लेखनका क्षेत्रमा निरन्तर लेखिरहन सक्ने नाम हो तेजविलास अधिकारी । कहिल्यै अल्छी मानेर, हाई काढेर बस्दैनन् उनी । उनी लेखिरहन्छन् र लेखन नै उनको ऊर्जा बनिरहन्छ । कहिले गजल लेख्छन्, कहिले कविता लेख्छन्, कहिले हाइकु लेख्छन्, कहिले मुक्तक लेख्छन्, कहिले अरुका किताबहरुमाथि समीक्षा र टिप्पणीहरु लेखिरहन्छन् । आफ्नो प्राध्यापन पेसामा पनि खटिएकै छन् । आफ्ना विद्यार्थीहरुलाई लेख्ने कार्यमा उत्प्रेरित गर्छन् । उनी आफ्नो सिर्जनाका क्षेत्रमा निरन्तर गतिशील छन् । लाग्छ उनी सृजनकर्मी हुन् र शब्दहरुको निर्माणमा उनको कलम अथक चलिरहन्छ ।
२०६१ सालमा पहिलो पटक ‘गजलपथका यात्रीहरु’ संयुक्त गजल सङ्ग्रह लिएर उनी साहित्यमा देखा परे । र, २०६३ सालमा संयुक्त गजल सङ्ग्रहका रुपमा उनले ‘गजल बिम्ब’ प्रकाशित गरे । यसपछि क्रमशः उनका ‘समीक्षा–सन्दर्भ’ (समालोचना, २०६५), ‘अस्तित्वको खोजी’(कथासङ्ग्रह, सम्पादन, २०६६), ‘राम्रो निबन्ध लेखन’(२०६७), ‘समय सन्दर्भ’(समालोचना, २०७०), ‘समालोचकको आँखामा हरिहर खनाल’(सम्पादन, २०७०), ‘उच्छवास’(हाइकुसङ्ग्रह, २०७२), ‘उद्वेग’(हाइकुसङ्ग्रह, २०७५), ‘वाङ्मयसेवी छायादत्त’(सम्पादन, २०७५, ‘उच्छलन’(हाइकुसङ्ग्रह,२०७६), ‘सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ’(सम्पादन, २०७६), ‘कथामा दलित’(सम्पादन, २०७७), ‘सहिद स्रष्टा परिचयकोश’ २०७९ प्रकाशित छन् ।
‘उच्छेद’ (मुक्तकसङ्ग्रह, २०७८) उनको पछिल्लो प्रकाशित सिर्जनात्मक कृति हो । देवेन्द्र थुम्केलीको सुन्दर आवरण कला र भगवती अर्यालले प्रकाशनमा ल्याएको ‘उच्छेद’ भित्र रहेका मुक्तकहरुलाई सर्सर्ती पढिसकेपछि मेरो मनबाट उठेको एउटा उच्छ्वासलाई केही टिपोटमा राख्ने प्रयत्न मात्र गरेको छु मैले यहाँ । किनकि उनका यी मुक्तकहरु अहिले हामीले बाँचिरहेको विसङ्गत समयको एउटा अभिलेखीकरण र त्यसको दस्तावेज हो । छोटा कविताको संरचनामा विधागत वैशिष्ट्यता प्राप्त गरेका उनका यी मुक्तकहरु मुलुकको समसामयिक राजनीतिप्रतिको असन्तुष्टि र वर्तमानसँगको विद्रोहको विजाङ्कुरण हुन् ।
देशको पक्षमा छैन एमसीसी पास नगर यो बिरालोले भान्सा कुर्दैन आश नगर सचेत हुनैपर्छ जनता जतिबेला पनि आफ्नो पुरै अस्तित्व भो नाश नगर । पृष्ठ, १
सत्तामा बस्नेहरुले दिनदिनै राष्ट्रको अहित हुने गरी सन्धिसंझौताहरुमा ल्याप्चे लगाइरहँदा एउटा सचेत नागरिकका हैसियतले राष्ट्रघातका विरुद्ध उनी सडकमा आन्दोलनमा निस्कन्छन् र यिनै मुक्तकहरुमार्फत उनी आफ्ना स्वरहरुलाई आन्दोलनमा मुखरित गर्छन् ।
