दाइकहाँ नगएको धेरै समय भएको थियो ।
नबोलाए पनि जानुपर्ने त थियो, तर जाने समय मिलिरहेको थिएन । मुस्किलले उबारेको समयलाई पनि सदुपयोग गर्न सकिरहेको थिइनँ । समय त छुट्याउँथेँ, तर समय न हो मैले छुट्याउँदैमा मेरै लागि पर्खिबस्दैनथ्यो । हेर्दाहेर्दै मेरो समय अर्कैको भैहाल्थ्यो । समय थुपार्न सकिने भैदिए उहाँलाई भेट्ने भनी छुट्याएको समयको थुप्रो लागिसकेको हुन्थ्यो मसँग । तर प्रमाणको लागि पेश गर्न मसँग एक केस्रा पनि समय बाँकी हुँदैनथ्यो ।
एक दिन जसरी पनि जानुपर्छ भन्ने अठोट मनभित्र उब्जियो । ढरियाजस्तो अठोटले समयलाई हत्पति फुत्किन दिँदो रहेनछ । उहाँलाई भेट्न एउटा विदाको औसर छोपेर हत्तपत्त उहाँको निवासस्थलतिर हानिएँ । मेरो भाग्यले त्यस दिन उहाँ निवासमै भेटिनुभयो ।
उहाँ हुनुहुन्थ्यो जनार्दन दाइ । क्याम्पसकालीन समयमा दाइको र मेरो समय एउटै हुन्थ्यो । अहिलेको जस्तो फरक फरक खालको हुँदैनथ्यो । जस्तो कि पढ्ने समय, क्याम्पस जाने समय, परीक्षा दिने समय एउटै हुन्थ्यो भने बाँकी समय आआफ्नै प्रकारको हुन्थ्यो ।
भेट हुँदा दाइ कुनै सानो पुस्तकमा डुबिरहनुभएको थियो । उहाँ पुस्तकमा डुबेको समय मलाई आफ्नैजस्तो लाग्यो । समय मात्र होइन पुस्तक पनि आफ्नैजस्तो लाग्यो । राम्रोसँग निज्याएर हेरेपछि चालपाएँ कि त्यो समय र पुस्तक दुवै आफ्ना थिएनन् । मलाई बरु के लाग्यो भने दाइले समयलाई चिनेर समयलाई च्याप्पै छोप्न ढरिया थाप्न जान्नुभयो । तसर्थ उहाँले आफूले चाहेअनुसार समयलाई खेलाउन जान्नुभयो । मैले उति बेलाको समयको उति वास्ता गरिनँ । तसर्थ समयले चाहेअनुसार मलाई चलाउन थाल्यो । त्यही समय मेरो काबुबाहिर पर्यो । त्यही समय उहाँको काबुभित्र पर्यो ।
दाइ किताबभित्र डुबिरहनुभएको थियो भने किताबबाहिर म तैरिरहेको थिएँ । म यस्तो पनि सोचिरहेको थिएँ कि उहाँको गर्विलो हातमा मेरो पुस्तक भैदिएको भए ! तर त्यो सम्भावना निकै कम छ भन्ने पूर्णजानकार थिएँ । मैले त मुसी नाटक विमोचन गर्न दाइलाई बोलाएर नेतृत्वमा हुने मुसापनको विरोध गरेको थिएँ । जितौरीको विमोचनमा जनार्दन, गोपालजी तथा ठगेन्द्रप्रकाशलाई उपस्थित गराएर हाकाहाकी उहाँहरूकै यथास्थितिपनको विरोधमा उत्रिएको थिएँ । आफ्नै विरोधको गन्ध आउने पुस्तक उहाँले मात्र होइन कुनै पाठकले पनि बोक्ने इच्छा किन गरोस् ?
दाइ आफ्नो डुबानबाट उत्रँदै गर्दा मलाई पनि सतही सोचबाट उतार्नुभयो र हल्का मुस्कुराउनुभयो । तिलचामले बोकेदारी अलिकति हल्लिए । हल्कै भए पनि उहाँको मुस्कुराहट मात लाग्ने खालको हुन्छ । मेरा नजर उहाँका ओठमा स्थिर हुन पुगे । उहाँको ओठबाट केही थान शब्दहरू ओइरिएः “हेर् लेख्नै परेपछि यसरी पो लेख्नुपर्छ !”
