“मुमा हजुर, दाजुभाइले बुबालाई सत्ता सम्हाल्न सघाउलान् नि त, मैले त केही पनि गर्नु नपर्ला जस्तो लागिराखेको छ, खै किन हो !” चक्रभतेन्द्रले रानीसँग नम्रतापूर्ण सोधे रानी खिसिक्क हाँसिन् र भनिन्, “तिमी भोजन गरेर सुत्न जाऊ ।”
भोलिपल्ट अरु दिन जस्तो दरबारमा एक किसिमको रौनक थिएन । बागमा चराचुरुङ्गी र पुतलीहरू खेलेको देखिदैन थियो । फूलहरू फुल्दा पनि दरबार रङ्गीन थिएन । त्यो सन्नाटामा केबल राजपरिवारको सुँक्क सुँक्क आँसु अनि राज्य भर गाइँगुइँ बाहेक केही सुनिएको थिएन ।
राजदरबारमा शङ्खध्वनी गुन्जियो । हजुरियाहरूले राजकुमार चक्रभतेन्द्रको मृत्युको कुरा सुनाए । राज्य शोकमा डुबेको थियो र महारानीलाई सम्हाल्न बढो मुस्किल देखिन्थ्यो । रानी राजकुमारले भोजनको बेलामा बताएको कुराले सम्झिने, रुने गर्दै थिइन् । आँसुमा डुबेका आँखाहरू पुछ्दै राजा प्रताप मल्लले रानीको कपाल मुसार्दै भने, “प्यारी, तिमी अब धेरै शोक नमान, यो सबै भाग्यको खेल हो । काललाई त कसैले टार्न सक्दैन । आउँछ र टप्प टिपेर लैजान्छ । रानीले बिचैमा कुरा काटिन् र सुँक्क सुँक्क गर्दै बताइन्, “महाराज, त्यो अन्जानले के बिगारेको थियो र दैव यतिसम्म निदर्यी बन्यो !”
राजा प्रतापले फेरि रानीलाई थमथमाउँदै सम्झाउन खोजे, “हुने हार, दैव नटार, जे नहुनु थियो भइहाल्यो, अब चिन्ता नगर ।” यति भन्दा भन्दै रानी बलिन्द्र आँसु बगाउँदै राजाकै काखमा निदाइन् ।
रानी एक्कासि बिउँझिन्थिन्, रोइकराइ गर्थिन र चिच्याउँथिन् । राजाले रानीको ख्याल राख्न खटाएका खास व्यक्तिहरूले एकछिन फुर्सद पाउँदैनथे । राजा प्रताप रानीलाई कसरी खुशी पार्न सकिन्छ भनेर उपाय खोज्दै थिए । उनी अलि हैरान देखिन्थे ।
राजा प्रतापले एक चोटि पुन रानीलाई सम्झाउनका खातिर उनको नजिक पुगे । राजाले मुस्कुराउँदै रानीलाई भने, “सुन त ।..” यति मात्र के भनेका थिए रानीले झर्कोफर्को गर्दै भनिन्, “म केही पनि सुन्न चाहान्न महाराज । हजुरले आफ्नै पितालाई पागल घोषित गरेर बन्दी बनाउनुभयो । उहाँप्रतिको हजुरको दुष्कर्मले गर्दा आज मेरो छोरो मबाट सधैँका लागि टाढियो ।” राजा प्रताप मुटु चिसो पारेर रानीको कक्षबाट बाहिरिए ।
रानीको अवस्था दिन प्रति दिन बिग्रदै गइरहेको थियो । राजा प्रतापले रानीलाई खुशी बनाउने उपायहरू खोज्दै थिए । उनले सल्लाहकार र हजुरीयासँग कुराकानी गरिरहेका थिए । उनले गुरु जिलग्नोनलाई भेट्ने निर्णय गरे । उनले गुरुसँग बताए, “गुरु, रानीको अवस्था झन् बिग्रदै गएको छ । उनमा चक्रभतेन्द्रको मृत्युले गहिरो असर पारेको छ ।” गुरुले भने, “कविन्द्र, मलाई सब थाहा छ । तपाई बस रानीलाई विश्वास दिलाउनुहोस् कि राजकुमारले मात्र नभएर अरुले पनि मृत्यु र शोक बेहोरेका छन् ।” कविन्द्रले सोधे, “गुरु, के गर्न सकिएला ?”
