श्री ५ बडामहाराज पृथ्वीनारायण शाह आफ्नो कोठामा विश्राम गरिरहेका थिए । उनकी पत्नी रानी नरेन्द्रलक्ष्मी कोठामा आइन् र आफ्नो श्रीमानको थकित अनुहार देखेर भनिन्, “महाराज हजुर ! निकै थकति देखिबक्सिन्छ नि ।”
राजाले भने, “हो रानी, आज अलि थकित नै छु । बुबा महाराजको पालदेखि नेपाल खाल्डोमाथि सर गर्ने सपना देखियो । सबैको सहयोगले पूर्ण पनि भयो । पश्चिमका राज्यहरू पनि गोरखामा मिलाउन पाए हुन्थ्यो भन्ने लागेको थियो तर सकिएन । पूर्वतिर पनि सोचेजस्तो हुन सकेको छैन । राज्य बढाउने महत्वकांक्षले यो तीस वर्ष युद्धमा नै बितेछ । कहिल्यै आरामको अनुभूति भएन ।” उनले लामो निश्वास छाडे ।
रानीले केही भन्न लागेकी थिइन् तब राजा बिचमै बोले, “केही दिन यसो नुवाकोट दरबारमा रहेर मन बहलाउँ कि भन्ने लागेको छ ।”
अचानक नुवाकोट जाने कुरा सुनेर रानीलाई अचम्म लाग्यो । आजको उनको कुरा केही अनौठो पनि लागेको थियो उनलाई । किनकि यतिका वर्ष भयो सँगै जीवन बिताएको तर उनको मुखबाट आराम गर्ने कुरा गरेको थाहा थिएन । “किन ? केही विशेष काम थियो र महाराज ?” उनले सोधिन् ।
“त्यस्तो विशेष काम त केही छैन । नुवाकोट दरबार छाडेर कान्तिपुर सरेको पनि छ वर्ष बितिसकेछ । यस बिच एक रातका लागि पनि त्यस दरबारमा बस्न जान भ्याइएको छैन । त्यहाँको मनोरम प्राकृतिमा मन बहलाउन मन लागेको छ । तिब्बतसँगको सम्बन्ध बिग्रेको छ । त्यसलाई कसरी सुधार्ने यहाँ बसेर केही सोच्न सकेको छैन । यता तनहुँ र लम्जुङ्ेहरूलाई पनि तह लगाउने रणनीति तय गर्नु छ । फेरि राजकुमार बहादुर शाहको विवाहको योजना पनि बनाउनु छ ।” उनले भने । रानी नरेन्द्रलक्ष्मी पनि छोरा बहादुर शाहको छिट्टै विवाह गराइदिन चाहन्थिन् । बहादुर शाह सत्र वर्ष पुगिसकेका थिए । डोला पनि तयारी अबस्थामा थियो । त्यसैले रानीले पनि केही दिन नुवाकोट गएर बस्दा राम्रो होला भन्ने सुझाव दिइन् ।
केही दिनमा नै राजा केही दिनका लागि नुवाकोट सबार हुने भए । नुवाकोटको रेखदेख गर्न बसेका भाइ दलमर्दन शाहले सबै व्यवस्था मिलाए । महाराजको मन बहलाउन उनले सिकारको प्रबन्ध पनि मिलाए ।
नुवाकोट दरबारमा पुगेपछि उनले आफ्ना दुई भाइहरू र केही भारदारहरूसँग बसेर समस्यामाथि छलफल गरे । तिब्बतसँग सम्बन्ध सुधार्नका लागि सेठ राज गिरीलाई जिम्मा लगाए । चौबिसेहरूसँग बदला लिनको लागि पहिला तनहुँ कब्जा गर्ने र त्यसपछि लम्जुङमाथि आक्रमण गर्ने सल्लाह भयो । राज ज्योतिषको सल्लाह अनुसार उपयुक्त लगन नभएकाले बहादुर शाहको विवाह अझै पर सार्नुपर्ने अवस्था थियो ।
त्यसपछि सिकारको योजना थियो । एउटा नरभक्षी बाघले गाउँमा दुःख दिइरहेको थियो । गाउँलेहरूलाई घाँस दाउरा गर्न पनि डराइमर्नु भएको थियो । मै हुँ भन्ने सिकारीहरूले पनि त्यसलाई ठेगान लगाउन सकेको थिएनन् । सिकारको बारेमा कचहरी बस्यो । दरबारमा सिकारीहरूलाई पनि बोलाइयो ।
“सरकार, त्यसलाई ठेगान लगाउन त्यति सजिलो छैन ।” एउटा सिकारी बोल्यो ।
