म अलि सानै हुँदाको कुरा हो । मागी सक्रान्तिको एकाबिहान । ‘पाइयो, पाइयो’ खेल्ने छिचिमिरीहरू आफ्नै घरको आँगनभरि ओइरिए । जीउमा एकबित्ताको चोली र तलतिर दुईबित्ता लामो छिटको गुन्यूले लाज ढाकेका दश वर्ष तलैकी ठिटीहरू । प्रत्येकका काँधबाट कम्मरतिर छड्के लर्किएका पोटिला झोलाहरू थिए । आमाले थालभरि उसिनेका कद्दू, पिरालुका टुक्राहरू र उखुको रापमा मुछिएका जुनेलाका खाजा लिएर आँगनमा ओर्लनुभयो । म उहाँकोधोतीको फेरको आडमा पछि लागेको थिएँ । थालकामिष्ठ पकवानहरूले उनीहरूका झोला भर्दै गर्दा आमाले मतिर फर्किएर गतिलो शर्त तेर्स्याइदिनुभयो:”यी लखिनीहरूमध्ये एकजनीलाई छान्, तँलाई सधैँकी साथी तुल्याइदिन्छु ।”
म चकित परेँ । दशिनी होइन; सयनी, हजारिनी पनि होइन; बाफरे बाफ लखिनी ! लाख आँखा, लाख कान र लाख गुण भएकी लखिनी । म तिरमिराएँ । मेरो पालो एउटीलाई पनि छान्न सकिनँ । आमाले नामले स्यानी तर सबैभन्दा ठूली लखिनीको पखेट्टा तानेर मेरो सामुन्ने उभ्याइदिनुभयो । मेरो सर्वाङ्ग सिरिङ्ग भयो । ऊ को थिईर कस्ती थिई ? मैले उसको पाइतालाभन्दा माथि हेर्न सकिनँ ।
पछि पनि ऊ सामुन्ने पर्दा म भागी भागी हिँड्न थालेँ । मैले र उसले उमेरको उचाइ सँगैसँगै चढ्दै गयौँ । बडो सहजताको साथ तन्नेरी वयमा उक्लँदै गयौँ । तर एकअर्काको मनमा चढ्न त कहाँ हो कहाँ, एकअर्कालाईसिन्काले छुनसम्म कहिल्यै सकेनौँ ।
हो दुरूस्तै त्यस्तै । सर्वाङ्ग नाङ्गी । जाङ्ग्रा फट्टाएकी । छाती अझै उचालेकी । आङ लचक्क लच्काएकी । लाख आँखा, लाख कानवाली । रातदिन लस्त तथा अलमस्त ।कोही नियात्री नचढेकी ‘भर्जिन'(लखिनी) ।हुइँत्ति घुरिरहेकी बघिनी । बघिनी होइन, सिँहिनी । हेर्दा सानी, तर, बुझ्दा लाखौँ गुणा ठूली । त्यो लखिनी वर्षौँ अघिदेखि टाउको पछिल्तिर भाँचेरसन्निकट पश्चिमपट्टिबाट मुसीकोटेलाई हाँक दिँदैनिर्वस्त्रखडा छे । मुसीकोट सिर्फ कायल एवम् घायल छ । ऊ यति कमजोर छ कि चढ्न जाँगर गर्दै गर्दैन ।
म पनि मुसीकोटे । मैले र उसले उमेरका गराहरू सँगसँगै उक्लिएका छौँ । तर न मैले उसलाई चढ्न सकेँ । न त ऊ ममाथि नै चढ्न सकी ।
यो दशैँको सुरूवाती दिनदेखि म उसकै सामुन्ने निर्विकार लम्पसार थिएँ । ऊ नजानिँदो तरिकाले ममाथि चढ्न सुरू गरी । पाइतालादेखि अझै माथि माथि । सर्वाङ्ग सिरिङ्ग हुने गरी । मलाई आफूमाथि चढाउन ऊ उन्मत्त हुँदै गई । सिँहमाथि सवार महादुर्गाले राँगोमा सवार महिषाषुरलाई बध गर्न उन्मत्त भएसरी । ममा सुषुप्त कामलगायतका पञ्चविकारले मुछिएको दमित इच्छा जागृत हुन पुग्यो । महिषमा सवार भएसरी म महिषासुरमा बदलिन थालेँ । र ऊमाथि चढ्ने दिन छानेँ: राँगाकै दिन(हाम्रो गाउँतिर अष्ठमीलाई ‘बलेख्रा’, महानवमीलाई ‘राँगा’ र दशमीलाई ‘टीका’ भनिन्छ) जुन दिन लेकहरूमा अवस्थित मठ तथा मौलाहरूमा पञ्चविकाररूपी राँगोको बली दिइन्छ ।
म निर्धारित समयमा सुरिएर सोलाबाङबाट माछ्मीको बाटो समातेँ । मलाई पछ्याइन् देवकुमारीले । आफ्नी आमालाई परिक्षितले पछ्यायो । देवकुमारी अघि लागेपछि दिदी धनकुमारी पछि पर्ने कुरै थिएन । चारैजना लेक चढ्न सुरिएको सुनेपछि ठूल्दाइ कर्णबहादुरले हार्ने कुरै भएन । नानाथरी चिताउँदै चितुवाझैँ फाल हाल्दै हामी पुग्यौँ माछ्मी जिउला ।शरीरलाई पछ्याउन त सजिलै थियो तर मनलाई पछ्याउन कसले सक्ने ? मेरो मन बतासझैँ एकातिर बतासिइरहेको थियो । अरूको मन हुरीझैँ अर्कैतिर हुर्रिइरहेको थियो । सबैका आँखा सिँहलेकतिर सोझिए पनि नजर भने कता फर्किएका थिए कता !