गुरुले भने, “राज्यका सबै घरबाट मरेका मानिसहरूको प्रतिबिम्ब निकाल्न लगाउनुहोस् र सहरमा घुमाउन लगाउनुहोस् ।” प्रतापले भने, “हस्, गुरु, म अहिलेका लागि विदा भएँ, प्रणाम ।”
प्रताप मल्लले वर्षभरिमा जसको घरमा आफन्तको मृत्यु भएको छ उसले गाई निकालेर गाईजात्रा मनाउने आदेश दिए । भोलिपल्ट बिहानै जात्रा निकालियो । शहरको धेरैको घरबाट गाई निस्कियो । सबैका घरमा एक न एकले प्राण त्यागेका रहेछन् । राज्यमा होहल्ला सुनियो । जात्रा सहरभर देखाइयो । रानीलाई बल्ल सबैको घरमा आत्मीय मान्छेको निधन भएको र सबैले शोक बेहोर्नुपरेको आभास भयो । उनले पनि चक्रभतेन्द्रको प्रतिबिम्ब निकाल्न आदेश दिइन् । साराले स्वीकारेको सत्यतामा रानीले पनि समर्थन जनाइन् । रानीले राजाको नजिक गएर भनिन्, “महाराज, मलाई एउटा तिर्थस्थल चाहिएको छ जहाँ मैले समय बिताउन पाउँ अनि राजकुमारका यादहरू सँगाल्न सकूँ ।”
राजाले मुहारमा छुट्टै चमक ल्याएर भने, “जो आज्ञा महारानी !”
सूर्योदय हुनासाथ अर्को दिन रानीद्वारा विष्णुतिर्थको सिलन्यास भयो । एकातर्फ विस्तार विस्तार तिर्थ बन्दै थियो । शहरको बिचमा पोखरी तयार हुँदै थियो । सबै तिर्थ पुगेको फल प्राप्त होस् भनेर राजकर्मचारीहरू बिभिन्न तिर्थको पानी लिन हिडिसकेका थिए । पोखरीको बिचमा सुन्दर मन्दिर बन्दै थियो । त्यो देखेर रानी खुशी थिइन् । अर्कोतर्फ राजा भने रानीले लगाएको आरोपबाट मन बहकाउन सकेका थिएनन् । भन्दा भन्दै करिब तीन महिनाको अवधिमा तिर्थ तयार भयो विभिन्न तिर्थबाट ल्याइएको जल त्यहाँ मिसाइयो । पोखरीको उद्घाटन रानी स्वयम्ले गरिन् । प्रतापले प्रजाको अगाडि घोषणा गरे, “यो तिर्थ रानीकै निमित्त बनाइएकाले यसलाई रानीपोखरी नाम दिन चाहन्छु ।”
राज्यका प्रमुख व्यक्तित्वहरू र राजपरिवारको भोजमा प्रतापले सबैलाई सम्बोधन गर्दै नम्र बनेर भने, “यो सत्ता र राज्यको राम्रो ख्याल राखियोस् ।’’ सधै एक्लै राज गर्छु भन्ने कविन्द्रले यस्तो भन्दा सबै अचम्मित भए ।
बेलुकी पख दरबारमा नाचगान आयोजना गरियो । मान्छेको घुइँचो लाग्यो । सबै आनन्दित मुद्रामा रहँदा पनि प्रताप मल्लमा भने त्यस्तो आनन्द थिएन । उनले बारम्बार रानीको कुरा सम्झिरहेका थिए । नृत्याङ्गनाहरूले राजालाई घेर्दै नाचिरहेका थिए । राजाले मुटुको धड़कन एक्कासी बढेको महसुस गरे । पानी माग्दा माग्दै उनले अन्तिम सास फेरे । राज्य फेरि एउटा ठूलो शोकमा डुब्यो । रानीको हालत पहिले भन्दा बढी बिकराल बन्यो ।
(हिमरश्मि हाई स्कुल, कक्षा– १०, काठमाडौं)