जङ्गली जनावर मान्छे जस्तो घातक हुँदैन भन्ने पृथ्वीनारायणको निक्र्योल थियो । ‘मान्छेले अनेक दाउ जानेको हुन्छ, तर जानवरहरूले त त्यस्तो केही जानेका हुँदैनन् । त्यसलाई नियन्त्रणमा लिन कुन आइतबार भयो र ।’ उनलाई लाग्थ्यो ।
“तिमीहरू लाछी रहेछौ । जाबो त्यो एउटा जनावरलाई पनि तह लगाउन सकेनौ, हैन ?” उनले भने ।
“हो सरकार हामीले सकेनौ । यदि सक्नुहुन्छ भने हजुरले नै यसको दुःखबाट मुक्ति दिलाउनुहोस् ।” सिकारहिरूले एकै स्वरमा भने ।
पृथ्वीनारायण शाहलाई आफ्नो आन्तरिक स्वभिमानमा आघात गरेको महसुस गरे । ‘त्यत्रा युद्धमा विजय हासिल गरेर आएको राजालाई जाबो बाघको डर देखाउन खोज्ने !’ उनलाई लाग्यो तर प्रकटमा यो विचार व्यक्त गरेनन् । उनले भने, “ठिक छ, मेरा लागि बाघको सिकार कुनै ठुलो कुरा होइन । भोलि नै सिकारका लागि जङ्गल जाने व्यवस्था मिलाउनु ।”
भोलिपल्ट राजा सहयोगीहरूलाई साथ लिएर जङ्गलतिर लागे । त्रिसुली किनार भएर उकालिएको वनलाई घेरा हालियो । मृग, हरिण, गोहोरो आदि सिकारमा भेटिए तर बाघ अझै निस्केको थिएन । घेरा साँगुरिँदै थियो ।
“यस्ता बाघको सिकार त कति गरियो कति, यहाँ रहेको बाघ पनि मेरो सिकार हो । त्यसैले बाघ देखिएमा म भएको तिर खेद्नु । मेरो एकै प्रहारमा त्यसको मिति पुग्ने छ ।” पृथ्वीनारायण शाहले भने ।
साँझ पर्न लागेको थियो । सबैले अब फर्किएर अर्को दिनको प्रतिक्षा गर्न आग्रह गरे तर उनले माननेन् । ‘मेरो सिकारबाट आजसम्म कुनै बाघ बचेको देखेका छौ ?’ रानी नरेन्द्र लक्ष्मीलाई फुर्ति लगाएको कुरा सम्झे । ‘रित्तो हात कसरी फर्कनु ?’ ‘यदि सक्नुहुन्छ भने हजुरले नै यसको दुःखबाट मुक्ति दिलाउनुहोस् ।’ सिकारीको कुरा सम्झिए । उनीभित्रको घमण्डले उनलाई फर्कन दिएन ।
साँझ अचानक बाघ कतै झाडीबाट निस्कियो । बाघ देखा परेपछि सबैतिरबाट तर्साउँदै राजा भएतिर लखेट्न थालियो । तिब्र बेगमा आफुतिर आएको बाघमाथि राजाले बन्दुक चलाए । गोली बाघलाई लाग्यो तर त्यो मरेन । घायल बाघ रिसाउँदै पृथ्वीनारायणमाथि जाइलाग्न आइपुग्यो । घेरा सानो भएकाले अरु तुरुन्त राजालाई सहयोग गर्न आइपुगे तर उनलाई घाइते हुनबाट बचाउन सकिएन । आफ्नै घमण्ड र जिद्दीपनको कारण उनी बाघको सिकार बन्न पुगे ।
उनलाई तुरुन्त दरबार पु¥याइयो । बैद्यहरूले बाघले चिथोरेको घाउमा जडिबुटी लगाइदिए । केही दिनमा बाह्य घाउ ओभाएको देखियो तर उनी भने थला पर्दै गए । आफ्नै घमण्ड र जिद्दीपनको कारण बाघले झण्डै ज्यान लिएको थियो । यो कुरा उनको मनमा गडेर बस्यो । खै किन हो घाउमा खाटा बसेर पनि उनी भने उठ्न सकेका थिएनन् । ‘अब मेरो भोग यतिमात्र रहेछ क्यारे !’ उनको मनले हरेस खान थाल्यो । उनले कान्तिपुरबाट अरु केही भारदारहरू पनि झिकाए र शासन सञ्चालनको क्रममा आपूmले प्राप्त गरेका अनुभवहरू सुनाए । त्यसको केही दिनपछि राजमुकुट कान्तिपुर पठाइयो । किनकि केही दिनको आरामको लागि नुवाकोट पुगेका पृथ्वीनारायणले देवघाटमा सदाका लागि आराम लिएका थिए । अब उनलाई राजमुकुटको आवश्यकता थिएन ।
(हिम रश्मि हाई स्कुल, कक्षा १०, काठमाडौं)