उहाँको भनाइले म मुसिकोट क्याम्पसभित्रै छु जस्तैगरी लाजले खुम्चिएँ । त्यो मउपरको सदाशय थियो कि कटाक्ष थियो ? भनी म तर्सिएँ । म अतितको यालमाया तथा जितौरीको विमोचनसम्मै पुगेर फर्किएँ ।
उहाँले मेरो आफ्नो अमूल्य समय खर्चेर तयार गरेका यालमाया र जितौरीको तुलना सायद उहाँको हातमा रहेको पुस्तकसँग गर्दै हुनुहुन्थ्यो । त्यही भाव झल्काउँदै जानकारी छड्के रूपमा गराइरहनुभएको थियो । त्यसरी होइन यसरी लेख्नुपर्छ भन्ने उहाँको वैकल्पिक सुझावले म छट्पटाउँदै तानिएँ । उहाँको हातमा रहेको किताबको गाता हेरेँ । लेखिएको थियोः ‘दलिल’ । लेखिका हुनुहुन्थ्योः भूपेन्द्रा मल्ल ।
भूपेन्द्रा जसलाई आफ्नै सोचेर दाइले उदाहरण दिइरहनुभएको थियो उहाँ मेरो पनि साखुल्ले हुनुहुन्थ्यो । उहाँ जनार्दन दाइको बढी किन हुनुहुन्थ्यो भने उहाँ पनि दाइजस्तै सेरीगाउँबासी हुनुहुन्थ्यो । दाइकै समय वरपर उहाँ जन्मनुभएको थियो । भौगोलिक निकट हुनुको परिणामस्वरुप विभिन्न सामाजिक नाताहरूले झन् सन्निकट हुनु पुग्नुभएको थियो । उहाँलाई र दाइलाई शिक्षा दिने औपचारिक तथा अनौपचारिक गुरूहरू एउटै हुनुहुन्थ्यो । टेक्ने भुइँ र समाउने हाँगो एउटै हुनुको फलस्वरुप राजनीतिक जीवनमा पनि उहाँ दाइदेखि कहिल्यै टाढा हुनुहुन्थेन ।
भूपेन्द्रा म्याम् मेरो साखुल्ले किन हुनुहुन्थ्यो भने उहाँ मलाई कखरा सिकाउने पहिलो गुरुमा हुनुहुन्थ्यो । मेरै रूकुमकोटे गुरूबा ऋषेश्वर शर्मासँग वैवाहिक बन्धनमा गाँसिनुभएको थियो । यसरी हामीबीच डबल गुरूचेलाको बन्धन थियो ।
दाइ अतीतको सतहमा आइपुग्दा म अतीतभित्र डुब्न थालेको थिएँ । सो चाल पाएर दाइले दलिलमा नजर गाड्दै एउटा कविता सस्वर वाचन गर्नुभयोः
‘बिना सुर बिना ताल घातवाला सङ्गीत आघातवाला नृत्य नागपुरीको बिडम्बना नागराजाहरू नाचिरहन्छन् नृत्य चलिरहन्छ ! बिन बजिरहन्छ !!' (बिन, फणा र सपेरा, पृष्ठः ४०)
“सुनिस् ?”
मैले फुङ्ग उडेको चेहरा लुकाउन टाउको मात्र हल्लाएँ र प्रकटमा भनेँ : “भूपेन्द्रा म्यामले कविता पनि लेख्नुहुँदोरहेछ । मलाई त थाहै थिएन ।“ कविताको अर्थ लगा भन्नुहोला भन्ने डरले दाइबाट उम्किने हिसाबले कुरा घुमाएँ ।
“कविता लेख्नुहुन्छ रे ? तैँले के चिनेको रहिछस् त भूपेन्द्रा म्यामलाई ?”
