस्तो बनेको छ कर्णाली ।
हामी कर्णालीमै केन्द्रित थियौं । समयले साढे चार बजेको सङ्केत गरेको थियो । घाम डाँडामा देखिए । कति छिटै बिदा माग्न खोजेका हामीसँग ? शुभ कालीका गाउँपालीका हुल्म बजार पुग्नु भन्दा पहिला बाटो साँघुरो र डर लाग्दो रहेछ । पुरै चट्टान काटेर बनाएको । दैलेख काटेपछि बाटो अलि खतरा लाग्यो । जता हेर्यो उतै चट्टान । कालैकालो चट्टान मात्रै । कालो माटो भएको भए कति खेती हुन्थ्यो होला ? तर चट्टानै चट्टान । आँखाले देख्नेसम्म भिरैभिर । खेती गर्ने जमिन नै नभए जस्तो । कताकति देखिएका खेती गर्ने गह्राहरू पनि गोरु घुमाउन नमिल्ने जस्ता । कालीकोट साँच्चिकै दुर्गम नै रहेछ जस्तो लाग्यो ।
तिला तरेर हामी मान्मातिर उकालियौं । तिलाको तिरैतिर बाटो बनेको भए जुम्ला नजिक हुन्थ्यो । कालिकोटको मान्मा झनै दुर्गम । जानेका हुन् कालीकोटका नेताहरूले बाटो घुमाएर मान्मा पु¥याइदिए । धुम्दै फिर्दै मान्माको बजार पुग्दा सात बजिसकेको थियो । अप्ठ्यारो बाटो । कतै पक्की कतै कच्ची । पिच फुटेर बिग्रेको बाटोले झनै उचाल्ने र पछार्ने ग¥यो । कुनै कुनै ठाउँमा त हाम्रो बोली बन्द हुन्थ्यो ।
बाटोमा भोक लागेको थियो । एकातिर नाङ्मा नपुगिएला भन्ने डर अर्कोतिर खाजा खाइहाल्यौं भन्ने खालका होटलहरू पनि बाटोमा फेला परेनन् । तीन बजेपछि चिया खान नपाएपछि त झन् मेरो त टाउको दुखे जस्तो भइहाल्थ्यो । यो कुरा सुमित्रालाई राम्रोसँग थाहा थियो ।
उनीसँगै भएको भए ‘कतै चिया पिउने कि’ पक्कै भन्ने थिइन् । अगाडिको गाडीमा भएको भए पक्कै ‘चिया पकाउने होटल छन् कि’ भनेर आँखा डुलाउँथिन् । फरक गाडीमा थियौं । नौलो अनुभूति हुँदै थियो । एउटै यात्रामा हिँडेका दुई श्रीमान श्रीमती सायद यसरी अलग अलग गाडीमा बिरलै हिँड्छन् होला । तर हामी हिँड्यौँ । महिलालाई महिलाहरूसँगै बस्न सजिलो होला भन्ने पनि लाग्यो । एउटै गाडीमा नहिँड्दा केही छट्पटी भने हुदो रहेछ । कतै भिर देखियो तर्सिनु पर्ने । साँघुरो बाटो देखियो झस्किनु पर्ने । पैह्रो गएको देखियो भने मनले अनेक सोच्दो रहेछ । मुटु चिसो हुने । पछाडिका कसरी आउलान् भन्ने पिर । गाडी नदेख्दासम्म र फोन नगर्दासम्म छट्पटी मात्रै भइरहने । मलाई जस्तै युवराज सरलाई भयो कि भएन खै ? उति बेलासोधिएन अब कसरी सोध्नु सम्झना मात्रै बाँकी छ युवराज सरको ।
मान्मामा पुग्दा झमक्कै साँझ प¥यो । साँझमा पनि सुन्दर देखियो मान्मा बजार । मान्मा पुगेपछि साहित्यकार मित्रहरू दुर्गाप्रसाद काफ्ले र पुष्पराज आचार्यलाई सम्झिएँ । दुर्गाजीसँग भेट पनि भयो । पुष्पजीसँग सम्पर्क मात्रै । चिया नास्तातिर लाग्यौं । मःम, पकौडा खायौँ । चिया पियौं । दिनभरि हिडेको शरीर दुखेको थियो । मान्मा मै बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्यो । चालक धावक र जनकले मान्मामा नै बस्न जोड गर्दै थिए । घडीले सात बजाइसकेको थियो ।
‘नाग्मा पुग्न तीन घण्टा लाग्छ । बाटो खराब छ ।’ होटलका साहुजीले भने । बाटो राम्रो छैन भन्ने कुराले झन् सातो गयो । ‘यतै बसुन्, मेरै होटलमा बसुन्’ भनेर भनेका पनि त हुन सक्थे । हामी नयाँ थियौँ । जसले जे भने पनि पत्याउनु हाम्रो विवसता थियो । रातिको समय खराब बाटो कसरी जानु मनमा छट्पटी भयो । अर्जुन सर जसरी पनि जानु पर्छ भन्ने पक्षमा देखिनु भयो । मेडमहरू मौन थिए । कृष्ण अधिकारीले कालीकोट घरभई बाँसगढी लामो समय पढाएका जे. पी. उपाध्याय ढकालसँग नाग्मा बजारको बारेमा बुझ्नु भयो । बस्ने होटल भए नभएको सोध्नु भयो । उनका दाइ नाग्माका व्यापारी रहेछन् । होटलमा सम्पर्क गराइदिए । हामी बाह्र बजे पुगे पनि खान बस्नेको कुनै झमेला नहुने भयो । नाग्मा पुग्न सके बाटो छोटिन्थ्यो । समयमा नै रारा पुगिन्थ्यो । ठिकै छ भन्ने लाग्यो । चालकहरूले काईकुई गर्दा गर्दै पनि हामी अगाडि बढ्यौँ ।
