एक दिन एउटा सानो राज्य गोर्खाको राजदरबारमा राजा पृथ्वीनारायण शाह सहित राज्यका अन्य भारदारहरू बैठकमा थिए । स्वर्गीय राजा नरभुपाल शाहले सुरु गरेको एकीकरणको अभियान सफल हुन सकेको थिएन । त्यस दिन दरबारमा पृथ्वीनारायण शाहले उनको बुबा स्वर्गीय राजाले सुरु गर्नुभएको कार्यलाई सफल बनाउने योजना तयार पार्न बैठक बोलाएका थिए । उनी नुवाकोटलाई आफ्नो कब्जामा लिएर बाबुको सपनालाई साकार रुप दिन चाहन्थे ।
उक्त बैठकमा पृथ्वीनारायण शाहले भने, “स्वर्गीय राजा अर्थात् मेरा बुबा नरभूपाल शाहको सपना थियो एउटा विशाल राष्ट्र निर्माण गर्ने । त्यसै निम्ति उहाँले मलाई कान्तिपुर र आसपासको राज्यहरूको अवस्थाबारे जानकारी लिन भक्तपुर पठाउनुभएको थियो । उहाँले धेरै सुझबुझका साथ एकीकरणलाई सुरु गर्नुभयो तर त्यो सफल हुन सकेन । नुवाकोटसँगको पराजयले पहिलो गाँसमा नै ढुङ्गा लाग्यो ।”
पृथ्वीनारायणको भनाइ अनुसार राज्य र जनताको भलाइको लागि एकिकरण सुरु भएको थियो र नरभुपाल शाहले आफ्नो अन्तिम क्षणमा, ‘अबको भविष्य तिमी हौ र तिमीले नै मेरो अधुरो रहेको सपना पूरा गर्नुपर्छ’ भनेर भन्नुभएको थियो । पृथ्वीनारायण शाहले दुई सातापछि एकिकरणको कार्य सुरु गर्ने घोषणा गरे ।
उनको यस कुरामा विरोध जनाउँदै कालु पाँडेले भने, “यस्तो हतार गरेर हुँदैन महाराज । यदि हतारिएर काम सुरु ग¥यौँ भने हाम्रो पराजय निश्चित छ ।”
कालु पाँडेको कुरा सुनेर पृथ्वीनारायण जङ्गिए, “तँलाई गद्दार, आफ्नो महाराजको कुरालाई गलत भन्ने साहस कहाँबाट आयो ? मेरोमा प्रतावमा सहमति जनाउन त परै जाओस् अझ असफल भइन्छ भनेर अफबाह पो फैलाउँदो रहेछ ।”
“क्षमा पाऊँ महाराज, मेरो भनाइको त्यस्तो मतलब कदापि थिएन । मैले त हामीले राम्रोसँग तयारी गरेर मात्र अघि बढ्नुपर्छ भन्न खोजेको हो । हामीसँग स्वर्गीय बुबा महाराजको भन्दा बढी शक्ति छैन । यस्तो अवस्थामा फेरि हामी कमजोर हुन्छौँ कि भन्ने मात्र हो ।” कालु पाँडेले स्पष्टिकरण दिए ।
“हाम्रो सेना पहिल्यैबाट शक्तिशाली छ, तजबिज नमिलेर मात्र हो । अब अझै तयारीतिर लागियो भने समयको बर्बादमात्र हुन्छ । त्यसैले छिटो सुरु गरिहाल्नु पर्छ ।” पृथ्वीनारायण शाहले भने
नुवाकोटमाथि चढाइ गर्ने निश्चित भयो । “आक्रमण कहाँबाट सुरु गर्ने त ?” अमर सिंहले प्रश्न उठाए । “स्वर्गीय राजा नरभुपाल शाहले लाकोजबाट आक्रमण प्रयास गर्नुभएको थियो । त्यसैले हामीले पनि त्यो शुभ कार्य त्यहीबाट सुरु गर्दा कस्तो होला ?” विराज थापा मगरले प्रस्ताव राखे ।
उनको विचार पृथ्वीनाराण शाहलाई पनि ठिक लाग्यो । नुवाकोटसँग पराजयको बदला पनि लिनु थियो । त्यसको लागि त्यही ठाउँ उपयुक्त थियो।
पृथ्वीनारायण शाहको आदेश अनुसार सेनालाई हातहतियारका साथ तयार पारियो र विराज थापाको नेतृत्वमा गोर्खाली सेना नुवाकोटमाथि आक्रमण गर्न गए । गोर्खाली सेना र नुवाकोटी सेनाको बिच ठूलो युद्ध भयो, सैनिकहरू पनि निकै मारिए तर गोर्खाली सेनाको पहिलो प्रयास असफल भयो । अब थप तालिमका साथ फेरि आक्रमण गर्ने सोच बनाएर गोर्खाली सेनाहरू आफ्नो राज्य गोर्खा फर्किए । यसरी पृथ्वीनारायण शाहको हतारको निर्णयले गोरखा पछाडि हट्न बाध्य भयो । तर यस पराजयले गोरखाले शत्रुलाई परास्त गर्न राम्रै तयारी गर्नु पर्ने पाठ भने सिक्यो ।
(हिमरश्मि हाई स्कुल, कक्षा–१०, काठमाडौं)