श्री ३ जङ्गबहादुर राणा थुप्रै विवाहका बन्धनमा बाँधिएका थिए । उनले आफ्ना पत्नीहरूलाई दरबारमा एउटा एउटा पद दिएका थिए । उनलाई यतिले सन्तुष्टि भएन र फेरि अर्को विवाह गर्ने चाहना राखे । त्यसपछि उनको नजर चौतरीया खलकमा प्राण सिंहको छोरी हिरण्यगर्भकुमारीतिर प¥यो ।
हिरण्यगर्भकुमारीको हात माग्न भनी जङ्गबहादुरले काजी हेमदाल थापालाई लमी बनाएर पठाए । “आफ्नो छोरालाई सखाप बनाउने व्यक्तिलाई म मेरी छोरी दिन सक्दिन । जङ्गेसँग हाम्रो जात पनि त मिल्दैन ।” हिरण्यगर्भकुमारीकी आमा महकुमारीले भनिन् । उनले त्यो प्रस्तावलाई अस्वीकार गरिन् ।
त्यसको केही हप्तापछि जङ्गबहादुर आफ्ना सैनिकहरू लिएर हिरण्यगर्भकुमारीको कान्छो दाइकहाँ पुगे । चौतरीया रणशेर साह भने विवाहको कुराले दुविधामा र अप्ठ्यारामा परे । ठाडै अस्वीकार गर्दा जङ्गेले जे पनि गर्न सक्छ भन्ने कुरा उनलाई लाग्यो । जङ्गेले विवाहको प्रस्ताव राख्दा उनको मन भने दुख्यो । अरु चौतरियाहरूले पनि हेपिएको जस्तो महसुस गरे । ‘अब जङ्गेले हाम्री चैलीबेटीहरूको हात माग्ने भो’ भनेर चौतरियाहरूले सोचे र हिनताबोध गरे । तर त्यसबेला जङ्गबहादुरको बिरुद बोल्न सक्ने कोही थिएन । त्यसैले चौतरियाहरूले यो कुरा राजदरबार पु¥याए ।
उनीहरूको कुरा सुनेपछि राजा सुरेन्द्र आफै रणशेरको घरमा पुगे र उनकी आमालाई पनि सम्झाउने कोशिस गरे । उनले भने, “मैले त मेरी छोरी जङ्गेको छोरालाई दिएँ भने अब तिमीले आफ्नो छोरी जङ्गेलाई किन दिन हुँदैन ? देऊ जङ्गेलाई ।” राजा स्वयं आएर सम्झाई बुझाई गरेपछि चौतरियाहरूले चित्त बुझाए । त्यसपछि उनीहरूले विधिपूर्वक विवाह गराइदिने निर्णय गरे ।
आमा र दाजुभाइहरूले जङ्गबहादुरसंग विवाह गरिदिन स्वीकार गरे तापनि हिरण्यगर्भकुमारी भने मानेकी थिइनन् । आफ्ना दाजुहरू र भदाहरूको हत्या गर्ने जङ्गबहादुरप्रति उनको मनमा बदलाको भावना थियो । सबैले सम्झाएपछि उनी विवाह गर्न मानिन् तर विवाह गरेको पहिलो रातमा नै जङ्गेको हत्या गरेर बदला लिने सङकल्प गरिन् । उनले मन मनै भगवान्सँग आफ्नो योजनामा सफल हुन सकूँ भनेर आशिर्वाद मागिन् ।
विवाहको दिन उनले कसैले नदेख्ने गरी आफ्नो कपालको जुरोमा एउटा धारिलो छुरा लुकाइन र विवाह मण्डपमा बसिन् । विवाह मण्डपमा एकपछि अर्को धार्मिक विधि गरिदै थियो । पुरेतहरूको मन्त्रोच्चारण विच जब जङ्गबहादुरले हिरण्यगर्भकुमारीको सिउँदामा सिंदुर हाल्ने क्रममा दुर्भाग्यलेछुरा भुईंमा खस्यो । त्यो देखेर सबैजना अचम्ममा परे र मुखामुख गर्न लागे । कसैले जिब्रो टोकेको देखियो । सँगै बसेर वैवाहिक कर्म गरिरहेका जङ्गबहादुरले त्यो दृश्य नदेख्ने कुरै भएन । हिरण्यगर्भकुमारी आत्तिइन् तर जङ्गबहादुरले भने यो कुरालाई कुनै वास्ता गरेको देखिएन । विना प्रतिकृया जङ्गबहादुरले सिंदुर हाले । आफ्नो योजना पहिल्यै विफल भएकोमा हिरण्यगर्भकुमारी खुम्चिएर बसिन् । उनी अन्मिएर जङ्गबहादुरको दरबारमा पुगिन् । सायद दरबारमा भित्रेपछि दण्डको भागिदार बनिएला भन्ने थियो उनलाई तर त्यसो भएन । जङ्गबहादुरले चाहे भने जे पनि गर्न सक्थे । उनलाई रोक्न सक्ने कोही थिएन, नेपाल दरबारमा उनै सर्वेसर्वा थिए ।
“म तेरो अपराधी हुँ । मेरा आफन्तहरूलाई मारे जस्तै तँ मलाई टुक्रा टुक्रा पारेर मार्न सक्छस् ।” दरबारको आफ्नो सयन कक्षमा जङ्गबहादुर विस्तारै प्रवेश गरेको देखेपछि उनले भनिन् । त्यो सम्बोधन जङ्गबहादुरप्रतिको उनको तिक्तता पनि थियो ।
“हत्या गर्नका लागि मेरो प्रथम नजर हजुरमाथि परेको थिएन । हजुरलाई मेरो बनाउन पाएको छु, अरु मलाई कुनै कुराको गुनासो छैन ।” जङ्गबहादुरले नम्र भएर भने । पहिलाको रणसिंह, रक्तपिपासु जङ्गबहादुरको छनक त्यहाँ कतै थिएन । हिरण्यगर्भकुमारीलाई जङ्गेले आपूmलाई निकै माया गर्दो रहेछ भन्ने लाग्यो । उनको मनमा बदलाको भावना तुसमात्र पनि बाँकी रहेन । पछि जङगेले हिरण्यगर्भकुमारीलाई श्री ३ महारानीको पद दिलाए । दुबैजनाले प्रेमपूर्वक जीवन बिताए ।
(हिम रश्मि हाई स्कुल, कक्षा १०, काठमाडौं)