नाग्मा ‘छाया चन्द होटल’ पुग्दा साढे दस भइसकेको थियो । होटलवालाले ठिकै भनेका रहेछन् । बाटो पनि राम्रो रहेनछ । ठाउँठाउँमा भत्किएको । ठूलै पहिराले अठ्याए जस्तै दुखेको थियो शरीर । खाना खान पाए सुत्न हुन्थ्यो भन्ने लाग्यो । सुताइ कस्तो हुने हो भन्ने पनि थियो । होटल साँघुरो रहेछ । व्यवस्थित रहेन छ । सानो बजारको होटल । काम चलाउमा नै टिकेको रहेछ । भाडा लिएर चलाएका रहेछन् । आफ्नो त एटेज् सहितको होटल निर्माणाधिन रहेछ । अर्काको घर भनेर होला व्यवस्थित नगराएका ।
खानपिन भने राम्रै रहेछ । स्थानीय उत्पादनमा जोड दियौं । तिला नदीका माछा । मार्सी चामलको भात । लोकल कुखुराको मासु । कोदाको ढिडो । सिमीको दाल । हाम्रो साँझको खानामा समेटिए । खाना खाएर सुत्न जाँदा बाह्र बजिसकेको थियो ।
नाग्मा बजार तिला नदीको तिरमा रहेछ । बिहान साढे चारबजे तिर आँखा खुले । तिलानदी एक तमासले सुसाइरहेकी थिइन् । मीठो धुन दिएर । तिला नदीसँगै सुते जस्तो लाग्दै थियो । बैशाख एक गते थियो । नयाँ वर्ष । तराईमा गर्मी चढिसकेको थियो । नाग्मामा निकै चिसो रहेछ । कृष्णप्रसाद पौडेल, छविलाल बराल र कृष्णराज अधिकारी र म एउटा कोठामा थियौँ । मेडमहरू सबै एउटामा । युवराज घिमिरे र अर्जुन तिवारी सर एउटामा । प्रकाश अर्याल, अनुज कुमार थारू र जितेन्द्र पौडेल अर्कोमा । गाडीका मालिकहरू जो चालक बनेर आउनु भएको थियो । ‘उहाँहरूको बन्दोबस्त म गर्छु पैसा लाग्दैन’ भनेर होटलवाला साहुजीले पुछारको कोठामा लगे । हामीलाई लाग्यो राम्रै सम्मान दिने भए तर राती सुत्न नसकेर जनक पौडेल त गाडीमा आएर पो सुतेछन् । हामीलाई त बिहान मात्रै थाहा पायौँ ।
साथीहरू उठेका थिएनन् । मेरै नजिक सुतेका कृष्णराज अधिकारी एक तमासले घुरिरहनु भएको थियो । दिनभरिको थकान । म पनि राम्रैसँग घुरे हुँला । तर थाह भएन । कृष्ण पौडेल र छवि बराल पनि पक्कै घुरे होलान् । चालिस कटेपछि धेरै घुर्छन रे । तर थाहा भएन ।
शरीर नुहाउन पर्ने भएको थियो । बाटोको धुलोबाट बच्न सकिएको थिएन । तातो पानीको व्यवस्था रहेनछ । काम चलाउ होटल परेछ । चिसोले मुख धुन पनि गाह्रो भयो । चिसो पनि कति हो ? नुहाउने कुरै भएन । घरसँग जोडिएको बाथरुम रहेछ । तिला नदीकै छेउमा । नदीको चिसो सिरोटो सिधै अङ्कमाल गर्न आइपुग्यो । मैले अङ्कमाल गर्न सकिनँ । सिरोटोसँग रमाउन पनि सकिनँ बार्दलीमा उभिएर ।
भ्रमण सुन्दर हुन तनावलाई धेरै टाढा छोड्नु पर्ने हुन्छ । सानो छोरीको गुनासो ठूलो थियो । ‘सँगै जान्छु’ भनेर जिद्दी गरेकी थिइन् । हामीले नाइनास्ती गरेका थियौं । घरमै छोडेका थियौँ । मन अमिलो भएको थियो घरमा छोड्दा पनि । हुन त घरमा आमाहरू हुनुहुन्थ्यो । एक्ली थिइनन् आर्या । गाडीको बसाइ र रातिको सुताई पनि केही साह्रो गाह्रो भएकै हो । दुईवटा गाडीमा दुई बुढा बुढीको बसाइ उपयुक्त हो कसरी भन्नु र ? न मोबाइल चार्ज हुन सक्यो । न शरीर नै ।
पाँच बजेतिर साथीहरू उठे । ‘बिहान तिला नदीमा मज्जाले नुहाएर जाने हो’ जितेन्द्र सरको कुरा थियो । बिहान उठ्ने बित्तिकै खोलामा झर्नु भयो । तर नुहाउन सक्नु भएन । हिउँ पग्लेर बनेको नदी हिउँ जत्तिकै चिसो थियो । धावकलाई पनि नदी छुन मन लागेछ । नदीकै पानीले मुख धोएर फर्किए । नदीको किनारैभरि सिस्नो थियो । भाँचेर लिएर आए । सबैलाई ‘नयाँ वर्षको शुभकामना’ भन्दै हातमा छुवाउँदै गरे । पानी सहितको सिस्नोले मज्जाले पोले हातहरू । बिठ्याइँ पनि कति जानेका ? रमाइला रहेछन् धावक ।
