मेरो साथमा रहेको मोवाइलको घन्टी बजेको रहेछ, गरमागरम साहित्यिक चर्चा भइरहेको हुँदा घन्टी बजेको थाहा नै पाउँदिन । केही बेरपछि बागबजारको रत्नपुस्तक छिर्ने गल्लीमा रहेको खाजा पसलमा जय छाङ्छा आइपुग्छन् । अब बहस अर्कैतिर मोडिन्छ । महिनामा एक पटक भए पनि पदयात्रामा निस्कने कुराको टुङ्गो लाग्छ ।
पदयात्रामा निस्कनु अगाडि सहभागी हुन चाहने साथीहरूको राय बुझ्नको लागि डा.भक्त राई र अन्य केहीको साथमा थिएँ म । म पदयात्रालाई नियमित र निरन्तरता दिइनुपर्छ भन्ने पक्षमा थिए । मैले जहिले पनि कुनै कुरो थाल्दा दियोपन कतिको हुन्छ त्यसतर्फ ध्यान दिने गरेको छु । पहिलो पदयात्रा २०७३ मंसीर ३ गते गर्ने निर्णय लिएका थियौं ।
हरेक महिनाको पहिलो शुक्रवारलाई पदयात्राको दिन छनोट गरिएको थियो । पहिलो पदयात्राको गन्तब्य बन्न गएको थियो लाकुरी भञ्ज्याङ ।
विहान ७.३० मा लगनखेल बसपार्कमा जम्मा हुने कुरो थियो । जसध्वज गुरुङ, डिल्लीराज अर्याल, जय छाङछा, शीतल गिरी, डा.भक्त राई, प्रवीण पुमा र डिल्लीरमण सुवेदी हामी सातजना बस चढेर ढुङ्ग्यानसम्म गएका थियौं । बस पार्कमा चिया खाएर पूर्वतर्फ लागेर पिच सडक छाडे गोरेटो बाटो हुँदै उकालो उक्लिदै प्रकृति पढेका थियौं । हामी मात्र कहाँ हो र लाँकुरी भञ्ज्याङको शौन्दर्यमा मोहित भएर सो दिन कम्तीमा पनि ५ वटा बोर्डिङ स्कूलका बिद्यार्थीहरू बसमा रमाइलो गर्दै उकालो उक्लिदै गरेको भेटेका थियौं । मलाई लाग्दछ सो दिन लाकुरी भञ्ज्याङ पुगेका कतिले संझलान अब ।
लाकुरीको भ्यू टावरबाट चारैतिर हेर्दा प्राकृतिक छटाले साहित्यिक मनभएको हामी भित्र खल्वली मच्चायो । पहिलो पदयात्राको आनन्दले उत्साह जगायो । जब पदयात्राबारे हाम्रा फेसबुकका वालमा अरूले देखे स्रष्टा पदयात्रा चर्चित विषय बन्यो साहित्यकार माझ । यसो त धेरै समूहले आ–आफ्नै किसीमले उपत्यकाको डाँडाकाडामा पदयात्रा गर्ने गरेका छन्— ती पदयात्रा फिका भए ।
लाकुरी भञ्ज्याङमा पुगेकाहरूलाई सोध्नत थाले । सबैले आफ्नै प्रकारले व्याख्या दिए । हुन पनि हो बुझाई व्यक्तिगत हुन्छ । लाकुरी भञ्ज्याङ पुग्ने धेरैजसो ऋङ्गी ऋषीको गुफामा पुगेका हुदैनन्, हामी पुगेर हे¥यौं, यसो भन्नु गफ चुटेको होइन । हल्ला गरेको होइन । हो हामी त्यहाँ नगएर, नामसम्म सुनेको भरमा धक्कु लगाउनु पर्ने कुनै कारण हामीमा छैन ।
यसैबीच पौष महिनाको सुन्दरीजल पदयात्रामा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र लीलाराज दाहाल थपिनु भयो । प्रवीण पुमाले पढाउदै आएको क्याम्पसमा छुट्टी मिलाउन नसक्दा सहभागी हुन सकेनन् ।