“कहाँ दाइ ! मैले उहाँलाई चिनेको त उहिल्यैदेखि हो । हामीलाई तीन कक्षामा पढाउन सेरीगाउँबाट सोलाबाङ झर्नुहुन्थ्यो । यस हिसाबले उहाँ त मेरो गुरूआमा हुनुहुन्छ ।“
“गुरूमा भनेर रूप मात्र चिन्ने ? तर गुरूमाको सार नचिन्ने ? यस्तो पनि चिनेको हुन्छ कहीँ ? उहाँ त मध्यपश्चिमाञ्चल साहित्य परिषदको कोषाध्यक्ष हुनुहुन्छ । जनयुद्धको क्रममा सांस्कृतिक अभियानमा जोडिनुभएको थियो । उति बेला नै जनवादी गीत कति लेख्नुहुन्थ्यो, कति गाउनुहुन्थ्यो, कति नाच्नुहुन्थ्यो, तँ कुवाको भ्यागुतोलाई के थाहा ?”
मलाई आफ्नै गुरूआमाको कवित्व शक्ति दाइभन्दा पहिल्यै नचिनेकोमा थक्कथक्क लाग्यो । यसोउसो कुरा गरी दाइबाट त्यस दिन बिदाबारी भैहालेँ । मनमा दाइले सुझाएको किताब नपढी नछाड्ने आगो सल्किएको हुनुपर्छ, अनुहारबाट पुत्ताइरहेको थियो ।
भूपेन्द्रा म्यामबाट कसरी ‘दलिल’ प्राप्त गर्ने भन्ने छटपटी बढ्दै जान थाल्यो । फोन लगाइहालेँ, “म्याम्, मलाई हजुरको कृति ‘दलिल’ छिटोभन्दा छिटो चाहियो !”
“मसँग दलिलका केही प्रति बाँकी छन् नि पूर्ण बाबु । पुरानोवानेश्वरमा लिन आइहाल्नू त । आउँदा तपाईँका पुस्तकहरू पनि लिएर आउनू नि है ?” ठकुरी परिवारकी चेली भए पनि उहाँ जोकोही साना ठूला सबैलाई आदरार्थी सम्बोधन गर्नुहुन्छ । अत्यन्तै नम्र रुपमा प्रस्तुत हुनुहुन्छ । उहाँको स्वर नै सारङ्गीको तारजस्तै र्याईँर्याईँ बजिरहेको प्रतीत हुन्छ । पछिपछिसम्म मुटु झनननन बजिरहन्छ ।
भूपेन्द्रा म्यामको हालको निवास मेरो अफिस जाने बाटोमै पर्थ्यो । म विशालनगरस्थित अफिसमा काम गर्दा कैयौँचोटी पुरानोवानेश्वरको बाटो भएर आवतजावत गर्ने गर्थेँ । तर भूपेन्द्रा म्यामको घरमा छिर्ने अनुकुलता सितिमिति पर्दै परेन । जतिसक्दो छिटो ‘दलिल’ प्राप्त गर्ने मेरो तृष्णा सितिमिति मेटिएन ।
एक दिन जनता टिभीमा धीरेन्द्र प्रेमर्षीले चलाउनुहुने ‘वाह क्या राम्रो !’ कार्यक्रममा रूकुमेली स्रष्टाहरूलाई बोलाइएको थियो । जसमा म, भूपेन्द्रा म्याम्, सिर्जना शर्मा, चन्द्रशेखर केसी लगायत सामेल थियौँ । उहाँले त्यस कार्यक्रममा ‘दलिल’ का पाना फररर पल्टाएर केही थान सुन्दर कविताहरू सुनाउनुभयो । त्यसै दिन उहाँबाट उपहारस्वरुप दलिल प्राप्त गर्न सफल भएँ । धेरै दिन पछि दाइले सिफारिश गरेको आफ्नै गुरूमाको पुस्तक हातलागेको थियो । म पुलकित भैहालेँ ।