मुगुबाट आएकी हिमा नदी र जुम्लाबाट आएकी तिला नदी कालिकोटको नाग्मामा भेटिएर कर्णाली भेट्न जाँदा रहेछन् । तिलाको किनारै किनार गए जुम्ला खलङ्गा गइने रहेछ । हिमा नदीको तिर समाते सिंजा उपत्यका । नेपाली भाषाको उत्पति भएको ठाउँ । वसन्त आचार्य र सुरेस आचार्यसँग हुँदा मैले सिंजा जुम्लाको पूर्व र खलङ्गा पश्चिम सम्झेको थिएँ । यहाँ आए पछि थाहा भयो, मैले त ठिक उल्टो पो सोचेको रहेछु । खलङ्गा पूर्व र सिंजा पश्चिम पो रहेछ । सिंजा उपत्यका हुँदै रहेछ रारा मुगु जाने बाटो ।
हिमा गाउँपालिका जुम्लाको स्वागत गेटले स्वागत ग¥यो हामीलाई । बसन्त र सुरेशलाई फेरि सम्झें एकपटक । सम्पर्क भएको भए सायद लिनै आउँथे नाग्मासम्म । हामी जुम्लामा रमाउँदै गरेको के थाहा उनीहरूलाई ? हिमा नदीलाई पच्छाउँदै सिंजा उपत्यकातिर लाग्यौँ हामीहरू । नदीको पश्चिमपट्टि ठूलै बस्ती रहेछ । हिमा नदीमा ठाउँ ठाउँमा काठका सुन्दर पुलहरू देखिए । काष्ठकलाको विकास राम्रो रहेछ भन्ने लाग्यो जुम्लामा । राजारानी र सिपाही तथा विभिन्न देवी देवताका काष्ठ मूर्तिकला पुलमा मज्जाले हेर्न पाइयो । कर्णालीको सभ्यता र संस्कृतिलाई उजागर गरिरहेका थिए यी काष्ठकलाले । वास्तवमा कर्णाली संस्कृति र सभ्यताको केन्द्रविन्दु नै हो । नेपाली भाषाको उद्गमस्थल सिंजा उपत्यकालाई नमन ग¥यौ मनैदेखि । भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र विविध जातजातिको सामूहिक बासस्थानले सुन्दर बनाएको छ कर्णालीलाई ।
हाम्रो यात्रा जारी थियो । गन्तव्य रारा मुगु । सिंजा उपत्यकालाई दाहिने पारेर उत्तर हानिदै थियौं हामी । उत्तर दक्षिण फैलिएको रहेछ सिंजा उपत्यका । हिमा नदीले जिबन्त बनाएको रहेछ सिंजालाई । सुन्दर दृश्यहरूले मन लोभ्याइरहेका थिए हाम्रो । सुन्दर लाग्दै थियो कर्णाली । यही सुन्दर कर्णालीमा मिसिएजस्तो लाग्यो गरिबी, बेरोजगारी, मौसमी बसाइँसराइँ, सीमित आर्थिक अवसर र भौगोलिक विकटता पनि । कमजोर व्यापार र बजार, असहज सञ्चार सुविधा र दुरावस्था भोगिरहेकै छ कर्णालीले ।
हामीले चिया नास्ता खाएका थिएनौँ । ‘बाटोमा जहाँ फेला पर्छ त्यही खाने’ सल्लाह भयो । नामै धावक गाडी दौडाएको दौडाइ गरे । पछाडिको गाडीले भेट्नै सकेन । चिया नास्ता गर्ने राम्रो ठाउँ नै पाइएन । सिमीको तरकारी र रोटी खाने मन थियो कतै भेट्टिएन । ‘चाउचाउ बनाइदिऊँ’ भनेका थिए एक दुई होटलले हामीलाई । तर मन लागेन । दुधवला चिया पनि कही पाइएन । चिया खोज्दै गोठी जिउला पुग्यौँ हामी । सिंजा उपत्यकाको उत्तरी कुनामा । कननकासुनदरी गाउँपालिकामा पर्दो रहेछ गोठी जिउला । साढे नौ भइसकेको थियो यहाँ पुग्दा । पछाडिको गाडी चार पाँच किलोमिटर पछाडि भएको थाहा भयो । गोठी जिउला काटेपछि खाना खाने राम्रो ठाउँ छैन भन्ने जानकारी भयो । नास्ता भन्दा खानाकै तयारी गरौँ भन्ने सल्लाह भयो । मार्सी चामलको भात, जुम्ली सिमीको दाल, च्याग्राको मासु र भाँगोको चटनी अडर ग¥यौँ । खानाको अडर गरेपछि वरिपरिको दृष्य हेर्न थाल्यौँ । पेट गडवड होलाजस्तो भयो । मेडिकलको खोजिमा लागेँ म । प्रकाश अर्याल र अनुज थारू समसाको खोजिमा । भोक लाग्ने बेला त भएको थियो नै । औषधि खाएपछि एउटा समसा खाएँ मैले पनि । साथीहरूले दुईदुईवटा खाए ।
