सानो खरायो चौरमा खेलिरहेको थियो । उसले नजिकै चराहरू उडिरहेको देख्यो । सानो खारायोलाई पनि चराजस्तै उड्न मन लाग्यो ।
‘आहा ! चरीजस्तै उड्न पाए त । उसले मनमनै विचार ग¥यो ।
आमाले उसलाई धेरै कुरा सिकाएकी थिइन् तर उड्न सिकाएकी थिइनन् । ‘कसरी उड्ने होला ?’ उसले मनमा कुरा खेलायो ।
त्यसपछि ऊ माटोको ढिस्कोमाथि बस्यो र चराहरू उडेको हेरिरह्यो ।
। अगाडिका हात हल्लायो र उड्न खोज्यो । निकै बल ग¥यो, तर जमिनबाट माथि उठ्न सकेन ।
सानो खरायो दुःखी भयो । आँखा रसिला भए । एक्लै टोलाएर बसिरह्यो ।
उसले मनमनै विचार ग¥यो, ‘म किन उड्न सकिनँ ? ममा के कमी भयो ?’
धेरैबेर विचार गर्दा पनि आफू उड्न नसकेको कारण जान्न सकेन ।
दुःखी भएर बसिरहेको थियो, नजिकै एउटा सानो चरी देख्यो ।
रङ्गिन प्वाँख भएको सानो चरी राम्रो थियो । भुर्र भुर्र उड्थ्यो । घरी जमिनमा बसेर घाँसका हरिया मुन्टा टोक्थ्यो । घरी चिरविराउँथ्यो ।
एक्लै खेलिरहेको चरीलाई देखेर सानो खरायो खुसी भयो । बिस्तारै चरी भएका ठाउँमा गयो ।
सानो खरायो आफूतिर आइरहेको देखेर चरी डरायो । भुर्र उड्यो अनि नजिकै रहेको रूखको हाँगामा बस्यो ।
सानो खरायो रूखमुनि गयो । दुःखी पाराले माथितिर हेर्दै भन्यो, ‘सानी चरी मलाई पनि तिमीजस्तै उड्न सिकाऊ है । मलाई उड्न मन लागेको छ । म उड्न कोशिष गरेँ तर सकिनँ ।’
खरायोको कुरा सुनेर सानो चरी दङ्ग प¥यो र एक्लै हाँस्यो ।
‘किन हासेको ?’ खरायोले सोध्यो ।
सानो चरी भुर्र उडेर जमिनमा आयो । खरायोको नजिकै बसेर भन्यो, ‘उड्न प्वाँख चाहिन्छन् । तिमीसँग प्वाँख छैनन् ।’
सानो खरायोले आफ्नो जीउमा हे¥यो । साँच्चै त्यहाँ प्वाँख थिएनन् । सेता रौँ मात्रै थिए ।
ऊ निरास भयो । पुलुक्क चरीतिर हेर्दै भन्यो, ‘मलाई तिम्रा प्वाँख देऊ है । तिनै लगाएर उड्छु । मलाई उड्न निकै रहर लागेको छ । पछि तिम्रा प्वाँख फिर्ता दिउँला नि, हुन्न ?’
‘मेरा प्वाँख मलाई चाहिन्छन् । प्वाँख नभएपछि म पनि उड्न सक्दिन ।’ मायालु पारामा चरीले भन्यो, “म सानो छँदा मेरा शरीरमा प्वाँख थिएनन् । म उड्न सक्दिनथेँ । पछि प्वाँख उम्रिदै गएपछि उड्न थालेको हुँ ।’
‘त्यसो भए म कहिल्यै पनि उड्न सक्दिनँ त ?’ यसो भन्दै खरायो रुन थाल्यो ।
सानो खरायो रोएको देखेपछि चरी दुःखी भयो । ‘कस्तो समस्या आइलाग्यो हँ ?’ उसले मनमनै भन्यो ।
सानो खरायो रोइरहेको थियो । चरीका मनमा एउटा विचार आयो । त्यसपछि उसले भन्यो, ‘ल पख, म एउटा उपाय खोज्छु । म कतैबाट प्वाँख लिएर आउँछु । तबसम्म तिमी यहीँ बस है ।’
चरी भुर्र उडेर गयो । सानो खरायोका मनमा आशा पलायो । ऊ सानो चरीलाई कुरेर बसिरह्यो ।
सानो चरी उड्दै चारैतिर घुम्यो । वनको एक कुनामा छरिएका केही प्वाँख देख्यो । चुच्चाले टिप्यो र सानो खरायो भएका ठाउँमा आयो ।
प्वाँख देखेर सानो खरायो खुसी भयो । चरीले खरायोका शरीरभरि प्वाँख रोपिदियो । शरीरमा प्वाँख टाँसेपछि सानो खरायो चराजस्तै देखियो ।
‘लौ मजस्तै उड ।’ यसो भन्दै चरी उड्यो । सानो खरायो उड्न खोज्दै थियो, सकेन । उल्टै जमीनमा पछारियो । शरीरमा घाउ लाग्यो ।
‘ऐया आमा !’ सानो खरायो रुन थाल्यो ।
चरीले आफ्नो शरीरबाट पनि केही प्वाँख झिकेर खरायोलाई दियो । तैपनि सानो खरायो उड्न सकेन । दुवै जना निरास भए । खरायो रूँदै घरतिर गयो ।
शरीरभरि घाउ लागेको र रूँदै आएको देखेर आमा आत्तिइन् । ‘के भयो ?’ उनले सोधिन् ।
सानो खरायोले सबै कुरा आमालाई बतायो ।
ऊ सुँक्कसुँक्क गर्दै रोइरहेको थियो । आमाले भनिन्, ‘नरोऊ । भोक लाग्यो होला खाजा खाऊ ।’
उसले खाजा खान मानेन । ऊ रोइरह्यो ।
त्यसपछि आमाले भनिन्, ‘बाबु ! हामी खरायोहरू चार खुट्टे जनावर हौँ । हामी हिँड्न सक्छौँ । दगुर्न सक्छौँ । तर उड्न सक्दैनौँ ।’
सानो खरायोलाई मुसार्दै अगाडि भनिन्, ‘चरा उडेको देखेर आफू पनि उड्न खोज्नु मुर्खता हो । यस्ता कुरामा जिद्दी गर्नु हुँदैन ।’
आमाको कुरा सुनेपछि सानो खरायोले भन्यो, ‘साच्चै हामी उड्न सक्दैनौँ त ?’
‘हामी उड्ने जातिका प्राणी होइनौँ । हामी जमिनमा हिँड्ने र दगुर्ने जातका जनावर हौँ ।’ सानो खरायोलाई काखमा राख्दै आमाले भनिन्, ‘तिमी उड्न होइन, राम्ररी हिँड्न र छिटो छिटो दगुर्न सिक ।’
त्यसपछि आमाले उसलाई दगुर्न सिकाइन् । ऊ दगुर्न थाल्यो ।
दगुर्दादगुर्दै उसको गति बढ्दै गयो । पछि ऊ सबैभन्दा छिटो दगुर्ने भयो ।