सत्ता सधैं लुट्नेहरुकै भयो । जुन व्यवस्था फेरिएपनि लुटेर खानेहरुसँग हामी नागरिकहरु सधैं लुटिएकै छौं । मृगतृष्णाजस्ता रहरहरु बोकेर सुकुमार सपनाहरुका पछाडि सधैं हामी व्याकुल कुदिरहेका छौं । तर मृगतृष्णाका ती भ्रमहरुबाट मुक्त रहेर हामी कहिल्यै कुद्न भने छाडेनौं । हामी कुद्दाकुद्दै थाकेका छौं, गलेका छौं । यही हाम्रो नियति हो ।
‘हिजोसम्म श्रद्धा गरेको पात्र निन्दालायक बन्छ । जनमत पाएको नेता भनाउँदो गन्हाउन थालेपछि चित्त दुख्छ । प्रत्यक्ष र समानुपातिक भोट हाल्ने यो हातलाई थिचुँझै लाग्छ । व्यवस्था फेर्दा र अवस्था हेर्दा हेर्दै बूढो हुने छाँट आयो ।’ किताबमा ‘भन्ने कुरा नभए पनि’मा लेखकले आफ्नो यति कुरा भनिसकेपछि लाग्छ हामी सबैले भोगिरहेको र अनुभव गरिरहेको यथार्थ पनि यही हो ।
गरिबीमा बाँचेको छ आशैआशा साँचेको छ सत्ता दिन्छ मात्र आश्वासन प्रतिदिन मन भाँचेको छ । पृष्ठ,२
तेजविलास अधिकारी आफ्ना मुक्तकहरुसँग एकालाप मात्र गर्दैनन् । उनी आफ्ना मुक्तकहरुमार्फत पाठकसँग सहज संवाद पनि गर्छन् । त्यसैले पनि यी मुक्तकहरुसँग पाठकको सम्बन्ध मित्रवत् लाग्छन् । सधैं सत्ताको बर्बरताले लखेटिरहेका नागरिक र सीमा खोसिएर साँध सरिरहेको देशको भूगोलको वर्षेनी उल्झिरहने पीडा यो मुलुकको माटो र मानिसहरुका लागि उस्तै रह्यो । यहाँ हरेकपल्ट सरकारमा बस्नेहरु र सरकार बदल्नेहरुको खेल चल्छ । जब सरकार बदलिन्छ, विदेशीसँग एउटा नयाँ असमान सम्झौता सुरु हुन्छ । मानौ ती असमान सम्झौताहरुका लागि नै यहाँ सरकार परिवर्तनको खेल चलिरहन्छ र देश एकपछि अर्को सम्झौताहरुमा बन्धक बनिरहन्छ । मुक्तककार अधिकारीले सत्तामा रहेर राष्ट्रलाई बन्धक बनाउनेहरुप्रति आफ्ना मुक्तकहरुमार्फत यहाँ खबरदार गरिरहेका छन्ः
एउटा गल्ती गर्न हजार गल्ती गर्नैपर्छ बाँच्न फोटोमा नखोज एकदिन सबै मर्नै पर्छ मञ्चमा के छ दृश्य हेरिरहेका छौं हामी पनि नालायक निर्लज्ज भै एकदिन तल झर्नै पर्छ । पृष्ठ, १९
श्रमजीवी जनताप्रतिको वर्गीय प्रेमभाव र राजनीतिमा प्रवेश गरेका ठगहरुप्रतिको घृणा र विद्रोहको स्वर उनका मुक्तकहरुमा प्रखर बनेर रहेको छ ।
जनताको पसिना बगेको बग्यै छ नयाँ नयाँ ठगहरुले ठगेको ठग्यै छ जीवन छउन्जेल आशा मार्नु त भएन पाखुरीमा विद्रोहको रगत बगेको बग्यै छ । पृष्ठ, २० खासै केही छैन नाङ्गो नाटक छ जताततै जनता लुट्ने र खल्तीभर्ने खेल छ जताततै वर्गको विषय ओकल्छ अब शोषकले नै क्या रिमझिम रिमझिम छ हिजोआज जताततै । पृष्ठ,२०