खाना अडर गरेकै होटल पछाडि मार्सी धान कुटाउँदै रहेछन् । सानो मिल थियो । मट्टीतेलबाट चल्ने रहेछ यो मिल । कुटाउँदै गरेको ताजा मार्सी चामल भनेर चार पाँच किलोको दरले सबै सर मेडमहरूले खरिद गर्नु भयो । जुम्लाको चिनो यही हुने भयो । घरपरिवार र छरछिमेकलाई चखाउन पाइने भन्ने लाग्यो सबैलाई । पछिल्लो समय मार्सी चामल राम्रो ब्राण्ड बनेको थियो । बाबुराम प्रधानमन्त्री हुँदा मुस्ताङ गाडीले मार्केट लियो । केपी प्रधान मन्त्री भएपछि मार्सी चामल ब्राण्ड बन्यो ।
खाना खादा खादै साढे एक बज्यो । च्याङ्ग्राको पछि लाग्दा ढिलो भयो । खाना खाएर रारातिर तेर्सियौं हामी । सिंजा उपत्यकालाई दक्षिण पश्चिम छेड्दै पाखै पाखो उत्तर पूर्वतिर लाग्यौं । हिमा नदीले हाम्रो साथ छोडेकी थिइनन् । करिव एक घण्टा हिँडेपछि सातो जाने बाटो फेला पर्यो । पानीबिना पहिरो गइरहेको थियो । डोजरले बाटो सफा गर्दै थियो । गाडीबाट ओर्लियौं । सिङ्गल। जोडा र समूह समूहमा फोटाहरू खिच्यौँ । हिउँ पर्ने यो पाखामा कताकति सल्लाका रूखहरू थिए । दृष्यहरू सुन्दर थिए । सिंजाको फाँट टाढाटाढासम्म देखिएको थियो । करिव एक घण्टा रोकियौँ हामी ।
मुगु पुगिसकेका थिएनौँ । भिरको बाटो डर लाग्दो थियो । नागबेली र धुलाम्यै बाटोले सातो नै खायो । पाखाहरू उजाड थिए । दुई चारवटा घरहरू कताकति भित्तामा टाँसिए जस्ता देखिन्थे । जुम्लालाई जतिजति छोड्दै थियौँ उतिउति यात्रा असजिलो हुँदै थियो । बाटो देखेरै डर लाग्दो । पुरै पहरो काटेर बनाएको । छेउमा बस्नेले त डिलतिर हेर्नै नसकिने । कतै उकालो कतै मोड । उकालोमा ब्रेक लगाउँदै चढाउँदै गर्नु पर्यो कति ठाउँमा । ब्रेकले नथामे गाडी कहाँ पुग्थ्यो थाहा नै थिएन । मुटुनै सिरिङ्ग हुने । बाइकमा आउनेहरू कसरी चढ्छन् होला यस्तो बाटो ? ‘यो बाटो फेरि जिन्दगीमा आउँदिन’ चालकले नै यसो भनेपछि हामी नडराउने त कुरै भएन । धावकको पनि पहिलो यात्रा रहेछ चालक बनेर आएको । पछि मात्रै थाहा भयो हामीलाई । निडर र साहसी भने थिए धावक । यही साहसले हामीलाई रारा पु¥याएको रहेछ । कालिकोटको बाटोभन्दा पनि निकै खतरनाक लाग्यो मुगु पुग्नुपूर्वको जुम्लाको बाटो ।
यो बाटो हिँड्दै गर्दा राज्यको उपस्थिति न्यून छ भन्ने लाग्यो कर्णालीमा । राज्यका थोरै मात्र संयन्त्रहरू परिचालित भएको देखियो यहाँ । राज्यको सौतेनी व्यवहारले गर्दा कर्णाली पछाडि परेको थियो । पछाडि पारिएको थियो । पदयात्रा र साहसिक पर्यटनस्थलका रूपमा पनि ठूलो सम्भावना देखिन्छ कर्णालीमा । आर्थिक अभाव, भोकमरी, विकटता र चेतनाको अभाव छ कर्णालीमा । शिक्षा स्वास्थ्यमा पछि छ कर्णाली । रोजगारीका लागि ओरालो झर्न वाध्य छ कर्णाली । राज्यले थोरै मात्र कसरत गर्ने हो भने कर्णालीले धेरैको करिअर बनाउन सक्छ । सम्भावनाको खानी लाग्छ कर्णालीमा । उज्यालो आकाशमुनि उज्याला सम्भावना बोकेर पर्खिरहेको छ कर्णाली ।
मुगु लाग्ने बित्तिकै रारा राष्ट्रिय निकुञ्जको पाटन बुलबुले पोष्टमा गाडीहरू इन्ट्री ग¥यौँ । ठूलै चौर रहेछ पाटन बुलबुलेमा । भेडाहरू चरिरहेका थिए । उज्यालो चौर । सफा र सुन्दर चौर । सबैको मन खिच्यो यो पाटनले । दुबोको डसना र दुबैको सिरानी बनाएर आकाश हेर्दै पल्टौँ जस्तो लाग्यो एकैछिन् । तर समय थिएन हामीसँग । कतिबेला रारा पुगिएला भन्ने छट्पटी मनभरि थियो । मुगु लागेपछि हरियाली बढी देखियो । मलिलो रहेछ पहाड पनि । सल्लाको वनले पाखा पखेराहरू ढाकेको थियो । सल्लाका रूखहरू यति ठूला हुन्छन् भन्ने मैले सोचेकै थिइन् । अग्ला र सिधा । सालका रुख जस्तै मोटा सल्लाका रुखहरू बाटोभरि देखिए । प्रकृतिले योजनाबद्ध रुपले वृक्षारोपण गरेजस्तो । मल र सिचाइको सुविधा दिएजस्तो । मुगुका भिरपाखाहरू मलिलो लाग्यो । माटो राम्रो नभइ त कसरी हुर्कन्थे होला र यी अजङ्गका रूखहरू ?
