गोरखा दरबारमा महारानी कौशल्यावती गर्भवती भएको हल्ला फैलियो । बाह्र हजार गोरखाको उत्तराधिकारीले गर्भमा बस्न आएको घटना आफैमा खुसीको विषय थियो । महाराज नरभूपाल आफ्नी श्रीमती गर्भवती भएको खवरले निकै आनन्द मानिरहेका थिए । उनी सन्तानको मुख हेर्न आतुर थिए । दरबारमा महारानीको खानपान र स्याहार सुसारमा अझ विशेष ख्याल राख्न थालियो ।
समय बित्न कतिबेर, एक, दुई तीन हुँदै गर्भ रहेको छैटौं महिना बित्यो । राजा आफै पनि रानीको बिशेष ख्याल राख्थे । नराम्रा कुराले गर्भको बच्चालाई पनि असर गर्छ भन्ने उनलाई थाहा थियो । त्यसैले उनी रानीसँग सकारात्मक कुरा मात्र गर्थे । दिन यसरी नै बित्दै थियो ।
एक रात रानीले अनौठो सपना देखिन् । सपनामा उनी दरबारको कौसीमा बसेर पूर्वतिर हेर्दै थिइन् । दरबारको उत्तरी दिशामा रहेको जङ्गलमा चराचुरुङ्गी कराइरहेका थिए । उनी आफ्नो बढ्दै आएको पेट मुसार्दै थिइन् । हिमाललाई लालिमामय बनाउँदै सूर्यको उदय भयो । उनले आफ्नो पेटमा पनि त्यस्तै सूर्य हुर्कंदै गरेको कल्पना गरिन् जसले भोलिको गोरखा राज्यलाई प्रकाशमय बनाउने छ । पूर्वको झुल्कँदो घाम डाँडाबाट निस्किएर आकासतिर जानुको सट्टा सिधै अगाडि बढ्दै उनको नजिक नजिक आउन थाल्यो । ‘हैन, आज के हुँदै छ’ उनी सोच्दै थिइन्, सूर्य त उनकै नजिक आइपुग्यो । उनले मुख आँ गरिन् र सूर्यलाई निलिदिइन् । ‘लौ अब के हुन्छ ?’ उनी सोच्दै थिइन् झल्यास्स बिउँझिइन् । बिउँझदा उनको शरिर पसिनाले भिजेको थियो, श्वास बढिरहेको थियो । उनको शरीर डरले अझै पनि कामिरहेको थियो ।
उनले नजिकै निद्रामा घुरिरहेका महाराजलाई घचघच्याइन् । नरभूपाल शाह बिउँझिए । “महारानी, तिमीले मलाई किन निद्राबाट ब्युँझनौ ? के भयो ? सञ्चो भएन ?” उनले आत्तिदै सोधे ।
“हैन महाराज, मैले डरलाग्दो सपना देखेँ । सपनाको कुराले मलाई अहिले पनि डर लागिरहेको छ ।” रानीले भनिन् ।
“डराउनु पर्ने त्यस्तो के सपना देख्यौ र !” राजाले सोधे । रानीले आपूmले सपनामा सूर्यलाई निलेको सपना देखेको कुरा सुनाइन् । राजाले केही प्रतिकृया दिएनन् । उनी जुरुक्क उठे, झ्यालबाट बाहिर चियाएर आकासतिर हेरे । तीनतारे भर्खर उदाएको थियो । ‘रात त तेस्रो प्रहर पनि सकिएको रहेनछ ।’ उनले सोचे । उनको मनमा कुरा खेल्न थाल्यो । ‘रानी निकै राम्रो सपना देखेकी छिन् तर रात अझै निकै बाँकी रहेको छ । निदायो भने सपनाको फल प्राप्त हुँदैन भन्छन् । तर रानीलाई कसरी जागा राख्ने ?’ तत्काल उनको मनमा यौटा उपाए फु¥यो । उनी झ्यालबाट फर्किए र रानीलाई ड्याम का ड्याम पिट्न थाले ।
यो अनपेक्षित कार्यले रानी जिल्ल परिन् । उनको साह्रै चित्त दुख्यो । आपूmले त्यस्तो के नराम्रो कार्य गरेँ र महाराजले पिट्दै छन् भन्ने लाग्यो । “महाराज, मैले त्यस्तो के गल्ती गरेँ र यसरी मध्यरातमा मलाई पिट्दै हुनुहुन्छ ?” उनले रुँदै सोधिन् ।