सेरीगाउँबाट हुर्रिँदै झर्नुभयो मनका लाल मनलाल र यात्राका एक बहादुर एक्कबहादुर । सिँहलेक चढ्न एकसुरले सुरिएका सातजना असुरहरू माछ्मी जिउलामा मिसियौँ । चढ्ने त चढ्ने तर कतातिरबाट कसरी चढ्ने ? कसैलाई कुनै मेलोमेसो थिएन । कतिखेर चढेर कतिखेर झर्ने ? कुनै सुइँपत्तो थिएन । अरूले नै भनेका चाइने नचाइने कुरा पत्याएका थियौँ,”चढ्न तीन घण्टा र ओर्लन दुई घण्टा । बिहान चिया पिएर पाँचबजे यात्रा सुरू गरे बिहान दशैबजे भात खान घर फर्कन सकिन्छ ।” कसै कसैले त सिँहलेक एकै घण्टामा चढेको पनि फुर्ति लगाएका थिए ।
हामीले तिनका कुरा पत्याएका थियौँ, जसले त्यो लखिनीको पाइतालासम्म छोएर कोमलताको अड्कल काटेका थिए । कोही तिघ्रासम्म सरेर गुप्तीदहको अनुमान लगाएका थिए । कोही कटीसम्म चढेर स्खलित हुँदै फर्किएका थिए । त्योभन्दा माथितिरको वक्षस्थलको नरमपनको बयान गर्न सक्ने ताकत कसको ? अझै त्योभन्दा माथिको घाँटी सुमसुम्याउने भाग्य कसको ? अझै त्योभन्दा माथिको अधर तथा कोमल गालामा चुम्बन गर्ने औसर कसको ? सिँहिनीको केशराशीलाई औँलाऔँलामा खेलाउने अहोभाग्य कसको ?
माछ्मीको बगलमा बगरभरि ‘यता पनि मेरै, उता पनि मेरै’ गर्दै फैलिएकी छिन् सानीभेरी । नछोइएर सानीभेरीमा चढेको छ झोलुङ्गे । माछ्मीलाई नछोई चढेको अलिक मास्तिरको ठाँटीलाई नियाल्दै बेसरी झोल्लिएको झोलुङ्गेमा झाङ्गलझुङ्गल हुन्छौँ एकछिन् । पुल पारिपट्टि पुग्दा पौने आठ बजिसकेको थियो ।
चढ्न तीन घण्टा लागे पनि पौने एघार बजे त लेकको टुप्पोमा पुग्न सकिहालिन्छ नि ! एक प्रकारको बेग्लै स्फुर्ति ! भकभकी उम्लिरहेको जाँगर ! हलुकासँग उकालोमा नाचिरहेका खुट्टा ! बेगसित भुक्लुक भुक्लुक उफ्रिरहेको मुटु ! सिँहिनीको पाइताला स्पर्श गर्न पाउँदा हामी प्रत्येक बटुवा भस्मेइसित सिरिङ्गिएका थियौँ । एक झाँकमै हामी ठाँटी गाउँमा आइपुगेको पत्तो नै भएन । अब पुग्न बाँकी जारे र सेजे गाउँ । त्यसपछि त सिँहलेकको सिर नै भेट्टिइहाल्छ । एक घण्टामै फुत्त सिँहलेक । यस उत्साहले बाटाछेउका काँचा कट्मरा बेलौँती समेत बाँकी रहेनन् ।
ठाँटी गाउँका निक्कै पाखा र गराहरू केही मिहेनतले काटेपछि आइपुग्यो अर्को गाउँ । तल्लो गाउँबाट उक्लिएको झन्डै एक घण्टा घिस्रिसकेको छ । कुन गाउँ होला यो?
“माथिल्लो ठाँटी !” कसैले हाम्रो जिज्ञासा मेटाइदियो ।
“अझै ठाँटीमै छौँ ?”
