लाग्छ तिम्रा आँखामा कालोपट्टी छ देखेर नदेखे जस्तै गर्छौ जानेर अञ्जन बनेका छौ तिम्रो मस्तिष्कमा खिया लागेको छ सँस्कारमा पाखण्डीपन छ व्यवहारमा स्खलन भएका छौ म मान्छे हुँ ममा पनि रातो रगत बग्छ शरीरिक अङ्ग प्रतिअङ्ग आकार प्रकार सबै समान छन्, तिमी फरक देख्छौ । वाहा क्या भ्रममा रहेछौ कथित ठकुरी, क्षेत्री, बाहुन आदि इत्यादि भनेर हैनर, तिम्रो घमण्ड के मा ? अँ त सुन, सुन्न सक्ने सामर्थ्य राख्छौ … तिमी जन्मिदा त्यो नाल काट्ने हसिया मेरा अछुत बाउले आरनमा फलाम पिटेर आकार निकालेर धारिलो बनाउनु भएको हो जसले तिम्रो नाल काटिएको हो । तिम्रो नोहारनमा लगाएको पहिलो र पहेँलो बस्त्र मेरो पल्लाघरे दमाई दाइले अछुत हातहरुले तिम्रो शरीरिको आकार बित्ताले नापेर सिलाइ दिनुभएको हो । तिम्रा खाली पाउ लगाउने जुत्ता पल्लाघरेको सार्की दाले ती अछुत हातले बनाउनु भएको हो । यति मात्र कहाँ हो र यी अछुत हातहरुले कहाँकहाँ छोयो के के बनायो सम्झिने कुचेष्टा गर । म भन्छु, तिम्री दुलही तिम्रो हुनु पहिले मेरो अछुत घरको आगनमा नाक कान छेडेर, गहना लगाइदिने यी हातहरु पनि अछुत हुन् । तिमीले तिम्रो दुलहीको शरीरको स्पर्श गर्नु पहिले फित्ताले तिम्री दुलहीको शरीरको आकार प्रकार नापेर बिहेमा लगाइदिएको रातो गामन चोली पनि यी अछुत हातहरुले नै सिलाइदिएको थिएँ । तिम्री आमाको लाज ढाक्ने खाइटो तिम्रो बा को शिरमा लगाउने ढाका टोपी तिम्रो बहिनीको मखमलको चोली मेरा अछुत हातहरुले सिलाई दिएको हुँ । त्यतिखेर तिमी अछुत भएनौ अछुत कहलिएनौ र हुन सकेनौ र पनि मलाई अछुत करार गरिरहेका छौ । तिमीले हरेक बिहान भगवान् भनेर देउता भनेर जहाँ तिमी तिम्रा समस्या र सपना सुनाउँछौ ए कथित क्षेत्री बाहुन ठकुरीहरु सुन पण्डित जसको आडमा तिम्रो परिवार पालिएको छ तिम्रा सन्तानहरु महंगो कलेज पढ्छन् त्यो हैसियत मेरा बा का उछुत हातले बनाएको मन्दिर र मूर्तिलाई दिएको दान (भिक)बाट बनेको छ र पनि तिमी आफुलाई कथित ठुलो जातको सम्झिन्छौ । तिमी मर्दा तिम्रो नापको काठ तिम्रो नापको बाठ तिम्रो नापको कात्रो सिलाउँछु तिम्रा आफन्तहरुले हरियो बाँसमा बाँधेर मसान घाट लैजान्छ चितामा राखेर जलाउनु पहिले यी अछुत मुखले एकोहोरो शंख बजाउनु पर्छ तिम्रो क्रिया गर्ने क्रिया पुत्रीलाई सेतो कात्रो को धोती बटुकी मैले नै यी अछुत हातले बनाउनु पर्छ । तिमी जन्मिएदेखि मृत्यु सम्म यी अछुत हातहरुले के के गरे ? कहाँ कहाँसम्म छोए जस्को हिसाब छैन ? तिम्रा भगवान बस्ने मन्दिरदेखि मसानघाट सम्म यी अछुत हातका डोबहरु छन् अझै आफुलाई उपल्लो ठुलो जात सम्झिदै घमण्ड गर्छौ, दम्भ देखाउँछौँ । म त पाठशाला नदेखेको विद्यार्थी हुँ मेरो सृजना,आविष्कार मेरो पसिना,कला मेरो शारीरिक गन्ध मेरा हातका डोबहरु तिम्रो भान्सादेखि भकारीसम्म सल्बलाइरहेका छन् कहिले अछुत हुँदै भएन । ल भन म कसरी अछुत म औजार हुँ म कला हुँ म साहित्य हुँ यी सबैभन्दा पहिले म मान्छे हुँ, ल भन म कसरी अछुत ? (अछाम)