योगमायाको कविताहरूले प्रभावित भएर उनका अनुयायीहरू बढ्दो क्रममा थिए भने उतातिर उनी आफैँ जुद्द शमशेरलाई भेट्ने तयारीमा थिइन् ।
धेरै समयको पर्खाइपछि आज योगमाया जुद्ध शमशेरसँग भेट्न जाँदै थिइन् । पशुपति अगाडि आफ्नो केही सेनाहरूसँग बसेका जुद्ध शमशेरतिर योगमायाको आँखा गयो । भेटको स्वागत पछि, उनीहरू बिच केही बेर भलाकुसारी चल्यो । जुद्ध शमशेर आफै धार्मिक प्रवृतिका थिए । योगमायाको कुरा गराइको शैली, र धार्मिक ज्ञान देखेर उनी प्रभावित भए । समाजप्रतिको दृष्टिकोण, मानव जीवनप्रतिको उनको विचार पनि प्रशंसा गर्न लायक थियो ।
अन्तमा जुद्ध शमशेरले भने, “यहाँसम्म के कारणले भेट्न आउनुभयो ? भन्नुस् म तपाईलाई कसरी सहयोग गर्न सक्छु ?”
योगमायाले जुद्ध शमशेर तिर हेर्दै भनिन्, “एउटी भिक्षुणीलाई के नै चाहन्छे र ! म सत्य र धर्मको भिक्षा चाहन्छु । के दिन सक्नुहुन्छ ?”
“मैले राम्रोसँग बुझिन नि ।”
“हाम्रो जस्तो पवित्र भूमिमा अधर्मको राज चलेको छ । यो सुहाउने कुरा होइन । जनताहरू अन्यायमा परेका छन्, आमाहरू समस्यामा छन् । नारी पुरुषमा भेद रहेको छ, सतिको नाउँमा नारीहरूलाई जलाइएको छ । सबैलाई न्याय दिलाउन प¥यो सरकार, धर्मको राज हुनुप¥यो ।” योगमायाले धर्म राज्यको माग गरिन् ।
योगमायाको प्रस्तावलाई सुनेपछि जुद्ध शमशेर एकछिन गम्भिर भए र सोचे, ‘तिमीले भने जस्तो गर्नलाई त सत्ता नै परिवर्तन गनुपर्छ माता जुन सम्भव छैन ।’ प्रकटमा भने, “ठिक छ, म प्रयत्न गर्ने छु माता, तपाई ढुक्क भएर जानुहोस् ।” योगमायाले धर्मको आडमा समाज सुधारको प्रस्ताव अगाडि सारेकी थिइन् । त्यसलाई ठाडै अस्वीकार गर्दा आपूm अधार्मिक भइने डर थियो । उनको ख्याति फैलदै थियो । जुद्ध शमशेरले धार्मिक सुधार पनि गर्न चाहेनन् भन्ने सन्देश बाहिर जाँदा उनका विरोधीहरूलाई बल पुग्थ्यो । उनी त्यस्तो हुनदिन चाहँदैनथे ।
महिनौं बित्यो तर पनि जुद्ध शमशेरले दिएको वचन पालन गरेको देखिएन । उनले कुनै पनि सुधार गरेनन् । केही उपाय नलागेपछि योगमाया त्यहाँबाट आफ्नै गाउँ भोजपुर फर्किइन् । योगमाया भोजपूर फर्केको पनि महिना दिन भइसकेको थियो । आएदेखि नै उनमा पहिला जस्तो चमक र उत्साह नदेखेपछि उनकी एक शिष्य मनकुमारी योगमायाको छेऊमा गइन् र सोधिन्,् “हजुर आएदेखि नै अलिक निराश हुनुहुन्छ । काठमाडौँ भ्रमण सोचे जस्तो भएन र ?”