“हो । ठाँटी काट्न अझै निकै समय लाग्छ । ऊ त्यो माथिको गाउँ हो ‘जारे’ ।”
मन्टो तन्काएर हेर्छौँ माथितिर । जताकतै छङ्गाछुर भीर । माथितिर फर्किँदा टोपी हुनेजतिका टोपी तल झरिसकेका छन् । बाफ रे बाफ कहिले पुगिन्छ त्यहाँ ?
“कहाँसम्म पुग्ने हो ?”गाउँलेको प्रश्न ।
“सिँह लेक !” हाम्रो एकमुष्ठ स्वर ।
“होइन होला ?”
“किन नहुनु ?सिँहलेक नै पुग्ने लक्ष्य हो ।”
“आजै पुग्न त महामुस्किल छ । अलि बिहानै हिड्नुपर्ने ।”
“बिहानै त छ नि । भर्खर त दश बज्दै छ ।” यहाँका रैथानेभन्दा ठाँटी पनि कहिल्यै नटेकेका हामी नै जान्ने कहलियौँ ।
जवाफमा गाउँलेको खितितिति अपत्यारिलो हाँसो मात्र ।
हामी अझै माथि माथि सर्दै जान्छौँ । वरिपरि खर र अथिङ्ग्रेका काँडाहरू हाम्रो लुगामा कमिलाझैँ स्याउँस्याउँति सल्किरहेका छन् । सल्किऊन् केही मतलब छैन । टाकुरोकोटुप्पामा पुगेपछि टिप्नुपर्छ । गमलामा सजाइने फूल ढिक घारि लटरम्म छन् । राक्से हजारीले पारिपट्टिको पहर नै पहेँलपुर तुल्याइदिएको छ । बिहानैको काँचो घामले आङबाट पसिना खल्खल्ति निकालिरहेको छ । आङका एकसरो लुगा निथ्रुक्क भिजिसकेका छन् । मुस्किलले अर्को गाउँ उक्लन सफल हुन्छौँ । यतिन्जेल आँतमुख सुकिसकेको छ । हाम्रो पेटको भित्तामा हामीजसरी नै मुसाहरूउकालो चढिरहेका छन् । पारितिरको राउखेत हामीसँगै माथि उक्लिन छाडेको छैन । निकै माथि देखिएको खलङ्गाबजार मात्र हामीलाई माथि उकाल्न तल तल झरिरहेको छ ।
“दही मोही पाइन्छ कि हजुर ?” एउटा घरको आँगनमा पुगेर हामी बिन्ति बिसाउँछौँ ।
“पाइन्छ पाइन्छ । बस्नुस् बस्नुस् ।”
बेर नलाएर एक ठेकी दही र अर्को ठूलै ठेकीभरि मोहीहाम्रो सामुन्न आइपुग्छ । छुराले काट्नुपर्नेजस्तो दही बटुकाहरूमा भागबण्डा गरिन्छ । आफूले बोकेका रोटी बाँडीचुँडी दहीमा चोब्दै मुखमा बुजो हाल्न थाल्छौँ । घाँटीमा अड्किएपछि मोहीले छिराउने प्रयत्न गर्छौँ । अरे यार् ! दहीभन्दा त झन् मिठो मोही ! मोही थपी थपी धित मरुन्जेल तनतनी पिउँछौँ । दहीको मोल तिर्न खोज्दा लिनै मान्दैनन् । पेटभरि दही मोही भरेको झाँकले फेरि भीरको भित्तामा झुन्डिएको अर्को गाउँमा चढ्न सफल हुन्छौँ । सिँहलेकको सिर नै हो कि जस्तो लाग्छ । तर माथि हेर्दा शिर अझै माथि देखिन्छ । हामीजति उकालो चढ्छौँ उति उति सिँहलेकको शिर पनि माथि सरिरहेकोले दिक्क लागिसकेको छ ।
“हिँत्ती छ । अब आइपुगिसक्नु भो ।” भन्ने जवाफ दिऊन् भन्ने आशामा प्रश्न गर्छौँ,”अब सिँहलेकको टुप्पोमा पुग्न कति छ ?”