कार्यक्रमबाट फर्कँदा अँध्यारो भैसकेको थियो तथापि हातपर्ने बित्तिकै पुस्तकलाई ओल्टाइपल्टाइ हेर्न थालेँ । पुस्तकको साजसज्जा सुन्दर थियो । गाढा निलो कभरको बिचमा चन्द्रमाजस्तो सेतो गोलाभित्र एकजना मान्छेको आकृति तथा गोलाको माथिपट्टि हिमाल आकारको वस्तु राखिएको प्रतीकात्मक चित्र थियो । तल लेखिएको रहेछः भूपेन्द्रा मल्ल ‘मन’ । यी कुराहरू जनार्दन दाइसँग हुँदा उति ख्याल गरिनछु । पछिल्लो कभरमा उहाँको फोटोसहितको छोटो परिचय थियो । जसमा उहाँको जन्म होमजंग मल्ल र दौलतराजेश्वरी मल्लको सन्तानको रूपमा २०१५ बैशाख १४ गते रुकुमको सेरीगाउँ डाँडाखेतमा भएको बुझिन्थ्यो । होमजङ्ग मल्ल रुकुमका प्रतिष्ठित समाजसेवी भएको कुरा मेरो आमाबाको मुखबाट सुनेको थिएँ ।
घरमा आइपुग्नेबित्तिकै दलिलका भित्री पानाहरू उधिन्न थालेँ । प्रकाशकमा ‘मध्यपश्चिमाञ्चल साहित्य परिषद्का निम्ति ऋषेश्वर शर्मा’ उल्लेख थियो । भूमिका लेखन नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले गर्नुभएको रहेछ । ‘आध्यात्मिक दर्शन र सामाजिक चेतनाका कविताहरू’ शीर्षक दिएर लेखिएको भूमिका १९ पृष्ठमा फैलिएको रहेछ । उहाँले कविताहरूलाई बहुआयामिक रूपमा केलाउँदै सोदाहरण रौँचिरा विश्लेषण गर्नुभएको रहेछ । कविताहरूमा प्रकृतिको मानवीकरण र जीवन्त चित्राङ्कन, पौरस्त्य अध्यात्मवादी दार्शनिक चेतनाको मूर्तीकरण, देशप्रतिको चिन्ता र खबरदारी, परदेसिएका नेपालीका पीडाको अभिव्यक्ति, नारीमाथि हुने उत्पीडनको विरोध र लैङ्गिक समानताको पैरवीकरण, सामाजिक आर्थिक विकृति विसङ्गतिको विरोध, सङ्घर्षशीलता र आशावादी जीवनदृष्टि आदि रहेको कुरा प्रा. जगत उपाध्यायले व्यक्त गर्नुभएको रहेछ । जनार्दन दाइले कृति यस्तो हुनुपर्छ भनेर जोड दिएको कुरालाई प्रा. जगतसरको भूमिका लेखनले पुष्टि गरिदिएको थियो । मलाई कविताकै गहिराइमा डुब्ने ईच्छा थियो तथापि बाहिरी परिधान नफुकाली भित्री अङ्ग हेर्न मुसिवत् परेको थियो ।
त्यसपछिको पानामा लेखकीय मन्तव्य भए पनि त्यो पढ्ने धैर्यता मसँग भएन । अर्को पाना पल्टाएँ । कविता क्रममा कविताका शीर्षकहरू थुप्र्याएर बनेको निकै अग्लो पहाड रहेछ । म टुप्पाबाट तलतिर झर्न थालेँ । यसभित्र ६३ कविताहरू परेका रहेछन् । आम्मामाऽऽऽऽ कहिले पढिसक्ने यति धेरै कविताहरू ? निबन्ध, कथा पढेझैँ सरसर्ती पढेर सिध्याउने कुरा पनि भएन । एक दिनमा एउटा कविता मात्र पढेँ भने सबै पढिसक्न ६३ दिन लाग्नेछ । ओहो त्यति लामो समयसम्म कसरी धैर्य रहन सकूँला म ?