सुन्दरीजल पुगेर देखियो, बाटो घाटो बनि नसकेको त्यस समयमा पनि मानिसको श्रमले तेत्रा मोटा मोटा फलामका पाइप त्यो अप्ठेरो बाटोबाट लगेर पानी लेराएको । शहर बजारमा हुर्किएकाहरू अहिले पनि त्यो बाटो खाली हात चढ्दा खुइय सास फेर्छन्, कट्टुबाट पसिनाको धारा छुटाउँछन् ।
हामी सुन्दर सुन्दरीजल हेर्दै सेनाले बनाएको चौतारीमा सुस्ताएर हिजोका पुर्खाका परिश्रम सम्झदै पानी पोखरी नियाल्दै उकालो उक्लेका थियौं ।
माथि ढाँढामा पुगेर पानी मुहानतर्फ नलागेर हामी बुढानीलकण्ड निस्कने बाटो र्गका थियौं ।
चकमन्न शान्त लमतन्न बाटो, सुन्दर बन जङ्गल, तारेभीरको चट्टान, साहित्यकार यो बाटो हिड्दा भावनामा बहकिन्छ ।
स्रष्टाहरूको पदयात्रा माघ महिनामा दहचोकको बनेको थियो, यात्रामा सहभागी साहित्यकारहरूमा डिल्लीराज अर्याल, जय छाङछा, शीतल गिरी, डा.भक्त राई, डिल्लीरमण सुवेदी, नारायण तिवारी, शशी थापा पण्डित र भुवनहरी सिग्देल रहेका थिए सीतापाइला चोकदेखि पदयात्रामा सहभागी हुने ।
अनि पश्चिमतर्फको बाटो लागेका थियौं जाडो महिनामा पारिलो घाम ताप्दै सीताको पाइला धर्मभीरुलाई अवश्य पनि हेरिरहुँजस्तो लाग्छ सो अवलोकन गर्दै—
बाटोमा भेटियो आधुनिक हाउजिङ, भुकम्पले लथालिङ्ग बनाएको बस्ती
राज्यले हुर्काएको नारायण पोख्रेल स्मृती भवन
राम्रो पिकनिक स्थल स्वीटजरल्याण्ड
ऐतीहासिक र धार्मिक स्थल इन्द्र दह
सो वरीपरी रहेका प्राचीन मन्दिर
दहचोकको डाँडामा इचिहास बसेको छ, कालु पाण्डेको समाधीको रूपमा । यतीमात्र होइन यही डाँढोमा पृथ्वी नारायण शाहले उपत्यका वीजयी गर्ने योजना बनाएका थिए ।
पाण्डे कुलकी देवी मनकामनाको मन्दिर । यस डाडोबाट कीर्तिपुर र उपत्यकाको तीनवर्टै शहर प्रष्ट देख्न सकिन्छ । गोरखाको मनकामना देखिन्छ । साथै उत्तरतीर हेर्दा प्रष्टसँग सहमाल हेरेर मन मुग्ध हुन्छ । ककनीको शौन्दर्यमात्र कहाँ हो र ? धादिङका धेरै जसो स्थान पनि अवलोकन गर्न पाइन्छ । पृथ्वी नारायण शाहले त्यतीकै उपत्यका कब्जा गर्न गढ बनाएर यस ठाउँमा बसेका होइनन् । कारण ? यस ठाउँबाट चारैतिर देखिन्छ तर यहाँ उक्लेर आक्रमण गर्न भने सहज अवश्य थिएन र छैन, प्रकृतिले बनाएको यो गढ सामरिक महत्त्वको रहेकोले पृथ्वीनारायण शाहले दरबार बनाउँन चाहेको हुन सक्छ । यस यात्रामा पुस्तक वीमोचन गरिएको थियो ‘दोहाको सिधा उडान’ नियात्रा संग्रह र यात्रा कविताका दुई पुस्तक अंग्रेजी भाषाको एक र