“लकडाउन, लकडाउन भनेर मानिस दिक्दार छन् । तर मलाई त यसले गजबै ग¥योजस्तो लाग्छ ।” मैले भनेँ ।
“दिनभरि घरमा बस्दाबस्दा यस्तो बोर भइरा’छ । गज्जब ग¥यो भन्छे । के गजब ग¥यो र ?” दादाले निधार खुम्च्याउँदै भन्नुभयो ।
“नानीले ठिकै भनेकी हो । लकडाउन भन्दा पहिला तिमीहरू तीन जनालाई घरको काम केही आउँदैनथ्यो । आजकल त घरको काम गर्न को भन्दा को कम भएको छ । खाना पकाउने, लुगा धुने, भाँडा माझ्ने, सरसफाइ गर्ने सबै काम म एक्लैलाई पथ्र्यो ।” आमाले हाँस्दै भन्नुभयो ।
“लकडाउनले गर्दा हाम्रो परिवारका हामी चारैजना घरैमा थुनिएका थियौँ । घरमा बस्दा कतिपयको घरमा त झगडा बढेको, एक अर्काको नराम्रा काम र व्यवहारको पोल खोलेको पनि सुनिदै थियो । हाम्रोमा भने विश्वास रमित्रता बढ्दै गयो ।
मेरो कक्षा नौको वार्षिक परीक्षा सकिएको भोलिपल्टैबाट लकडाउन भएको थियो । त्यसैले गृहकार्यको झन्झट पनि थिएन । मेरो लागि यो भन्दा बिन्दासको समय अरू के नै पो हुन्थ्यो र !
लकडाउन अघि त बुबाको मुख हेर्न पनि शनिबारै कुर्नु प¥थ्यो । उहाँ बिहान म उठ्नुअघि नै अफिस जानुहुन्थ्यो ।बेलुका म सुतिसकेपछि मात्र आउनु हुन्थ्यो । यति बेला दादाको पनि कलेज बिदा भएकाले घरमै थन्कनु भएको छ ।
पहिलो चरणको लकडाउनमा बाबा, दादा र मैले मस्त खाने, फेसबुक चलाउने अनि लुडो खेलेर बितायौँ । आमा पहिलेभन्दा पनि बढी व्यस्त हुनुभयो । हामी घरमा नहुँदा दिउँसो खाजा बनाउन पर्ने थिएन । पटकपटक चिया बनाएर टक्र्याउनु पनि पर्ने थिएन । हामी तीन बाउछोराछोरी बसीबसी खाएर टन्न मोटाएका थियौँ । आमा भने कामको बोझले दुब्लाएर लुखुरी हनुभएको थियो ।
आमाको अवस्था देखेर मलाई टिठ लाग्यो । हामीले आमामाथि अन्याय ग¥यौँजस्तो लाग्यो । हैन मैले आमालाई काममा सघाउनु पर्छ । मेरो मनमा कुरा खेल्नथाल्यो ।
“आमा म पनि तपाईंलाई काम सघाउँछु । केमा सघाउँ ?” मैले आमालाई सोधेँ ।
“किन सघाउनु पर्छ र मलाई ? गएर दादा, बाबासँगै लुडो खेल्ने, टिभी हेर्ने, फेसबुक चलाउने गरे भैगो नि ! काम गर्न त मै कमारी छँदै छु नि ।” आमाले आँखा तर्दै भन्नुभयो ।
आमाको जवाफले मलाई नरमाइलो लाग्यो । के गरौँगरौँ भयो । मैले त आमाको मुखमा ट्वालट्वाल्ती हेरिमात्र रहेँ ।
आमा घरधन्दा सकेर बारीको काममा जानुभयो ।
मैले सोचेँ, “आमालाई सघाउने ठिक समय यही हो ।” आमाले बारीमा काम गरिरहनु भएको थियो । मैले कसैलाई चाल नदिइकन आलु परौठा खाजा बनाएर राखेँ ।
आमा बारीबाट खाजा बनाउन भनेर हस्याङफस्याङ गर्दै आउनु भयो । भान्सामा खाजा तयार देखेर मेरो मुख हेर्दै आमा मुसुक्क मुस्काउनु भयो । हामी सबै जना मिलेर खाजा खायौँ । सबैले मिठो मानेर मैले बनाएको खाजा खाइदिएकाले म पनिमख्ख परेँ ।
बिहानदेखिका हामी आमाछोरीका कुराकानी र व्यवहार दादा र बाबाले ध्यानदिएर हेरिरहनु भएको रहेछ । खाजा खाँदै बाबाले भन्नुभयो, “कोरोनाले अफिसको काममा त बेरोजगार भइयो, भइयो । घरमा पनि बेरोजगार भइयो । यसो गर्दिनुप¥यो भने त हामी बाउछोरा पनि घरको काममा सघाउने थियौ नि !”
