“महारानी ? महारानी ?” राजेन्द्रलक्ष्मी जुरुक्क उठिन् । घोडाले भुइँमा छुनेबित्तिकै उनी चिसोले सिरिङ्ग भइन् ।
“हिरामाया ?” उनले बोलाइन् । चुरा बजेको आवाज आयो । “महारानी, मैले पानी ल्याएको ।” हिरामायाले भनी । अलि अँध्यारो थियो । त्यसैले हिरामायाको अनुहार देखिएन तर अम्खरा जेलको डण्डीमा ट्वाङ गरेको आवाज आयो । राजेन्द्रलक्ष्मीले हात कामाउँदै अम्खरा लिइन् र तिर्खा मेटिन ।
“हिरामाया ? तिमीलाई सिपाहीहरूले आउन दिए ?”
“पानी मात्रै ल्याएको हुँ भनें, महारानी, अनि आउन दिए ।” हिरामायाले भनी । “हजुरलाई ठिक छ ? मेरा कानमा त कति नराम्रा हल्ला परेका छन् महारानी ।” राजेन्द्रलक्ष्मी एकछिन ट्वाल्ल परिन् । “ठिकै छु, जेलमा जति ठिक हुन मिल्छ त्यति नै त हो नि ।” यति कुरा बोल्दा खुट्टामा रहेको चाँदीको नेल गह्रुङ्गो भएको महसुस गरिन् ।
“चिन्ता नलिनुहोस् महारानी ।” हिरामायाले विस्तारै भनी । उसको मधुरो आवाज सुन्दा राजेन्द्रलक्ष्मीलाई एक छोटो पलको लागि आनन्द आयो । हिरामाया महारानीको सहयोगी र प्रिय मित्र थिई । सानै उमेरमा विवाह गरेर आउने बित्तिकै राजेन्द्रलक्ष्मीसँग उसको अटुट मित्रता रहेको थियो । “महारानी,” उसले फेरि बोलाई । “मैले दरबारमा गाइगुइ सुनेकी छु । बहादुर शाह पश्मितिर जाने हल्ला चलेको छ । उता बाइसे राज्यहरूले चढाई गर्दै छन् रे ।”
“हो र ! कहिले जाँदै छन् तिमीलाई थाहा छ ?” यनले साउतीको पारामा सोधिन् ।
“तयारी चाहिँ सुरु भएको हल्ला सुनेको छु महारानी ।”
राजेन्द्रलक्ष्मीको मनमा धेरै कुरा खेल्न थाले । मौका सही थियो । उनको दिमागले जेलबाट छुट्ने उपायहरू खेल्न थाले । “हिरामाया, तिमी मेरा लागि एउटा काम गरिदिन सक्छ्यौ ?” उनले सोधिन् ।
“भन्नोस् न महारानी, म तयार छु ।” हिरामायाले भनी । राजेन्द्रलक्ष्मी फलामको बारको नजिकै गइन् । “मेरो खोपीमा उत्तरपट्टि राखिएको बाकसमा तलपट्टि केही कागजात होलान् । बहादुर शाह दरबारबाट निस्कनेबित्तिकै सर्वजित रानाको पहिलाको हुलाकीलाई भेट्नु र ती कागजात किर्तिमहोद्दाम शाहलाई पठाइदिनु भन्नु ।” उनले हतासमा भनिन् । हिरामायाले त्यो काम गरिदिने कसम खाई र चुरा बजाउँदै गई । उनले लामो सास फेरिन् । बहादुर शाहसँग खतपट सुर भएपछि केही अनिष्ट हुने आशङ्कामा उनले बनारसमा रहेका किर्तिमहोद्दामलाई लेखेको खत त्यही कागजातमा थियो ।
राजेन्द्रलक्ष्मी अँध्यारो कोठाको भित्तामा हेर्न थालिन् । उनलाई बन्दी बनाइएको लगभग सात आठ महिना भएको थियो । बहादुर शाहले उनलाई नायबीबाट हटाएको सम्झना आयो । दरबारमा ‘सतीको सराप लागेकी रानी’ भनेको सम्झिइन् । अनायासै नाबालक छोरा रणबहादुरको याद आयो । दरबारमा के भइरहेको छ उनलाई केही थाहा थिएन ।
टोलाउँदा टोलाउँदै रात बितिसकेछ । घामको मधुरो उज्यालो आयो । त्यति नै बेला हिराकुमारी फेरि आइपुगी । “महारानी ? तपाई उठ्नुभो ?”
