“किन किन आज मेरो मन स्थिर छैन । दरबारको भोगविलास, रमझम सबैदेखि नै वाक्क लागेको छ । आजदेखि नै म राजगद्दी त्याग्न चाहन्छु ।” गौडका राजा प्रचण्डदेवले राजसभामा घोषणा गरे ।
“महाराज ! हजुरले के भनिबक्सेको यस्तो ? राजाले नै राजगद्दी त्यागेपछि कसरी चल्ला राज्य ? राज्य र जनताको मुख हेरेर आनो निर्णय फिर्ता लिइबक्सियोस् महाराज !” प्रधान सेनापतिले ‘सलाम’ ठोक्दै बिन्ती गरे ।
“जिद्धी नगर प्रधान सेनापति । अब मलाई शक्ति, सुविधा र मोजमस्तीको कुनै चाहना छैन । म अब शान्ति र सद्भावको मार्गमा लाग्छु । म राजगद्दी त्यागेको घोषणा गर्छु ।” उनले राजमुकुट फुकालेर थन्क्याए र सामान्य जनताको रुपमा सभाबाट बाहिरिए ।
“राजगद्दी त्यागे पनि राज्य त त्याग्नु हुन्न होला नि ?” राजसभा सदस्यले सोधे ।
“म राज्य पनि त्याग गर्छु । शान्तिका प्रतीक बुद्धभूमि नेपाल जान्छु । बाँकी जीवन उतै बिताउँछु । आजसम्म मलाई राज्य प्रमुखको रुपमा सघाउने सबैलाई धन्यवाद !”
प्रचण्डदेव गौड राज्य त्यागेर नेपालतिर हिँडे । उनी महिनौँ हिँडेर काठमाडौँ पुगे । काठमाडौँ पुगेपछि उनी तीर्थस्थलहरु घुम्न थाले । तीर्थस्थलहरु घुम्दाघुम्दै उनको भेट मञ्जुश्रीका चेला गुणाकर भिक्षुसँग भयो ।
प्रचण्डदेवले आनो परिचय गुणाकरलाई दिए । आफू गौडको राजगद्दी त्यागेर बुद्धभूमि नेपाल आएको पनि भने ।
“ओहो ! राजगद्दी नै त्यागेर यहाँ आउनु भयो ? केले प्रभाव पा¥यो तपाईंलाई यसरी ?” गुणाकरले आश्चर्य मान्दै सोधे ।
“मलाई बुद्धशिक्षा एकदमै मन पर्छ । म बोधिमार्गमा हिँड्न चाहन्छु । दरबारमा हुने जालझेल र षडयन्त्रबाट विरक्तिएर यो मार्गमा लागेको हुँ । मानिसमा भएका दुर्गुणहरु त्यागेर सत्मार्गमा लाग्न चाहन्छु । अब म भिक्षु बन्न चाहन्छु । म तपाईंको शिष्य बन्न चाहन्छु । कृपया मलाई आनो शिष्य स्वीकारिदिनुहोस् ।” प्रचण्डदेवले गुणाकरलाई अनुरोध गरे ।
“तिमीजस्तो महान् मान्छेलाई शिष्य बनाउन मलाई कुनै आपत्ति छैन । कति असल मान्छेहरु मोहजालमा फसेर गलत बाटो लाग्छन् । तिमीले त छँदाछँदाको राजगद्दी त्याग्यौ । म तिमीलाई दीक्षा दिन तयार छु ।” गुणाकरले प्रचण्डदेवको प्रस्ताव खुसीसाथ स्वीकार गरे ।
प्रचण्डदेवले गुणाकरसँग भिक्षुको दीक्षा लिए । दीक्षा लिइसकेपछि प्रचण्डदेव भिक्षु शान्तिश्री बने । उनी बज्रयानमा दीक्षित भई शान्तिकराचार्य बने ।
“वाह ! कति राम्रो उपत्यका ! यसको उत्पत्ति कसरी भयो होला ?” दीक्षित भइसकेपछि स्वयम्भू डाँडाबाट उपत्यका देखाउँदै शान्तिकराचार्यले आना गुरू गुणाकरसँग सोधे ।