हामी उकालिदै थियौँ । हाम्रा कानहरूले उचाइको अनुभव गर्न थालेका थिए । कान डम्म हुन थालेका थिए । मलाई कताकता डर पनि लाग्दै थियो । धेरै भएको थिएन कोभिडबाट पीडित भएर उठेको । कोभिडको प्रभाव फोक्सोमा नै हुन्थ्यो । ‘अक्सिजनको कमी हुने पो हो कि ?’ भन्ने पनि लाग्यो । लसुन र टिमुरले लेक लाग्न दिदैन भन्दा रहेछन् । हो होइन थाहा भएन । हामीसङ्ग थिएन । मेडमहरू हामीसङ्ग थिएनन् । मेडमहरूको गाडी पछाडि नै थियो । धावकको गाडीको गति बढी नै रहेछ । ‘सङगै हिडौं, गति कम गर्नु’ भनेर पटकपटक भन्नु प¥यो । नामै धावक गाडी दौडाएको दौडाइ गरे आज पनि ।
बाटोमा खोला थियो । खोलामा घट्टे कटेरो । गाडी रोक्न लगायौँ । केही बेरमा पछाडिको गाडी पनि आइपुग्यो । मेरा कानहरू खुलिसकेका थिएनन् । अक्सिजनको कमी भए जस्तो भयो । इश्वरी मेडमले टिमुर दिनु भयो । दुई दाना मुखमा राखेँ । पानी रसायो । अर्जुन सर र सुमित्रा मेडम पनि कोभिडबाट पीडित भइसक्नु भएको थियो । उहाँहरूले अप्ठ्यारो महसुस गर्नु भएको रहेनछ । ‘रारा झन अचाइमा रहेछ भने समस्या हुन्छ कि ?’ भन्ने डर पनि लाग्यो । अब डराएर फर्किने अवस्था पनि त थिएन । घट्ट हेर्न गयौँ । घट्टमा दुई जना मुगेली युवतीहरुले कोदो पिसाइरहेका थिए । सुमित्राले अन्तरवार्ता नै लिनु लिइन् । राम्रो सिस्टम रहेछ घट्टमा । जसले पनि अन्न पिस्न पाउने । पैसा तिर्नु नपर्ने । मन लागे आयो । पिस्यो लग्यो । चौविस घण्टे सेवा रहेछ घट्टको ।
चार बजे हामी मुगुको सल्लेरी पुग्यौँ । नयाँ वर्षको दिन भएर पो हो कि अलि भिडभाड नै थियो । सीमित होटलहरू थिए । बस्न नपाइन पनि सक्थ्यो । रारा तलाउकै नजिक पनि एकदुई ओटा होटलहरू छन् भन्ने सुनेका थियौँ । तर यी होटलहरू ‘अग्रिम बुकिङ हुन्छन्’ भन्ने सुनियो । उताको आसा भएन यतै खोज्यौं । चार ओटा कोठा बुकिङ ग¥यौँ । चिया पियौं र तयारी भयौँ रारातिर जान । रारा लैजान घोडाहरू तमतयार थिए । ‘जान आउन प्रति व्यक्ति एक हजार’ भन्दै थिए । ‘एक घण्टा लाग्छ हिँडेर गए’ भन्ने सुनियो । हिँडेर जान आउन सम्भव थिएन । राराको आर्मी क्याप्प नजिकै पुग्यौँ । आर्मीले गाडी लान दिन्छ कि दिदैन सोध्यौँ । नयाँ वर्षको दिन भएकोले तालको नजिकै रहेको चौरसम्म गाडी जान दिएको रहेछ आर्मीले । खुसी लाग्यो । फटाफट राजस्व ति¥यौँ र लाग्यौ रारा तिर ।
पन्ध्र मिनेट जति उकालिएपछि डाँडोमा सम्म परेको चौर आयो । चौर पनि के भन्नु ? फाँट भने पनि हुने खालको थियो । आँखाले हेरेर नभ्याउने खालको । यही चौरमा गाडी रोक्यौँ ।
घोडा लिएर हिँड्नेहरू यहाँ पनि थिए । रारा ताल कति टाढा छ र बाटो कस्तो छ भन्ने कुरामा हामी अनविज्ञ थियौँ । ‘घोडामा जाने हो सर ?’ एउटा भाइ नजिकै आएर सोधे ।
‘कति लिन्छौ ?’