“आधा पनि सकिएको छैन ।” जवाफहाम्रो अपेक्षा विपरीत आइदिन्छ ।
यो जवाफले हाम्रो होस् हवास् उडाइदिन्छ । घुँडा खुम्च्याएर थुचुक्कै भुइँमा बस्छौँ ।खुइएऽऽ लामो निश्वास फेर्छौँ । दिनको बाह्र बज्नै आँटेको छ । आकाशमा चढिरहेको सूर्जेको तापले मदबेहोस घाम हामीउपर निर्मम चढेर बलात्कारमा निमग्न छ । अगेनामा रोटी सेकाएझैँ शिरदेखि पाउसम्म झन् झन् जोडतोडका साथ राप र तापले सेकाइरहेको छ । हामी खल्खल्ति पग्लिरहेका छौँ ।
यतिन्जेल गाउँका डालाबोटले अलिअलि सहारा दिइरहेको अवस्थामा अब लेकाली बुट्यानमात्र देखिन थालेका छन् । ती बुट्यानको छायाँ घुँडादेखि तल मात्र पर्दछ । कसैले पनि छाता बोकेका छैनौँ ।
माथिल्लो जारेमागाउँपालिका सचिव लेखनाथ धितालकी श्रीमतीले एउटा काँक्रो माग्दा तीनवटाभाले मादल जत्रा काँक्राहरूहात लगाइदिन्छिन् । एउटा काँक्रो चिर्न लगाएर नुनखुर्सानी लगाउँदै ठाउँको ठाउँरस चुस्दै निक्त्याउँछौँ । अर्को काँक्रो दिदीले समात्ने हुनुभयो । हातमा झुन्ड्याउन नसकिने खालको गह्रौँ भएकोले दिदीले पछ्यौरीलाई नाम्लो तुल्याएर पिठ्यूँमा बोक्नुभयो । अर्को काँक्रो ठूलदाइले पल्टने झोलामा खाँदेर बोक्नुभयो । मोल दिन खोज्दा उहाँले लिँनै मान्नुभएन । जजसबाट जेजति गोरस तथा फलफूल प्राप्त गर्छौँ उनीहरूले त्यसको मोल लिनै मान्दैनन् । ‘यो त सिँहलेक होइन रैछ, दयालेक पो हो रैछ !’ भन्दै हामीले धन्यवादका शब्दहरूले गुण तिर्दै बाँकी उकालो चढ्न थाल्छौँ ।
अबको उकालोमा सल्लाका रूखहरूले हामीलाई शितलता प्रदान गर्न थाल्छन् । सल्लाको हाँगाहाँगामा बसेर हामी ठाडीभाका घन्काउँछौँ ।
अलिकति माथिको पाखोमा खर्क तथा मानवविहीन गोठहरू भेटिन थाले । हरेक गोठमा काँक्राका झाङहरू थिए र झाङभरि काँक्रा लब्र्योल फलेका भेटिन्थे । टिप्ने मान्छे नहुँदा पाकेका पहेँला काँक्राहरू भुइँभरि ढाडिएका देखिन्थे ।गोठको दलिनमा हँसिया, नाम्लो डोकोलगायत बास बस्नै परे पनि आवश्यक सबै सामग्रीहरू त्यत्तिकै असरल्ल छोडेको भेटिन्थे । बोकेर ल्याएका काँक्राहरू झिक्नु आवश्यक थिएन । लहरा तान्दै छानीछानी काँक्राका छियाँहरू खाँदै गयौँ । लेकाली काँक्राको स्वाद बेहद मिठो थियो । बारीमा बरेला, खुर्सानी फर्सीका बोटहरू बेसरी मौलाएका देखिन्थे ।
हामीले समातेको बाटो घरीघरी बिचमै बिलाउन पुग्थ्यो । अगाडि बाटो नपाएपछि हामी फर्केर मूल बाटोमा आइपुगेर अर्को बाटो समात्थ्यौँ । बाटो अधिकाँश ठाडो उकालो नै थियो । अपितु सोही बाटो घरी दायाँतिर उक्लन्थ्यो त घरी बायाँतिर धेरै परसम्म तन्कन्थ्यो । बाटोको भिराइलोपनअनुसार आफूलाई नढाली सुख्खै थिएन ।
उकालो चढ्न टोलीमा सबैभन्दा गाह्रो देवकुमारीलाई भैरहेको थियो । हामी हिड्न थालेपछि उनी निकै पछि परिसकेकी हुन्थिन् । उनलाई हामी पर्खन्थ्यौँ । पर्खँदा हाम्रो थकान मेटिइसकेको हुन्थ्यो । उनी आइसकेपछि उनलाई राम्रोसँग थकान मेट्न नदिई हिड्न कर गर्थ्यौँ । मैले बाटो लाग्दा नै बारम्बार ‘तिमी त्यति ठूलो उकालो चढ्न सक्दिनौ, फर्किहाल !’ भनिरहेको थिएँ । उनले,’परिक्षितजति त म हिँडिहाल्छु नि !’ भन्दै जिद्दी कसेर फर्कन मानेकी थिइनन् । देवकुमारी त केही दशक अघिसम्म भीर पाखामा खाइखेलेकी वनचरी थिइन् । तर परिक्षित भने कतै पैदल यात्रा ननिस्किएको घरपाल्तु जनावरतुल्य थियो । तथापि उसैले अहिलेसम्म उकालो चढ्न निकै जाँगर देखाइरहेको थियो । परिक्षितका आमाछोरा ठाडो उकालोमा घरी सँगसँगै त घरी अघिपछि हुन्थे । परिक्षितले पनि हामीसँग राम्रोसँग थकान मेट्न पाइरहेको थिएन ।