नेपाली–हिन्दि भाषाको एक । २०७३ सालको साझा पुरस्कार ‘दोहाको सिधा उडान’ ले प्राप्त गर्न सकेको थियो, यी सबै पुस्तक मित्र जय छाङछाका हुन् । हो, पदयात्राको क्रममा साहित्यिक कार्यक्रम गर्ने गरेका छौं । कालु पाण्डेको समाधीलाई साक्षी राखेर हामीले गरेको कार्यक्रमको सार्थकता उक्त पुस्तक पुरस्कृत हुनलाई पनि जान्छ । लेखक, निर्णयकर्ता, पाठक सबलाई धन्यवाद ।
उपत्यका वरीपरी साँच्चै भन्ने हो भने पदयात्रा गर्नलायक स्थान धेरै छन् । फागुन महिनामा पदयात्रा गर्दै आशापुरी पुगेका थियौं ।
साँगा भञ्ज्याङबाट दक्षिणतर्फ उकालो उक्लेर धादिङ जिल्लाको तामाङवस्ती अलवोकन गर्दै भक्तपुरमा पर्ने आशापुरेश्वर महादेवस्थानमा पुगेका थियौं । दुई खोलाको बीचमा रहेको मन्दिरमा भक्तजनको कमी रहेनछ, एकान्त स्थान भए पनि टाढा टाढाबाट मानिस आउदा रहेछन् । यस यात्रामा डिल्लीरमण सुवेदी अनुपस्थित थिए भने डा.धनप्रसाद सुवेदी, श्यामबहादुर भावुक, कल्पना आङबुहाङ, छिमित्मा साङमेन र प्रेम स्याङतान थपिएका थिए । नेपालको बसाई नरहेकोले कल्पना र छिमित्माको यात्रा नियमित हुने कुरो भएन ।
गुमाने भञ्ज्याङको शिखरमा रहेको ऐतीहासीक भग्नावशेष रानीकोटले नेपालीहरूलाई पुरानो इतिहास पढाउँदै गरेको भान भयो । पूर्वजहरूको इतिहासको कदर हुनैपर्छ । शहरी वातावरणबाट केही समय भए पनि प्रकृतिको काखमा घमाइलो पाखामा रमाइलो गर्ने पिकनिक स्थलको रूपमा ध्याम्पेडाँडाले निकै प्रख्याती पाइसकेको रहेछ । भारतीय सेनाका पाइलट जो भारत–पाक युद्ध पछि विरक्तिएर जोगीबने र स्व.कृष्णप्रसाद भट्टराईका गुरुमा दरिए, हो उनै सन्त नेताको सहयोगले स्थापीत ‘पाइलट बाबा आश्रम’ साच्चै अवलोकन गर्न लायक छ, नेपालका डाँडा पाखामा गरे के हुदैन र ? सो को एउटा नमुनाको रूपमा रहेको छ यो ।
चैत्र महिनामा गरिएको चम्पादेवीको पदयात्रा पाचौं श्रृङ्खलाको थियो । यस यात्रामा डिल्लीराज अर्याल, जय छाङछा, डा.भक्त राई, नारायण तिवारी, शशी थापा पण्डित, जसध्वज गुरुङ, डा.धनप्रसाद सुवेदी, श्यामबहादुर भावुक, प्रेम स्याङतान, पुरन राई र लीलाराज दाहालको सहभागिता रहेको थियो ।
पदयात्री टौदह अवलोकनगरी बुसनगाउँ पुगेका थिए । चम्पादेवीको दर्शन गरेका थिए । भष्मेश्वर डाँढामा पाइला राखेका थिए । त्यहाँ पनि गुटबन्दी हुदो रहेछ । वास्तविक चन्द्रागिरी यहि हो भनेर गाउँलेहरू भन्ने गर्छन्, उपत्यका आवत जावत गर्ने नाका भएको कुनै प्रमाण थिएन त्यहाँ । भनाईको भरमा कसले कसरी पत्याउने होला ।