‘रानीलाई सत्य कुरा बताउने हो भने फेरि निदाइ हाल्छिन् । चित्त दुःखाउने काम गरिदिएपछि त पक्कै निदाउन सक्दिनन् ।’ उनले सोचे । “तिमीलाई अलिकति डर त लाग्नुपर्ने नि यो मध्यरातमा यसरी निद्रा बिथोलिदिन । दिनभरिको राजकाजको कामले लखतरान भएर सुतेको मान्छेको निद्रा यसरी बिथोलिदिने !” उनले कराए ।
कत्रो उत्साहले रानीले सपना सुनाएकी थिइन् । राजाको त्यो व्यवहारले उनलाई साह्रै नरमाइलो लाग्यो । उनले माइती संझिन् । उनी घुक्क घुक्क गदै बसिरहिन् । यसो झकायो कि राजाको व्यवहार संझन्थिन् र बिउँझिन्थिन् । उनले रात यसरी नै छर्लङ बिताइन् । रानीले भुइँमा बसेर रात काटिन् । राजा खाटमा थिए तर उनी पनि निदाएका भने थिएनन् ।
बिहान भएपछि राजा उठे । उनले रानीलाई सदाको जस्तै व्यवहार देखाए मानौ रातमा केही भएकै थिएन । रानी छक्क परिन् । उनले मन नलागी नलागी राजाको पाउ समातेर ढोगिन् र बाहिर निस्किइन् । रातमा राजाले देखाएको व्यवहारको बोझ भने उनको मनमा गह्रुगो भएर रहेको थियो । राजाले देखाएको त्योे व्यवहारको कारण उनले अझ खुट्टाउन सकेकी थिइनन् । यो कुरा कसैलाई बताउन पनि सक्दैन थिइन् ।
नरभूपाल शाहले बिहानै राजज्योतिषीलाई डाक्न पठाए । नित्यकर्म पनि नभ्याउँदै दरबारबाट बोलावट आएपछि राजज्योतिषी हतारिँदै दरबारमा हाजिर भए । “सरकार त्यस्तो के प¥यो र यति सबेरै बोलावट बक्सियो ।” ज्योतिषले आत्तिदै सोधे ।
“हैन, आत्तिन पर्दैन । तर कुरा नै यस्तो थियो कि म आपूmलाई रोक्नै सकिनँ ।” नरभूपाल शाहले भने ।
“मर्जी होस् न महाराज, त्यस्तो के कुरा हो ।”
महाराजले महारानी कौशिल्यावतीले देखेको सपनाको बारेमा बताए र त्यसको सपनाको फल बारेमा सोधे तर रानीलाई पिटेको कुरा भने बताएनन् ।
“महाराज, महारानी सुकला त होइबक्सेन ।” ज्योतिषले सोधे । “अँह, सपना देखेपछि उनी निदाएकी छैनन् ।” नरभूपालले भने । ज्योतिषको अनुहारमा चमक देखियो । उनले भने, “अहो महाराज, साहै्र बेश गर्नुभयो । यो त साह्रै शुभ सपना हो । यो सपनाले सङ्केत गर्दछ– महारानीको कोखमा रहेको बालक महाप्रतापी हुने छ, शाह कूललाई उज्वल पार्ने छ । बधाइ छ महाराज ।” राजाले खुसी हुँदै आफ्नो औँलामा रहेको औँठी निकालेर ज्योतिषलाई बकस दिए ।
उनले महारानीलाई बोलाए र रातको कार्यको लागि माफी मागे । ज्योतिष पनि त्यहीँ थिए । रानीले केही बुझ्न सकिनन् । न त ज्योतिषले नै केही बुझे । नरभुपालले ‘तिमीसँग के लुकााउनु’ भन्दै रातको सबै घटना बताए अनि रानीलाई भने, “यदि मैले तिमीलाई पिट्ने नाटक नगरेको भए तिमी निदाउने थियौ र तिमीले देखेको सपनाको फल प्राप्त हुँदैनथ्यो ।” उनले ज्यातिषीले बताएको सपनाको फल पनि भने ।
“अब त तिमीलाई कुनै गुनासो छैन होला नि ?”
“छैन महाराज छैन । हजुरले जे गर्नुभयो ठिक गर्नुभयो ।” रानीले खुसी हुँदै भनिन् । रातमा राजाले देखाएको व्यवहारको रहस्य रानीले बल्ल बुझेकी थिइन् । ‘हरेक कुरा बताउने र गर्ने ठिक समय हँुदो रहेछ । उपयुक्त समय नभई कुनै पनि कुरा गर्नुहुँदैन रहेछ ।’ रानीले महसुस गरिन् ।
(हिमरश्मि हाई स्कुल, कक्षा १०, काठमाण्डौं )