“काठमाडौ“ उपत्यकाको उत्पत्तिको कथा एकदमै रमाइलो छ शिष्य ।” गुणाकरले उत्साहित हुँदै भने । “म यो कथा सुन्न आतुर छु । गुरूदेव ! सुनाइहाल्नोस् न है ?” शान्तिकराचार्यले आना गुरू गुणाकरलाई शिर निहुराएर अनुरोध गरे ।
“हेर न, काठमाडौ“ उपत्यका साँच्चिकै पोखरीजस्तै खाल्डो परेको छ । साँच्चिकै यो खाल्डो पानी नै पानीले भरिएको नीलो दह थियो ।”
“त्यतिबेला काठमाडौ“मा बस्ती थिएन होला त गुरूदेव ?” शान्तिकराचार्यले मनको खसखस पोखी हाले ।
“पानीको तालमा मानव बस्ती हुने त कुरै भएन । तालबाहिर वरिपरि चाहिँ बस्ती थियो । नागार्जुनमा विपश्वी बुद्ध बस्नु हुन्थ्यो रे । उहाँले सङ्लो तलाउमा कमलको फूल रोप्नु भएछ । त्यो कमल फूलको जरा पुरानो गुह्येश्वरीमा गड्न पुगेछ । त्यसपछि पुरानो गुह्येश्वरीलाई पवित्रस्थान मान्न थालिएछ ।”
“कमल त हिलोमा फुल्ने सुन्दर फूल होइन र ?” शान्तिकराचार्य अलमलमा परे ।
“हतार नगर न शिष्य । म कथा भन्दै छु त । विपश्वी बुद्धले लगाउनु भएको त्यस कमलबाट सुन्दर फूल फुल्यो । फूल मात्र कहाँ फुलेको हो र ? त्यो फूलबाट ज्योति पनि निस्कियो ।”
“आम्मै फूलबाट पनि ज्योति निस्कन्छ र ?” शान्तिकराचार्य अचम्ममा परे ।
“त्यही त छ चमत्कार ! कहाँ ज्योति मात्र निस्केको हो र ? पञ्चरङको ज्योति पो निस्कियो त ।” गुणाकरले उमङ्गका साथ भने ।
“अनि त्यो पञ्चरङको ज्योतिमा कुन कुन रङ थिए होलान् गुरू ?” शान्तिकराचार्यले सोधी हाले ।
“त्यो कमलकोँ फूलबाट निस्केको ज्योतिमा रातो, पहेँलो, हरियो, नीलो र सेतो रङ थियो रे । कमलको फूलबाट स्वतःस्फुर्त ज्योति आएकोले त्यसको नाम स्वयम्भू रहन गएछ । पञ्च रङले पञ्च बुद्धलाई जनाउँछ । यी पाँच बुद्धलाई आदि बुद्ध भनिन्छ ।”
“अनि आदि बुद्ध को को रहेछन् त ?” शान्तिकराचार्यले पुनः प्रश्न गरे ।
“अमिताभ बुद्ध, अमोघसिद्धि बुद्ध, अक्षोभ्य बुद्ध, वैरोचन बुद्ध, रत्नसम्भव बुद्ध । यी पञ्च बुद्धलाई ध्यानी बुद्ध पनि भनिन्छ । कमलको फूलमा ज्योति उत्पन्न भएको स्वयम्भू दर्शन गर्न विभिन्न समयमा बुद्धहरु आएका थिए ।”
“स्वयम्भू दर्शन गर्न आउने मानसी बुद्धहरु को को होलान् ?” शान्तिकराचार्यले सोधे ।
“विपश्वी बुद्ध त कमलको फूल रोप्ने बुद्ध भइहाले । त्यसपछि स्वयम्भू दर्शन गर्न सिखी बुद्ध, विश्वभू बुद्ध, क्रुकुच्छन्द बुद्ध, कनकमणि बुद्ध, काश्यप बुद्ध र शाक्यमुनि बुद्धहरु आएका थिए ।”
“साँच्चिकै गुरू ! यो स्वयम्भू कहिले र कसरी बन्यो होला है ?” शान्तिकराचार्यले जिज्ञासा राखे ।
“तिमी भारतबाट आएझैँ म पनि चीनबाट आएको हूँ । खासमा म बोधिमार्गमा लागेका चिनियाँ भिक्षु मञ्जुश्रीको चेला हूँ ।” गुणाकरले आफ्नो रहस्य खोले ।