‘चार सय ।’
‘कति समय लाग्छ र ?’
‘पन्ध्र मिनेट ।’
‘पन्ध्र मिनेटको चार सय महङ्गो भएन र ?’
‘ठिक छ मिलाएर लगिदिन्छु ।’
‘कतिमा ?’
‘आउने जाने चार सय भयो ।’ मलाई हाँसो लाग्यो ।
‘सिधै पचास प्रतिशत छुट ?’
‘भन्नुहोस् जानुहुन्छ भने !’ कुराकानी हुँदै थियो सुमित्रा मेडमकी बिद्यार्थी लक्ष्मी वि सी भेट भइन् । उनी मुगुकै स्थायी बासिन्दा थिइन् । अझ भनौं रारा आर्मी क्याम्प नजिकै होटल गर्दिरहिछिन् । सुमित्रालाई देखेर खुसी भइन् । आँखाभरि आँसु देखिए । केही कोही बिद्यार्थीहरूले कति माया मान्छन् है ? गरुबा र गुरुमालाई । सुमित्रा पनि खुसी भइन् । घोडावाला पछि लाइरहेको थियो । ‘घोडामा जानू पर्दैन मेम नजिकै छ’ भनिन् ।
‘भयो भाइ हामी हिँडेरै जान्छौँ ।’ पन्ध्र मिनेट पनि के नहिँड्नु भन्ने लाग्यो । साँझ भेट्ने सर्तमा छुट्टिए उनीहरू । सल्लाघारीको बीचबाट बाटो बनाइएको रहेछ रारा तालमा झर्न । बाटाको दुबैतिर सल्लाका रुखहरू डिउटीमा तैनाथ रहेका सैनिकजस्ता देखिन्थे । कति मिलेका ? एउटै स्वरुपका । एउटै फेक्ट्रीबाट निकाले जस्ता । हामीलाई रमाइलो लाग्यो हिँड्न पनि ।
हामीले गन्तव्य बनाएको रारामा पुग्यौँ हामी । शान्त रारा, सफा रारा हामीलाई नै पर्खेर बसे जस्तो लाग्यो । जतिजति नजिक पुग्यो उतिउति उत्साहित भएका थियौं । राराको तिरमा पर्यटकहरू सलबलाइरहेका थिए । घोडाहरू चरिरहेका थिए । टिकटक बनाउनेहरूले अनेक अभिनय गरिरहेका थिए । हामी तलाउको छेउमा पुग्यौँ । पानी निकै सफा र कञ्चन थियो । पानी शिरमा चढाएँ र रारालाई नमस्कार गरेँ । मेरो धर्तीलाई प्रकृतिले दिएको सुन्दर उपहार । पहाडको टुप्पोमा बनेको सुन्दर रारा । हिमाली प्रदेशको सौन्दर्य । ‘स्वर्गकी परी’ राजा महेन्द्रले राखेको नाम । साँच्चिकै स्वर्गीय आनन्द दियो राराले । आँखाले हेरर नभ्याइने । हिडेर परिक्रमा गर्न आँट नआउने । वरिपरि हरियाली । सदावहार जङ्गल । लामवद्ध सल्लाका रुखहरूले निगरानी गरे जस्तो लाग्यो रारालाई ।
‘रारा ओ रारा, मेरी रारा’ प्रेमप्रकाश मल्लको शव्द र वि पी वाग्लेको स्वरमा गाइएको गीतको सम्झना भयो । साँच्चिकै राराको सौन्दर्यतामा नलठ्ठिने को नै होला र ? वास्तवमा अनौठो छ यो प्रकृतिको लिला पनि । कति जानेको प्रकृतिले पृथ्वीलाई सिंगार्न ।
‘राराले रुप फेर्छ’ पढेको र सुनेको कुरा थियो । राराको बहुरुप हेर्ने मन हामीलाई पनि थियो । सन्ध्याकालीन रारालाई अवलोकन गरिरहेका थियौँ । खत्याड खोलाबाट राराको पानीको निकास हुँदो रहेछ । खत्याड खोलातिरबाट सूर्यले बिदा माग्दै थिए । हामी रारा हेरेर अघाएका थिएनौं । फोटा खिचाउने र भिडियो बनाउने काम भइरहेको थियो राराप्रतिका अनुभूतिलाई भिडियोमा कैद गर्दै थियौँ । निकै चिसो होला भन्ने लागेको थियो तर रहेनछ । टिसर्ट लगाएर फोटाहरू खिचेँ मैले पनि । सास फेर्न अप्ठ्यारो हुन्छ कि भन्ने लागेको थियो त्यो पनि भएन । बाटोको कठिन यात्रा क्षणभरमा भुलाइदियो राराले ।
कर्णालीलाई धेरैले चिनेका छैनन् । कठिनतम् भूगोल र यातायातको सहज पहुँच नहुँदा कर्णाली क्षेत्र अथाह सम्भावना भएर पनि पछि परेको छ । पर्यटन विकास हुन सकेको छैन । हवाई तथा सडक यातायातलाई सर्वसुलभ, सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउन सके रारा मात्रै होइन कर्णाली क्षेत्र नै स्वदेशी तथा विदेशी पर्यटकका लागि स्थायी गन्तव्यस्थल बन्न सक्थ्यो । तर खै कहिले र कस्ले पो गर्ने हो ? कर्णालीको विकास ।