म व्यग्रतासाथ पहिलो कविता इन्द्रेणीभित्र छिरिहालेँ । शैली मिठो तर भाव तितो थियो । म पहिलो गाँसमै झाङ्गलझुङ्गल भैहालेँ ।
“किन ? यो धर्तीको आकाशमा बादलहरू मडारिन्छन् मात्र ? बर्सिँदैन पानी किन ?”(इन्द्रेणी, पृष्ठः २९)
कटु यथार्थलाई भूपेन्द्रा म्यामको कलमले कसरी च्याप्पै समात्न सकेको होला ? म चकित परेँ । निस्पन्द भएँ । दाइलाई सम्झिएँ । दाइले भए के जवाफ दिँदा हुन् जस्तो लाग्यो । दोस्रो कविता सपनामा पनि प्रश्नका चाङहरू थिए । जस्तो कि ‘किन सन्निपातमा पर्छन् सपना ? किन पक्षाघात भई मर्छन् सपना ? मेरै सपनामा तुषारापात किन ? मेरै सपनामा तुषाराघात किन ? मेरै घरको प्रगतिमा मेरा सुन्दर सपनाहरू चुँडिन्छन् किन ? ‘ (सपना, पृष्ठः ३१)
कविताहरू तीन चौथाइ भाग जमिनभित्र गाडिएका र एक चौथाइ भाग मात्र बाहिर देखिने गाई बाँध्ने किलाजस्ता थिए । म त्यही किलामा अनुरागरूपी दाम्लोले बाँधिन पुगेको थिएँ । अब किलाबाट म पर भाग्न सक्ने कुरै थिएन । उल्टोसुल्टो फनफनी बेरिँदै कविताका भावरूपी किला हल्लाउने प्रयत्नरत रहेँ ।
अर्को कविता कमलपोखरीबारे रहेछ । आफ्नो कर्मघरको रुकुम पूर्वको सुन्दरतामा निख्खार ल्याउने कमल तालको गहिराईमा चुर्लुम्मै डुब्नुभएको छ । मेरो प्यारो सेरीगाउँमा बालवयतिर फर्किई माइतीघरको चुलोमा भुसुक्कै हराउनुभएको छ । हिउँचुलीको सप्पै हिउँ पग्लिएमा के होला भनी चिन्तित हुँदाहुँदै हिमालभित्र अर्को नपग्लने हिमाल भएको तर्कले आफै सम्हालिनुहुन्छ । कतै यो पनि दाइलाई नै भन्न खोजेको हो कि भनी झस्किन्छु । दाइले उद्घृत गरेको कवितांश ‘बिन, फणा र सपेरा’मा रहेछ जसलाई मैले दोहोर्याई तेहर्याई पढ्छु मानौँ यही पाठबाट नै एउटा प्रश्न आउँदो इक्जाममा फस्ने छजस्तो गरी । सम्भावनाभित्र उहाँका तार्किक नजरले जताततै सम्भावनै सम्भावना देख्तछन् । कतै केही सम्भावना नदेख्ने मेरा नजर त्यो कविताले चोइट्याइन्छन् ।
कविचित्त हुनुको परिणामस्वरूप केही कविताहरूमा उहाँको प्रकृति प्रेमको रङ गाढा चढेको छ । उहाँलाई आकाश, धर्ती र सागर दुरूस्तै आफ्नी आमाजस्तै लाग्छ । प्रेमले सम्पन्न हुँदाको अनुभूति सम्पूर्णतामा भेटिन्छ । आफ्नी पृयतमाको बारेमा जूनसँग गरेको खोजपड्ताल कम मर्मश्पर्शी छैन । गृहस्थीमै सन्यास बसेर प्रेमको सुन्दर खेती गर्ने धोको उत्तिकै घतलाग्दो छ । कतै विशुद्ध आत्माको उपज नै सत्प्रेम हो भनी परिभाषित गर्नुहुन्छ । कतै पानीका गुणहरूसँग मिल्ने मानवीय गुणहरूको श्रीवृद्धिको वकालत गर्नुहुन्छ । शरद ऋतुलाई महङ्गा परिधानले सजिएकी एक सुन्दरीको रूपमा बखान गर्नुहुन्छ । यौवनले लच्किएकी बन्दीपुरको सौन्दर्यपान पनि कम मिठो लाग्दैन ।
