फागुन १, काठमाडौं ।
घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक सहिद घनश्याम ढकालको स्मृति दिवस तथा व्यक्तित्व र कृतित्वबारे परिचर्चा कार्यक्रम आयोजना गर्यो ।
जुममार्फत् आइतबार सम्पन्न कार्यक्रममा घनश्याम ढकालको व्यक्तित्व कृतित्वबारे वरिष्ट माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, सावित्री दुरा र डा. धनप्रसाद सुवेदीले चर्चा गरेका थिए । प्रतिष्ठानका सदस्य–सचिव विष्णु भण्डारीद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष वरिष्ट सौन्दर्य चिन्तक निनु चापागाईले गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव तथा वरिष्ट माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’ले घनश्याम ढकाल मालेमावाद, क्रान्ति र पार्टीप्रति प्रतिवद्ध र इमान्दार व्यक्ति हुनुहुन्थ्यो भने । उनले अहिले राजनीतिक क्षेत्रमा जसरी विचलन देखा प¥यो त्यसरी नै साहित्य र सौन्दर्यको क्षेत्रमा पनि विचलन देखा परेको छ भने ।
किरणले घनश्याम ढकालले माक्र्सवादी सौन्दर्यचिन्तनलाई राम्रोसँग आत्मसात गर्नुहुन्थ्यो भन्दै अगाडि भने ‘उहाँ साहित्य सिद्धान्त र प्रद्धतिका हिसाबले समाजवादी यथार्थवादलाई अंगालेको साहित्यकार, समालोचक र सौन्दर्यचिन्तक हुनुहुन्थ्यो ।’
उनले माक्र्सवादी सौन्दर्यचिन्तन, समाजवादी यथार्थवाद, माक्र्सवाद, लेनिनवाद र माओवादको समग्रता र त्यसको आलोकमा विकसित क्रान्तिकारी सांस्कृतिक आन्दोलन सबैसबैमा ढकालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने ।
उनले अगाडि भने, ‘नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादतर्फ अगाडि बढ्ने महान् अभियान पूरा भएको छैन, त्यसलाई पूरा गर्ने सन्दर्भमा सांस्कृतिक सहिद कमरेड घनश्याम ढकाल विशेष रूपले संस्मरणीय हुनुहुन्छ ।’
कार्यक्रमका अर्का वक्ता सावित्री दुराले घनश्याम ढकाल छलछाम नभएको, अवसर खोज्दै नहिँड्ने सरल, इमान्दार र आदर्श व्यक्तित्व हुनुहुन्थ्यो भनिन् । उनले भनिन्, ‘उहाँ नेतृत्वको पनि आलोचना गर्ने व्यक्ति हुनुहुन्थो । तर अहिले आलोचना नगर्ने झुन्ड लिएर नेतृत्व अघि बढेको छ, जसका कारण आन्दोलन बिग्रिदै गएको छ ।’
वक्ता डा. धनप्रसाद सुवेदीले हाम्रोमा धेरैजसो स्रष्टामा आफूहरू बन्द कोठामा बसेर लेख्ने, क्रान्तिका ठुलठुला कुरा गर्ने तर अरूलाई सँगसँगै नहिँडाउने प्रवृत्ति छ । घनश्याम ढकालमा त्यस्तो प्रवृत्ति देखिदैन भने । उनले घनश्याम ढकाल सिद्धान्त र व्यवहारका बिचमा तालमेल मिलाउन सक्ने व्यक्तित्व हुनुहुन्थ्यो भने । उनले कुनै समयका क्रान्तिकारी मदनमणि दीक्षित, तारानाथ शर्मा र भूपि शेरचन पछिल्लो समय आफ्नो विचारमा अडिन सकेनन् तर घनश्याम ढकाल झनपछि झन उर्जाशील र प्रतिवद्ध हुँदै गएको पाइन्छ भने ।
अध्यक्षको मन्तव्य दिँदै निनु चापागाईले घनश्याम ढकाल प्रतिवद्ध लेखक हुनुहुन्थ्यो भने । उनले भने, ‘घनश्याम ढकाल पार्टीप्रति प्रतिवद्ध, क्रान्तिप्रति प्रतिवद्ध, विचारधाराप्रति प्रतिवद्ध, संगठनप्रति प्रतिवद्ध र रचनाविधिका रूपमा समाजवादी यथार्थवादप्रति प्रतिवद्ध हुनुहन्थ्यो ।’
उनले घनश्याम ढकाल नेपालमा भएको प्रतिवद्धता र स्वतन्त्रताको बहस र विवादमा स्वतन्त्रताको सशक्त विरोध गर्ने व्यक्ति हुुनुहुन्थ्यो भने ।
घनश्याम ढकाल बहुमुखी व्यक्तित्वका धनी हुनुहन्थ्यो भन्दै सातोटा विधामा कलम चलाएता पनि सबैमा स्तरीयता कायम गर्नसक्नुभएको देखिन्छ भने । उनले अगाडि भने, ‘घनश्याम ढकाल आफूलाई सङ्घर्षबाट स्थापित गरेको सङ्घर्षशील व्यक्तित्व हुनुहुन्थ्यो ।’
घनश्याम ढकालको २०६८ साल फागुन १ गते जनयुद्ध दिवसमा सहभागी हुन जाँदैगर्दा भृकुटीमण्डमा सडक दुर्घटनामा परी निधन भएको थियो । प्रगतिशील लेखक सङघ तथा अखिल नेपाल लेखक सङ्घका पूर्व अध्ययक्षसमेत रहेका ढकाल जनयुद्धका महान् सहिद विजय ढकालका पिता हुन् ।