राराको विकटता अभिशाप होइन । कर्णालीको भू वनोट समस्या होइन । यसलाई कसरी सदुपयोग गर्ने भन्ने महत्वपूर्ण कुरा हो । विकटता कहाँ छैन ? तराई र पहाडमा पनि छन् दुर्गम स्थानहरू । विश्वका सबै देशमा आ–आफ्नै खालका विकटताहरू छन् । कतै भीरपाखा मात्रै छन् त कतै बञ्जर मैदान । कतै मरुभूमि मात्रै छ त कतै चट्टानै चट्टान । कतै हिउँ मात्रै पाइन्छ त कतै पठार । मानिसकै प्रयासले हो सुगम बनाउने । मानिसकै कर्मले हो सुन्दर पार्ने । रारा सुगम बन्न सक्छ । कर्णाली उत्तम हुन सक्छ । कर्णालीलाई हेर्ने नजरीया सकारात्मक बन्यो भने । सबै तहका सरकारले कर्णाली बनाउन तत्परता देखाउन सके भने कर्णालीले कहिल्यै हेपिनु पर्ने छैन ।
मुगुको मुगुभोट, डोल्पाको सर्वाधिक उचाइमा रहेको मानवबस्ती छार्काभोट, स्थानीय जनजीवन र समाज पर्यटकका लागि रमणीय स्थल बन्न सक्छन् । कर्णालीको प्राकृतिक, धार्मिक, सांस्कृतिक, मौलिक परम्परा, रहनसहन र वस्तुस्थितिले धेरैको मन जित्न सक्छ । कर्णालीको पद पर्यटनले धेरैलाई लोभ्याउन सक्छ । यातायातले सुगम कर्णाली बन्यो भने ।
राराले हामीलाई मोहित बनायो । रारा साँच्चिकै मनप्रिय छ । सुन्दर छ स्वर्गकी परीजस्तै । अझै पनि धेरैका लागि नौलो छ रारा । जसरी हाम्रो लागि थियो । आखिर मानिसको आँखाले सधैँ नौलो चिज नै खोजिरहन्छ । घन्टौँ आँखा टिकाउन सक्ने रारा लगायत कर्णालीका थुप्रै महत्वपूर्ण स्थानहरू साँच्चिकै मनप्रिय लाग्न सक्छन् । कर्णाली सुगम बन्यो भने ।
रारा छोड्ने मन थिएन । छ बजे फर्कनै पर्ने वाध्यता थियो । छ बज्न पन्ध्र मिनेट मात्रै थियो । सन्ध्याकालिन रारा हेरियो । प्रातकालिन रारा हेर्ने पुनः आउने गरी हामी होटलतिर फिर्कियौं । न्यु महादेव होमस्टे एण्ड लज सल्लेरी,रारा मुगुमा हाम्रो बसाइ थियो । भोक लागि सकेको थियो । खाना बन्दै रहेछ । चिसो हावा चलेको थियो । होटलमा मुदुस जस्तो भाँडोमा कोइला हालेर आगो ताप्न मिल्ने बनाइएको रहेछ । वरिपरि बसेर आगो ताप्यौं । केहीबेरमा खाना खायाौं । खाना मीठो थियो । स्थानीय उत्पानमा जोड दियौँ । मार्सी चामल, मुगेली सीमी, लोकल भाले र ताजा साग मीठो मानीमानी खायौँ ।
खाना पकाउने मानिस र खाना बाँड्ने मानिसका लत्ताकपडामा ध्यान दिएको भए सायद एक गाँस पनि भित्र छिर्ने थिएन कि ? कालिकोट नाग्माको लामा होटल, जुम्ला सिंजाको गोठी जिउला होटल र मुगु सल्लेरी न्यु महादेव होटलका स्टाफहरूका कपडाले मुस्किलले वर्षदिनमा साबुन पानीमा पौडने मौका पाएका थिए होला । चिसोले त होला कपडा खोल्न डर मानेका । धुन अप्ठ्यारो मानेका । मैलाको पत्रैपत्र परेजस्तो । मान्छे हेरेनौँ । भोक र भोजन दुबै मिठा बने हाम्रो लागि ।