प्रमाणले भन्छ चन्द्रागिरि भञ्ज्याङमा जाँच गरीन्थ्यो ।
आवत जावत गर्ने प्राचीन नाका हो ।
मलाई राम्ररी थाहा छ २०७४ वैशाख १ गते पदयात्रा गर्दै २७८३ मिटरको उचाईमा रहेको फूलचोकीमा पुगेका थियौं । यस यात्रामा मन्दिरा मधुश्री, श्रीमती स्याङतान, सुजन सुवेदी, युजन सुवेदी, यादेबी ढकाल, सुलोचना घिमिरे थपिएका थिए । थपिएकामध्ये मन्दिरा मधुश्रीले पदयात्रामा निरन्तता दिनु भएको छ ।
प्रत्येक बर्ष वैशाख १ गते फूलचोकीमा रहेकी देवी बरदा थानमा मेला लाग्ने गर्दो रहेछ । किंवदन्ती अनुसार नेपालमा देवताको रूप स्वयम्भू आफै प्रकट भएको थाहा पाए पछि ज्ञानविज्ञानका ज्ञाता बोधिसत्व मञ्जुश्री महाचीनको पञ्चशीर्ष पर्वतबाट पत्नी वरदा र मोक्षदा सहित आएका थिए, उनले आफ्नी वरदा र मोक्षदा सहित आएका थिए, उनले आफ्नी वरदालाई फुल्चोकीमा र कान्छी पत्नी मोक्षदालाई चन्द्रागिरीको चम्पादेवीमा बसाले ।
उपत्यकाको उत्तरतर्फ रहेको डाँढो शिवपुरीमा जेष्ठ महिनामा गयौं । यहाँको जंगलमा रमाउदै पदयात्रामा डिल्लीराज अर्याल, जय छाङछा, डा.भक्त राई, डा.धनप्रसाद सुवेदी, श्यामबहादुर भावुक, लीलाराज दाहाल, मन्दिरा मधुश्री, शीतल गिरी, डिल्लीरमण सुवेदी, जसध्वज गुरुङ, बखतबहादुर थापा र नारायण राई पनि थिए । पदयात्रालाई यसबेलासम्म हामीले नियमीत बनाई राखेका छौं, यात्राको लागि ड्रेस पनि तय गरिएको छ र लगाउन थालि सकेका थियौं । अहिले संझदा अचम्म लाग्छ लहडको भरमा थालनी गरेको पदयात्रा अहिले संस्थागत भइसकेको छ । स्रष्टाहरूबीच गाइँगुइँ कुरा भएको सुनिन्छ पनि ।
सुरम्य स्थानमा दियात्रा गर्दा तनमात्र होइन मन पनि स्वस्थ हुन्छ । व्यक्तित्वमा निखार आउछ । रचना गर्ने क्षमता शक्ति बढ्छ ।
शिवपुरी जंगलको भित्री भागमा हामी बढ्दै गयौं । कैलाश, कामधेनु गाई यस्तै यस्तै आस्थाका कतिपय कुराहरू हेर्दा हेर्दै शिवपुरी पिकमा पुग्यौं, फराकिलो चौर, शिवपुरी बाबाको समाधी स्थल, हेलीपैड । बागद्वार जानको लागि ओरालो ओर्लिदै गर्दा एउटा ठूलो धोद्रो रुखको ठूटो देखीयो, माथीबाट टीनको छाना हालेको— हो यसै ठाउँमा एक जना साधकले डेढ दसक जती तपस्या गरेको हुँदा टोडके बाबा नाम पाएका रहेछन् । हो उनै टोडके बाबालाई हामीले बागद्वारमा भेट्यौं, आश्रम बनाएर बसेको अवस्थामा ।
स्वास्थ्यले साथ नदिएको हुँदा पदयात्री नारायण तिवारी र प्रेम स्याङ्तान फूलचोकीको उकालो पछि यात्रामा विश्राम लगाउँन बाध्य बने । शिवपुरीसम्मको मात्र यात्रागरी जय छाङछाले पनि विश्राम लिए ।