हामीले खर्कलाई पार गरेपछि फेरि दायाँतिर तेर्सियौँ । गाई भैँसी तथा बाख्राहरूको आवाजले हामीलाई तान्यो । काँक्रोको रसले मुख भिजाए पनि आँतले दुईचार घुट्का पानी नै मागिरहेको थियो । गाईभैँसी भेटिएपछि पानी पनि अवश्य पाइनेछ भनी हामी एउटा गोठतिर सोझियौँ । गाराघाटदेखि नै उक्लिएको बिजुलीको लाइनले हामीलाई माथितिर मानव वस्ती छ भन्ने कुरामा आशा जगाइदियो । नभन्दै पानीको पाइप र धारा समेत भेटियो । हामीले प्यास राम्रैसित भुजायौँ ।
बिजुलीको खम्बामा चढेर बिजुली तार अझै माथि उक्लिएको थियो । बिजुलीको तारमा चढेर विकास यति माथि आइपुगेकोमा हामी गदगद भयौँ । मोबाइलले झन् पहिल्यै यो पहाड चढिसकेको होला । तर माथि उक्लने बाटो खोज्यौँ,जति खोजे पनि भेटिएन । लामो लामो खरको घाँसले पाखोभरि ढाकेको थियो । हामी अलमलिएको देखेर माथि कसैले हामीलाई बोलाइरहेको थियो । त्यतातिर हेर्यौँ । माथि पाखाभरि मकै बारीसुतिबसेको थियो । आधा दर्जनजति मान्छे मकैबारीमा मकै भाँच्न व्यस्त देखिन्थे । उनीहरूले नै हामीलाई उक्लने बाटोको सङ्केत गरिरहेका थिए । हामीले उनीहरूको निर्देशन पछ्याउँदै खरको घाँसभित्र डुब्दै र उत्रँदै बल्लतल्ल उनीहरू छेउमा पुग्यौँ । एक्कबहादुर केसीजीले उनीहरूको अन्तर्वार्ता लिन थाल्नुभयो ।उनीहरूले अझै माथि अर्को बस्ती भएको र त्यहाँ दही मोहीलगायत खानेकुराहरू पाइने बताइदिए । हामी अझै माथि उक्लिँदै गयौँ ।
मनलालजीतलैदेखि पहाडी जडीबुटी चिनाउनमै उद्यत हुनुहुन्छ,”यो टाउको दुखाइको ओखती, यो भुँडी दुखाइको ओखती, यो रगतमासीको, यो जोरोको, यो रूघाखोकीको । यो छेरपाटीको ।”
ठूल्दाइ गरा र पाखा चिनाउनमा व्यस्त,”यसमा कोदो र फापर खेती गर्न सकिन्छ । यसमा फलानो फल राम्रो फल्छ । यसमा हलानो फूल राम्रो फुल्छ ।” धन दिदी घाँस, रूख र बुट्यानका नामहरू चिनाउँदै हुनुहुन्छ ।देवकुमारी सयथरी चराचुरूङ्गी र कीटपतङ्गको नाम कार्न व्यस्त । परिक्षित भूगोल,हावापानी र घामछायाको महत्त्व बुझाउँदै छ । म भन्छु:”यसको वातावरणीय एवम् पर्यटकीय महत्त्व झन् धेरै छ ।नत्र भनेयो लखिनी कसरी सिँहिनी कहलिन्थी त ?”
माथि पुगेपछि अलि समथर जमिन भेटियो ।नाम बयाले डाँडा रहेछ । चिसो हावाले बयाली खेलिरहेको थियो ।अलि माथि निगालाको बारी तथा लेकाली केरा बारी देखियो । एउटा गोठमा भर्खरै जन्मिएका छवटा पाडाहरू हुलिएका थिए । किलाहरूमा दाम्ला मात्रै बेरिएका थिए । हाम्रो आवाज सुनेपछि एकहुल बच्चा र तरूण लोग्नेस्वास्नी गोठको बाहिर झुल्किए । उनीहरूलाई सोधेपछि थाहा भयो गाईभैँसी पाखातिरको चरनमा छोडिएको हुँदोरहेछ । कहिले ती पशुहरू माला मालामा आइपुग्दा रहेछन्, कहिले वनमै चरिरहँदा रहेछन् । हामीले पाडाहरू गन्ती गरेर मोही माग्यौँ । उनीहरूले सहर्ष ठेकीका ठेकी बाक्लो मोही ओसारिदिए । हामीले अघाउन्जेल पियौँ । यतातिर गोरसको मोल तिर्नुपर्दैन भन्ने पूर्वजानकार नै थियौँ ।