बिहान सबेरै उठियो । बाहिर चिसो मौसम थियो । पारि पाखामा हिउँ परेको थियो । हामी बसेतिर परेन । परेको हिउँ पनि पग्लिसकेको रहेछ एक दुई हप्ता पहिला । हामीले हिउँ खेल्न पाएनौँ । गोवाबाटै साँचेको हिउँ खेल्ने रहर यसपटक पूरा भएन । हिउँको चिसो भने मज्जाले अनुभव ग¥यौं साँझ बिहान । हात मुख धुन पनि कठिन भयो हामीलाई । हातहरू ठिहिराउने पानी । नुहाउने त कुरै भएन । तीन दिन भएको थियो ननुहाएको । तातो पानीको सुविधा रहेन छ । तताउन लगाएर पनि सम्भव होला जस्तो भएन । धुलो मैलो जे थियो त्यस्तै झोलामा कोचा¥यौं कपडाहरू । चिया पियौं । पुनः राराको प्रातकालिन दृष्यावलोकन गर्न जाने तयारी ग¥यौँ ।
‘हेर्नू पर्ने हेरियो, म त जान्न’ कृष्णप्रसाद पौडेल सरले भन्नु भयो । हाम्रो भ्रमणको संयोजक नै उहाँ हुनुहुन्थ्यो । उमेरले साठी पुग्न केही महिना मात्रै बाँकी थियो । सायद हिँड्न कठिन भयो । थकानले लत्रायो । हामीलाई छोडेर जानै मन लागेन । उहाँकै तालमा हिँड्ने, नसके घोडा चढाएर भए पनि लैजाने कुरा भयो । हाम्रो आग्रह स्वीकार्नु भयो कृष्णसरले । सात बजे पुनः रारामा पुग्यौँ । बिहानको मौसम सफा थियो । आकाश खुलेको थियो । घाम लागिसकेका थिए । बिहानको घामको प्रकाशले तलाउको पानीमा तीन चार रङ्हरू देखिएका थिए । कतै नीलो देखियो । कतै कालो त कतै सेतो खालको । राराले रूप फेर्छ भनेको हो रहेछ । अघिल्लो दिन देखिए जस्तो थिएन भोलिपल्ट देखिएको राराको पानी ।
हामी रमाउनै आएका थियौँ । रमायौं सात बजेदेखि दस बजेसम्म । अगिल्लो दिन जे जे छुटे जस्तो लागेको थियो धेरै पूरा ग¥यौँ । अर्जुन सर र गीता मेमले छोरी एञ्जललाई राखेर थरिथरिका टिकटक बनाउनु भयो । प्रकाश अर्याल र अनुज कुमार थारू भिडियोमा रमाउँदै हुनुहुन्थ्यो । हरि त्रिपाठीले बाँसगढी बर्दियाबाट फोनबाट गीत गाउनु भयो । हामी मज्जाले नाच्यौँ । ‘लाउरे दाइले के ल्यायो गुन्टामा…’ बोलको गीत खुब गाउनु हुन्थ्यो हरि सरले । आज पनि त्यही गाउनु भयो ।
फोटा खिच्नु र भिडियो बनाउनु त सामन्य कुरा नै भयो । सबैका रायहरू भिडियोमा कैद गरेँ मैले युट्युभका लागि । युवराज सरले बोलेको कुरा दर्जनौं पटक हेरिसकेको छु म आफैले पनि । रारा तालको खुलेर प्रशंसा गर्नु भयो । अन्तिम रहेछ रारा तालको यात्रा । अन्तिम रहेछन् यी अभिव्यक्तिहरू युवराज सरका सधैं सधैंका लागि । आज छ भोलि छैन । अनौठो छ जीवन पनि । कसको यात्रा कहाँ पुगेर टुङ्गिने हो ? केही थाहा छैन कसैलाई ।
समुद्री सतहदेखि ३००० मिटर भन्दा बढीको उचाइमा रहेको राराले नेपाल र नेपालीको उचाइ बढाएको अनुभव भयो । ३९० कि मिको दुरी पार गरेर पुगेका थियौँ रारामा । जुम्ला खलङ्गा र दैलेख दुल्लु बाटोमै छोडेका थियौँ । नाग्मादेखि ३६ कि मी पार गरेर जुम्ला खलङ्गा पुगिन्थ्यो । ‘रारा पुगेपछि खलङ्गा नछोड्नु होला’ भनेका थिए साथीहरूले । सिंजा त हेरियो, खलङ्गा हेरिएको थिएन । बसन्त र सुरेशबाट सुनेको जुम्ला खलङ्गा नहेरी कसरी फर्कन मान्थ्यो र यो मन पनि । यी साथीहरूलाई जुम्लामै भेट्टाउन पाएको भए कति आनन्द लाग्थ्यो होला ?
जुम्लाका स्याउका बगान, पाण्डव गुफा, चन्दननाथ मन्दिर, कृषि अनुसन्धान केन्द्र, कर्णाली प्राविधिक शिक्षालय र चन्दननाथ सामुदायिक नमुना मा. वि हेर्ने योजना बनेको थियो । एघार बजिसकेको थियो । समयमा नहिडें खलङ्गा पुग्दा रात पर्न सक्थ्यो । तातो पानीमा नुहाउने सल्लाह बनेको थियो । त्यो पनि छुट्थ्यो । समयको ख्याल गर्दै रारा मुगु सल्लेरीबाट खलङ्गा ताकेर ओरालो झ¥याँै हामी रारालाई सम्झनामा बोकेर ।
(कोहलपुर, बाँके)