सामान्य असमझदारीलाई कारण बनाएर यात्रा स्थगित नगरेको भए हुन्थ्यो छाङछाजीले । हाम्रो साहित्यिक यात्रा नलिनैरहेको छ र यसमा केही यात्री छुटे भने केही थपिए पनि, गतिशील नदिको जीवनमा भङ्गालो र दोभान स्वभाविक नै हो । असार मनिनामा चाँगुनारायण हुँदै साँखुको बज्रयोगिनी गएका थियौं । यस यात्रामा रणेद्र श्रेष्ठ थपिएका थिए ।
मलाई लाग्छ चाँगुनारायणबाट सडक छाडेर हामी नगरकोट जाने ग्रेभल बाटो समातेर तेलकोट पुगेकबा थियौं, एउटा कौतुहल स्थल, नगरकोट उक्लिने प्वाइन्ट, हामी नगरकोटको बाटो छाडेर उत्तर पश्चिम हिड्दै गएका थियौं । मलाई लाग्छ उत्तरतर्फ पहाडको काखमा मुक्तिनाथ बाबा अर्थात् कमलनयनाचार्यको आश्रम छ, त्यो पनि अनलोकन गरेका थियौं ।
यस पदयात्रामा हामीले ऐतिहासिक चागुनारायण र बज्रयोगिनी मनिदर हेर्नुका साथै यसबारे जानकारी हाँसिलगरेका थियौं । यहाँ विक्रम संवत्का संस्थापक विक्रमादित्यबारे किम्वदन्ती पनि संकलन गरेका थियौं ।
पदयात्राको क्रममा साउन महिनामा डा.भक्त राई, डा.धनप्रसाद सुवेदी, श्यामबहादुर भावुक, मन्दिरा मधुश्री, डिल्लीरमण सुवेदी, वखतबहादुर थापा, शशी थापा पण्डित, रणेन्द्र श्रेष्ठ, लीलाराज दाहाल, कुमार दाहाल ‘कुशुम’, बि.एन.जोशी, केशव सिलवाल र रूपेश सिलवाल लेलेबाट नल्लु गाउँ हुदै लामीडाडा पुगेर फर्किएका थिए ।
पदयात्रालाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिन आएकोले साउन १४ गते शनिवारको दिन एउटा भेला ठाकिएको थियो, सो भेलाले ५ सदस्सीय ‘स्रष्टा पदयात्रा २०७३’ व्यवस्थापन समिति गठन ग¥यो । संयोजकमा शीतल गिरी र सदस्यहरूमा डिल्लीरमण सुवेदी, डा.भक्त राई, डा.धनप्रसाद सुवेदी र मन्दिरा मधुश्री । यही समितिले कहिले कहाँ पदयात्रा गर्ने भनी टुङ्गो लगाउने गरेको छ ।
प्रत्येक स्रष्टा पदयात्रीबाट रू.१०००÷ सहयोग संकलन गरी आफ्नो कोष खडा गरेको छ । स्रष्टा पदयात्रीको पुस्तक प्रकाशन गर्न सहकारी किसीमको व्यवस्था गरे पनि सञ्चालनमा भने ल्याइएको छैन ।
पदयात्रा गरिएको संस्मरण लेख्न लगाएर लेखेर ‘स्रष्टा पदयात्रा’ नामको पुस्तक प्रकाशन गर्ने निर्णय पनि गरियो ।
निर्णय अनुसार पहिलो पदयात्रा लाकुरी भञ्ज्याङबारेको संस्मरण लेखन डिल्लीराज अर्यालले सम्पन्न गरी सक्नुभएको छ, दोस्रो यात्रा सुन्दरीजलबारे जसध्वज गुरुङ र तेस्रो दहचोक यात्राको नारायण तिवारीबाट संस्मरण लेखन सम्पन्न भइसकेको छ । २०७३ फागुन ६ गते गरिएको आशापुरी पदयात्राको संस्मरण लेखनको जिम्मेवारी लिनुभएको डा.भक्त राईबाट आज २०७५ पौष सम्ममा पूर्ण भएको जानकारी प्राप्त हुन सकेको छैन ।