त्यसपछि मानव वस्तीलाई तलै छोडेर अझै माथि उक्लियौँ । माथितिर बुट्यानको झाडी सुरु भयो । त्यो पनि सकिएपछि नाङ्गो एवम् छाङ्गो भीर सुरू भयो । हामी चार हातखुट्टा टेक्दै उक्लँदै गयौँ । ठाडो सूर्जे तेर्सिएर विदा लिन सुरसार कस्दै थिए । सिँहलेकको केशराशीजस्तो झाडी फेरि सुरू भयो । हाम्रो अगाडिको बाटो पूरै बिलाइसकेको थियो । गुवाला समेतले पाइलो नटेकेको ठाउँ भएर होला ।देवकुमारी परिक्षित र धन दिदी तलै छुटिसकेकाथिए । मनलाल एक्कबहादुर र कर्ण दाइ निकै माथि उक्लिसक्नुभएको थियो । मैले बल्लतल्ल अघिल्लो समूहलाई भेट्टाएँ र भिराइलो जमिनमा लम्पसार सुतेँ ।
मेरो स्मरणमा विगतको एक घटना नाच्यो । आज राँगा (महानवमी) कै दिन पारेर सिम्रुतुमा उन्मत्त राँगो ढालिन्थ्यो । राँगो ढालिने तरीका भने अत्यन्तै रौद्र तथा विभत्स प्रकारको हुन्थ्यो । कच्चाबच्चाहरूलाई त्यो दृश्य हेर्न दिइँदैनथ्यो । वरिपरि बन्चरो, गराँसी र धारिलो हतियार बोकेका मान्छेहरूको मेला लाग्थ्यो । एउटाले राँगोको टाउको ताकेर धारिलो हतियारले प्रहार गर्थ्यो । राँगो रन्थनिँदै अर्कोतिर भाग्थ्यो । अर्को हतियारधारीले फेरि त्यस अबोध प्राणीउपर बज्र प्रहार गर्थ्यो । ऊ निरूपाय बाँबाँ बुँबुँ गर्दै अर्कोतिर फाल हाल्थ्यो । अर्को समूहले मर्म ताकीताकी उसरी नै प्रहार गर्थ्यो । यसरी आधा घण्टासम्म लगातार राँगोउपर निर्मम प्रहार भइरहन्थ्यो । अनि मात्र राँगो ढल्थ्यो र मेला भर्न आएका मान्छेको विजयोत्सव चल्थ्यो । यस्तो खेल मन नपराउने मान्छेहरूले,”थुइक्क संवेदनाहीन वनमान्छेहरू !” भन्दै थुक्दथे ।
मेरो हालत पनि अहिले दुरुस्तै उस्तै छ । कतै भोकको हतियार, कतै प्यासको हतियार, कतै घामको हतियार, कतै सिरेठोको हतियार, कतै काँडाहरूको हतियार, कतै ढुङ्गाकै हतियारले प्रहार हुँदै हुँदै यहाँसम्म आइपुगेर म लमतन्न सुतेको छु । लखिनीको आधा आङतिर होइन, शिरमै । यो विजय लखिनी लेकको हो कि मेरो ?
एकछिन सुस्तिएपछि चारैतिर नजर डुलाउँछु । रूकुमका डाँडाकाँडा मात्र होइन पश्चिममा जाजरकोट, दक्षिण-पश्चिममा सल्यान तथा सुर्खेत, दक्षिणतिर रोल्पा, पूर्वमा पूर्वी रूकुम, बाग्लुङ र म्याग्दी, उत्तरतिर डोल्पासम्मका सीमानाका डाँडाकाँडाहरू मौरीका चाका झैँ चाङ परेको दृश्य औधि मनमोहक थियो ।हजारौँ पाखापखेरा, फाँट र खोलानालाहरूका फूलबुट्टानिकै आकर्षक देखिन्थे । आहा ! स्वर्ग भनेको यही त होइन ?
लेकको टाकुरोपट्टि हिउँले तिखारेका निलाकाला ढुङ्गाहरू र तुषारोले चाटेर जिङ्ग्रिङ्ग परेका तिखा झारहरूको राज थियो ।
“तीन बजिसक्यो । अब फर्किन अबेर हुन्छ ।” मनलालजीले टोलीलाई अत्याए ।
“हो हो फर्कनुपर्छ अब । हामीलाई ठाँटीदेखि नै सात घण्टा लागिसकेको छ । फर्कँदा आधा लागे पनि चार घण्टा त कम्तीमा लाग्छ !” मैले सहमति जनाएँ । देवकुमारीहरू माथि उक्लिसकेकै थिएनन् ।