स्वयम् कवि नै नारी हुनुको कारणले कवितामा नारीचेत नदेखिने कुरै भएन । कहीँ छोरी भएर जन्मिएकी बहिनीको आर्तनाद पोख्नुहुन्छ । कहीँ झुन्डिएर आत्महत्या गर्न बाध्य पारिएकी महिलाको पक्षबाट अदालतमा अव्यक्त प्रमाणहरूको दलिल पेश गर्नुहुन्छ । अपराधीहरूलाई कानुनी कठघरामा उभ्याउन र आत्महत्याको दुष्प्रवाहलाई रोक्न अपिल गर्नुहुन्छ । व्यवहारमा आधा आकाश बन्न नसकेकी नारीहरूलाई शक्ति हत्याएर साँच्चिकै आधा आकाश ढाक्न आह्वान गर्नुहुन्छ । पारि वनमा रोइरहेकी न्याउलीले सधैँ विरहको गीत मात्र नगाएर विद्रोहको गीत पनि गाउनसक्ने सम्भावना देखाउनुहुन्छ । विभिन्न रूप धारण गरेर बिथोल्न आउने धोकेबाज पुरुषरूपी सपनाहरूको विरुद्धमा कहिल्यै नसुत्ने प्रण गर्नुहुन्छ । चरीलाई स्वतन्त्ररूपमा आकाशमा उड्न प्रेरित गर्नुहुन्छ । नारीलाई पृथ्बीसँग र सूर्यलाई पुरुषसँग तुलना गर्दै अजस्र सृष्टिको लागि बराबर योदान रहेको पैरवी गर्नुहुन्छ । अब पिँजडाको चरी बनिँदैन । विद्रोहको शंखघोष गरिन्छ भन्दै शालिन रूपमा माग तेर्स्याउनुहुन्छः
'अमृत भरपुर जीवनको घुटघुट पिउन पाउनुपर्छ हामी स्वयम् प्रकाशले मैनजस्तो बल्न पाउनुपर्छ ।' (जब त्यो अवसर आउला, पृष्ठः ४४)
कवितामार्फत प्रस्फुटित राष्ट्रप्रेमपूर्ण अभिव्यक्तिहरू पनि कम चित्ताकर्षक छैनन् । उहाँ सिकिस्त बिरामी नेपाल आमाको दुरुहावस्था देखेर भक्कानिनुहुन्छ । आमाको अपेक्षा सपना र महिमा लेख्न लेखकहरूलाई आग्रह गर्नुहुन्छ । विधि, नियम मिच्नेहरूले कानुन हत्याउनसक्ने आशंका गर्दै खबरदारी गर्नुहुन्छ । निद खुलिसकेपछि फेरि निदाइयो भने देश पनि सुत्नेछ र यही मौका पारी पिशाचहरूले हाम्रो देशलाई लुछेर कङ्काल मात्र बाँकी राख्नेछन् तसर्थ बारम्बार निदाउनु नहुने उपदेश सुनाउनुहुन्छ । युवाहरूलाई देशको शासनसत्ताको बागडोर देखाउन उक्साउनुहुन्छ । महाभोकमरी र महामारीले सन्तप्त दुरदराजका गौप्राणीहरूलाई नायकत्व गर्न सकेको भए मात्र सच्चा नायक मान्न सकिने मापदण्ड निर्धारण गर्नुहुन्छ । रातबिरात गुनगुनाउँदै आफूहरूको रखबारी गर्दै हिड्ने पहरेदारलाई चिन्नुपर्ने उहाँको तर्क छ । आफै परदेशको भूमिमा फसेजस्तै गरी परदेशी पीडाहरूलाई कवितामा जस्ताको तस्तै उतार्नुभएको छ ।