संस्मरण लेखनको कुरा गर्ने हो भने शशी थापा पण्डितले पाँचौं शृङ्खला २०७३ चैत्र ४ गतेमा गरिएको चम्पादेवी पदयात्राको लेखन तोकिएको समयसीमामै उपलब्ध गराई सक्नुभएको छ ।
बरु पत्रकार डिल्लीरमण सुवेदीले फूलचोकी यात्राको विवरण लेखेर बुझाइसक्नु भयो । नयाँ उमङ्ग जिम्मेवारी वहन गर्ने सामथ्र्य देखाइसक्नुभयो ।
डा.धनप्रसाद सुवेदीले भर्खर शिवपुरी पदयात्राको लेखन सम्पन्न गरी बुझाउनु भएको छ ।
चाँगुनारायणदेखि साँखुसम्मको यात्रा संस्मरण यस पंक्तिका लेखकले लेखन कार्य २०७४ असार महिनामा नै सम्पन्न गरेर— इतिहासको मौनतामा समय–दर्शन हेरेर बसेको छ ।
२०७४ साउन ६ गते ललितपुरको दक्षिणतर्फरहेको लेले यात्राको संस्मरण मन्दिरा मधुश्रीले लेखन नसक्ने पो हुँ की भनेर पन्छिन खोजेकी थिइन् अन्ततः लेख्ने अठोट गरीन्, यो उचीत पनि भो ।
मन्दिरालाई समस्या भनेको—सो पदयात्रामा को को गएका थिए, कहाँ के गरिएको थाहा हुन सकेन भन्ने रहेको थियो, हामीसँग रहेको लिखीत र डा.धनप्रसादजीको संझनामा रहेको आधारमा लेखन कार्य अघि बढाउँछु भनेकी छन् । संस्मरण लेखनमा कसैले कसैमाथि आफ्नो विचारधारा थोपर्दैन, हो सहभागीको नाम, स्थानको नाम यस्ता कुरा भने जानकारी गराउँनु सामान्य मानिन्छ ।
भाद्र महिनाको पदयात्रामा गोविन्द नेपाल र शान्ति सापकोटा थपिएका थिए ।
भाद्र महिनाको पहिलो शुक्रवार विहान ७.३०मा सीतापाइला चोकमा जम्मा भएर काठमाडौंको पह्चिमी क्षेत्रमा पदयात्रा गर्दै सेतोगुम्वा, इचङ्गुनारायण, हलचोकको यात्रा गरिएको थियो । यस यात्रामा साहित्यिक चर्चा मात्र हैन, नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ भन्ने विषयमा छलफल चलाइएको थियो ।
यस यात्राको संस्मरण शान्ति सापकोटाले जिम्मा लिएर लेखन कार्य सम्पन्न गरिसकिन् । उपत्यकाको पश्चिमी क्षेत्रमा फूलको खेती गरिदो रहेछ ।
२०७४ असोज ६ गते पदयात्राको क्रममा मणिचुड पर्वतमा रहेको मणिचुड दह पुगेका साहित्यकारहरूले अरूको अगाडि मजाले धाक जमाउन सक्छन्— मैले जीवनको आनन्द बटुले । हुन पनि मणिचुड दह हेरी रहुँ जस्तो लाग्छ, कलकल कलकल गर्दै पानी दहमा झरिरहेको । चारैतिर हरियो बनजंगल, चरा चीरवीराई रहेको । अनि थाहा छ, पुराण प्रशिद्ध राजा हुन् मणिचुड । उनको दरवार यसै पर्वतको कतै थियो ।