उनीहरू थकानले चुर हुँदै माथितिरअझै घस्रिँदै थिए । यति माथिसम्म उनीहरूलाई बीचबाटै किन फर्काउनु ? बरू पर्खनुपर्छ भनी उनीहरूलाई चुचुरोमा उक्लन दियौँ । केही बेरमा माथि आइपुगेपछि उनीहरूको अनुहारबाट थकान सर्लक्कै मेटिएको देखियो । वारिपारिको दृश्यलाई सबैले सकुन्जेल आँखामा अटायौँ । आँखामा नअटेको मोबाइल तथा क्यामेराहरूमा कैद गर्यौँ । एक्कबहादुरले कापीमा कैद गरिरहनु भएको थियो । ठूल्दाइ र धन दिदीले बोकेका काँक्राहरूलाई तिखा ढुङ्गाले चिरेर भागबण्डा लगायौँ । नुन खुर्सानीसँग चोब्दै अनुपम स्वाद लिन थाल्यौँ । तिर्खा निमिट्यान्न पार्यौँ ।
यति गर्दा हामीलाई अरू पौने घण्टा समय लिइदियो । हामीले फर्कने सुर कस्यौँ । उकालो बाटो ओरालो पर्दा झनै दुरूह देखिन्थ्यो । भीरको सतह असाध्यै चिप्लो थियो । हाम्रा जुत्ता घरीघरी चिप्लिरहेका थिए । मनलाल र एक्कबहादुरले लामा टाङ मार्न थाल्नुभयो । परिक्षितका घुँडा ठाडो ओरालोमा खुम्चिन छोडे । मेरा घुँडा पनि दुखिरहेका थिए, तर कसैलाई बताइनँ । देवकुमारी चिप्लिएर तीनपटक भुइँमा पछारिइसकेकी थिइन् । अघि लागेका एकैछिनमा मनलाल र एक्कबहादुर एकातिरबाट अलप हुनुभयो । हामीले उनीहरूलाई पछ्याउन खोज्दा एकजना गोठालाले,”बाटो त्यता होइन, यताबाट झर्नुभयो भने अझै सजिलो र छिटो हुन्छ !”भनी देखाइदिए । उनले गरेकै संकेतको आधारमा हामीले अर्को बाटो समात्यौँ । यो बाटो पहिलेको भन्दा निकै भिराइलो र अझ चिप्लो थियो । हाम्रा दाइनेपट्टिको भाग चरी पनि लोट्ने खालको भीर थियो । भीरको बीचमा तीनवटा टाकुरा उठेका थिए । भित्रपट्टि निकै अँध्यारो देखिन्थ्यो । हामीले गुप्ती दह त्यहीँ पर्ने अनुमान गर्यौँ । त्योभन्दा निकै तल सर्पजत्तिकै मसिनो सानीभेरी सलबलाइरहेको देखिन्थ्यो । हामी आइपुगेको उचाइबाट तलतिर हेर्दा आँखा रिङ्थे । त्यहाँसम्म आज त के भोलि पनि पुगिँदैन कि ? जस्तो महसुस हुन्थ्यो ।
मनलाल र एक्कबहादुर अर्को पाखाबाट झरेकोले अब उहाँहरूसँग भेट हुने सम्भावना बाँकी थिएन । हामी अर्को पाखोपट्टि फनफनी घुमिरहेका थियौँ । परिक्षितलाई तलतिर ओर्लन निकै गाह्रो भैरहेकोले उसको खुट्टामा रूमाल तथा पछ्यौराले बाँधिदियौँ । व्यक्त गर्न नसके पनि सबैका घुँडा दुखिरहेका थिए र पाइताला भतभती पोलिरहेका थिए । परिक्षितलाई पर्खने निहुँले म पनि पछि पर्न थालेको थिएँ । देवकुमारी र धन दिदी भने सजिलरी तल ओर्लिरहेका थिए र निकै तल पुगेपछि हामीलाई पर्खिबस्थे । रात पर्न थालेको बेला गुवालाले झनै घुमाउरो बाटो देखाइदिएछ भन्दै हामीले गुवालालाई दयाको सागरमा झिँगा परेको भन्दै सराप्दै हिँड्यौँ ।
यसै बेला पछि परेका दाइ हामीलाई भेट्टाउन फाल हाल्न थाल्नुभयो । नजिकै आइपुगेपछि उहाँ चिप्लिएर मुखको भरमा लड्नुभयो । खरको बुटोलाई हातले च्याप्प समातेकोले उहाँ भीरमै अडिनु त भयो तर हाम्रा हातखुट्टा लगलगी काँप्न थाले । पाइताला सिरिङ्ग सिरिङ्ग गरे । मुटु काँप्यो । उठेर तल आएपछि उहाँको चोट हेर्यौँ । उहाँको घुँडामा सानो तर निकै गहिरो घाउ परेको थियो । घाउबाट रगत ह्वाल्ह्वाल्ती बगिरहेको थियो । उहाँको घुँडालाई हामीले ल्याएका मास्कहरू जोडजाड पारेर बाँधिदियौँ । मास्कले पनि रगत नथामिएपछि उहाँकै कमिजले बाँधेर रगत बग्न रोक्ने प्रयास गर्यौँ । उति सारो दुखेको छैन भन्दै ठूल्दाइ ठम्ठम्ती ओर्लिन थालेपछि ठूलो घाउ परेनछ भनी हामी ढुक्क भयौँ । बाटो केही बेर घुमाउरो परे पनि अब भने ठाडै झरेको थियो । उक्लँदाजत्तिको असहज र बिलाइजाने डोरेटोजस्तो यो थिएन ।