“ओहो ! गुरू तपाईं मञ्जुश्रीको चेला ? अनि मञ्जुश्रीको चीनमा घर कहाँ हो नि ?” शान्तिकराचार्यले अचम्म मान्दै सोधे ।
“मञ्जुश्री चीनको सान्सी प्रदेशमा उथाइसान (पञ्चशीर्ष) पर्वतमा बस्नुहुन्थ्यो ।”
“उहाँ के सन्दर्भमा नेपाल आउनु भयो त ?” शान्तिकराचार्यले सोधे ।
“उहाँ विपश्वी बुद्धले रोपेको कमलको फूलबाट स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको सुनेर त्यसको दर्शन गर्न म, धर्माकर लगायत दर्जनौँ चेला लिएर आउनुभएको हो ।” गुणाकरले स्पष्ट पारे ।
“चीनबाट सिधै स्वयम्भू आइपुग्नु भयो त ?” शान्तिकराचार्यले सोधी हाले ।
“होइन, होइन । चीनबाट आएर सबभन्दा पहिला हामी नगरकोट जाने बाटोमा पर्ने ल्हासा पाको भन्ने ठाउँमा बास बस्यौ“ । गुरू मञ्जुश्री लगायत हामी सबै त्यहीँ बास बस्यौँ । गुरू मञ्जुश्री लगायत हामी सबैले त्यहीँबाट पहिलो पटक स्वयम्भूको दर्शन गरेका थियौँ ।”
“वाह ! कस्तो मनमोहक दह । यसलाई त एक फन्को लगाउनै पर्छ । मञ्जुश्री गुरूले उत्साहित हुँदै भन्नुभयो । हामी सबै उहाँका चेलाहरुले समर्थन जनायौँ ।” गुणाकरले स्पष्ट पारे ।
“त्यस्तो नीलो दह कसरी सहरमा परिणत भयो होला हगि ?” शान्तिकराचार्यले अचम्म माने ।
“हामी दहको फन्को लगाउँदै थियौँ । एक्कासी मञ्जुश्री गुरूले भन्नुभयो, ‘यस दहलाई सुकाउन पाए, यो उर्वरभूमिमा मानव बस्ती बसाल्न सकिन्थ्यो होला ।’ त्यसपछि उहाँले यो दह कसरी सुकाउन सकिएला भनेर जुक्ति निकाल्न थाल्नुभयो ।”
“निस्कियो त जुक्ति ?” शान्तिकराचार्यले ट्वाक्कै सोधी हाले ।
“बुद्धिमान्ले जुक्ति लगाएपछि समाधान नहुने कुरा हुन्छ र ?” गुणाकरले मख्ख पर्दै भने ।
“कसरी सुक्यो होला है ? त्यति ठुलो दहको पानी,” शान्तिकराचार्यले सोधी हाले ।
“मञ्जुश्रीले लामो समयसम्म घोरिएर सोच्नुभयो र जुक्ति निकाल्नुभयो । उहाँले आनो तीक्ष्ण बुद्धि प्रयोग गरेर काठमाडौंका चारठाउँहरु कटवाल, चोभार, आर्यघाट र गोकर्णका डाँडा काटेर खाल्डोलाई सुक्खा बनाउनु भयो ।”
“दहमा त नाग बस्छन् भन्छन् । त्यति ठुलो नीलो दहमा पनि नाग थिएनन् होला त ?” शान्तिकराचार्यले शड्ढा गरे ।
“कहाँ नहुनु ? त्यो ठुलो दहमा हज्जारौ“ नाग थिए । त्यतिबेला त्यो दह नागैनागको दह भनेर पनि चिनिन्थ्यो ।” गुणाकरले स्पष्ट पारे ।
“ओहो ! ती सबै नाग पानीसँगै बगेर गए होलान् ? नागलाई त पानीको प्रतीक मानिन्छ । पानी सबै बगेर गएपछि खाल्डो मरुभूमि बन्ने डर त भएन ?” शान्तिकराचार्यले शड्ढा गरे ।