मुक्तक काव्यको छोटो संरचनात्मक ढाँचामा चार पङ्तिमा लेखिसकिने पूर्ण कविता हो । मुक्तकको आफ्नो स्वाद छ । संवेग र संवेद्यता छ । आवेग र संवेदना छ । स्वतन्त्र रहेर पनि यसको विधागत पहिचान छ । ‘उच्छेद’ भित्र रहेको मुक्तकहरु संरचनात्मक हिसाबले मात्र होइन, विषय र भाव(विचार) सम्प्रेषणका हिसाबले पनि उत्तिकै सशक्त छन् । तीनवटा हाइकुसङ्ग्रह प्रकाशनमा ल्याएर हाइकु लेखकका रुपमा परिचय स्थापित गरेका तेजविलास अधिकारीले ‘उच्छेद’ मुक्तकसङ्ग्रहमार्फत एक मुक्तककारका रुपमा पनि आफ्नो सशक्त उपस्थिति गराएका छन् । प्रायः उनका मुक्तकहरु राजनीतिक विकृति र विसङ्गतिहरुप्रति लाक्षणिक छन् ।
उनका मुक्तकहरुले सत्तामा रहेकाहरुले गरेको राष्ट्रघाती सन्धी, आम नागरिकहरुले भोगिरहेको जनजीवन र जनजीविकाका समस्याहरुप्रति दुःख व्यक्त मात्र गर्दैनन्, त्यसका विरुद्ध सचेत भएर विद्रोह गर्न पनि अपील गर्छन् । राष्ट्रप्रतिको प्रेम र उत्पीडन र सीमान्तकृत रहेका वर्गप्रतिको वर्गीय माया, सत्तालिप्सा मान्छेहरुको फेरिएको चरित्र र उनीहरुको स्खलन उनका मुक्तकका विषयहरु रहेका छन् ।
भन्ने जतिलाई प्रजातन्त्र आइसक्यो भान्से जतिले मीठो कुरा खाइसक्यो भोको मागिरहेछ सारङ्गी पेट यता फटाहा भान्सेले उता डकारिसक्यो । पृष्ठ, ५१
‘उच्छेद’भित्र रहेका केही मुक्तकहरुलाई साक्ष्यका रुपमा हेर्ने हो भने पनि कृतिको सघनतालाई बुझ्न सकिन्छ र यी मुक्तकहरुले तेजविलास अधिकारीलाई एक सबल मुक्तककारका रुपमा स्थापित गर्दछ ।
असार आउँदा केही घर बगाएर लैजान्छ चुनाव आउँदा इमानदार हराएर गैजान्छ लुटिने त आखिर सोझा न हुन् जतासुकै जनताको सपना सत्ता लुटेर लैजान्छ । पृष्ठ, ५८
सत्ताको स्वादले जिब्रो लट्टिएको छ कता छ भाग ध्यान सोझिएको छ बुझ्न नसकिने खेती राजनीतिको जन आहतले दिनदिनै सकिएको छ । पृष्ठ, ५८
धम्कीले हुन्न रहेछ बा गम्केर हुन्न रहेछ बा अहङ्कारले जल्नु भो ठट्टाले हुन्न रहेछ बा । पृष्ठ, ५९
देखिन्छ जताततै जालझेल छ सिद्धान्त र व्यवहारमा बेमेल छ कसलाई सुनाउने दुःखको कुरा सत्ताप्राप्ति नै मुख्य खेल छ । पृष्ठ, ६३
‘उच्छेद’ भित्र ६७ पेजमा १३४ ओटा मुक्तकहरु समाविष्ट छन् । एउटा पेजमा दुईओटा मुक्तक अडिएको छ । सबै मुक्तकहरु भाव सम्प्रेषणका हिसाबले गहकिला र ओजिला छन् । सबै मुक्तकहरुको विषयको केन्द्रीय भावमूमिमा आएको कृतिको शीर्षक ‘उच्छेद’ सार्थक छ । डा. नारायणप्रसाद चालिसे, भीम रानाभाट र कृष्णप्रसाद पोखरेलको भूमिकालाई कृतिभित्र समेटिएको छ । एउटा पठनीय कृतिको लागि कृतिकार तेजविलास अधिकारीलाई धन्यवाद दिँदै कृतिको अन्तिम पातोमा रहेको विष्णु ज्ञवालीको भनाइलाई उद्धृत गर्न सान्दर्भिक मानेको छु– ‘उच्छेद’का मुक्तकको रचनामा रुपसंरचनागत कठोरता तथा तुकबन्दीको सकस देखिन्न बरु विधागत वैशिष्ट्यका आधारभूत अनुशासनलाई अनुसरण गर्दै विषयको गुरुत्वपूर्ण प्रस्तुतिमा मुक्तककार दृढ छन् ।
(आँबुखैरेनी, तनहुँ)