देशमा मौलाउँदो विकृति विसंगतिउपर गरिएको कवितात्मक कटाक्षले पाठकलाई रोमाञ्चित तुल्याउँछन् । उहाँले मानवीयतामा देखिएको विचलनउपर काँडेदार झटारो ताक्नुहुन्छ । भौतिक विकास र स्रोतसाधनको प्राप्तिले दङ्ग परेको सन्तबहादुरलाई सडककिनारामा पुर्याइदिनुहुन्छ । मगन्ते नेताहरूको कहिल्यै केहीगरी नसुध्रिने बानीबेहोरादेखि वाक्कदिक्क भएर झडङ्ग रन्किनुहुन्छ । आफैलाई चिन्न नसक्नेहरूउपर बम्किनुहुन्छ । बृहतसभामार्फत ढोँगी ईश्वरको पोल खोलिदिने चेतावनी दिनुहुन्छ । मान्छेलाई महानिद्रामा सुताउने पर्दाभित्रको लुट तथा झुटपूर्ण करतुतहरू खोलिदिने चेतावनी दिनुहुन्छ । भुइँचालोको निहुँमा मच्चाएको ब्रह्मलुट ७२ सालको ऐना देखाएर छर्लङ्ग्याउनुहुन्छ । सर्वपूजित जड मूर्तिको मज्जासँग धज्जी उडाउनुहुन्छ । टुटफूट भइरहने रातो आगोउपर सिस्नोपानी लगाउन पनि चुक्नुभएको छैन । अझै पनि ज्यूँकात्यूँ रगत चुसाहा जुकादेखि छट्टू स्यालसम्मले तर्साउँदै हिड्ने भएकोले सुरक्षाको प्रत्याभूति खोज्नुहुन्छ । मालीहरूतिर चोरऔँला ठड्याउँदै यसरी कुर्लनुहुन्छः
‘जाऊ सोध किंकर्तव्यविमुख मालीहरूलाई अनि मालीका जाली नाइकेहरूलाई हाम्रोमा फूल किन फुल्दैनन् ? निलम्बन गरिदेऊ मालीहरूलाई बरू यस्ता मालीहरू चयन गर जसले तिम्रो फूलबारीमा साँच्चै बहार ल्याउन सकोस् ।‘ (वसन्त, फूल र बहार, पृष्ठः ६९)
र देशमा ग्रहण लगाएर जनताको जन्मसिद्ध अधिकाररूपी उज्यालो खाइदिने चमारहरूप्रति आक्रोश पोख्नुहुन्छः ‘छोर चमार छोर ।‘
कुनै कविताभित्रै सिङ्गै कथा अटाइएको पनि छ । जस्तो कि त्यो साँझ कवितामा छाक टार्न पनि मुस्किल एक परिवारका मुली साँझपख कोसेली बोकेर आउँदा परिवारमै खुशी छाएको वर्णन छ । तर त्यो कोसेली भोटको लागि मात्र हुन्छ भन्ने जानेपछि पारिवारिक खुशी एकाएक सेलाउन पुग्छ । त्यति मात्र कहाँ हो र ? श्रीमतीले आँखा देख्दिन भनेर लोग्नेले नै भोट हाल्नुपर्ने शर्तसहित भित्रिएको खुशीले परिवारलाई रणभुल्ल तुल्याएको हुन्छ । चुनावी बिडम्बनाको यो जत्तिको सफेद उदाहरण अर्को कुन होला ?