यस यात्रामा सहभागी डा.भक्त राई, डिल्लीरमण सुवेदी, शीतल गिरी, शान्ति सापकोटा, शशी थापा पण्डित, पोषरमण चापागाई, डा.नेत्र ऐटम र टंक सम्वाहाङ्फे मणीचूडको कथा सुन्दै सुनाउँदै थिए । दान गर्नमा कहलिएका राजा थिए । भोकालाई भोजन गराएर सन्तुष्टि पाउँदथे । दानवीर, दयावान मणिचुड राजाले अन्य प्राणी बचाउन आफ्नो शरीरको मासु काटेर दान गरेको प्रसङ्गको चर्चा त व्यापक नै थियो ।
एकजनाले भने— ‘तपाईंलाई मणिचुड दहको बारेमा थाहा छ हैन र ?’ कसैले घिरौलाजत्रो नाक बनाएर गजक्क गज्केर भनेका थिए— ‘थाहा भए जति त सबैले सुनाइ सके, थाहा हुँदो हो त म नै सुनाउने थिए ।’
विभिन्न ठाउँका साहित्यकारहरू पदयात्रामा सहभागी भएका थियौं, आपसमा साहित्यकाबारे कुरा चल्नु स्वभाविकै हो ।
मणिचुड दहको सम्बन्धमा मलाई थाहाभएको कुरा भनेको थिए ।
मलाई लाग्छ मणिचुड पौराणिक राजा हुन् । दयावान, प्रजापालक राजा मणिचुडको दरबार यसै पर्वतको कतै हुनुपर्छ— डाँडाको थुम्कोमा दरबार बनाउने प्रचलन थियो पहिले । हामी पुगेको स्थान ती राजाले यत्र गर्न बनाएको हवन कुण्ड हो । मणिचुडको यज्ञ एक दशकसम्म चलेको थियो । त्यहाँ घिउ, तिल, जौ, समिधा कती स्वाहा भयो होला त्यसको अनुमान अहिले पनि लगाउन सकिन्छ ।
यो के, स्वच्छ सफा पानी दहमा पर्नेवित्तिकै कालो ? कस्तो ताज्जुब । हहो हवनमा डढेको चरूको कारण खहको पानी कालो देखिएको हो भन्ने भनाइ रहेको छ । तर, मलाई थाहा छैन के कती कारणले दहको पानी अहिले पनि कालो देखिएको हो । म अझै यथार्थ पतालगाउन खोज्दैछु ।
सो दिन हामी प्राचीन नगरी साँखुबाट बज्रयोगिनी उक्लेर मणिचुड दह पुगेका थियौं, त्यहाँबाट सोझै जश्चिम लागेर बागमती नदी तरेर सुन्दरीजल पानी पोखरी पुगी ओरालो ओर्लिएर बस पार्क पुगी बस चढ्न भ्याएका थियौं ।
यस यात्राको बारेमा परिश्रमपूर्वक साधनागरि संस्मरण लेखन गर्नु हुने शशी थापा पण्डितलाई धन्यवाद ।
यस यात्रामा विक्रमादित्य राजा र विक्रम संवत्को बारे व्यापक छलफल भएको थियो । हो पदयात्राको बारेमा आफ्नो अनुभूति स्रष्टाहरूले लेख्ने नै भए, यसरी पनि स्रष्टा पदयात्राको अलिकति भए पनि प्रचार भइहाल्छ ।
आजसम्म छब्वीसौं पदयात्रा सम्पन्न भइसकेको छ । हामीबीच सहमती भनौं या निर्णय बीसवटा यात्रा सम्पन्न भएपछि यात्रा हनुभूति पुस्तक संस्मरणको रूपमा प्रकाशीत गर्ने । हो सम्पादकको रूपमा डिल्लीराज अर्यालको पनि छनोट गरिसकिएको छ । तर डा.भक्त राई, मन्दिरा मधुश्री र चौधौं यात्रा खोकना–फर्पिङको संस्मरण हरि गौतमबाट प्राप्त हुन नसकेको हुँदा प्रकाशन कार्य अघि बढ्न सकेको छैन । संस्मरण लेखन जिम्मा लिएका सदस्यहरूबाट हुन गएको ढिलाईको कारण साहित्य–प्रेमी पाठक माझ समयमै संस्मरण पुस्तक पु¥याउन नसक्दा लाजले टाउको निहुराउन बाध्य भएका छौं ।
