नेपालीलाई कहिले पनि हाई सञ्चोले जीवन यापन गर्ने दिन नआउने भयो । अझ यो कोरोना भन्ने अदृश्यको जीवाणुले त झनै जोखिम पारेको छ । तर कतिपयलाई भने फाइदा माथि फाइदा पनि भएको छ । कोरोनाका नाममा खुरुखुरु गोजी भरोना गर्नेहरू पनि कम छैनन । कोरोनाको साम्राज्य चलेपछि त कोरोनाको साम्राज्य हटाउनका लागि भएका प्रयासहरू सबै गेल भैँस पाइनमे भनेझैँ भएको छ । साम्राज्य एउटाको अधिकार अर्काको हुँदा यहाँ मानव अधिकारको समेत घोर उल्लंघन भएको छ ।
नेपालमा कोरोनाको साम्राज्य बढाउने श्रेय जो सुकैलाई गए पनि आखिरी नियन्त्रणका लागि भएका प्रयासहरूले के जनाउँछ भने नेपाली माटोमा कोरोना फस्टाउने मलजलको अभाव छैन । अभावका बिचमा उभिएका धैरैको कोरोनाले जय जय भएको छ । विजय नहुने भनेको त कोरोनाले गाँजेर घाट पुग्नेहरू मात्र हुन ।
अरुभन्दा पनि मलाई यो सरुवा रोगको सरुवा नेपालमा किन गर्नु परेको हो भन्ने कुराले बढी पिरोलेको छ । चीनको नेपालले के बिगारेको थियो र कोरोनाको सरुवा नेपालमा गरेको हो । भारत, बेलायत, जापान, अमेरिका, बर्मा, रुस, कोरिया, इटली, अष्ट्रेलिया, फ्रान्स, जर्मनी लगायतका विकसित देसमा सरुवा गर्नु त स्वभाविकै थियो । तर नेपाल जस्तो अल्पविकसित, उपचारका लागि श्रोत साधन नभएको, शिक्षाको पारिलो घामले शरीरमा नपोल्ने देसमा कोरोनालाई सरुवा गरेर के तमासा देखाएको हो विश्वलाई भनेर उदेक लागेर आउँछ ।
कोरोना उत्पादन गरेर चीनले आफ्ना बिरोधीहरूलाई कोसेली स्वरुप वा अनुदान सहयोग पठाउनु पर्ने हो तर त्यसरी पठाएन । बुहानदेखि सरुवा गराउँदै गराउँदै नेपाल पठायो । अझसम्म पनि यो सरुवाको क्रम रोकिएको छैन । हुँदा हुँदा यो सरुवाको क्रमले घरदेखि अस्पताल र घाटसम्म पनि निरन्तरता पाइरहेको छ । कोरोना नियन्त्रणका लागि चीनको बुहानमा कैयौँ शक्ति लगाएर प्रयास गरेको भए पनि मातिएर जहाँ पायो त्यही पुग्ने गरेकोले पनि यसको सरुवा गरिएको हो भन्ने मैले अनुमान गरेको छु ।
अर्कोतिर नेपालमा सरुवा भएर आएको कोरोनाले पनि नेपालीको घर घरमा सरुवा हुने अवसर पाएको छ । यसको आन्तरिक सरुवा रोक्नका लागि नेपालीहरूले प्रयास नगरेको होइन तर पनि सफल हुन सकेको देखिदैँन । समुहमा बस्ने, नाक, मुख खुला राख्ने, अन्य स्वास्थ्यका मापदण्ड पुरा नगरेको र सुरक्षाका उपाय अबलम्बन नगर्दा पनि यो कोरोनाले व्यापक रूपमा सरुवा हुने अवसर पाएको हो । नेपालका प्रशासनिक कर्मचारीको सरुवाभन्दा पनि अति नै छिटो सरुवा हुन्छ । नियम कानून पालना नगर्ने जागिरे कर्मचारीको झैँ एक ठाउँमा हाजिर हुन नभ्याउँदै अर्को ठाउँमा सरुवा हुन्छ । यो कोरोनालाई अब चिनले संसारबाट नै पुनः फर्केर नआउने गरी सरुवा गर्नु उचित होला जस्तो लाग्छ । हुन त नेपालले पनि कोरोनालाई सदाका लागि सरुवा गराउने उपाय सोच्नु पर्ने अवस्था पहिले नै आएको हो । तर सोच अफसोचमा परिणत भएर सरुवाले समाजमा भरुवाको रूप धारण गरिरहेको छ । निजामती कर्मचारीझै आफुले चाहेको, रोजेको, खोजेको ठाउँमा सरुवा माग भनेर कोरोनालाई भन्न पनि नसकिने अवस्था छ । किनभने कोरोना भन्ने किटाणुलाई कसैले देखेकै छैन । सुनेका भरमा नदेखेको न बोलेको न भेटेको जीवाणुलाई कसरी सरुवा गर्नु ? स्वास्थ्य मन्त्रालयको कुरै छाडौ विश्व स्वास्थ्य संगठनको समेत सोर्स र सिफारिस चल्दैन यसको सरुवाको लागि ।
