काठमाडौं ।
राजनीतिक व्यक्तित्व एवम् वरिष्ठ पत्रकार मदनलाल पौडेलको आत्मकथा “मृत्युले मुसारेको मानिस”को पुस २३ गते आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले विमोचन गर्नुभयो । विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकमा लेखकको राजनीतिक र पत्रकारिता क्षेत्रका विविध अनुभवहरूसहितका संस्मरण रहेका छन् । पुस्तकको सम्पादन पत्रकार राजकुमार बानियाँले गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रश्रितले मदनलाल पौडेलको कृतिले उहाँको जीवनका महत्वपूर्ण सबै पाटो समेटेको बताउनु भयो ।
वरिष्ठ साहित्यकार प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै कृति मदनलाल एक व्यक्तिको आत्मकथा भए पनि पार्टी राजनीतिको शिकार भएका थुप्रै कम्युनिस्ट कार्यकर्ताको कथासमेत भएको धारणा राख्नु भयो । उहाँले भन्नुभयो, कसरी एउटा इमानदार कम्युनिस्ट कार्यकर्तालाई नेतृत्वले पन्छ्याउदै जान्छ र भ्रष्ट, स्वार्थी र व्यापारिक व्यक्तिहरू पार्टीको प्यारो बन्दै जान्छन् भन्ने कुरा पनि जीवनीबाट बोध गर्न सकिन्छ । अर्का समीक्षक वसन्त लोहनीले पुस्तकमा केही कुराहरू छुटेको भए पनि लेखकले इमानदारीपूर्वक आफूलाई प्रस्तुत गरेको बताउनुभयो । लेखक मदनलाल पौडेलले आत्मकथा लेखनका अनुभवहरू प्रस्तुत गर्दै केही संस्मरण सुनाउनुभएको थियो ।
कार्यक्रममा पूर्व मुख्य सचिव लीलामणि पौड्याल, लेखककी धर्मपत्नी दुर्गा पौडेल र पुस्तकका सम्पादक राजकुमार बानियाँले पनि बोल्नु भएको थियो । विवेक सिर्जनशील प्रकाशनका संचालक सीताराम पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार मन्जु ज्ञवालीले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रमको संचालन साहित्यकार एवम् विवेक सिर्जनशील प्रकाशनका प्रबन्ध संचालक विजयराज आचार्यले गर्नुभएको थियो ।