हाम्रो यात्रा काठमाडौं वरपरको डाडासम्म मात्र सीमित छैन ।
आजको सन्दर्भमा भन्दा चिसापानी, हो चिसापानी सूर्योदय अवलोकन गर्न उपयुक्त स्थल, नुवाकोट र सिन्धुपाल्चोकको पानीढलो। प्र्यटक स्थलको रूपमा चर्चा पाउन थालेको— हो त्यहाँ मंसिर १ गते गएका थियौं र बास बस्यौं । यस्तै गरी चैत्र ३ गते भकुण्डेवेशीमा एक रात बसेर त्यहाँबाट नमोवुद्धसम्म रोशी वाङ्मयका सहयोगी मित्रहरूका साथ पदयात्रा गरेका थियौं । हाम्रो पदयात्राको प्राथमिकता आफूमात्र घुम्नेमा नभएर आफू गएका ठाउँको संस्कृति नजिकबाट नियालेर त्यस ठाउँमा अरूलाई पनि आकर्षित गर्न सक्ने बनाउनमा रहेको छ ।
पदयात्रा गर्दै जादा एक जना कवि मित्रले भनेका थिए— ‘चितवनमा पनि आउनुस् । देवघाट र मौलाकालीका जान हुन्छ ।’
२०७५ भाद्र ७ गतेको बैठकले जाने निर्णय ग¥यो ।
सो यात्राको संयोजक तिनै मिलाई बनाइयो ।
तर ती मित्रले व्यवस्थापन गर्न नसक्ने भनी जनाएपछि २०७५ मंसीर ७ गते हामी मौलाकालीका नगएर कागेश्वरी गएका थियौं । व्यवस्थापन भनेको उचीत मूल्यको गाँस र बास खोज्नु साथै स्थानीय साहित्यकारहरूसँग भला कुसारी गर्न मिल्ने सानो कार्यक्रम जस्तो प्रबन्ध गर्नु थियो ।
पत्रकार सम्मेलनगरी २८ पौष ०७४ मा बार्षिकाेत्सव पनि मनायौं ।
स्रष्टा पदयात्राको औचित्य जानकारी गराएका थियौं ।
अहिले म सो दिनको स्मरण गर्दैछु । अन्तमा अब बार्षिकोत्सवमा प्रणगरेका कुराहरू सामान्य रूपमा राख्न जादैछु ।
स्रष्टा पदयात्रामा साहित्यिक कार्यक्रम छुटाउन नहुने । जुन ठाउँमा यात्रा गरिन्छ सो स्थानको जानकार व्यक्ति पहिचान गरी सहयोग लिने । यात्रा गर्ने स्थानको बारेमा संयोजकले अग्रिम अध्ययन गर्ने । स्रष्टाहरूको इज्जत राख्नको लागि सकभर लेखक–सर्जकहरूलाई मात्र पदयात्रामा सहभागी गराउँने ।
यात्रा गरेको स्थानको कला–संस्कृति अध्ययनगरी आफ्नो सिर्जनामा सम्मान दिने ।
यात्रा क्रममा कृषि र पर्यटनलाई विशेष महत्व स्रष्टा पदयात्राले दिदै आएको छ । यात्रा अनुभव लिपीबद्धगरी प्रकाशित गर्नेतर्फ लागेको छौं । पलयात्रीको साहित्यिक सिर्जनाको आधारमा समयसापेक्ष विषयमा अन्तरकृया पनि गरिदै आएको छ । स्रष्टाले सिर्जना मात्र हैन प्राज्ञिक हैसियत बढाउन तत् विषयमा मन्तब्य दिन सक्नुपर्छ भन्ने मान्यतालाई लागु गरिएको छ । यात्रा लेखन सार्थक बनाएर पत्रिकामा छपाउन यसले सहयोग गर्दै आएको छ ।