कोरोनाको भित्री कुरा के हो ? यसको सरुवा स्थगित गर्न अव कसरी, को सँग समन्वय गर्ने भन्ने कुराको निक्र्योल हुनु आवश्यक देखिएको छ । विश्वलाई नै आक्रान्त पार्ने यो कोरोनाको जरो नै उखेलेर आगो लगाउनु पाए त संसारका पीडितहरू आनन्दले श्वास फेरेर निदाउने थिए होलान । भनौँ हामीलाई कोरोनाले हेपेर, दलेर घाटसम्म पु¥याएको अवस्थामा हामी निरीह प्राणी बनेर बस्नुको साटो नाक, मुख छोपिने गरी महला लाएर, टाढा टाढा बसेर, साबुन पानी वा सेनिटाइजरले हात सफा पारेर, जमघटमा नगएर घरमै बसेको भए यो अवस्था आउने थिएन होला ।
कोरोनाका बारेमा हामी यति जानकार छौ कि कोरोना हामी भित्र सरुवा भएको थाहै पाउँदैनौ । अचम्म लाग्छ मलाई त यो कोरोनाको सरुवा देख्दा । बिना कुनै प्रक्रिया नै सरुवा भएर मान्छेको ज्यान लिएको छ । दिन दुई गुना रात चौगुनाका दरले सरुवा हूँदा पनि यसको मिति पु¥याउन नसक्नु विश्वकै लागि लज्जा स्पद कुरा हो । विश्व स्वास्थ्य संगठनलाई त झन कोरोनाले टेर पुच्छर लाएको छैन । अझ भन्ने हो भने कोरोनाले विश्व स्वास्थ्य संगठनलाई नै तहस नहस पारेर छाडेको छ । विज्ञहरूलाई समेत च्याप्प समातेर थला पार्ने यो कोरोनाको जीवन यापनको प्रक्रिया देख्दा त यसले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक लगायतका सबै खाले सामाजिक संरचनाहरूलाई आफ्नो प्रभावमा पारेको छ । यसको प्रभाव हटाउन हामी अघि बढन सकेका छैनौँ ।
हामीले बिना सुत्केरो तातो ज्वानोको झोल खाएर कुना पसेर बस्न सकेको भए र छाउ प्रथाकोझँै अन्य मानिसको सम्पर्कबाट टाढा बसेको भए सायद कोरोना हामीमा सरुवा भएर आउने हिम्मत गर्दैन थ्यो होला जस्तो लाग्छ । अर्कोतिर आमी नेपाली विश्वका महान जान्ने बुझ्नेमा पर्छौँ । हामी आफै टाठा बाठा छौँ । अरुले कुनै कुरा सिकाउनु पर्दैन । अरुले अर्ति उपदेश दियो भने मभन्दा पनि यो बाठो रहेछ भनेर दुत्कार्छौं । आपूm जग्गा पर्ति राखेर अर्कालाई बाँझो पर्ति जग्गामा खनजोत गरेर खेती गर्न अर्ति दिन्छौं । यसै गरी आफ्नो शरीरमा कोरोना सरुवा भएर हाली मुहाली गरेको छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुको साटो हामी अर्कालाई यसो गर, उसो गर भनेर घर्तीले पनि दिन नसकेको अर्ति र उपदेशको भारी बोकाउँछौं ।