“उठेँ हिरामाया, उठेँ ।” राजेन्द्रलक्ष्मी जेलको बारमा पुग्दै भनिन् । हिरामायाको अनुहारमा एक प्रकारको चमक थियो ।
“सुन्नोस् न महारानी,” उसले खुसी हुँदै भनी । “मैले हिँजो बेलुकी नै हुलाकीलाई कागजात रानालाई हजुरले भन्नु भएको कागजात दिएँ । अब पाँच सात दिन जतिमा खबर उता पुग्छ रे ।”
राजेन्द्र लक्ष्मी मुस्कुराइन् । “तिमीले राम्रो ग¥यो, हिरामाया ।” हिरामाया तारिफ पाएपछि मख्ख परी । सिपाही आउन लागेको आवाज सुनेर ऊ छिट्टै गइहाली । केही क्षणपछि सिपाही खाना लिएर आइपुग्यो । राजेन्द्रलक्ष्मीले खुरुखुरु खाना खाइन् अनि फेरि एकान्तमा बसिन् ।
हिरामाया बेलुका आइन । दिन बित्दै गयो, सिपाहीहरू आउथे, अरु नोकर चाकरहरू आउँथे तर हिरामायाको कुनै पत्तो थिएन । उनलाई हिरामायाको न्यास्रो लाग्न थालेको थियो ।
बिस बाइस दिनपछि सिपाहीहरूले जेलको ढोका खोलिदिए । राजेन्द्रलक्ष्मीको मनमा कौतुहलता बढ्यो । ‘किन आज मलाई निकाल्दै छन् ? हिरामाया कता हराई ?’ नुहाइ धुवाइ गरेपछि राजेन्द्रलक्ष्मीले लुगा फेरिन् । उनी आफ्नो खोपीबाहिर परिर्खरहेकी थिइन् । त्यसैबेला किर्तिमहोद्दाम शाह उनलाई भेट्न आए । उनीसँग कुराकानी गरेपछि राजेन्द्र लक्ष्मीले कुरा बुझ्न थालिन् । उनलाई पठाइएको पत्रमा आपूm जेलमा पर्नु अघिका केही कुराहरू लेखिएको थियो । किर्तिमहोद्दाम शाह महारानीको न्यायका लागि कासीबाट आएको थाहा पाएपछि भारदारहरूले उनको कुरा सुन्न चाहेका रहेछन् । बहादुर शाह पश्चिमतिर रहेकाले केही गर्न सकेनछन् ।
कम्मरमा र खुट्टामा भएको दर्द सहदै राजेन्द्रलक्ष्मी दरबारी सभामा उपस्थित भइन् । पिडा र रिस साम्य गर्दै, आफ्ना बुवा मुकुन्द सेनले बोलेको सम्झदै उनले नम्र आवाजमा आफ्नो व्यथा प्रकट गरिन् ।
“मैले आफ्नो तर्फबाट धेरै गर्न सकिनँ होला, तर आज म यहीँ कसम खान्छु कि मैले अब राज्य बनाउने काम गर्न बल बुद्धि प्रयोग गर्छु । मेरा श्रीमान्, हाम्रा पूर्वराजा प्रताप सिंहको समयमा दरबारभित्रै कोही पनि छुटफुट भएर बसेका थिएनन् । उहाँले पराया ठानेर, हेला गरेर कसैलाई पन्छाउनु भैबसेन । मेरा देवरले मलाइ ‘विधवा भाउजु’ भनी हेपेर जेलमा हाल्नुभयो । उहाँसँग केही प्रमाण थिएन, तर पनि मलाइ दोषी ठह¥याइयो । यदि मेरा श्रीमान् महाराज यहाँ हुनुभएको भए मैले यो भोग्नुपर्ने थिएन । मेरो तर्फबाट केही भूल भएको भए माफी चाहन्छु । मलाई एक मौका दिनुहोस्, गोरखकाली माताको नाममा कसम खाएर भन्छु, म यो राज्य बदल्न सक्छु ।”
उनले यति भनेपछि किर्तिमहोद्दाम मुस्कुराएको देखिन् । सबै भारदारहरू आपसमा कुरा गर्न थाले । एक दिनभित्र नै उनी छोरा रणबहादुरलाई काखमा लिई सिंहासनमा विराजमान भइन् । महारानी राजेन्द्रलक्ष्मीसँग सबैले माफी मागे । उनले त्यतिबेला मात्र हिरामायालाई झल्यास्स सम्झिइन् ।
केही सिपाहीहरूलाई उसलाई खोज्न खटाइन् । दरबारमा गाइँगुइँ हुन थाल्यो । हिरामायाको शव भेटियो । राजेन्द्रलक्ष्मीको मुटुमा ढुङ्गाले थिचे भयो । उनले हतारमा किर्तिमहोद्दामलाई यस कुराको जडसम्म खोज्न लगाइन् । दरबारको एक पाँडे दोषी भेटियो । त्यो पाँडे बहादुर शाहका लागि काम गर्दो रहेछ । आईमाईहरू कुरा गर्न लागे । सिपाहीले इनारका घचेटेर हिरामायालाई मारेको रहेछ ।
उनको ज्यान लिन खोज्ने दरबारमा अझै थिए । त्यसपछि मात्र उनले त्यो परिस्थितिको गम्भिरता बुझिन् । उनी झ्यालबाहिर हेर्दै टोलाइन् । “यदि मेरा श्रिमान यस संसारमा होइबक्सनुभएको भए, अहिले परिवार बिच झगडा हुँदैनथ्यो । ममाथि कसैले गलत आरोप लगाउने हिम्मत गर्दैनथे । सति नगएकी रानी भनेर हेपिने थिइनँ । अहिले आफ्नै जीवन बाजीमा राख्दै शासन गरिरहेकी छु । केही बिग्रियो भने अझै कति मर्छन् ? विचरी हिरामाया पनि मेरै कारणले यस संसारमा रहिन, सर्वजित रानाको पनि ज्यान गयो । अबदेखि केही नोक्सान हुन दिन्न, एक समर्पित शासक बन्छु ।” उनले मनमनै संकल्प गरिन् । ‘एक शासक बन्न आफूले धेरै कुराको त्याग गर्नु पर्ने रहेछ । कठिन परिस्थितिले हामीलाई आफैमा भरोसा राख्ने र हिम्मतवान् बन्ने उत्तम पाठ सिकाउँदो रहेछ ।’ उनले सोचिन ।
(हिमरश्मि हाईस्कुल, कक्षा १०, काठमाडौं)