यसभित्र परेको अर्को सशक्त कविता आकाशबेली हो । साम्राज्यवादीहरूले कसरी आकाशबेलीजस्तै अर्काको शरीरमा जेलिएर रगत चुसिरहेका हुन्छन् भन्ने कुरा बडो रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । सायद यस कविताले पनि दाइलाई निकै खैँचेको हुनुपर्छ ।
कवितामा तर्क छन् । तर्कभित्र दर्शन छ । सुक्ष्म विश्लेषण छ । खोज छ । अनुसन्धान छ । उहाँ यतिविधि दार्शनिक हुनुहोला भनी कहाँ चिताएको थिएँ र मैले ? सत् चित् आनन्द ! दिव्यरूप स्वरूप ! स्वयम् प्रकाश सायुज्य ! परिपूर्णता कैवल्य ! परमानन्द अनि महानिर्वाण ! उचाइ, लम्बाइ र गहिराइको सीमा मेटाएपछि सुक्ष्म न्यूक्लियसको कोरभित्र पुगेर सत्य पक्रेर ल्याउनुहुन्छ । बिन्दुजस्तो सुक्ष्म फिलिङ्गोलाई वैज्ञानिक चिम्टा प्रयोग गरेर मजासँग खेलाउनुभएको छ । पृय, तिमी कहाँ छ्यौ ? भन्दै नीरवता प्राप्तिको लागि बहकिनुहुन्छ । सतत बगेको समयको घोडा चढेर बयाली खेल्नुहुन्छ । आकाशको विशालतादेखि धरतीका कणकणउपर सुक्ष्म दृष्टि राख्नुपर्ने तर्क गर्नुहुन्छ । नियमित रूपमा चलिरहेको सृष्टिका अवयवहरूको कारण खोज्दै घोत्लिनुहुन्छ । पृथ्बीको गर्भगृहभित्रै छिरेरै भौतिक तथा अभौतिक वस्तुहरूको निर्माणबारे बुझ्न खोज्नुहुन्छ । ईश्वरको विज्ञानको सट्टा स्वरको विज्ञान बुझ्न मरिमेट्नुहुन्छ ।
कवितामा गुनासाका चाङ पनि टम्म मिलाएर राखिएको छ । जस्तो कि जिन्दगीको आखिरी प्यास मेट्न नपाएको गुनासो छ । आफूलाई कुनामा मिल्काइएको किताबसँग तुलना गर्दै धुलो ध्वाँसोसँग संघर्ष गर्नु परेको र ज्ञानको असीम सम्भावना बोक्ने पानाहरू भए पनि अपठित हुन पुगेको गुनासो छ । हरेक मान्छेको गुण बृहत कथाजस्तो भए पनि आफैलाई बुझ्न नसकेर लघुकथाजस्तै खिइँदै खिइँदै गएकोमा असन्तुष्टि छ । मान्छे भूतपिशाचमा बदलिएर सर्वथा दुःख दिँदै हिडेको अवस्थाप्रति बिघ्न पिरलो छ ।
उहाँले आफूलाई पाठकहरूबीच कविताबाटै चिनाउन सफल हुनुभएको छ । ‘सहज जीवन’ मा आफ्नै दुरुस्त चारित्रीकरण गर्नुभएको छ । यस कविताले बोलेजस्तै उहाँको सरल, सहज तथा मिलनसार जीवनमा एकइन्ची तलमाथि परेको छैन । ‘त्यस्तै छु’ भनेर अर्को कवितामा आफ्नो भोलाभालापनको सपाट परिचय दिनुहुन्छ । बहकिने ‘मन’(जुन उहाँको साहित्यिक उपनाम पनि हो) लाई सुक्ष्मदेखि बिराट रूपसम्म तन्काउनुहुन्छ र ब्रह्मास्त्रसरी खुल्ला आकाशमा छोडेर महानता प्राप्तीको तुष्टि लिनुहुन्छ । उहाँ नवसिर्जनाप्रति औधी मोहित हुनुहुन्छ । साहित्यलाई लयवद्ध परिभाषित गर्दै भन्नुहुन्छः
'कथा काव्योपन्यास गजलमा उद्घृत आख्यानहरू सुधारस हुन् यी लोकहितका विशद व्याख्यानहरू मर्मबाट प्रस्फुटित भाव गर्भबाट सन्तानसरी जन्मिन्छन् तर मर्दैनन् कहिल्यै भैरहन्छन् अजम्बरी ।‘(साहित्य, पृष्ठः १२०)
लाग्छ मेरो गुरूआमाले हात नहालेको कुनै ठाउँ छैन ज्ञान नभएको कुनै कुराको छैन । जति आक्रोश छ, उत्तिकै संयमता छ । जति आगो हुनुहुन्छ, उत्तिकै पानी पनि हुनुहुन्छ । ती सबै कुरालाई कलात्मक रूपले कवितामा प्रस्तुत गर्न सक्नु उहाँको विशेष क्षमतालाई मान्नैपर्छ । धन्य छ मेरो गुरूआमालाई ।
दाइ, तपाईँले गरेको सिफारिशले म पनि धन्य भएँ । मैले मेरो गुरूआमालाई अरू चिन्ने मौका पाएँ । कति महान व्यक्तित्वको चेलो रहेछु भनेर मेरो छाती फराकिन पुग्यो ।