सगरका सूर्जे केही बेर दक्षिणपश्चिमको सल्यानी डाँडोबाट हामीलाई निन्याउरो अनुहारले हेरेर उतापट्टि झरिहाले । सूर्जे भागेको मौका छोप्दै सन्ध्याले तलको भाग आफ्नो पोल्टोमा पार्दै हामी झरिरहेको डाँडोलाई समेत सुमसुम्याउन थालिन् । हामी निर्जन पाखामै परेकोले मुख बाइरहेको अँध्यारो देखी आत्तिन थाल्यौँ । केही बेर ओरालो झरेपछि दिउँसो उक्लँदाछोडेको मूल बाटो भेटियो । यति बेला ६ बज्न आँटेको थियो । जुन ठाउँबाट लेकमा उक्लँदा हामीलाई चार घण्टाभन्दा बढी समय लागेको थियो त्यही ठाउँसम्म झर्दा दुई घण्टामै आइपुगेका रहेछौँ । हामीलाई बाटो देखाउने गुवालाले हामीलाई दुःख दिने नियतले गलत बाटो नदेखाई हाम्रै कल्याणको लागि सही बाटो देखाइदिएका रहेछन् । हामीले उनलाई गरेको सत्तोसरापप्रति पछुतो मान्दैउनको जय जय होस् भन्दै आशिक दियौँ ।
अझै केही समय ओर्लिएपछि माथिल्लो जारेको गाउँ भेटियो । हाम्रा हात हातमा मोबाइलको टर्च बलिरहेका थिए । त्यहाँका बासिन्दाले अँध्यारोमा ओरालो झरिरहेका हामी नौला प्राणीउपर सहानुभूति प्रकट गर्दै आफ्नो घरमा बास बस्न आमन्त्रण गरिरहेका थिए । ‘झर्ने भए यताबाट झर्नुस् !’ भन्दै हामीलाई बाटो सिकाइरहेका थिए । परिक्षित र मलाई झन् झन् हिड्न गाह्रो भैरहेको थियो । परिक्षितको अवस्था देखेर देवकुमारी औधी टिठाइरहेकी थिइन् । बिनायोजना, बिना पूर्वानुमान दुरूह डाँडोमा ल्याइपुर्याएकोमा मलाई बारम्बार छेडछाड गरिरहेकी थिइन् ।
मैले ‘तल्लो जारे गाउँमै बास बसौँ न त’ भन्दै परिक्षित र देवकुमारीलाई त मनाएँ, तर, ठूलदाइ र दिदीले बास बस्न मान्दै मान्नुभएन । आफूहरू एक्लै भए पनि घर पुगिछाड्ने जिद्दी कसिरहनुभयो । उहाँ दुईजना एक्लैलाईरातबिरात हिँडाउन हाम्रो मनले मानेन । हामी बाटोका फाट्टफुट्ट खुद्रा पसलबाट चाउचाउ र बिस्कुटले पेट भर्दै ओर्लिरह्यौँ । सानीभेरीमाथिको झोलुङ्गे पुलमा आइपुग्दा बेलुकाको पौने आठ बजिसकेको थियो । हामीलाई उकालो उक्लन तथा ओर्लन ठीक बाह्र घण्टा लागेको थियो ।
पुल तरेपछि बाटो तेर्सिएकोले परिक्षितलाई अलि सजिलो भयो तर ठूल्दाइ पछि पर्न थाल्नुभयो । उहाँले घुँडाबाट अझै रगत बगिरहेकोले घुँडा मुनिको पाइन्ट र घाउ बाँधिएको कमिज जम्मै रगतले भिजिसकेको देखाउनुभयो । हामी तर्सियौँ । हिँडाइको गति घटाउनु सिवाय हामीले अर्को गर्नसक्ने केही थिएन । लामो यात्रामा हिँड्दा ब्यान्डेज तथा औषधिहरू पनि बोकेर हिड्नुपर्ने भन्दै परिक्षित चुकचुकायो ।
पुल तरेपछि हामीले बाटो बिराएकोले माछ्मी गाउँमा फनफनी घुम्न थाल्यौँ । हामीलाई सही बाटो सिकाउने त्यहाँ कोही थिएन । सबै घरभित्रै थिए । भोकप्यासमा निशुल्क उद्धार गर्ने मान्छेहरू पछि परिसकेका थिए । बल्लतल्ल सोलाबाङतिर जाने कच्ची मोटरबाटो भेटायौँ । हामी सबै खोच्याउँदै मोटरबाटोमा घिस्रिन थाल्यौँ ।भोकको मारले पेटमा कुदेका मुसासमेत मरिसकेका थिए । सत्र घण्टाको असाध्यै मुस्किल यात्रा सकेर सोलाबाङ आइपुग्दा रातको दश बजिसकेको थियो ।गाउँका जीव तथा अजीव (मोटरगाडी) सबै मस्त निद्रामा घुर्न थालेका थिए ।हामीले भने चुचुरो चढेर ओर्लिएपछिको थकानको असली अनुभूति राम्रैसँग संगालिरहेका थियौँ ।