कक्षा नौको परीक्षा सकेर रिता आफ्नो हजुरबुवासँग बसेर इन्टरनेट चलाइरहेकी थिइन् । जब उनले कैलाली, कनचनपुरतिर रानाथारुहरूले खुट्टाले छोएर खाना खान दिने चलनको बारेमा लेखेको कुरा देखिन् । उनको मनमा त्यो अनौठो चलनको बारेमा जिज्ञासा जाग्यो ।
त्यसैले उनले आफ्नो हजु्बुबालाई त्यो कुरा देखाउँदै सोधिन्, “हजुबा, यो हेर्नुस त, के यो ?” हजुरबुबाले त्यस्तो हुन्छ भनेर जवाफ दिनुभयो ।
“के तपाईलाई त्यसको बारेमा थाहा छ ? किन त्यसो गरेका ?” नातिनीले हजुबुबालाई सोधिन् ।
उहाँले भन्नभयो, “यो धेरै समय पहिलेको कुरा हो । रन्जित सिंहले चित्तोडमा हमला गरेर विजय प्राप्त गरेका थिए । उनले जितेको समाचार पाएपछि महलमा बस्ने राजकन्याहरू र नोकरहरू कैलाली र कन्चनपुरको बाटो हुँदै नेपाल आइपुगे ।….”
“तिनीहरू नेपाल आएर के गरे ?” हजुरबुबाले बोल्दा बोल्दै नातिनी बिचमा बोलिन् ।
“पख न, भन्दै छु त म । त्यसपछि राजकन्याहरूले नोकरसँग विवाह गरे ।” हजुरबुवाले भन्नुभयो ।
“विवाह गरे रे । किन नि त्यसो ? राजकुमारहरूले आफ्नै नोकरहरू सँग !” नातिनीले अचम्म मान्दै प्रश्न गरिन् ।
“तिनीहरूले नेपालमा आफ्नो नोकर बाहेक कसैलाई पनि चिनेका थिएनन् । त्यसैले आफ्नै नोकरसँग विवाह गरेका हुन् ।” हजुरबुबाले हाँस्दै भन्नुभयो ।
“अनि काम, खानाको लागि के गर्थे ?” नातिनीले प्रश्न गरिन् । “कामका लागि नोकरहरू दिउँसो यसो बाहिर जान्थे । अनि घरमा राजकन्याहरूले मिलेर खाना पकाउने गर्दथे । पछि जङ्गल फाँडेर खेतीका लागि जमिन तयार पारे ।” हजुरबुबाले नातिनीको प्रश्नको उत्तर दिनुभयो ।
“हजुरबुबा, हजुरले त मलाई खुट्टाले छोएर खाना दिने परम्पराको बारेमा त केही पनि भन्नुभएन त ।” नातिनीले सोधिन् ।
“दरबारको परम्परा अनुसार नोकरलाई खाना हातमा दिने चलन थिएन । त्यसैले राजकन्याहरूले खुट्टाले छोएर नोकरलाई खाना दिने गर्दथे ।” हजुरबुबाले भन्नुभयो ।
नातिनी यो सबै कुरा सुनेर एकछिन अचम्ममा परी । ‘कसरी यस्तो सम्भव हुन्छ ? अहिलेको जमानामा पनि खानाको अपमान हुने ढङ्गले खाना दिने चलन होला र !’ उनलाई लाग्यो ।
“अनि, अहिले पनि यस्तो चलन छ र हजुरबुबा ?” उनले सोधिन् ।
“अहिले पनि कैलाली, कन्चनपुरतिर हामी गयौँ भने यसो गरेको देख्न सक्छौँ । कतिपय चलनहरू मिथक र इतिहाससँग जोडिएर आएका हुन्छन् । इतिहास र मिथक कहाँनिर एकाकार भएर जोडिन्छन्, थाहै हुदैन । त्यसो त यहाँ जनताका इतिहास कहाँ छ र, राजा महाराजाका मात्र इतिहास लेखिएका छन् । त्यस्तै इतिहास विजेताहरूको लेखिन्छ । पराजितहरू पनि यही समाजमा हुन्छन् तर उनीहरू गुमनाम हुन्छन् । निम्न तहका जनताको इतिहास त यस्तै मिथक, अनुश्रुति र चालचलनभित्रबाट खोज्नुपर्ने अवस्था छ ।” हजुरबुबाले भन्नुभयो । नातिनीलाई भने इतिहासको खोजको विषय भन्दा पनि त्यस ठाउँमा गएर त्यो चलन प्रत्यक्ष हेर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।
(हिमरश्मि हाईस्कुल, कक्षा– १०, काठमाण्डौं)