“छोरा मान्छेले नि घरको काममा सघाउँछन् र ? घरको काम गरे त छोरा मान्छेको इज्जत गइहाल्छ नि ! घरको काम गर्ने जिम्मा त छोरी मान्छेको मात्र होइन र ?” आमाले व्यङ्ग्य गर्नुभयो ।
“कसले भन्यो तिमीलाई ? अहिलेको जमानामा पनि घरको काम महिलाले मात्र गर्नुपर्छ भनेर ?” बुबाले सोध्नुभयो ।
“घरको काम केटी मान्छेले । बाहिरफेरको काम केटा मान्छेले गर्नु पर्छ भनेको होइन र ?” मैले सुनेको कुरा प्वाक्क भनिहालेँ ।
“पहिले पहिले त्यस्तै चलन थियो । अहिल त जसले जे गर्न पनि तयार हुनुपर्छ । सबै आमाको मुख ताकेर कहाँ हुन्छ ! सबैले सबै काम मिलीजुली गर्नुपर्छ ।” बुबाले जुँगा मुसार्दै भन्नुभयो ।
“त्यस्तै हो भने अबदेखि तपाईंले घरको काम सघाउनु हुन्छ त ?” आमाले शङ्का गर्दै भन्नुभयो ।
“किन नसघाउनु ? ल भन मैले के काम गरौँ । महिनौँदेखि कामै नगरी बस्दाबस्दा जिउ रोगी होला भन्ने डर भैसक्यो ।” बुबाले जिउ तन्काउँदै भन्नुभयो ।
“साँच्चिकै घरको काम मिलीजुली गर्ने हो त ?” आमाले सोध्नुभयो ।
“हो ।” हामी तिनैजनाले एकै स्वरमा सहमति जनायौँ ।
“बाबाले तरकारी काट्नुस् । म भाँडा माझ्छु । सरसफाइ गर्छु । छोराले भात पकाऊ । छोरी तरकारी पकाऊ ।”आमाले कामको बाडफाँड गर्नुभयो ।
हामी सबै आ–आफ्नो जिम्माको काम गर्न थाल्यौँ । साँझ सबैजना सँगै बसेर एक अर्काको कामको तारिफ गर्दै खाना खायौँ । अरू दिनभन्दा त्यो दिन एकदम रमाइलो लाग्यो ।
खाना खाएपछि सबै जनाले आ–आपूmले खाएका भाँडा माझ्यौँ । अबदेखि पकाएका भाँडा पनि पालैपालो माझ्ने सल्लाह गरेर भान्साबाट आ–आफ्नो कोठामा गयौँ ।
अर्कोदिन बिहान हामी उठ्दा बुबाले आफ्ना एक बाटा लुगा धोएर सुकाइसक्नु भएको थियो । दादाले खाजा बनाउनु भयो । खाजा खाँदा आफ्ना कपडा आपैm धुने, घरको सरसफाई पनि पालैपालो गर्ने समझदारी ग¥यौँ ।
“घरभित्रको काम मिलीजुली गरेपछि बारीको काम पनि मिलीजुली गरे कसो होला ?” खाना खाने बेलामा दादाले प्रस्ताव राख्नुभयो ।
“कति राम्रो प्रस्ताव ।” बुबाले मुसुक्क मुस्कुराउँदै भन्नुभयो । मैले आमाको अनुहारमा पिर्लिक्क हेरेँ । आमाको अनुहार खुसीले उज्यालो भएको थियो ।
खाना खाइवरी चारैजना बारीमा गयौँ । बुबा र दादाले खन्नुभयो । मैले झारपात गोडेँ । आमाले बिउ र मल छर्नुभयो । आमाले एक्लै गर्दा चार दिन लाग्ने काम एकैदिनमा गरिसकियो । आमा खुसीले दङ्ग पर्नुभयो ।
“हाम्रो घरमा मिलीजुली काम गर्ने लकडाउन हुन्जेलसम्म होला है ?” दिउँसोको खाजा खाने बेलामा आमाले प्वाक्क भन्नुभयो ।
“होइन, अब सधैँ सबै काम मिलीजुली हुन्छ । यसले गर्दा हामी सबैको आनीबानी र स्वास्थ्य पनि सुध्रन्छ ।” बुबाले भन्नुभयो ।
“त्यसो भए त अबदेखि म पो बेरोजगार हुने भएँ त ।” आमा बोल्नुभयो ।
“किन ?” दादाले सोध्नुभयो ।
“घरधन्दा मिलीजुली गरेसी मेरो काम त स्वाट्टै घट्ने भयो । अनि के गरेर बस्ने दिनभरि ?” आमा चिन्तित पो हुनुभयो ।
“के तपाईंले घरबाहिर गएर अफिसको काम गर्नु हुन्न र ?” मैले सोधेँ ।
आमाले आपैm उत्तर नदिएर बुबाको मुखमा हेर्नुभयो ।
“नहुने के छ र ? पढेलेखेकै छ्यौ । अफिसमा गएर काम गरे आर्थिक रुपमा मलाई पनि त बोझ कम हुन्थ्यो । तिमीहरूको पढाई खर्च र घर व्यवहार चलाउन मलाई कम्ता सास्ती परेको छ ।” बुबाले भन्नुभयो ।
“त्यसो भए आमा पनि अफिस जानुस् ।” दादाले प्वाक्क भन्नुभयो ।
“अफिस जान त पहिले काम पाउनु पर्ला नि !” आमाले भन्नुभयो ।
“हाम्रै गाउँको स्कुलमा नेपाली शिक्षक चाहिएको छ रे ! तिमीले पढेको पनि नेपाली नै हो । पढाउन जान्छ्यौ त ?” बुबाले सोध्नुभयो ।
“क्या रमाइलो ! आमाबुबा अफिस जाने, म र दादा पढ्न जाने ।” म खुसीले फुरुक्कै परेँ । “मिलिजुली कामले फाइदैफाइदा । लकडाउन क्या काइदा !”