“हो नाग पानीका प्रतीक हुन् । प्रज्ञावान् मञ्जुश्रीले उपत्यकामा पानीको समस्या नपरोस् भनेर नागराजाका पनि राजा कर्कोटक नागलाई टौदह पोखरी बनाई बस्ने व्यवस्था मिलाई हाल्नु भो नि ।”
“बाफ रे ! त्यत्रो ठुलो दह सुकाउन त्यति ठुला डाँडा कसरी काटे होलान् हगि ?” शान्तिकराचार्य अचम्म परे ।
“तिम्ले मञ्जुश्रीको सालिकमा दुई हातमध्ये एक हातमा पुस्तक र अर्को हातमा खड्ग त देखेकै होलाउ । त्यसको अर्थ थाहा छ तिम्लाई ?” गुणाकरले सोधे ।
“मेरो बुझाइमा मञ्जुश्री ज्ञानका प्रतीक हुनुहुन्थ्यो । प्रज्ञाका प्रतीक हुनुहुन्थ्यो । उहाँमा अनुभव सहितको ज्ञान थियो । खड्गले भौतिक रुपमा अज्ञानतालाई काट्ने काम गर्छ भने पुस्तकले चाहिँ ज्ञानको ज्योति छर्ने काम गर्छ । हतियारमा बुद्धि मिसाएरै मञ्जुश्रीले छोटो समयमा चोभारको गल्छी काटेर पानी बाहिर पठाउन सफल हुनु भएको हो ।” शान्तिकराचार्यले आपूmले बुझेको कुरा भने ।
“एकदम ठिक भन्यौ शिष्य । गल्छीबाट पानी बगेर बाहिर गएपछि खाल्डो सुक्खा भयो अनि धमाधम बस्ती बस्न थाल्यो । त्यो बस्तीको नाम मञ्जुपत्तन राखियो । मञ्जुपत्तनको राजा हामीसँगै आएका मञ्जुश्रीका चेलामध्ये एक धर्माकरलाई बनाउनु भयो । उनैलाई राज्य सञ्चालन गर्न लगाएर मञ्जुश्री चीन फर्कनु भयो ।” गुणाकरले स्पष्ट पारे ।
“पानी सुक्दै गएपछि विपश्वी बुद्धले रोपेको कमलको फूलको बिरुवा पनि सुके होला हगि !” शान्तिकराचार्यले झल्याँस्स सम्झे ।
“खाल्डोको पानी दक्षिणतिर बग्दै गएपछि कमलको फूल पनि ढल्कँदै गयो । अन्तमा फूल यही डाँडोमा अड्कियो ।” गुणाकरले भने ।
“ओहो ! त्यो कमलको फूलबाट स्वतः निस्केको पञ्चरङ्गीय ज्योतिको हालत के भयो होला ? त्यो पनि त फूलसँगै ठोक्कियो होला होइन गुरू ?” शान्तिकराचार्यले सोधे ।
“तिम्ले ठ्याक्कै पु¥यायौ शिष्य ! तिमी निकै बुद्धिमान छौ । तिम्रो बुद्धि देखेर मलाई गर्व लाग्छ ।” गुणाकरले शान्तिकराचार्यलाई धाप मार्दै भने ।
“मलाई एउटा काम गरौँ जस्तो लाग्यो गुरू ।” शान्तिकराचार्यले भने ।
“के काम गरौ“ जस्तो लाग्यो शिष्य ? भनिहाल ।” गुणाकरले भने ।
“पछि मानिसमा खराब आचरणको विकास हुन सक्छ । खराब आचरण भएका मान्छेले यो कमलको फूल र प्रकाशको ज्योतिलाई बिगार्न सक्छन् । यी दुवैलाई छोप्ने गरी एउटा स्तुप बनाउँछु । त्यस स्तुपको नाम ‘स्वयम्भू स्तुप’ राखौ“ । यसो गर्दा कसो होला गुरूदेव !”
“एकदम राम्रो विचार ! स्याबास्, शान्तिकराचार्य मैले तिमीजस्तो बुद्धिमान चेला पाउनु मेरोलागि पनि गर्वको कुरा हो । तिम्रो मनोकामना पूरा होस् शुभकामना !” गुणाकरले मख्ख पर्दै भने ।
(दाङबाङ, प्युठान)