मानवका लागि जहर झैँ ठानिएको कोरोना कहरले धेरैको रहरलाई प्रहर प्रहरमा समाप्त पारिदिएको छ । आफ्नो साम्राज्यलाई एकछत्र फैलाउन सक्षम कोरोनाले टाउको उठाउन नसक्ने गरी हामीले हात खुट्टा उठाउन सकेनौँ । गाउँ शहरका गल्ली गल्ली चाहारेर नथाक्ने हामीलाई भिडभाड प्यारो लाग्छ । महला लाउन झ्याउ लाग्छ । हात धँुदा हात खिइन्छ कि झैँ लाग्छ । सेनिटाइजर हातमा दल्दा रक्सी गन्हाउँछ । तर होटलमा पसेर दुईचार बोतल बाङ्गे जल पिउदा भने मुख गन्हाउँदैन । जसका कारण कोरोनाले कतिपयलाई आफ्नै परिवारको सदस्य झैँ ठानेर माया गरेर सदाकालागि अदृश्यात्मक बनाएको छ । यस्तो जान्दा जान्दै र देख्दा देख्दै पनि हामी स्वतन्त्र रूपमा सयरमा हुन्छौ । अवस्था अनुसारको व्यवस्थामा हामी बाँधिन नसक्दा हामी नै समस्यामा पर्छौं भन्ने कुराको हेक्का राख्दैनौँ ।
भौतिक दूरीका नाममा हामी गहिरो माया जालमा फसेका प्रेमिल जोडीको झैँ लठारिएर हिडछौँ । भिडभाडमा एक अर्काको शरीरमा मडारिएर आमने सामने ठोकिएर भौतिक दूरीको पालना गर्छौं । यस्तो गजबको काइदाले हामीमा कोरोनाले गाँस बास कपासमा नै सरुवाको अवसर पाउँछ । भौतिक दूरीका नाममा एकै ठाउँमा टाँसिएर, गाँसिएर कोरोनालाई निमन्त्रणा दिएर बसेका छौँ । स्वास्थ्य विज्ञहरू भन्दा हामी नै बढी जान्ने र लालबुझ्क्कड भएका छौँ । जसका कारण कोरोनालाई हामीभित्र बिना सहमती, बिना दरबन्दी नै सरुवा भएर आउन सहयोग पुगिरहेको छ भन्ने कुरामा म ढुक्क भएर बसेको छु ।
अहिलेको समय यो विश्व कस्को हो भन्दा म चाहिँ स्पष्ट भन्न सक्छु कि कोरोनाको हो भनेर । किनभने लाखौँ मानिसलाई कोरोनाले आफ्नो बनाइसकेको छ । म जान्न मलाई नलैजाऊ मैले यहाँ अझै धेरै काम गर्नु छ भन्दा भन्दै पनि कुरा नसुनेर कोरोनाले अँगालो हाल्दै माया गर्दे कहिल्यै नफर्कने बाटोमा लगेर हुत्याएको छ । लखरानन्द भएर लखर लखर विश्व भ्रमणमा निस्केको जोगी झैँ यो कोरोनाले विश्वमा ज्यादै अनियमितता गरेको स्पष्ट छ । सरुवाका नाममा जागिरको साटो मान्छे खाँदै विश्व भ्रमण गर्ने कोरोनाको चलाखीपन अहिले आएर छताछुल्ल भएको छ । आफ्नो साम्राज्यलाई प्रभुत्ववादी बनाउन विश्वका प्रख्यात स्वास्थ्य विज्ञ तथा विश्व स्वास्थ्य संगठनले समेत नसकेको अवस्थामा अरुभन्दा तीन कदम अघि बढेर कोरोनाले सबैलाई चकित पारेको छ ।
यसको शक्तिका बारेमा हामीले धेरै देख्यौँ र भोग्याँै तर पनि हामी कोरोना केही होइन भन्छौँ । तर यो आफ्नो सरुवा आफैँ गराएर जहाँ पनि पुग्न सक्ने र साम्राज्य फैलाउन सक्ने हैसियत राख्दछ । यतिसम्म कि कोरोनाले आफूभित्रको शक्ति प्रयोग गर्दा हामीलाई यमराजको गोदाममा लगेर राख्छ । लाखाँै मानिसलाई यमराजको गोदाममा लगेर राखिसकेको को छ र अझैँ पनि दिनहुँ कतिलाई लैजाँदै पनि छ । हामीले जति सुकै बन्दाबन्दी गरे पनि निषेधाज्ञा गरे पनि हामी नै लखराज्ञामा अघि बढछौँ । यसो भएपछि हामीमा अचेत मौलायो र मौलाएको अचेतले हामी भित्रको सचेततालाई गुमराहमा राख्यो ।
कुकुरको पुुच्छर बाह्रै वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै भनेझैँ वा भालुलाई पुराण सुनाएझैँ वा रातभरी रामायण पढायो सिता कस्की जोइ भनेझैँ छ हाम्रो अवस्था । अनि यस्तो परिस्थितिमा कोरोनाले हामीलाई जितेर साम्राज्य नबनाए के भूमिगत हुन्छ त कोरोना ?
(उदयपुर, गाईघाट)