योगमायाले जवाफ दिइन्, “त्यस्तो केही होइन । तर आफूले त्यत्रो आवाज उठाउँदा पनि कसैले नसुनिदिए पछि दुःख त लाग्दो रहेछ ।”
“त्यस्तो नभन्नुहोस् न । हजुरको आवाज जनता जति पनि सुन्न तयार छन् । जनताको आवाज बनेर हजुरले लैङ्गिक विभेद, जातीय छुवाछूत र सती प्रथा अन्त्य गर्न खोजेकोमा उनीहरू धेरै धन्य छन् र हजुरबाट प्रेरित भएर समाजमा केही परिवर्तन ल्याउन अगाडि बढिरहेका छन् ।”
उनको कुरा सुनेर योगमायाले भनिन्, “यहि त समस्या हो, भक्तहरूले मबाट धेरै आशा राखेका छन् र उनीहरूलाई म निराश पार्न पनि चाहँदिन ।” एकैछिन योगमाया गहिरो सोचमा परिन् र आफ्ना सबै शिष्याहरूलाई डाकिन् । यसरी अचानक आफूलाई डाकेपछि सबैजना हस्याङफस्याङ गर्दै आश्रम आइपुगे । केहीबेर मै आश्रममा छलफल सुरू भयो । छलफलको क्रममा योगमायाले भनिन्, “मेरा प्यारा शिष्यहरू, सरकार हाम्रो आवाज सुन्न तयार छैन, हामी धर्मका पक्षमा बोल्छौं तर हाम्रो मुख थुनिएको छ । त्यसैले यदि तपाईहरूको साथ मिल्यो भने सबैजना विशाल चितामा बसेर आत्मदाह गर्ने मेरो निर्णय हो । यस्तो अधर्मको देशमा बस्नुभन्दा मृत्यु श्रेयस्कर छ । यसले सरकारलाई पनि धर्न स्थापनाको लागि दबाब सिर्जना हुन्छ ।” उनी एकछिन मौन भइन् । आश्रममा सन्नाटा छायो ।
“तर म हिड्न लागेको बाटोमा पछ्याउन कसैलाई पनि कर गर्दिन ।” उनले फेरि भनिन् । योगमाया २४० शिष्य सहित चितामा बसेर आत्मदाह गर्न लागेको खबर डढेलोसरी फैलियो । धार्मिक प्रवृत्तिका जुद्ध शम्शेर यो अधर्मको पाप बोक्न तयार थिएनन् । यस घटनाले जनतामा राम्रो सन्देश पनि जाँदैनथ्यो । त्यसैले जुद्ध शम्शेरले आफ्ना सेनाहरूलाई यो समाधी रोक्न आदेश दिए । समाधीको दिन योगमाया र उनका शिष्यहरूलाइ गिरफ्तार गरियो ।
योगमाया जेलमा आफू छुट्ने दिन कुर्दैै बसिन् । गिरफ्तार गरेको केही दिनपछि योगमाया उनका केही शिष्याहरूलाई रिहा गरियो ।
आफ्नो पहिलो समाधि असफल भएपछि उनले फेरि अर्को समाधि गर्ने विचार गरिन् । तर यो समाधिको योजना बारेमा कसैलाई थाहा दिइएन । रातको समय थियो । अरुण नदीको किनारमा ३८ जना शिष्याहरू सहित योगमाया बसिरहेकी थिइन् । योगमायाले आफ्नो टाउकोमा तेलको बत्ती राखिन् र चट्टानमा चढेर नदीमा हाम फालिन् । त्यसैगरी एक पछि एक उनका शिष्याहरूले पनि हाम्फाल्दै गए । अर्को दिन योगमायाका दुई शिष्याले पनि नदीमा हाम्फालेर आत्मदाह गरे ।
योगमाया उनका शिष्यहरूद्वारा गरिएको जलसमाधिको खबर राष्ट्रव्यापी रुपमा फैलियो । राणाहरूले उनका कुरा नसुने पनि उनीहरूको त्यस कदमले जनतालाई सचेत भने बनायो ।
(हिम रश्मि हाई, स्कुल कक्षा १०, काठमाडौं)